स्विट्जरल्यान्डको 'भिसा नपाएपछि' हनिमून मनाउन कश्मीर गएका थिए भारतीय सेनाका लेफ्टेनन्ट

विनय नरवाल र उनकी नवविवाहिता पत्नी हिमांशी

तस्बिर स्रोत, Narwal Family Handout

तस्बिरको क्याप्शन, वैवाहिक समारोहमा विनय नरवाल र हिमांशी

भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि सामाजिक सञ्जालमा एउटा तस्बिरबारे धेरै चर्चा भएको छ। त्यो तस्बिरमा एक महिलालाई भुइँमा रहेको शवनजिकै चुपचाप बसेको देखिन्छ।

धेरै जनाले सामाजिक सञ्जालमा शेअर गरिरहेको उक्त तस्बिर विनय नरवाल र उनकी पत्नी हिमांशीको हो। नरवाल दम्पती विवाहको ६ दिनपछि 'हनिमून' मनाउन कश्मीर गएका थिए।

छब्बीस वर्षीय नरवाल भारतीय जलसेनामा लेफ्टेनन्ट थिए।

नवविवाहिता पत्नीसँग बिदा मनाउन कश्मीर पुगेका नरवाल बन्धुकधारीको आक्रमणमा मारिएका हुन्।

यो जोडीको विवाह एप्रिल १६ मा भएको थियो। आक्रमणको चार दिनअघि विवाहको भोज खुवाएर एप्रिल २१ मा घुम्न निस्किएका नरवालको कश्मीरमा हनिमुन मनाउने योजना थिएन। उनी स्विट्जरल्यान्ड जान चाहन्थे।

स्विट्जरल्यान्डको 'भिसा नपाएपछि' कश्मीर

कश्मीरमा मारिएका विनय नरवाल

तस्बिर स्रोत, Narwal Family Handout

उनका हजुरबुवा हवा सिंह नरवालका अनुसार स्विट्जरल्यान्डको भिसा नपाएपछि विनय नरवालले भारतको स्विट्जरल्यान्ड भनेर चिनिने कश्मीर जाने निधो गरेका थिए।

"उनी विवाहपछि स्विट्जरल्यान्ड जान चाहन्थे तर त्यहाँको भिसा नपाएपछि कश्मीर गए," हजुरबुवाले पत्रकारहरूसँग भने।

हरियाणाको कर्नाल जिल्लाका नरवालले दुई वर्षअघि मात्र जलसेनामा काम गर्न थालेका थिए।

नरवालको परिवारका अनुसार उनी पछिल्लो समय दक्षिण भारतको कोचीमा तैनाथ थिए। स्नातक तह पूरा गरेपछि उनी जलसेनामा भर्ती भएका थिए।

उनको निधनमा भारतीय जलसेनाले दुख व्यक्त गरेको छ। "पहलगाममा भएको यो कायरतापूर्ण आक्रमणमा लेफ्टेन्ट विनय नरवालको मृत्युबाट जलसेना प्रमुख एड्मिरल दिनेश त्रिपाठी र भारतीय जलसेनका सबै कर्मचारीहरू स्तब्ध छौँ," उक्त सङ्गठनले भनेको छ।

नरवाल परिवारका एक्लो छोरा थिए। उनकी एक बहिनी छिन्। उनी भारतीय लोकसेवाको तयारी गर्दै छिन्।

मङ्गलवारको घटना भएको स्थानलाई भारतको 'मिनी स्विट्जरल्यान्ड' भन्ने गरिन्छ।

भारतको सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा यो स्थानमा ३५ लाख पर्यटकहरू पुगेका थिए।

'गोली नलागेको भए उसले दुई वा चार जनालाई ढाल्ने थियो'

कश्मीरमा मारिएका विनय नरवालका हजुरबुवा

तस्बिर स्रोत, Kamal Saini

तस्बिरको क्याप्शन, विनय नरवालका हजुरबुवा

बुधवार बिहान सञ्चारमाध्यमसँग कुरा गर्दै विनय नरवालका हजुरबुवा हवा सिंह नरवालले भने, "जसले यो काम गर्‍यो त्यसलाई पक्राउ गरेर कडा कारबाही गरिनुपर्छ।"

