गाजाबारे अरब देशहरूको 'यथार्थपरक' योजनालाई युरोपेली नेताको समर्थन

गाजामा पुनर्निर्माण

तस्बिर स्रोत, Reuters

    • Author, लुसी क्लार्क-बिलिङ्ग्स
    • Role, बीबीसी न्यूज

युरोपका प्रमुख राष्ट्रहरूले गाजाको पुनर्निर्माणका लागि ५३ अर्ब डलर बराबर खर्च गर्ने र उक्त क्षेत्रबाट प्यालेस्टिनीहरूलाई विस्थापित हुन नदिने गरी अरब नेताहरूले अघि सारेको एउटा योजनालाई समर्थन गर्ने बताएका छन्।

इजिप्टले बनाएको र अरब नेताहरूले समर्थन गरेको उक्त योजनालाई इजरेल र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरेका छन्।

ट्रम्पले गाजा स्ट्रीपलाई "मध्यपूर्वको रिभिएरा"मा रूपान्तरण गर्ने दृष्टिकोण राखेका छन्।

युरोपेली नेताले के भने?

शनिवार फ्रान्स, जर्मनी, इटली र ब्रिटिश विदेशमन्त्रीहरूले गाजालाई पाँच वर्षभित्र पुनर्निर्माण गर्ने अरब देशहरूको योजनालाई "यथार्थपरक" भन्दै स्वागत गरेका छन्।

उनीहरूले जारी गरेको एउटा विज्ञप्तिमा प्रस्तावले गाजाका जनतालाई "विपद्को जीवनावस्थाबाट द्रुत र दिगो ढङ्गले सुधार" गर्ने प्रतिज्ञा व्यक्त गरेको जनाइएको छ।

उक्त योजनाले गाजालाई अस्थायी रूपमा स्वतन्त्र विज्ञहरूको समितिद्वारा सञ्चालन गर्न र अन्तर्राष्ट्रिय शान्ति सैनिकहरूलाई उक्त क्षेत्रमा तैनाथ गर्न आह्वान गरेको छ।

स्वतन्त्र विज्ञहरू भएको त्यो समितिले मानवीय सहायताको अनुगमन र प्यालेस्टिनी प्रशासनको मातहत रहेर गाजा मामिलालाई अस्थायी रूपमा व्यवस्थापन गर्ने प्रस्ताव त्यसमा छ।

यही मार्च १ मा ६ साताका लागि गाजामा गरिएको पहिलो चरणको युद्धविराम सम्झौताको म्याद सकिएपछि पुन: युद्ध सुरु हुन सक्ने चिन्ताबीच अरब राष्ट्रहरूले त्यो प्रस्ताव तयार पारेका हुन्।

गाजाको पुनर्निर्माण

तस्बिर स्रोत, Reuters

इजरेलको दबाब

इजरेलले हमासलाई अस्थायी युद्धविरामको समय बढाउन अमेरिकाले गरेको नयाँ प्रस्ताव स्वीकार गर्न दबाव दिनका लागि उक्त क्षेत्रमा जाने सहयातालाई रोकिदिएको छ।

उक्त युद्धविरामको अवधिमा प्यालेस्टिनी कैदीको सट्टामा गाजामा रहेका थप बन्धकहरू मुक्त हुने ठानिएको छ।

तर हमासले दोस्रो चरणको युद्धविराम सुरु हुनुपर्नेमा जोड दिएको छ।

सहमतिअनुसार त्यसमा इजरेली सेना उक्त क्षेत्रबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने हुन्छ।

युद्धविराम लम्ब्याउने विषयको एउटा वार्तामा भाग लिनका लागि इजरेलले सोमवार एउटा टोलीलाई कतार पठाउने प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जनाएको छ।

सम्झौताअन्तर्गत दोस्रो चरणको युद्धविराम कार्यान्वयन कहिले सुरु हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन।

तर हमासका प्रवक्ता अब्देल लतिफ अल-कनौआले अर्को साता हुने वार्ताका लागि "सकारात्मक सङ्केतहरू" देखिएका बताए।

ट्रम्पको योजनाको विकल्प

ट्रम्पले गाजावासीलाई पुनर्वास गराएर अमेरिकाले उक्त क्षेत्र लिने दृष्टिकोण राख्छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्रम्प गाजावासीलाई पुनर्वास गराएर अमेरिकाले उक्त क्षेत्र लिने दृष्टिकोण राख्छन्

गाजाको भविष्यका निम्ति अरबहरूले अघि बढाएको योजना अमेरिकाले उक्त भूमि लिएर त्यहाँका जनसङ्ख्यालाई पुनर्वास गर्ने ट्रम्पको सोचको विकल्पमा आएको हो।

इजिप्टले मङ्गलवार अरब लिगको आपत्कालीन शिखर सम्मेलनमा उक्त योजना प्रस्तुत गरेको थियो र त्यसलाई प्यालेस्टिनी प्रशासन एवं हमासले स्वागत गरेका थिए।

ह्वाइट हाउस र इजरेली विदेश मन्त्रालय भने त्यसले गाजाको वास्तविकतालाई सम्बोधन गर्न नसक्ने बताएका छन्।

ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजले मङ्गलवार अबेर भग्नावशेष र बमहरू रहेको तर विस्फोटन नभएको क्षेत्रमा मानिसहरू बसोबास गर्ने अवस्था नहुने बताएका छन्।

उनले ट्रम्प उक्त क्षेत्रको पुनर्निर्माणबारे स्पष्ट रहेको र आफ्नो लक्ष्यमा दृढ रहेको पनि बताए।

चार युरोपेली देशहरूले शनिवार जारी गरेको विज्ञप्तिमा उनीहरू "अरब देशहरूले सुरु गरेको पहलमा प्रतिबद्ध भएर काम गर्न तयार रहेको" जनाएका छन्।

उनीहरूले अरब देशहरूले त्यसका लागि अघि सारेको योजनाको सराहना पनि गरेका छन्।

युरोपले खोजेको प्रत्याभूति

बन्धकलाई रिहा गर्दै हमास

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बन्धकलाई रिहा गर्दै हमास

ती देशहरूले जारी गरेको विज्ञप्तिमा हमासले "गाजामा शासन गर्नु नहुने र इजरेलका लागि ऊ खतरा पनि बन्न नहुने" भनिएको छ।

त्यसमा भनिएको छ, "चार देशहरू प्यालेस्टिनी प्रशासनको केन्द्रीय भूमिका र यसको सुधारको एजेन्डा कार्यान्वयनलाई समर्थन गर्छन्।"

गाजामा बसोबास गर्ने २३ लाख मानिसहरूमध्ये लगभग सबैले युद्ध सुरु भएदेखि आफ्नो घर छाड्नु परेको छ।

हमासले सन् २०२३ को अक्टोबरमा आक्रमण गरेपछि इजरेलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार दुई सय मानिसहरू मारिएका थिए भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो।

युद्धका कारण गाजाले ठूलो मानवीय क्षतिसँगै व्यापक विनाशको सामना गरेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामा हालसम्म ४८,००० भन्दा बढी मानिसहरू मारिएका छन्।

इयान एकम्यानको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।