परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा

केन्याको लामुमा एक मानिसआफ्ना गधालाई गाडा तान्न तयार पार्दै

तस्बिर स्रोत, The Donkey Sanctuary

तस्बिरको क्याप्शन, गधाले धेरै जनालाई जीविकोपार्जन गर्न सघाएको छ
    • Author, भिक्टोरिया गिल र केट स्टीभन्स
    • Role, विज्ञान टोली, बीबीसी न्यूज

पानी बेचेर आफ्नो जीविकोपार्जन गर्न स्टीभ आफ्ना गधाहरूमा निर्भर थिए। पानी भरिएका २० वटा जर्किन ग्राहकहरूसम्म पुर्‍याउन उनी तिनै गधालाई भारी बोकाउँथे। छाला काढ्न आफ्ना गधा चोरिएपछि उनको काम नै बन्द भयो।

उनी त्यो दुःखद दिन झल्झली सम्झिन्छन्। उनी बिहान उठेर सधैँ झैँ घरबाट निस्केर खेतमा गधा लिन गएका थिए। उनी नाइरोबीको बाह्य भागमा बस्छन्।

"तर मेरा गधा खेतमा थिएनन्," उनले भने। "मैले त्यस दिनभरि, रातभरि र भोलिपल्ट पनि दिनभरि खोजेँ तर फेला पार्न सकिनँ।"

हराएको तीन दिनपछि उनलाई एक साथीले गधाहरूको हाडखोर भेटिएको भनी खबर दिए। "गाधा मारेर तिनको छाला काढिएको थियो।"

अफ्रिका तथा यी जनावरहरूको ठूलो जनसङ्ख्या भएका अन्य क्षेत्रहरूमा गधा चोरीका यस प्रकारका घटना सामान्य बन्दै गएका छन्। स्टीभ र उनको पशुधन विश्वभरि विवादित बनेको गधाको छालाको व्यापारको सिकार बने।

चीनमा माग, अफ्रिकामा चोरी

केन्याको एक वधशालामा गधाको छाला बोक्दै एक कामदार

तस्बिर स्रोत, The Donkey Sanctuary

तस्बिरको क्याप्शन, अफ्रिकाका सबै राष्ट्रले गधाको वधमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन्

स्टीभका गधा किन मारिए भनेर बुझ्न चाहिँ उनको सहर नाइरोबी र देश केन्याबाट धेरै टाढा जानुपर्छ। चीनमा 'अजिआउ' भनिने परम्परागत औषधि बनाउनका लागि गधाको छाला र त्यसमा पाइने जिलाटिन नामक पदार्थको ठूलो माग छ।

चीनमा अजिआउले शरीरलाई स्वस्थ र जवान राख्ने विश्वास गरिन्छ। यो बनाउनका लागि गधाका छाला उमाली त्यसबाट जिलाटिन निकालिन्छ र त्यसबाट धूलो, झोल वा चक्की बनाइन्छ वा खानामा राखी खाइन्छ।

गधाको छाला व्यापारको विरोध गर्नेहरूले त्यस्तो परम्पराले स्टीभजस्ता गधामार्फत् जीवन निर्वाह गरिरहेकाहरूलाई पीडित बनाएको औँल्याउँछन्।

सन् २०१७ देखि यसविरुद्ध अभियान चलाइरहेको अन्तर्राष्ट्रिय संस्था डङ्की स्याङ्चुअरीले आफ्नो नयाँ प्रतिवेदनमा अजिआउ बनाउनका लागि संसारभरि प्रत्येक वर्ष ५९ लाख गधाको वध हुने गरेको बताएको छ। बीबीसीले यो तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

अजिआउ उत्पादनका लागि ठ्याक्क कति गधाको छाला काढिन्छ भनेर पत्ता लगाउन निकै कठिन छ।

पूरै अफ्रिकामा प्रतिबन्धको सम्भावना

अजिआउका विभिन्न प्रकार

तस्बिर स्रोत, The Donkey Sanctuary

तस्बिरको क्याप्शन, अजिआउले बनाउनका लागि गधाका छाला उमाली त्यसबाट जिलाटिन निकालिन्छ र त्यसबाट धूलो, झोल वा चक्की बनाइन्छ