"यदि उसलाई गोली नलागेको भए उसले दुई वा चार आतङ्ककारीहरूलाई ढाल्ने थियो। उसको मृत्युको बदला लिइनुपर्छ भन्ने म चाहन्छु। यो उग्रवादको अन्त्य होस्।"

बुधवार बिहानदेखि नै विनय नरवालको घरमा मानिसहरू आउने क्रम जारी छ। उनको मृत्युपछि उनी बस्दै आएको कर्नालका स्थानीयवासीहरू स्तब्ध छन्।

स्थानीय विधायक जगमोहन आनन्दसहित धेरै नेताहरू उनको परिवारलाई भेट्न पुगेका थिए।

सञ्चारमाध्यमसँग कुरा गर्दै विधायक जगमोहन आनन्दले भने, "आतङ्ककारीहरूले यो घटनालाई कसरी गराएका छन् भन्ने कुराले सम्पूर्ण देश क्रोधित छ। त्यस्ता आतङ्ककारीहरूलाई एक-एक गरी निसाना बनाइने छ र बदला लिइने छ।"

उनका अर्का छिमेकी वीर सिंहले भने, "हाम्रो मनमा परेको पीडा व्यक्त गर्न सक्ने अवस्थामा छैनौँ। हामी चाहन्छौँ कि पाकिस्तानलाई यस्तो पाठ सिकाइयोस् कि भविष्यमा आतङ्ककारीहरू पठाउने बारेमा सोच्न पनि नसकोस्।"

पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले पहलगाममा भएको घटनामा आफ्नो देश संलग्न नभएको बताएका छन्। कश्मीरमा भएका घटनालाई भारत सरकारविरुद्ध फैलिएको घरेलु विद्रोहको सङ्ज्ञा दिँदै उनले आक्रमणका लागि पाकिस्तानमाथि दोषारोपण गर्ने काम "सजिलो" भएको टिप्पणी गरे।

भारत विभाजन भई पाकिस्तान बनेदेखि नै दुवै देशले कश्मीरको भूमि आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन्। कश्मीरमा दशकौँदेखि भारत सरकारविरुद्ध विद्रोह चल्दै आएको छ। दिल्लीले कश्मीरमा सक्रिय विद्रोहीहरूलाई पाकिस्तानले सहयोग दिने आरोप लगाउने गरेको छ। तर पाकिस्तान उक्त आरोप अस्वीकार गर्छ।

विद्यावारिधि गर्दै थिइन् हिमांशी

भारतीय गृहमन्त्री अमीत शाह कश्मीरमा मारिएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै

तस्बिर स्रोत, AmitShah/X

तस्बिरको क्याप्शन, कश्मीर गएर भारतका गृहमन्त्री अमित शाहले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्

नरवालकी पत्नी हिमांशी गुरुग्रामकी बासिन्दा हुन्। उनी विद्यावारिधि गर्दै छिन्। उनका बुवा कर कार्यालयमा अधिकारी छन्।

नरवालका हजुरबुबा हवा सिंह नरवाल पनि प्रहरीबाट अवकाशप्राप्त हुन्।

विनय नरवालको परिवारका एक मित्रले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीमा भने फरक विवरण आएका छन्। उनका अनुसार नरवालले विवाहअघि नै हनिमून मनाउन कश्मीर जाने निर्णय गरेका थिए।

उनका ती व्यक्तिका अनुसार नरवालको जन्मदिन एक सातापछि मे १ मा थियो। आफ्नो हनिमूनबाट फर्केपछि उनले आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउने योजना बनाएका थिए।

पहलगाममा भएको घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो साउदी अरबको भ्रमण छोट्ट्याएर स्वदेश फर्किएका छन्। विधायक आनन्दका अनुसार मोदी पनि कश्मीर जाने तयारीमा छन्।

बीबीसी हिन्दी र बीबीसी पन्जाबी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।