बोट्स्वानाले किन २०,००० हात्ती जर्मनी पठाइदिने धम्की दियो

तस्बिर स्रोत, Getty Images
वन्यजन्तु संरक्षणसम्बन्धी एउटा विवाद चर्किएपछि बोट्स्वानाका राष्ट्रपतिले २०,००० हात्ती जर्मनी पठाउने चेतावनी दिएका छन्।
यो वर्षको सुरुतिर जर्मनीको पर्यावरण मन्त्रालयले आखेटोपहार आयातमा अझ कडाइ गरिनुपर्ने बताएको थियो।
जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै बोट्स्वानाका राष्ट्रपति मोख्वेट्सी मासिसीले जर्मनीको निर्णयले आफ्नो देशका जनतालाई गरिब बनाउने बताए।
संरक्षण अभियानका कारण हात्तीको सङ्ख्या निकै बढेको र तिनको नियन्त्रण गर्न सिकारले सघाउने उनको तर्क थियो।
"जसरी तपाईँहरूले हामीलाई भन्न खोज्नुभएको छ त्यसरी नै जर्मन नागरिकहरूले ती जीवसँग बस्नुपर्छ," जर्मन पत्रिका 'बिल्ड'सँग उनले भने। "यो कुनै ठट्टा हैन।"
एक लाखभन्दा बढी हात्ती
बोट्स्वानामा विश्वभरि भएकामध्ये एकतिहाइ अर्थात् एक लाख ३०,००० भन्दा बढी हात्ती छन्। ती हात्तीलाई बोट्स्वानामा ठाउँ पुग्दैन।
मासिसीले हात्तीका बथानले धनजनमा क्षति पुर्याउने र अन्नपात खाएर दुःख दिने गरेको बताए।
हात्तीको सङ्ख्या कम गर्ने प्रयासमा बोट्स्वानाले छिमेकी देश एङ्गोलालाई ८,००० वटा र मोजाम्बिकलाई सयौँ हात्ती दिएको थियो।
"हामी जर्मनीलाई त्यस्तो उपहार दिन चाहन्छौँ," उनले भने। तर नाइँ भन्ने उत्तर आफूले नखोजेको उनले बताए।

तस्बिर स्रोत, EPA
सिकार गर्ने कोटा
बोट्स्वानाले सन् २०१४ मा सिकारमाथि प्रतिबन्ध लगाएको थियो। तर स्थानीय समुदायबाट दबाव आएपछि २०१९ मा प्रतिबन्ध फिर्ता गरियो।
अहिले त्यहाँ सिकारका लागि वार्षिक कोटा तोकिन्छ।
अधिकारीहरूका अनुसार त्यसबाट स्थानीय समुदायहरूले आयआर्जन गर्न पाउँछन् अनि सिकारका लागि अनुमति लिएको हुनुपर्ने भएकाले त्यो नियन्त्रित हुन्छ।
सरकारले हात्ती मारेर त्यसको मासु घरपालुवा जनावरलाई खानाका रूपमा दिने योजनाबारे विचार गरेको थियो।
ह्यूमने सोसाइटी इन्टरन्याश्नलले सन् २०२१ मा प्रकाशित गरेको प्रतिवेदनका अनुसार जर्मनी ईयूमा अफ्रिकी हात्तीको सिकार गरेर बनाएका समान र समग्रमा सबै आखेटोपहारको सबैभन्दा ठूलो आयातकर्ता हो।
के भन्छ जर्मनी
समाचार संस्था एएफपीसँग कुरा गर्दै बर्लिनस्थित जर्मन पर्यावरण मन्त्रालयकी एकजना प्रवक्ताका अनुसार हात्तीको विषयमा बोट्स्वानाले औपचारिकमा कुनै कुरा उठाएको छैन।
"जैविक विविधता चिन्ताजनक रूपमा नष्ट भएको हुनाले आखेटोपहारको आयात दिगो र कानुनी भएको सुनिश्चित गर्न सबै कुरा गर्नु हाम्रो विशेष दायित्व हो," उनले भनिन्।
यद्यपि आफ्नो मन्त्रालय आखेटोपहार आयातसम्बन्धी नियमबाट प्रभावित बोट्स्वानासहित अफ्रिकी देशहरूसँग वार्तामा भएको उनले बताइन्।
अस्ट्रेलिया, फ्रान्स र बेल्जियमले पनि आखेटोपहारको व्यापारमा प्रतिबन्ध लगाएका छन्।
मार्च महिनामा यूकेका सांसदहरूले पनि त्यस्तो प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए। तर प्रस्तावित कानुन बन्न केही प्रक्रिया बाँकी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








