कश्मीर : भारत र पाकिस्तानलाई सङ्कटको सँघारमा पुर्याउने ती चार दिन

- Author, फरहात जावेद, पाकिस्तान प्रशासित कश्मीरमा र आमिर पीरजादा, भारत प्रशासित कश्मीरमा
- Role, बीबीसी न्यूज
सोह्र वर्षीया निम्रा बाहिर उभिरहेकी थिइन् जहाँ उनलाई भारतीय क्षेप्यास्त्रले ब्युँझाएको थियो। पाकिस्तान प्रशासित कश्मीरमा रहेको उनको घरबाट केही मिटर टाढा रहेको मस्जिदमा क्षेप्यास्त्र खस्यो। उनले भवनको माथिबाट मिनार भत्किएको देखिन्। तर उनले आफूलाई पनि छातीमा प्रहार भएको भेउ पाउन सकिनन्।
जब उनको परिवार नजिकै पर्ने काकीको घर केही सुरक्षित महसुस गर्न पुगेसँगै कसैले फोनको बत्ती बाल्यो। "मेरी काकी झस्किनुभयो। मेरो फ्रकमा रगत थियो। गुलाबी र सेतो त्यो लुगा रातोमा भिजेको थियो। मैले पहिलो त्यो देखेकी थिइनँ।"
उनीहरू फेरि भागे। "म दौडिरहेकी थिएँ, तर मैले आफ्नो छातीमा हात पूरै समय थिचिरहेकी थिएँ। मैले त्यो हटाउन खोजिनँ। यदि मैले छाडेँ भने मभित्रको सबै कुरा बाहिर निस्कनेछ जस्तो मलाई लागिरह्यो।"
उनको मुटुनजिकै छर्रा अड्किएको कुरा उनले पछि मात्र थाहा पाइन्।
त्यसको केही घण्टापछि भारत प्रशासित कश्मीरको पुंछमा एउटा अर्को परिवार भारतको क्षेप्यास्त्र हमलाको जबाफमा पाकिस्तानले गरेको गोलाबारीबाट बच्न खोजिरहेको थियो।
"जब गोलाबारी सुरु भयो तब सबै जना आफ्नो ज्यान जोगाउन भागे - बच्चाहरू डरले आफ्ना आमाबाबुसँग टाँसिरहेका थिए," ७२ वर्षीय एमएन सुधनले भने।
"केही परिवारहरू आफ्नो गाडीमा जम्मू जान सफल भए। हामी पनि भाग्ने निर्णय गर्यौँ। तर यात्रा थालेको १० मिनेटमै हाम्रो गाडीनजिकै एउटा गोला खस्यो। गोलाबारीले गाडीभित्रै छिर्यो। मेरो नातिको घटनास्थलमै मृत्यु भयो।"
"त्यस क्षणसँगै हाम्रो भविष्य भताभुङ्ग भयो," सुधनले १३ वर्षीय बिहानको मृत्युबारे भने।
"अब हामीसँग दुःख बाहेक केही बाँकी छैन। मैले भारत र पाकिस्तान बीचको दुई युद्ध देखेको छु, तर मैले जीवनमा कहिल्यै यति तीव्र गोलाबारी देखेको थिइनँ।"

तस्बिर स्रोत, Reuters
विश्वका दुई परमाणु शक्ति राष्ट्रहरू - भारत र पाकिस्तानबीच दशकौँदेखि चलिरहेको द्वन्द्वमा कैयौँ वर्षमा भएको सबैभन्दा घातक हमलाहरूमा पर्ने धेरै गाउँलेहरूमध्ये निम्रा र बिहान समेत थिए।
दुवै पक्षले उक्त हिमाली भूभागमा आंशिक रूपमा शासन गर्छन्, तर त्यसलाई पूर्ण रूपमा आफ्नो दाबी गर्छन्।
दुवै सरकारले सर्वसाधारणलाई लक्षित गरेको कुरा अस्वीकार गर्ने गरे तापनि यस क्षेत्रका बीबीसी पत्रकारहरूले हिंसामा फसेका परिवारहरूसँग कुरा गरेका छन्।
निम्रालाई घाइते बनाउने हमला गत महिना भारत प्रशासित कश्मीरको एक सुन्दर स्थलमा भएको आतङ्कवादी आक्रमणमा अधिकांश भारतीय पर्यटकसहित २६ जना मारिएपछि भारतले गरेको सशस्त्र प्रतिक्रियाको एउटा पाटो थियो।
त्यहाँको प्रहरीले पहलगाम हमलाका आतङ्ककारीहरूमा कम्तीमा दुई पाकिस्तानी नागरिकहरू रहेको दाबी गरेको छ।
