गधाहरू अहिलेसम्मकै ठूलो सङ्कटमा किन?

गधा

तस्बिर स्रोत, Getty Images

चीनमा गधाको छालाको बढ्दो मागका कारण विश्वभरि तिनीहरूको संख्यामाथि सङ्कटको बादल मडारिन थालेको छ।

त्यहाँ 'हेल्थ फुड्स' अर्थात् स्वास्थ्यवर्द्धक खाना र परम्परागत ‌औषधि बनाउन गधाको छालाको प्रयोग गरिन्छ।

गधाको मासु पनि उत्तिकै लोकप्रिय छ। तर तिनीहरुको संख्यामा आएको कमी र तिनीहरूलाई तयार पार्न लाग्ने समयका कारण आपूर्तिकर्ताहरू अरू विकल्प खोज्न बाध्य भएका छन्।

गधाहरूको घट्दो संख्याका कारण अफ्रिका नराम्ररी प्रभावित भएको छ।

अभिन्न अङ्ग

गधा त्यहाँको जनजीवनको एउटा अभिन्न अङ्ग हो किनकि यो जनावरको प्रयोग खासगरी गरिबहरू यातायात र खेतीपातीका लागि गर्छन्।

नगद पाउनका लागि गधाहरूको चोरी बढ्दो छ र पछिल्ला केही वर्षयता कैयौँ क्षेत्रमा गधाको मूल्य दोब्बरले बढेको छ।

गधा
तस्बिरको क्याप्शन, केन्यास्थित एउटा गधा वधशाला

जसका कारण त्यहाँका परिवारहरू गधा किन्न असमर्थ भइरहेका छन्।

पानी पुर्‍याउने काममा संलग्न २९ वर्षीय एन्थोनी माउपे वान्यामासँग चार वर्षदेखि कार्लोस नाम गरेको गधा थियो र त्यसले राम्रोसँग काम पनि गरिरहेको थियो।

दुई सन्तानका बुवा एन्थोनीले भने, "मैले जमिन किनेँ, स्कूलको शुल्क तिरेँ र परिवारलाई हेरिरहेको थिएँ।"

नाइरोबीको बाहिरी भेगमा पर्ने ओन्गाटा रोङ्गाईमा एन्थोनी र उनको गधा एकअर्काको जीवनका यसरी अभिन्न अङ्ग बनेका थिए कि मान्छेहरुले उनलाई समेत कार्लोस भनेर बोलाउँथे।

बढ्दो चोरी

आँसु झार्दै एन्थोनीले भने, "एउटा बिहान म उठ्दा कार्लोस थिएन, मैले वरपर खोजेँ अनि त्यसलाई मृत फेला पारेँ। त्यसको छाला निकालिसकिएको थियो।"

अहिले उनी एउटा गधा भाडामा लिएर गधा-गाडामा प्लास्टिकको निलो भाँडामा पानी पुर्‍याउँछन्। तर उनले राम्रो आम्दानी गर्ने दिन तीन वा चार डलरको आधा हिस्सा गधा मालिकलाई दिनुपर्छ।

गधा
तस्बिरको क्याप्शन, गधा गाडामा पानी पुर्‍याउँदै एन्थोनी माउपे वान्यामा

उनले भने, "अहिले मसँग पर्याप्त पैसा छैन, मैले भाडा तिरेको छैन, स्कूलको शुल्क तिरेको छैन। अब नयाँ किन्ने आर्थिक हैसियत पनि मसँग छैन।"

  • गधाको हितमा काम गर्ने ब्रिटेनस्थित एउटा परोपकारी संस्था द डंकी स्यांकचुरीका अनुसार वार्षिक १८ लाख गधाको छाला विक्री हुने गर्छ जबकि माग एक करोड जतिको छ
  • सन् १९९० मा चीनमा गधाको संख्या १ करोड १० लाख रहेकोमा घटेर अहिले ३० लाख पुगेको छ, यो सरकारी तथ्याङ्क अनुसार हो
  • गधाको छाला उमालेर बनाइने 'इजिआओ' भनिने एक प्रकारको परिकार किलोको ३८८ डलरसम्ममा विक्री हुन्छ
  • युगाण्डा, तान्जानिया, बोत्स्वाना, निजेर, बुर्किनाफासो, माली र सेनेगलले चीनलाई गधा विक्री गर्नमा प्रतिबन्ध लगाइसकेका छन्

केन्यामा खुलेका तीनवटा वधशालाका कारण गधाको मूल्य र मागमा वृद्धि भएको छ।

प्रत्येक वधशालाले दैनिक १५० वटा गधा काट्न तथा मासु प्याक गरी फ्रिजमा राख्न र छाला निर्यातका लागि तयार पार्न सक्छन्।

