बाँदरलाई यातना दिने विश्वव्यापी सञ्जालको पर्दाफाश

Grab from monkey torture video
    • Author, जोएल गुन्टर, रेबेका हेन्स्की र अस्टुडेस्ट्रा अजङग्रस्ट्री
    • Role, बीबीसी आई इन्भेस्टिगेशन्स्

इन्डोनेशियादेखि अमेरिकासम्म फैलिएको बाँदरलाई यातना दिने विश्वव्यासी सञ्जालबारे बीबीसी विश्व सेवाको अनुसन्धानले पर्दाफाश गरेको छ।

अमेरिका, यूके र अरू देशमा बाँदरहरूलाई यातना दिन र मार्ने गरिएका दृष्य हेर्न सयौँ मानिसले पैसा दिने गरेको देखिएको छ।

त्यस्ता यातनाकारीहरूको समुदायको आरम्भ यूट्यूबबाट भएर त्यो हाल 'इन्क्रिप्टेड मेसेजिङ एप' टेलिग्राममा रहेको, र जो कसैले सहजै हेर्न नमिल्ने, बन्द समूहको स्वरूपमा पुगेको छ।

प्रहरीले खरिदकर्ताहरूको खोजी गरिरहेका छन् र अहिलेसम्म कैयौँ पक्राउ परिसकेका छन्।

चेतावनीः यो समाचारमा विचलित बनाउन सक्ने विवरण छन्

बीबीसीका पत्रकारहरू छद्म भेषमा टेलिग्रामको एउटा समूहमा छिरे जहाँ सयौँ मानिस बाँदरलाई चरम यातना दिने तरिकासहित इन्डोनेशिया र अरू एशियाली देशमा त्यसको कार्यान्वयनबारे निर्देशन दिन उपस्थित भएका थिए।

लामो पुच्छर भएका मकाक प्रजातिका बाँदरका बच्चालाई यातना दिएको र तिनलाई मारेको फिल्म बनाउने सञ्जालको उद्देश्य थियो।

इन्डोनेशियामा यातना दिइएकोबारे तथा अमेरिकामा रहेका वितरक तथा ग्राहकबारे बीबीसीले पत्ता लगायो अनि न्यायका लागि कानून कार्यान्वयन गराउने अन्तर्राष्ट्रिय निकायसम्म पहुँच कायम गर्‍यो।

विश्वभरि अहिले कम्तीमा २० जना व्यक्ति अनुसन्धानको दायरामा छन् जसमध्ये यूकेमा बसिरहेका तीनजना महिला छन्।

The Torture King' stands in front of flags

तस्बिर स्रोत, Joel Gunter/BBC

तस्बिरको क्याप्शन, “द टर्चर किङ्ग”

यूके प्रहरीले उनीहरूलाई गत वर्ष पक्राउ गरेको र अनुसन्धानअन्तर्गत छोडेको थियो।

अर्का एक जनामाथि अमेरिकाको ओरेगनमा गत साता मुद्दा चलाइएको छ।

स्क्रीनमा “द टर्चर किङ्ग” अर्थात्‌ यातना दिने राजा नामले परिचित अमेरिकामा रहेका एक प्रमुख भिडिओ वितरक माइक म्याक्कार्टनी बीबीसीसँग कुरा गर्न सहमत भए।

यातना दिएर रमाउने सञ्जालसँग टेलिग्राममा पहिलो पटक जोडिएको क्षणबारे उनले बताए।

“उनीहरूले प्रश्न तयार पारेका थिए,” म्याक्कार्टनीले भने। के तपाईँलाई हतौडा चाहिन्छ? के तपाईँलाई चिम्टा चाहिन्छ? के तपाईँलाई स्क्रूड्राइभर चाहिन्छ? त्यसपछिको भिडिओ मैले अहिलेसम्म हेरेकामध्ये विकृत थियो,” उनले भने।

म्याक्कार्टनी मोटरसाइकल ग्याङ्गका पूर्वसदस्य हुन् जसले बाँदरलाई यातना दिने सञ्जालमा जोडिनुअघि जेलसजाय काटेका थिए। त्यसपछि उनी बाँदरलाई यातना दिने टेलिग्राम समूहमा जोडिन पुगे।

“लागुऔषधबाट आउने रकमभन्दा यो फरक छैन,” उनले भने। फोहोरी हातबाट लागुऔषधको पैसा आउँछ भने रगताम्य हातबाट यो पैसा आउने रहेछ,” उनले भने।

बीबीसीले अरू दुई सन्दिग्धलाई पनि पहिचान गरेको छ जसमाथि अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले अनुसन्धान गरिरहेको छ।

Mr Ape looks at a screen showing a monkey in distress

तस्बिर स्रोत, Ed Ou/BBC

तस्बिरको क्याप्शन, मिस्टर एपी

त्यसमा ४० को दशककी अलाबामाकी एक हजुरआमा स्टेसी स्टोरी छिन् जो ग्रुपमा “स्याडिस्टीक” अर्थात्‌ परपीडा दिएर रमाउने नामले परिचित छिन्।