पाकिस्तानले भारतसँग यसको प्रमाण माग्दै हमला पछाडि को थियो भन्नेबारे स्वतन्त्र अनुसन्धानका लागि आह्वान गरेको छ।
त्यसपछि चार दिनसम्म एक अर्कामा जथाभाबी गोलाबारी र ड्रोन हमलाहरू भए।
त्यो दिन प्रतिदिन तीव्र हुँदै सैन्य अखडाहरूमा क्षेप्यास्त्र हमलासम्म परिणत भयो।
त्यसले पूर्ण स्वरूपको द्वन्द्व निम्त्याउने खतरा बढिरहेका बेला अचानक १० मेमा अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूले मध्यस्थता गरेको युद्धविरामले दुई परमाणु अस्त्र सम्पन्न देशहरूलाई फेरि सङ्कटबाट बाहिर ल्यायो।

तस्बिर स्रोत, TASEER BEYG / BBC
एलओसी भनिने कश्मीरको नियन्त्रित सीमारेखाका दुवै तर्फका परिवारहरूले हामीलाई आफ्ना प्रियजनहरू मारिएको र सम्पत्तिहरू नष्ट भएको बताएका छन्।
भारतीय पक्षमा कम्तीमा १६ जना मारिएको विवरण छ भने पाकिस्तानले ४० जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।
यद्यपि गोलाबारीबाट कति जना प्रत्यक्ष रूपमा हताहत भए भन्ने अझै प्रस्ट छैन।
द्वन्द्व बढ्दै जाँदा हामीले भारतीय र पाकिस्तानी सरकारका भित्रिया व्यक्तिहरूबाट उनीहरूका प्रशासनको मनस्थिति के कस्तो छ भन्ने जान्न खोजेका छौँ।
भारतीय सरकारी स्रोतले बीबीसीलाई बताए अनुसार दिल्लीको शक्ति सञ्चालन हुने क्षत्रमा सुरुमा वातावरण हर्षोल्लासमय थियो।
भारतले पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा रहेका निशानाहरूमा सफल रूपमा आफ्नो क्षेप्यास्त्र हमला गर्ने क्रममा मुजफ्फराबादस्थित बिलाल मस्जिदसहितमा प्रहार गरेको थियो।
भारतले उक्त मस्जिद आतङ्कवादी अड्डा भएको दाबी गर्ने गरे तापनि पाकिस्तानले यसलाई अस्वीकार गर्छ।

तस्बिर स्रोत, SYED SHAHRIYAR / BBC
"हमलाहरू... पाकिस्तान प्रशासित कश्मीर वा नियन्त्रित सीमारेखामा सीमित थिएनन्," एक भारतीय सरकारी स्रोतले बीबीसीलाई भन्यो।
"हामी पाकिस्तानी पञ्जाबसम्मै हुने गरी भित्री भागसम्मै पुग्यौँ जुन सधैँ पाकिस्तानको रेडलाइन रहँदै आएको छ।"
तर पाकिस्तानी वायुसेनाको एक स्रोतले बीबीसीलाई पाकिस्तानी सेना तयारी अवस्थामा रहेको बताएको थियो।
त्यसको केही दिनअघि पाकिस्तानी सरकारले आक्रमण हुनसक्ने बताइरहेको थियो।
"हामीलाई केही आउँदैछ भन्ने थाहा थियो र हामी पूर्ण रूपमा तयार थियौँ," एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने।
उनले भारतीय लडाकु विमानहरू पाकिस्तानी क्षेत्रनजिक पुगेको बताउँदै पाकिस्तानी वायुसेनालाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्ने वा पेलोड खसाल्ने जेसुकैलाई खसाल्न निर्देशन दिइएको थियो।
पाकिस्तानले त्यस रात पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरे पनि त्यसमा भारत मौन छ।
"हामी राम्रोसँग तयार थियौँ र इमानदारीपूर्वक भन्नुपर्दा हामी भाग्यमानी पनि थियौँ," उक्त स्रोतले भन्यो। सोही विवरण अन्य दुई स्रोतहरूले दोहोर्याए।