संसारका पाँच करोड ३० लाख गधामध्ये आधाजसो अफ्रिका महादेशमा छन्। तर अफ्रिकी देशहरूमा गधा संरक्षणसम्बन्धी कानुनमा एकरूपता छैन।

केही देशले गधाको छाला निकासी गर्न दिन्छन् भने केही देशले दिँदैनन्। तर महादेशभरि नै बजारको उच्च माग र उच्च मूल्यका कारणले गधा चोरीका घटना बढेका छन् र डङ्की स्याङ्चुअरीले गधाहरूको छाला निकासी गैरकानुनी भएको देशबाट कानुनी भएको देशमा तस्करी हुने गरेको बताएको छ।

तर अब भने गधाको घट्दो जनसङ्ख्यालाई दृष्टिगत गर्दै अफ्रिकाका सबै राष्ट्र र ब्रजिलले पनि गधाको वधमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन्।

डङ्की स्याङ्चुअरीका लागि नाइरोबीमा काम गर्ने सोलोमन ओन्याङ्गोको अनुमानमा सन् २०१६ देखि २०१९ सम्मको तीनवर्षे अवधिमा केन्याको आधा गधा जनसङ्ख्या छालाका लागि मारिएका थिए।

यी जनावर ग्रामीण भेगमा बस्ने गरिब समुदायका मानिसका मेरुदण्ड हुन् र मानिस, पानी, खाद्यवस्तु र अन्य सामान बोक्नका लागि अपरिहार्य छन्। त्यसैले पनि छाला व्यापारका लागि यिनको बढ्दो हत्या देखेर विज्ञ र अभियानकर्मीहरू आत्तिएका छन्। केन्याका धेरै मानिस छाला व्यापारविरोधी गतिविधिमा सक्रिय हुन थालेका छन्।

गधावधमा अनिश्चितकालीन अफ्रिकाव्यापी प्रतिबन्धको विषयलाई आगामी फेब्रुअरी १७ र १८ मा हुने अफ्रिकी सङ्घको सम्मेलनको अजेन्डामा पनि समावेश गराइएको छ। यसलाई सकारात्मक रूपमा लिँदै स्टीभले यो कदमले यी जनावरहरूलाई बचाउने आशा लिएका छन्। "

नत्र आगामी पुस्ताले गधा नै देख्न पाउने छैन।"

व्यापार बन्द होला कि ठाउँ सर्ला?

केन्याको मान्डा गाउँमा एक परिवार र उनको गधा

तस्बिर स्रोत, Faith Burden

तस्बिरको क्याप्शन, गधाले धेरै परिवारलाई गरिबीको रेखाभन्दा माथि राखेको छ

तर अफ्रिका र ब्रजिलमा बन्द भएपछि व्यापार अन्यत्र सर्ने हो कि?

अजिआउ उत्पादकहरूले पहिले छालाका लागि चीनकै गधाहरू प्रयोग गर्थे। तर कृषि तथा ग्रामीण मामिला मन्त्रालयका अनुसार सन् १९९० र २०२१ का बीच त्यस देशमा गधाको कुलसङ्ख्या एक करोड १० लाखबाट २० लाखभन्दा कममा झर्‍यो। यही अवधिमा अजिआउ सीमित वर्गको विलासिताको वस्तुबाट सर्वत्र उपलब्ध लोकप्रिय औषधि बन्यो।

यो बढ्दो माग र घट्दो आपूर्तिले गर्दा चिनियाँ कम्पनीहरूले गधाको छालाको लागि विदेशी स्रोतहरू खोज्न थाले। गधावधशाला अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न स्थानमा खुल्न थाले।

यसले अफ्रिकामा व्यापार गर्न दिनु हुने र नहुने पक्षमा विवाद उत्पन्न गरायो।

गाडा तान्दै गरेका गधा

तस्बिर स्रोत, The Donkey Sanctuary

तस्बिरको क्याप्शन, गाडा तान्दै गरेका गधा

गधाको मासु खान वर्जित रहेको इथियोपियामा सरकारले सार्वजनिक विरोध र सामाजिक सञ्जालमा आक्रोशपश्चात् सन् २०१७ मा देशका दुई वधशालामध्ये एक बन्द गरायो।