गधा
तस्बिरको क्याप्शन, गधाका छाला र मासुबाट बनेका विभिन्न खानेकुरा

नैयाशास्थित स्टार ब्रिलियन्ट एक्सपोर्ट वधशालामा जीवित गधाहरू तौल गरी विक्री हुन्छ।

गधाको टाउकोमा गोली हानी मारिन्छ र त्यसपछि मासु तथा निर्यातका लागि छाला तयार पारिन्छ।

स्टार ब्रिलियन्ट एक्सपोर्टका प्रमुख कार्यकारी जोन कारिउकीका अनुसार केन्या र अफ्रिकामै गधाका लागि वधशाला खोल्नका निम्ति सरकारी अनुमति पाउने उनी पहिलो व्यक्ति हुन्।

उनले भने, "हामीले अनुमति पाउनुअघि गधाको बजार थिएन। मान्छेहरुले आफ्ना बच्चाको स्कूल शुल्क तिर्नका लागि गाई र खसीबाख्रा बेच्ने गर्दथे। तर अहिले उनीहरुले गाईभन्दा बढी गधा बेचिरहेका छन्।"

दुर्व्यवहार

"हामी चिनियाँहरूसँग खुशी छौँ किनकि पहिला हामीले गधाबाट फाइदा लिन सकिरहेका थिएनौँ। तर अहिले मानिसहरूले गधाबाट निकै फाइदा लिइरहेका छन्।"

चिनियाँ खरिदकर्ताहरूले मासु राम्रोसँग प्याक गरिए वा नगरिएको लगायतका प्रक्रिया हेर्छन्।

छाला उमालेर बनाइने 'इजिआओ'को एउटा महत्त्वपूर्ण तत्व हो।

गधा
तस्बिरको क्याप्शन, बोत्स्वानामा मासु र छाला झिकेर फालिएका गधाका हड्डी

तर गधाप्रति गरिने व्यवहारलाई लिएर आलोचना पनि भइरहेको छ।

गधाको हितमा काम गर्ने ब्रिटिश परोपकारी संस्था र दक्षिण अफ्रिकास्थित ओक्सपेकर्स संस्थाका खोज पत्रकारहरुले गधामाथि गरिने दुर्व्यवहारसम्बन्धी घटनालाई बाहिर ल्याएका छन्।

डंकी स्यांकचुरीका माइक बेकरले भने, "गधाहरूले भोग्नुपरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्कट हो।"

उक्त संस्थाले राम्रोसँग नियमनको व्यवस्था नभएसम्म गधाको व्यापार रोक्नुपर्ने वकालत गर्दै आएको छ।

प्रतिबन्ध

"हामीले लाखौँ गधाहरू लगिँदै गरेको देखिरहेका छौँ र मैले अहिलेसम्म नदेखेको स्तरमा तिनीहरूले पीडा खेपिरहेका छन्।"

"छाला सजिलैसँग निकाल्न सकियोस् भनेर गधाहरूलाई भोको राखेर मार्ने र टाउकोमा प्रहार गरेर मार्ने विषयबारे हामीले कुरा उठाइरहेका छौँ।"

अन्तर्राष्ट्रिय दवाबले काम गर्न थालेको पनि उनले बताए।

गधा
तस्बिरको क्याप्शन, घानामा गधाका छालाहरु सुकाइंदै

युगाण्डा, तान्जानिया, बोत्स्वाना, निजेर, बुर्किनाफासो, माली र सेनेगलले चीनलाई गधासँग सम्बन्धित सामग्री विक्रीमा प्रतिबन्ध लगाइसकेका छन्।

बेकरले भने, "दर्जनौँ सरकारहरूले गधासम्बन्धी व्यापार रोक्ने कदम चालेका छन् किनकि उनीहरूलाई थाहा छ कि त्यसले त्यहाँका जनतालाई निर्धन बनाइरहेको छ र त्यसका साथै जनावरप्रति निकै खराब व्यवहार भइरहेको छ।"

अफ्रिका महादेशभरि नाटकीय स्तरमा गधाहरु मारिँदैछन् र एन्थोनी वान्या अनि उनका परिवार जस्ताका जिन्दगी कठिन भएको छ। जसले न भाडा तिर्न सकेका छन् न त स्कूलका शुल्क।

ठूलो खडेरीबाट पीडित हजारौँ मानिसहरू आफ्नो एकमात्र सम्पत्ति बेच्न बाध्य भएका छन् भने चोरीका कारण गधा गुमाएका मानिसहरूको अर्को किन्ने आर्थिक हैसियत छैन।