तर बिहानका हजुरबुबा सुधनका अनुसार घरभित्रै बस्ने वा त्यस ठाउँ छाड्ने कुनै चेतावनी दिइएको थिएन। "तिनीहरूले हामीलाई किन जानकारी दिएनन्? हामी यहाँका मानिसहरू बीचमा फसेका छौँ।"

तस्बिर स्रोत, TASEER BEYG / BBC
भारत सरकारले सैन्य हमलाहरू गोप्य राख्नुपर्ने भएकाले कुनै पनि खाली गर्ने आदेश जारी नगरिएको हुन सक्छ।
यद्यपि स्थानीय प्रशासनले एप्रिलको आतङ्कवादी आक्रमणपछि सावधानी अपनाउन स्थानीयहरूलाई सावधानी स्वरूप सामुदायिक बङ्करहरू सफा गर्न निर्देशन दिएको थियो।
प्रारम्भिक मिसाइल हमलाको एक दिनपछि अर्थात् बिहीवार दुवै पक्षले ड्रोन आक्रमण सुरु गरे।
यद्यपि उनीहरूले एक अर्कालाई त्यस कदम सुरुवात गरेको आरोप लगाए।
भारतले नियन्त्रित सीमा रेखाको भारततर्फ हजारौँ सङ्ख्यामा गाउँलेहरूलाई अन्यत्र सार्न थाल्यो।
त्यस साँझ ९ बजेपछि भारत प्रशासित कश्मीरको खान परिवारले पुंछबाट २७० किलोमिटर उत्तरमा रहेको उरीमा रहेको आफ्नो घरबाट भाग्नुपर्ने निर्णय गरे। उनीहरूका धेरैजसो छिमेकी पहिले नै त्यहाँबाट भागिसकेका थिए।
तर केवल १० मिनेटको यात्रापछि उनीहरूको गाडीमा गोलाबारीबाट निस्केको छर्रा लाग्यो र त्यसले ४७ वर्षीय नरगिसलाई गम्भीर चोट पुर्यायो।
उनकी भाउजू हाफिजा गम्भीर घाइते भइन्। उनीहरू नजिकैको अस्पतालतिर लागे पनि ती बन्द गरिएको पाए।
"म कुनै न कुनै रूपमा अस्पतालको भित्तामा चढेँ र मद्दतका लागि कराएँ। उनीहरूलाई हामीसँग घाइते मानिसहरू भएको बताएँ। त्यसपछि मात्र कर्मचारीहरू बाहिर आए र ढोका खोले। उनीहरूले खोल्ने बित्तिकै म ढलेँ। डाक्टरहरू निरन्तरका गोलाबारीबाट डराए र डरले सबै कुरा बन्द गरिदिए," हाफिजाले भनिन्।
हाफिजाकी भाउजू नरगिसका छजना छोराछोरी छन्। २० वर्षीय कान्छी छोरी सनमका अनुसार उनीहरू गएको पहिलो अस्पताल मद्दत गर्न सक्ने गरी सेवा सुविधा सम्पन्न थिएन।
र उनीहरू अर्कोतिर जाँदाजाँदै उनकी घाइते आमाको मृत्यु भयो।

तस्बिर स्रोत, TASEER BEYG / BBC
"छर्राको टुक्रा उनको अनुहारमा चोट थियो। उनको रगतले मेरो लुगा भिजेको थियो... हामीले उनीसँग कुरा गरिरह्यौँ र हामीसँगै रहन भनिरह्यौँ गरिरह्यौँ। तर उनी बाटोमै बितिन्।"
सन् २०२१ मा भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएदेखि यस क्षेत्रमा तुलनात्मक रूपमा शान्ति कायम रहेको स्थानीयहरू बीबीसीलाई बताउँछन्।
वर्षौंपछि पहिलो पटक उनीहरू सामान्य जीवन बिताउन सकिने लागे पनि अब सुरक्षाको त्यस भावना सकिएको उनीहरू बताउँछन्।
आफ्नी आमा गुमाएकी सनमले भनिन्: "म दुवै सरकारलाई अपिल गर्छु - यदि तपाईँ युद्धमा जाँदै हुनुहुन्छ भने कम्तीमा आफ्ना नागरिकहरूलाई सुरक्षित गर्नुहोस्। जो आरामसँग बस्छन् र युद्धको माग गर्छन् उनीहरूलाई सीमामा पठाउन तयार पार्नुहोस्। त्यो साँच्चिकै के हो भन्ने उनीहरूले बुझून् । उनीहरूलाई आफ्नो आँखा अगाडि कसैलाई गुमाउन दिनुहोस्।"
क्षेत्रीय सरकारमा उरीका तर्फबाट प्रतिनिधित्व गर्ने सज्जाद शफीले भने अनुसार उनले सक्दो तत्कालै काम गरेका छन्।
