भारतः राजस्थानमा किसानले पालेका गधा भटाभट चोरी हुन थालेपछि प्रहरी हैरान

राजस्थान

तस्बिर स्रोत, Mohar Singh Meena/BBC

    • Author, मोहर सिंह मीणा
    • Role, बीबीसी हिन्दी

भारतको राजस्थानमा पर्ने हनुमानगढ जिल्लामा गधा चोरीका घटना दोहोरिन थालेपछि प्रहरी प्रशासन हैरान भएको छ।

प्रहरीले अरू काम छोडेर गधा चोर्नेहरूलाई समात्नेतर्फ ध्यान केन्द्रित गर्नुपरेको छ।

गधा चोर पत्ता लगाउन प्रहरीले छुट्टै टोली बनाएको छ भने मानिसहरूलाई आफ्ना गधा घरभित्रै राख्न सुझाव दिइएको छ।

हनुमानगढको खुईयाँ थाना क्षेत्रका कैयौँ गाउँमा डिसेम्बर १० तारिखयता गधा चोरी भएको भन्दै प्रहरीमा लगातार उजुरी पर्न थालेको हो।

खोजी गर्न माग गर्दै धर्ना

कैयौँ दिनसम्म त्यसबारे सुनुवाइ नभएपछि गोठालाहरूले गधा खोज्न माग गर्दै स्थानीय जनप्रतिनिधिसहित प्रहरी चौकीअगाडि धर्ना सुरु गरे।

चोरी भएका गधाहरूको खोजी १५ दिनभित्र गरिदिने प्रहरीको आश्वासनपछि उनीहरूले धर्ना अन्त्य गरे।

तर डिसेम्बर २९ को राति फेरि एउटा गाउँ मन्द्रपुराबाट थप छवटा गधा हराए।

सो क्षेत्रका गोठालाहरू त्रसित छन् र चोरी भएका गधाको खोजी गर्न माग गरिरहेका छन्।

राजस्थान

तस्बिर स्रोत, Mohar Singh Meena/BBC

तस्बिरको क्याप्शन, धर्नामा गोठाला र जनप्रतिनिधि

नोहरका एसपी विनोद कुमारले बीबीसीसँग भनेः "पहिलो पटक यस्तो भएको छ। दुई-तीन ठाउँबाट गधाको चोरीबारे सूचना आएको छ।"

"कसैका चारवटा त कसैका पाँचवटा गधा चोरिएका छन्। खोजीका लागि हामीले टोली परिचालन गरेका छौँ, हाम्रो प्रयास जारी छ।"

देवासरका एक गोठालेले आफ्ना तीनवटा गधा चोरी भएको बीबीसी हिन्दीलाई बताए।

"डिसेम्बर ९ तारिखदेखि गधाको चोरी हुन थालेको हो। हाम्रो गाउँमा मात्रा अहिलेसम्म १६ वटा गधा चोरिएका छन्।"

खोजीका लागि प्रहरीले के गर्दैछ?

गधा चोरीका घटना बढ्न थालेपछि गोठालाहरूसँगै धर्ना दिन पुगेका एक पञ्चायत समिति सदस्य मङ्गेज चौधरीले भनेः "गधा चोरीका घटनालाई लिएर हामी कैयौँ पटक प्रहरीकहाँ गयौँ तर प्रहरीले चार दिनको समय माग्यो।"

"पछि कुनै सीप नचलेर हामीले डिसेम्बर २८ तारिख दिनभरि थानाअगाडि धर्ना दियौँ। त्यसपछि एसपीले खोजीका लागि १५ दिनको समय माग्नुभयो।"

मन्द्रपुरा ग्राम पञ्चायतका प्रतिनिधि शरीफ मोहम्मदका अनुसार अहिलेसम्म विभिन्न गाउँबाट गरी ७६ वटा गधा हराएका छन्।

उजुरीपछि प्रहरीहरू डिसेम्बर २७ को राति १५ वटा गधा समातेर थानामा ल्याई गोठालाहरूलाई आफ्नो गधा चिन्न बोलाए।