सन् २०२२ मा तान्जानिया, आइभरी कोस्ट लगायतका देशहरूले पनि गधावध र छाला निर्यातमा बन्देज लगाए।

तर चीनको छिमेकी पाकिस्तानमा भने गधाको छाला व्यापार हुन्छ।

गत सालको अन्त्यतिर स्थानीय सञ्चारमाध्यमले "उत्कृष्ट नस्लका" गधा उत्पादन गर्न देशमा पहिलो "आधिकारिक गधा प्रजनन फार्म" खोलिएको जनाएका थिए।

मरेको गधा बढी मूल्यवान्?

गधाको छाला व्यापारमा ठूलो रकम रहेको छ। सिड्नी विश्वविद्यालयका चीन-अफ्रिका सम्बन्धका प्राध्यापक लरेन जनस्टनका अनुसार चीनको अजिआउ बजारको आकार सन् २०१३ मा तीन अर्ब २० करोड अमेरिकी डलरको थियो। त्यो बढेर सन् २०२० मा सात अर्ब ८० करोड अमेरिकी डलर बन्यो।

जनस्वास्थ्यविद्, पशुकल्याण अभियानकर्मी तथा अन्तर्राष्ट्रिय अपराध अनुसन्धानकर्ताहरूका लागि पनि यो चिन्ताको विषय बनेको छ। अध्ययनले गधाको छालाका साथ अन्य अवैध वन्यजन्तुका अङ्गहरूको पनि ओसारपसार हुने गरेको देखाएको छ। प्रतिबन्ध लगाएमा यो व्यापार बन्द नभई भूमिगत हुने पनि धेरैको चिन्ता छ।

राष्ट्रिय नेताहरूका लागि यो विषय एउटा आधारभूत प्रश्नको वरिपरि घुम्ने गरेको छ: विकासशील अर्थतन्त्रलाई मरेको गधाबाट बढी फाइदा हुन्छ कि जीवित गधाबाट?

केन्यामा मार्नका लागि राखिएका गधा

तस्बिर स्रोत, The Donkey Sanctuary

तस्बिरको क्याप्शन, पशुकल्याणवादीहरूले गधाको छाला व्यापारलाई "अमानवीय" भन्दै आएका छन्

"मेरो समुदायका अधिकांश मानिस साना किसान हुन् र उनीहरूले आफ्ना उत्पादन बजारमा बेच्न गधाको प्रयोग गर्छन्," स्टीभले भने। उनी पानी बेचेर चिकित्साशास्त्र पढ्न पैसा जोहो गर्दै थिए।

डङ्की स्याङ्चुअरीका प्रमुख पशुचिकित्सक फेथ बर्डनले संसारका धेरै ग्रामीण भेगका बासिन्दालाई यी जनावर "नभई नहुने" बताइन्। यी बलिया र बहुउपयोगी हुन्छन्।

"गधाले झन्डै २४ घण्टासम्म पानी नपिई काम गर्न सक्छ र कुनै समस्यामा नपरीकन पछि पानी पिई छिट्टै पुरानै अवस्थामा फर्किन सक्छ।"

तर यति धेरै गुण भएको गधाको छिटो र सजिलो प्रजनन हुन सक्दैन। त्यसैले छालाको लागि यसलाई मार्ने कार्य बन्द नभए यस पशुको सङ्ख्या झन् घट्ने र गरिबहरूको जीवनको एक महत्त्वपूर्ण आधार गुम्ने अभियानकर्मीहरू बताउँछन्।

"हामीले गधा हत्या गर्नका लागि पालेका होइनौँ," ओन्याङ्गोले भने।

प्राध्यापक जनस्टनले गधाहरूले हजारौँ वर्षदेखि "गरिबहरूलाई बोक्दै आएको" बताइन्।

"यिनले बालबालिका र महिला बोक्छन्। यिनले जीसस गर्भमा हुँदा मेरीलाई बोकेका थिए।"

आफ्नो परिवारले पालेको गधा चोरिँदा सबैभन्दा बढी महिला र केटीहरूलाई नोक्सान हुने पनि उनले बताइन्।