"भारतले आक्रमण गरेको खबर पाउने बित्तिकै म मानिसहरूसँग सम्पर्कमा आएँ र उनीहरूलाई बाहिर निकाल्न थालेँ।"
दुई दिनको आक्रमण र प्रत्याक्रमणपछि भारतीय सरकारी स्रोतले अब "... शक्ति कोरिडोरहरूमा स्पष्ट रूपमा अवस्था चर्किरहेको तर हामी तयार छौँ" भन्ने भावना देखिन्थ्यो।
"हामी तयार थियौँ किनभने भारतले विगत १० वर्षदेखि क्षेप्यास्त्र, युद्ध शीर्ष र रक्षा प्रणालीजस्ता क्षमता वृद्धि र निर्माणमा बिताएको थियो।"
अन्तर्राष्ट्रिय मञ्चमा भारत र पाकिस्तानबीचको अघिल्लो कश्मीर झडपको समयमा अमेरिकाले कूटनीतिक पहल गरे पनि यतिखेर तनाव कम गर्नमा संलग्न नहुने आशङ्का गरिएको थियो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्भावित युद्ध "हाम्रो कुनै सरोकार होइन" भनेका थिए।
भारतीय सरकारी स्रोतले बीबीसीलाई बताए अनुसार उक्त कथन कुनै आश्चर्यको कुरा थिएन। त्यस चरणमा "अमेरिका यसमा संलग्न हुन चाहँदैनथ्यो भन्ने स्पष्ट थियो।"
भोलिपल्ट अर्थात् शुक्रवार गोलाबारी अझ तीव्र भएको थियो।
मोहम्मद शफी आफ्नी श्रीमतीसँग पाकिस्तान प्रशासित कश्मीरको नीलम उपत्यकाको शाहकोट गाउँमा नियन्त्रित रेखा नजिकैको घरमै थिए।

तस्बिर स्रोत, TASEER BEYG / BBC
तीस वर्षीय शफी आफ्ना छोरा खेलिरहेको ठाउँबाट केही कदम ढोकामा उभिरहेका थिए भने उनकी श्रीमती आँगनमा थिइन्।
"मैले माथि हेर्दा टाढाबाट एउटा मोर्टारको गोला आउँदै गरेको देखेको मलाई याद छ। आँखा झिम्क्याउनै लाग्दा त्यो गोला उनलाई लाग्यो। उनीसँग चिच्याउने समय पनि भएन। एक सेकेन्ड उनी त्यहाँ थिइन् र अर्को क्षण उनी गइन्। उनको अनुहार... उनको टाउको... केही बाँकी थिएन। केवल धुवाँ र धुलोको बादल। मेरा कान सुन्न भए। सबै कुरा मौन भयो। आफू चिच्याइरहेको छु भन्ने मलाई यादै भएनछ।"
"त्यस रात उनको लास हाम्रो घरमै त्यहीँ पल्टिएको थियो। पूरै गाउँ बङ्करहरूमा लुकेको थियो। रातभरि गोलाबारी जारी रह्यो र म उनको छेउमा बसेर रोएँ। मैले सक्दो लामो समयसम्म उनको हात समातेँ।"
बङ्करमा रहेकाहरूमध्ये उनकी एक १८ वर्षीय भान्जी उमैमा समेत थिइन्। उनी र उनको परिवार चार दिनसम्म आश्रय स्थलमा बस्ने-निस्कने गर्दै सकसपूर्ण अवस्थामा लुकेको थियो।
"हामीमध्ये छ वा सात जना त्यसमा खाँदिएर बसेका थियौँ," उनले भनिन्। "अर्को बङ्कर पहिले नै भरिएको थियो। त्यहाँ सुत्ने ठाउँ थिएन - केही मानिसहरू उभिए, बाँकी बसे। त्यहाँ पिउने पानी थिएन, खाना थिएन।"
त्यहाँ मानिसहरू चिच्याउने, रुने र पूरा अँध्यारोमा प्रार्थना गर्ने गरेको उनी सुनाउँछिन्।
पाकिस्तान प्रशासित कश्मीरको लिपा उपत्यकामा रहेको बङ्करमा पनि शम्स उर रहमान र उनको परिवार बसेका थिए - यो क्षेत्रको सबैभन्दा सैन्यीकृत र जोखिममा रहेका उपत्यकाहरू मध्ये एक हो - शम्स उर रहमान र उनको परिवार थिए।
यो शम्सको आफ्नै बङ्कर भए पनि त्यो रात उनले यसमा अन्य ३६ जनालाई राखेको सुनाउँछन्।