राजस्थान

तस्बिर स्रोत, Mohar Singh Meena/BBC

खुईयाँस्थित प्रहरी थानाका अधिकारी वीरेन्द्र शर्माले भनेः "गधा चोरीबारे उजुरीहरू आएपछि प्रहरी टोलीले केही गधा समातेर ल्याए। तिनीहरूलाई चिन्न गोठालाहरूले चिन्टु, पीकू, कालू लगायत नामले बोलाए।"

"तर ती नामले बोलाउँदा गधाहरूले फर्केर हेरेनन्। गोठालाहरूले आफ्ना गधाबारे केही सङ्केत चिह्नबारे बताएका छन्। हामी खोजीको प्रयासमा छौँ।"

एसपी विनोद कुमारले भनेः "हामीले केही गधा भेटाएका पनि थियौँ। तर गोठालाहरूलाई देखाउँदा ती आफ्नो नभएको उनीहरूले बताए।"

पवन नाम गरेका देवासर गाउँका एक गोठालाले भनेः "थानामा जुन गधाहरू देखाइयो तीमध्ये कुनै पनि हाम्रा थिएनन्। हामी जनावरलाई चिन्छौँ। ती गधाहरू इँटाभट्टीका थिए।"

गोठालाका सहयोगी गधा

हनुमानगढ जिल्लामा कृषिपछि सबैभन्दा धेरै गरिने व्यवसाय भनेको पशुपालन हो।

त्यहाँका अधिकांश गाउँमा गोठालाहरूसँग ठूलो सङ्ख्यामा पशु छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गधामा पुस्तकालय

एक जनासँग ३०० वटासम्म पशु छन् र एउटा गाउँमा हजारौँको सङ्ख्यामा पशुहरू हुन्छन्।

ती गोठालाले भेडा, बाख्राबाख्री र गाईसँगै एउटादेखि दुइटा गधा पनि राख्ने गर्छन्।

भेडा, बाख्रा र गाई चराउन जाँदा गोठालाहरूले आफ्नो लागि खाना, पानी, लत्ताकपडालगायत अत्यावश्यक सामान ढुवानीका लागि गधाको प्रयोग गर्छन्।

राजस्थान

तस्बिर स्रोत, Mohar Singh Meena/BBC

ती गोठालाहरू विभिन्न जिल्लाका हुन्छन् र समूहमा एकचोटि निस्केपछि तीन-चार महिनापश्चात् घर फर्किन्छन्।

अतः गधाहरू गोठाला सहयोगीसरह हुन्छन्। अहिले गधाहरू चोरिन थालेसँगै गोठालाहरू सङ्कटमा परेका छन्।

आफूसँग ५०० वटा भेडा भएको बताउने पवनले भनेः "चार महिनापछि भेडाहरू लिएर फर्केको थिएँ। गधाहरू नै चोरी भएपछि अब कसरी जाने?"

गधा चोरीका घटना बढ्न थालेपछि प्रहरीले मानिसहरूलाई आआफ्नो गधा घरभित्रै राख्न आग्रह गरेको छ।

गधाको मूल्य

लगातार हुन थालेको गधा चोरीका घटनाले सो क्षेत्रका मानिसहरू पिरोलिएका छन्।

अर्कोतर्फ गोठालाहरू आफ्ना भेडाबाख्राबारे चिन्तित बनेका छन्।

एकजना गोठालासँग सयौँका सङ्ख्यामा भेडाबाख्रा छन्। गोठालाहरूका अनुसार एउटा गधाको मूल्य १३,००० भारुदेखि २०,००० सम्म पर्छ।

गोठाला राजेन्द्र सारणले भनेः "एउटा गधाको मूल्य २० हजार रुपैयाँसम्म पर्छ। गधा चोरिनु हाम्रा लागि ठूलो चिन्ताको विषय हो। गधाबिना भेडाबाख्रा चराउन कसरी जाऊँ?"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, चरन मासिँदा 'पौडी खेल्ल सक्ने' दुर्लभ ऊँट जोखिममा