गाजामा इजरेली हवाई हमला : '४०० जनाभन्दा बढी मारिए, हमासका वरिष्ठ अधिकारी पनि'

तस्बिर स्रोत, Getty Images
- Author, जोर्ज राइट
- Role, बीबीसी न्यूज
इजरेली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा ज्यानुअरीमा युद्धविराम सुरु भएयताकै ठूलो हवाई आक्रमण गरेका छन्।
गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामा परेर ४०० जनाभन्दा बढी मानिसको मृत्यु भएको र सयौँ जना घाइते भएका छन्। इजरेलले हमासका सुरक्षा अधिकारी र राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाएको थियो।
हमासले ज्यान गुमाउनेमध्ये उक्त भूभागमा कार्यरत आफ्ना एक वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित चार जना रहेको बताएको छ। इजरेलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्।
एक इजरेली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै इजरेल सरकारले अमेरिकालाई हमला गर्नुअघि त्यस विषयमा जानकारी दिएको पुष्टि गरेका छन्।
एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ।
उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरेलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।
हमास के भन्छ?

मङ्गलवार दिउँसो जारी गरिएको विज्ञप्तिमा हमासले गाजामा भएको "हत्याका लागि संयुक्त राज्य अमेरिका पूरा जिम्मेवार" भएको टिप्पणी गरेको छ।
यसबाट अमेरिका आफू तनाव मत्थर पार्न लागिपरेको भन्ने दाबी मिथ्या भएको उजागर भएको हमासले जनाएको छ।
"[गाजामा भएको] कब्जा र त्यसका समर्थकहरूलाई मानवतामाथि भएका यी अपराधका लागि उत्तरदायी बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिन्छ," विज्ञप्तिमा उल्लेख छ।
यसअघि हमासले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको थियो। उसले यो हमलाका कारण बाँकी इजरेली बन्धकको भविष्य अन्योलपूर्ण बनेको बताएको थियो।
इजरेल के भन्छ?

तस्बिर स्रोत, Getty Images
एक इजरेली अधिकारीले बीबीसीलाई उक्त आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन्।
इजरेलले गाजा नजिकैका विद्यालयहरू हवाई हमलापछि आफूले बन्द गरेको जनाएको छ।
एउटा विज्ञप्तिमा इजरेल डिफेन्स फोर्सेसले आफूले हमासका "आतङ्कवादी निसानाहरू" लाई लक्ष्य गरेर आक्रमण गरिरहेको जनाएको छ।
मध्यगाजामा तीनवटा घरमा हमला गरिएको छ भने गाजा सिटीको एउटा भवन तथा खान युनिस र रफाहका विभिन्न स्थानमा पनि हमला भएको प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ।
ज्यानुअरी १९ मा युद्धविराम आरम्भ भएयता इजरेलले गाजामाथि गरेको हवाई हमलाको यो सबैभन्दा ठूलो शृङ्खला हो। युद्धविरामलाई लम्ब्याउन भइरहेका वार्ता सहमतिमा पुग्न विफल भएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र रक्षामन्त्री इजरेल कात्सले मङ्गलवार बिहान हमलाको आदेश दिएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
"हमासले हाम्रा बन्धक रिहा गर्न बारम्बर अस्वीकार गर्नुका साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीभ विट्कफ र मध्यस्थकर्ताका सबै प्रस्तावहरू अस्वीकृत गरेपछि यस्तो गरिएको थियो," विज्ञप्तिमा लेखिएको छ।
"अब उप्रान्त इजरेलले थप सैन्य शक्तिसहित हमासविरुद्ध कदम चाल्ने छ।"
इजरेली प्रधानमन्त्री कार्यालयका अनुसार हवाई हमलाका योजना इजरेली सैन्य बलले सप्ताहान्तमा प्रस्तुत गरेको थियो र त्यसलाई राजनीतिक नेतृत्वले अनुमोदन गरेको थियो।
रमजानको पवित्र महिनाको समयमा बिहानै मानिसहरूले भोजन गरिरहँदा गाजामा विस्फोटन सुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।
उनीहरूका अनुसार २० वटाभन्दा बढी लडाकु विमानहरू आकाशमा उडेका थिए।
तिनले गाजा सिटी, रफाह र खान युनिसका विभिन्न स्थानमा आक्रमण गरेका थिए।

तस्बिर स्रोत, Reuters
युद्धविराम किन लम्बिन सकेन?
मार्च १ मा समाप्त भएको पहिलो चरणको अस्थायी युद्धविरामपछि वार्ता गरेर अगाडिको बाटो पहिल्याउने प्रयास भएको छ।
संयुक्त राज्य अमेरिकाले मध्यएप्रिलसम्म पहिलो चरणको युद्धविरामलाई लम्ब्याउन प्रस्ताव गरेको थियो। उसले उक्त अवधिसम्म हमासले बन्धक बनाएका व्यक्तिहरू र इजरेलले बन्दी बनाएका प्यालेस्टिनीहरूको थप आदानप्रदान उक्त अवधिमा गर्नुपर्ने विषय पनि आफ्नो प्रस्तावमा राखेको थियो।
तर वार्तासँग जानकार एक प्यालेस्टिनी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरेल र हमासले अप्रत्यक्ष वार्ताका क्रममा विट्कफले अघि सारेको मूल पक्षमा नै असहमति जनाएको उल्लेख गरेको छ।
इजरेल र हमासबीचको पछिल्लो लडाइँ अक्टोबर ७, २०२३ मा सुरु भएको थियो। हमासले त्यस बेला दक्षिण इजरेलमा १,२०० भन्दा बढीको हत्या गरेको थियो। तीमध्ये अधिकांश सर्वसाधारण थिए। हमासले २५१ जनालाई बन्धक बनाएको थियो।
उक्त आक्रमणपछि इजरेलले सैन्य कारबाही थालेको थियो। त्यस क्रममा हालसम्म ४८,५०२ जनाभन्दा बढीको मृत्यु भएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेमा अधिकांश गैरसैनिक छन्।
गाजाको २१ लाख जनसङ्ख्या कैयौँ पटक विस्थापित भएको छ। त्यहाँका करिब ७० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् वा भग्नावशेषमा परिणत भएका छन् भने स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली ध्वस्त भएको छ। मानिसहरूले खानेकुरा, इन्धन, औषधि र आवासको अभाव खेपिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








