चितवनको धुर्बे हात्तीमा स्याटलाइट कलर जडान, त्यसले अब के फरक पार्छ?

धुर्बे

तस्बिर स्रोत, Chitwan National Park

    • Author, ईश्वर जोशी
    • Role, चितवन

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा कयौँ वर्षदेखि 'दुःख दिँदै आएको' धुर्बे हात्तीमा सोमवार निकुञ्जको सुखेभार क्षेत्रमा स्याटलाइट कलर जडान गरिएको छ।

२०६६ देखि २०६९ सालबीचमा उक्त हात्तीले त्यस क्षेत्रमा सबैभन्दा बढ्ता जनधनको क्षति पुर्‍याएको बताइन्छ।

उग्र स्वभावको उक्त हात्तीले गाउँहरूमा पसेर घरहरू भत्काउनुका साथै मानवीय क्षति समेत पुर्‍याउँदै आएको थियो।

धुर्बे हात्ती निकै उग्र भएपछि नेपाल सरकारले त्यसलाई गोली हानेर मार्ने निर्देशन समेत दिएको थियो।

सरकारको निर्देशनअनुसार सेनाले कैयौँ पटक प्रयास गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन।

निगरानीपछिको सफलता

तर २०६९ पछि एकाएक गायब भएको उक्त हात्ती अहिले फेरि चितवन राष्ट्रिय निकुञ्जमा देखा पर्न थालेको थियो। 

केही शान्त रहेको धुर्बे हात्तीले दशैँ तिहारपछि पुनः घरहरू भत्काउने गर्न थालेपछि निकुञ्ज कर्मचारीहरूले त्यसको निगरानी गर्दै आएका थिए।

धुर्बे

तस्बिर स्रोत, Chitwan National Park

लामो समयको प्रयासपछि सोमवार धुर्बे हात्तीलाई डाट गरेर स्याटलाइट कलर जडान गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बीबीसीलाई बताए।

उनले भने, “फेरि उग्र बन्दै गएको उक्त हात्तीले गाउँमा गएर कुनै मानवीय क्षति नगरोस् भनेर निगरानीका लागी स्याटलाइट कलर जडान गरिएको हो।”

चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक विजय श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक अमिर सडौला र नेपाली सेनाको प्राविधिक टोलीले उक्त हात्तीलाई डाट गरी स्याटलाइट कलर जडान गरेको हो।

के फरक पर्छ?

धुर्बे

सूचना अधिकारी तिवारीका अनुसार कलर जडानपछि धुर्बे हात्तीको चालचलन थाहा पाइने र हात्ती कता छ भन्ने कुरा निकुञ्जको मुख्यालयमा बसेर नै निगरानी गर्न सकिनेछ।

स्याटलाइट कलर जडानपछि त्यसबारे प्रत्येक एक-एक घण्टामा ती विवरणहरू आउने निकुञ्जका प्राविधिकहरूले बताएका छन्।

चितवन र पर्सासम्म दुःख दिने गरेको उक्त हात्तीको दाह्रा समेत काटिएको छ।

धुर्बे भाले हात्तीहरूको समूहबाट अलग भएपछि उग्र हुन थालेको निकुञ्जले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, गोविन्दे र हाल पूर्वबाट आएको मकुना लगायतका हात्तीले दुःख दिने गरेको बताइन्छ।

चितवन राष्ट्रिय निकुञ्जमा ४० देखि ४५ वटा जङ्गली हात्ती छन्।

हात्तीले किन उत्पात गर्छ?

हात्ती

निकै बुद्धिमान् र स्मरण शक्ति बलियो हुने हात्ती समूह र परिवारमा बस्ने गर्दछ।

लगभग मानिसकै जति आयु हुने हात्ती समझदार र दयालु स्वभावको हुने र उसले सितिमिति मानिसलाई आक्रमण नगर्ने विज्ञहरू बताउँछन्।

तर भीमकाय शरीर हुने हात्ती धेरै आहारा आवश्यक पर्ने हुँदा निकै भौँतारिने गर्छ।

तराई क्षेत्रमा बालीनाली खाइदिने गर्दा स्थानीय बासिन्दाहरू हात्तीविरुद्ध खनिने गर्छन्।

विज्ञहरूका अनुसार मानिसले उत्तेजित तुल्याएर आक्रमण गर्ने गरेकाले रिस उठेका कारण हात्तीहरू आक्रामक हुन सक्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।