"गधा नभए परिवारमा महिलालाई गधा बनाइन्छ," उनले भनिन्। विडम्बना के हो भने गधालाई मारेर बनाइने अजिआउको उपभोग धनी चिनियाँ महिलाले गर्छन्।

अजिआउ किन लोकप्रिय

एक बालक र एक गधा

तस्बिर स्रोत, The Brooke

तस्बिरको क्याप्शन, आगामी पुस्ताले गधा नै देख्न नपाउने डर बढेको छ

अजिआउ हजारौँ वर्ष पुरानो औषधि हो। यसले रगत "बलियो" बनाउने, निदाउन सघाउने, प्रजनन क्षमता बढाउने विश्वास गरिन्छ। तर सन् २०११ मा प्रसारण भएको टेलिभिजन कार्यक्रम 'एम्प्रेस इन द प्यालेस' ले यसको लोकप्रियता ह्वात्तै बढायो।

"त्यो निकै चतुरतापूर्वक गरिएको 'प्रडक्ट प्लेसमन्ट' थियो," जनस्टनले बताइन्। "त्यस कार्यक्रमले महिलाहरू सुन्दर र स्वस्थ रहन, छाला स्वच्छ राख्न र प्रजनन क्षमता बढाउन अजिआउ सेवन गरेको देखायो। यो 'अभिजात्य नारीत्व' को प्रतीक बन्यो। तर दुःखको कुरा के हो भने यसले अफ्रिकामा नारीहरूकै जीवन नष्ट गर्दै छ।"

उमेरले २४ वर्ष पुगेका स्टीभलाई आफ्नो गधा गुमाउँदा जीवन र जीविकोपार्जनको माध्यम पनि गुमेको लागिराखेको छ।

"म त अन्योलमा छु," उनले दुःख प्रकट गरे।

नाइरोबीको एक स्थानीय पशुकल्याण संस्थासँगको सहकार्यमा ब्रूक नामक परोपकारी संस्थाले शिक्षा वा रोजगारीका लागि गधा आवश्यक परेका स्टीभजस्ता युवाहरूका गधा खोज्ने काम गर्छ।

गधाका साथ जानेक मर्क्स

तस्बिर स्रोत, Victoria Gill/BBC

तस्बिरको क्याप्शन, गधासँग जानेक मर्क्स

तर डङ्की स्याङ्चुअरीकी जानेक मर्क्स अजिआउ बनाउने कम्पनीहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने ठान्छिन्।

"अजिआउ कम्पनीहरूले गधाका छाला खरिद गर्न पूर्ण रूपले बन्द गरेको र प्रयोगशालामा कोलाजेन उत्पादन गर्ने जस्ता अन्य दीर्घकालीन विकल्प अवलम्बन गरेको हेर्न चाहन्छौँ। त्यसका लागि सुरक्षित र प्रभावकारी विकल्पहरू पहिलेदेखि नै उपलब्ध छन्।"

डङ्की स्याङ्चुअरीका नायब कार्यकारी पनि रहेकी बर्डनले छाला व्यापार "अमानवीय" पनि रहेको बताइन्।

"तिनको चोरी हुन्छ, तिनलाई हजारौँ किलोमिटर हिँडाइन्छ, खोरमा कोचिन्छ र अरू सबै गधाका अगाडि मारिन्छ," उनले भनिन्। "हामीहरूले तिनको पक्षमा बोल्न आवश्यक छ।"

स्टीभ र उनको नयाँ गधा जोय लक्की

तस्बिर स्रोत, The Brooke

तस्बिरको क्याप्शन, स्टीभसँग अब एउटा नयाँ गधा छ

यता स्टीभलाई भने ब्रूकले एउटा नयाँ पोथी गधा उपलब्ध गराएको छ।

उनले त्यसलाई 'जोय लकी' नाम दिएका छन्। किनभने त्यसलाई पाएर उनी आफूलाई खुसी (जोय) र भाग्यमानी (लकी) अनुभूति गरेका छन्।

"यसले मलाई मेरो सपना पूरा गर्न सहयोग गर्छ भन्ने मलाई लाग्छ," उनले भने। "अनि यसको सुरक्षा म सुनिश्चित गर्छु"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।