“मिस्टर एपी” नामले चिनिने अर्का सन्दिग्ध छन्। सुरक्षाको कारण उनको पहिचान हामीले खुलाएका छैनौँ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा “मिस्टर एपी”ले कम्तीमा चारवटा बाँदरको मृत्यु र अरू कतिपयलाई यातना दिएको स्वीकारेका छन्।

“अति क्रूर” यातना दिइएको भिडिओ खिच्न आफूलाई लगाइएको उनले बताए।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीहरूले स्टोरीको फोन कब्जामा लिएका छन् जसमा यातनासम्बन्धी करिब सयवटा भिडिओ फेला पारे।

साथै अति यातना दिइएको दृश्यहरू भएका भिडिओका लागि उनले पैसा दिएको प्रमाण पनि भेटियो। प्रहरी स्रोतका अनुसार स्टोरी यो महिनाको शुरूसम्म यातना सञ्जालमा सक्रिय थिइन्।

रातो धर्सा
रातो धर्सा

ज्यानुअरीमा बीबीसीले अलाबामामा उनीसँग कुरा गर्न खोज्दा आफू ह्याकिङमा परेको बताउँदै आरोपबारे टिप्पणी गर्न अस्वीकार गरिन्।

“मिस्टर एपी”, स्टेसी स्टोरी र माइक म्याक्कार्टनी होमल्यान्ड सेक्युरिटी अनुसान्धानका पाँच निशानामध्ये तीन प्रमुख व्यक्ति हुन्।

उनीहरूमाथि अभियोग दर्ता हुन बाँकी नै छ, तर डीएचएसले सङ्कलन गरेका प्रमाणहरू हेर्दा आरोप साबित भए उनीहरूले सात वर्षसम्मको जेलसजाय पाउन सक्छन्।

डीएचएसको अनुसन्धानको नेतृत्व गरिरहेका स्पेशल एजेन्ट पल वोल्पर्टले अपराधको प्रकृति हेरेर आफूहरू स्तब्ध भएको बताएका छन्।

“यो प्रकृतिको अपराध गर्नका लागि कोही तयार हुन सक्छ भन्ने कुरा मलाई थाहा भएन,” उनले भने। “अदालत, अभियोजनकर्ता सबैका लागि स्तब्ध तुल्याउने कुरा हुने छ।”

“बाँदरलाई यातना दिइएको भिडिओ बनाउने र वितरण गर्ने काममा संलग्न जो कोहीकहाँ कुनै न कुनै बेला प्रहरी पुग्छ नै,” एजेन्ट वोल्पर्टले भने। “तपाईँ उम्किन पाउनु हुन्न।”

Asep Yadi Nurul Hikmah in police custody
तस्बिरको क्याप्शन, आसिप यादि नुरुल हिक्माह

इन्डोनेशियामा पनि प्रहरीले दुईजना सन्दिग्धलाई पक्राउ गरेका छन्।

आसिप यादि नुरुल हिक्माहलाई संरक्षित वन्यजन्तुलाई यातना दिएको र तिनलाई बेचेको अभियोगमा तीन वर्षको जेलसजाय सुनाइएको छ। एम आजिस रसजानालाई आठ महिनाको जेल सजाय सुनाइएको छ।

बाँदरलाई यातना दिइएका भिडिओ अझै टेलिग्राम र फेसबुकमा छन् जहाँ दर्जनौँ ग्रुपले विचलित बनाउने सामग्री शेअर गरिरहेका छन्।

हामीले ध्यानाकर्षण गराएपछि फेसबुकले त्यस्ता ग्रुपलाई हटाएको बीबीसीलाई बतायो।

“जनावरमाथि दुर्व्यवहार गरिएका सामग्री हामी हाम्रो प्लेटफर्ममा प्रवर्द्धन गर्न दिन्नौँ र त्यस्ता सामग्रीबारे थाहा पाउनासाथ त्यसलाई हटाउँछौँ पछिल्लो घटनामा त्यस्तै गर्‍यौँ,” एकजना प्रवक्ताले भनिन्।

जनावरमाथि दुर्व्यवहार गरिएका सामग्री देखाउने आफ्नो प्लेटफर्ममा “कुनै ठाउँ नरहेको र त्यी सामग्री हटाउन लागिपरेको” एउटा वक्तव्यमार्फत्‌ यूट्यूबले बीबीसीलाई बताएको छ।

प्रयोगकर्ताको गोपनीयता र वाक्‌ स्वतन्त्रता जस्ता मानव अधिकारको रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै टेलिग्रामले आफ्ना “मोडरेटरहरू” ले प्राइभेट ग्रुपहरूलाई आफैँ सक्रिय भएर निगरानी गर्न नसक्ने बताएको छ।