लिपा तीन तिरबाट नियन्त्रित सीमारेखा र भारत प्रशासित क्षेत्रले घेरिएकाले शम्स सीमापार तनावमा बाँच्न अभ्यस्त थिए। तर उनी आफ्नो घर पूर्ण ध्वस्त हुने अवस्थाका लागि तयार थिएनन्।
बिहान तीन बजे बङ्करबाट बाहिर निस्किएर उनी घटनास्थल हेर्न पुगे।
"सबै कुरा गायब भयो। घरबाट काठका बीम र भग्नावशेष जताततै छरिएका थिए। विस्फोट यति शक्तिशाली थियो कि मुख्य भित्तामा धक्का लाग्यो। छानामा रहेका टिनका पाताहरू टुक्राटुक्रा भए। सम्पूर्ण संरचना कम्तीमा दुई इन्चले सर्यो," उनी सुनाउँछन्।
"घर भनेको व्यक्तिको पूरा जीवनको काम हो। तपाईँ सधैँ यसलाई राम्रो बनाउने प्रयास गरिरहनुभएको हुन्छ - तर अन्तमा यो सबै सेकेन्डमै सकिन्छ।"
चार घण्टापछि नीलम उपत्यकामा फर्कँदा उमैमा र उनको परिवार पनि मे १० शनिवार एउटा फेरिएको परिवेश पाए।
"हामी बिहान सात बजे बङ्करबाट बाहिर निस्कियौँ। त्यतिबेला हामीले बाँकी केही नरहेको देख्यौँ।"
उमाइमाले आफ्नो गाउँको भग्नावशेष हेर्दै गर्दा त्यस दिन भारत र पाकिस्तानका सेनाहरू एक अर्काको सैन्य केन्द्रहरूमा क्षेप्यास्त्रहरू प्रहार गर्दै थिए। एक अर्काका सैन्य केन्द्रमा क्षेप्यास्त्र प्रहार गर्दैगर्दा दुवै पक्षले एकअर्कालाई उक्साएको आरोप लगाएका थिए।
भारतले तीन पाकिस्तानी हवाई अड्डाहरूलाई निशाना बनाउने क्रममा रावलपिन्डीमा रहेको एक पाकिस्तानी सेनाको जनरल हेडक्वार्टर रहेको ग्यारिसन सहर पनि समावेश थियो।
"यो रेड लाइन पार गरिएको थियो," एक पाकिस्तानी अधिकारीले भने। "प्रधानमन्त्रीले सेना प्रमुखलाई अगाडि बढ्ने अनुमति दिनुभयो। हामीसँग पहिले नै योजना थियो र हाम्रा सेनाहरू यसलाई कार्यान्वयन गर्न व्यग्रताका साथ तयार थिए...यो बर्दीमा रहने जो कोहीका लागि ती अविस्मरणीय दिनहरूमध्ये एक थियो।"

तस्बिर स्रोत, Getty Images
पाकिस्तानले भारतीय सैन्य अड्डाहरूमा जबाफी प्रहार गर्यो।
पाकिस्तान विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई बताए अनुसार कूटनीतिक कित्तामा भने त्यसलाई अन्तर्राष्ट्रिय मञ्चमा कश्मीरको मुद्दालाई उजागर गर्ने क्षणको रूपमा हेरिएको थियो।
"यो निरन्तर थियो। अनन्त बैठकहरू, समन्वय र अन्य देशहरूमा र अन्य देशहरूबाट विदेश मन्त्री र त्यसपछि प्रधानमन्त्री दुवैका लागि आउने बारम्बारका फोनहरू। हामीले अमेरिका, साउदी, इरानी वा तनाव कम गर्न सहयोग गर्न सक्ने जो कोहीबाट आएका मध्यस्थता प्रस्तावहरूको स्वागत गर्यौँ।"
भारतीय पक्षबाट २२ एप्रिलमा भएको पहलगाम हमलाले विदेश मन्त्री एस जयशंकरलाई ब्रिटिश विदेश सचिव डेभिड लामी र रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभ लगायत कम्तीमा १७ विश्व नेता वा कूटनीतिज्ञहरूसँग कुरा गराइसकेको थियो।
उनको ट्वीट अनुसार यी धेरैजसो कुराकानीहरू "सीमापार आतङ्कवादी हमला" बारे केन्द्रीत थिए र त्यो उक्त हमलाका लागि दोषीहरूलाई जबाफदेही बनाउने मुद्दा निर्माण गर्ने कुरामा केन्द्रित थियो।
त्यसपछि स्थानीय समय अनुसार शनिवार दिउँसो - दुवै तर्फबाट चलेका पछिल्ला क्षेप्यास्त्र हमलाहरूबीच - अचानक कूटनीतिक सफलता देखा पर्यो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा युद्धविराममा सहमति भएको खुलासा गरे।
"संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएका रातभरका लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन्।"
"सामान्य विवेक र महान् बुद्धिमत्ता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ," उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखे।
भारतले त्यसबेलादेखि युद्धविराममा वाशिंगटनको भूमिकालाई कम महत्त्व दिएको छ र यो हासिल गर्न व्यापारलाई 'लिभर'को रूपमा प्रयोग गरिएको कुरालाई अस्वीकार गरेको छ।
पर्दा पछाडि अमेरिकी मध्यस्थकर्ताहरू, कूटनीतिक ब्याकच्यानलहरू र अमेरिका, ब्रिटेन र साउदी अरेबिया लगायत क्षेत्रीय खेलाडीहरू मध्यस्थतामा महत्त्वपूर्ण साबित भएको विज्ञहरू बताउँछन्।
"हामीले उनीहरूको क्षेत्रमा निकै भित्र पाकिस्तानी रणनीतिक आधारहरूमा प्रहार गर्यौँ र यसले अमेरिकालाई चिन्तित बनाएको हुनुपर्छ," भारतीय सरकारी स्रोतको विश्वास छ।
सङ्कट निम्त्याउने आतङ्कवादी बन्दुक आक्रमण स्थल पहलगाममा अपराधीहरूको खोजी अझै जारी छ।

तस्बिर स्रोत, SYED SHAHRIYAR / BBC
२६ वर्षीय भारतीय नौसैनिक विनय नरवालको पहलगाममा हनिमुनमा रहेका बेला हत्या भएको थियो। हमला हुनुभन्दा एक साताअघि मात्र उनको विवाह भएको थियो।
आक्रमणपछि विनयकी श्रीमती हिमांशी आफ्नो पतिको शवनजिकै बसेको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा सेअर गरिएको छ।
उनका हजुरबुबा हवासिंह नरवाल हत्याराहरूलाई "उदाहरणकै रूपमा रहने गरी सजाय" होस् भन्ने चाहन्छन्।
"यो आतङ्कवाद समाप्त हुनुपर्छ। आज मैले मेरो नाति गुमाएँ। भोलि अरू कसैले आफ्नो प्रियजन गुमाउनेछ," उनले भने।
आक्रमणपछिको घटनाका प्रत्यक्षदर्शी रईस अहमद भट - जो गोलाबारी भएको सुन्दर ठाउँमा पोनी ट्रेकिङको नेतृत्व गर्थे - उनले भने कि उनको उद्योग अब निकै प्रभावित भएको छ।
"आक्रमणकारीहरूले त्यस दिन पर्यटकहरूलाई मारे होलान् तर हामी - पहलगामका मानिसहरू - त्यसबेलादेखि हरेक दिन मरिरहेका छौँ। उनीहरूले यस शान्त सहरको नाम कलङ्कित पारेका छन्... पहलगाम आतङ्कित छ र यहाँ मानिसहरू टुटेका छन्।"
यस हमला सरकारको लागि ठूलो झट्का थियो। सरकारले हरित उपत्यका, ताल र हिउँले ढाकिएको पहाडहरूका लागि प्रसिद्ध रमणीय कश्मीरमा सक्रिय रूपमा पर्यटन प्रवर्द्धन गर्न थालेको थियो।
यसले दिल्लीलाई सुरक्षाको गलत भावनामा डुबाएको हुन सक्ने एक भारतीय प्रशासनको स्रोतले भन्यो।
"सायद हामी कश्मीरमा पर्यटनको प्रतिक्रियाबाट बहकिएका थियौँ। हामीले सोचेका थियौँ कि हामी धेरै हदसम्म पुगिसकेका छौँ तर हामी त्यसो भएनौँ।"
चार दिनको द्वन्द्वले फेरि एक पटक दुई राष्ट्रहरू बीचको शान्ति कति कमजोर हुन सक्छ भनेर देखाएको छ।
दिल्लीमा विकास पाण्डेको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








