इतिहासदेखि अहिलेसम्म कायम कश्मीरसँग जोडिएको नेपाल र नेपालीको साइनो

तस्बिर स्रोत, EPA
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
भारत-प्रशासित कश्मीरस्थित पहलगामनजिकै बन्धुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा एक नेपाली नागरिकको पनि ज्यान गएपछि द्वन्द्वग्रस्त उक्त क्षेत्रमा रहेका नेपालीहरूबारे चासो व्यक्त भइरहेको छ।
कतिपयले सन् १९९० को दशकदेखि चरम द्वन्द्वमा फसेको उक्त क्षेत्रमा नेपालीहरू जानुको कारणबारे पनि चर्चा गरिरहेको पाइएको छ।
मङ्गलवारको हमलापछि त्यहाँ रहेका नेपालीबारे धेरैले चासो व्यक्त गरेका भए पनि यसअघि समेत कश्मीरको द्वन्द्व र प्राकृतिक विपद्मा नेपालीहरूको ज्यान गएका कैयौँ घटनाहरू भएका विवरणहरू पाइन्छन्।
भारत र पाकिस्तान दुवैले दाबी गरेको तथा दीर्घकालीन द्वन्द्वमा रहेको उक्त भूमिमा नेपालीहरूको उपस्थितिको इतिहास निकै पुरानो रहेको विवरणहरू भेटिन्छन्।
अहिलेसम्म पनि वार्षिक रूपमा विभिन्न उद्देश्यका लागि ठूलो सङ्ख्यामा नेपालीहरू त्यहाँ जाने गरेका छन्।
तर नेपाल सरकारका आधिकारिक निकायहरू र भारतस्थित नेपाली दूतावाससँग समेत जम्मू तथा कश्मीरमा कति नेपालीहरू रहेका छन् भन्ने यकिन विवरण रहेको पाइँदैन।
सन् २०१९ देखि केन्द्रप्रशासित क्षेत्र बनेको जम्मू तथा कश्मीरको मैदानी भूभाग जम्मूमा हजारौँ नेपालीभाषी भारतीयहरूको बसोबास रहेको छ।
जम्मूस्थित गोर्खा समुदायका नेताहरूले अधिकांश नेपालीभाषीका पुर्खाहरू २०० वर्षअघि नै उक्त क्षेत्रमा पुगेर बसोबास गरेको दाबी गर्दै आएका छन्।
नेपाली कश्मीर जानुका कारण

तस्बिर स्रोत, Reuters
नेपाल र कश्मीरस्थित जानकारहरूका भनाइमा हाल उक्त क्षेत्रमा विशेष गरी नेपालीहरू रोजगारीका लागि जाने गरेका छन्।
पर्यटन, तीर्थयात्रा र अध्ययनलगायतका निम्ति पनि नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्।
त्यसका अतिरिक्त भारतीय सेनाको गोर्खा राइफल्समा कार्यरत नेपालीहरू कश्मीरमा खटिने गरेका छन्।
भारत-पाकिस्तान गोली हानाहान वा त्यहाँस्थित सशस्त्र समूहसँगको झडपमा कतिपय अवस्थामा भारतीय सेनामा कार्यरत नेपाली नागरिकको ज्यान गरेको विवरण पनि आउने गर्छन्।
कस्तो काम गर्न नेपालीहरू जान्छन्?
श्रीनगरस्थित राजनीतिशास्त्री प्राध्यापक गुल मोहम्मद वानीका अनुसार कश्मीरका होटल तथा रेस्टुराँहरूमा नेपाली कामदारको उपस्थिति उल्लेख्य देखिन्छ।
बुधवार बीबीसीसँगको टेलिफोन कुराकानीमा वानीले भने, "यहाँ होटल उद्योग फैलिरहेको छ र नयाँ होटलहरू खुलिरहेका छन्। पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको छ।"
"मेरो विचारमा स्थानीयवासीमा होटल व्यवसाय चलाउनेबारे खासै धेरै विज्ञता नदेखिएकाले हुनुपर्छ, नेपाली कामदारहरू कश्मीरको होटल व्यवसायका लागि निकै महत्त्वपूर्ण बनेका छन्।"
उनी जसरी कश्मीरीहरू व्यापारका लागि भारतकै अन्य क्षेत्र र नेपालमा समेत जाने गर्छन्, त्यसै गरी नेपालीहरू पनि रोजगारीका लागि कश्मीर पुगेको हुन सक्ने ठान्छन्।
वानीका भनाइमा कश्मीरी व्यवसायीका लागि नेपाली कामदारहरूलाई दिइने पारिश्रमिक तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले उनीहरूको रोजाइमा नेपाली पर्ने गर्छन्।
नेपालीहरू कश्मीर पुग्नु र कश्मीरीहरूले उनीहरूलाई काममा राख्नुको अर्को कारण खुला सीमा रहेको उनको बुझाइ छ।
वानीले भने, "नेपालको भारतसँग धेरै राम्रो सम्बन्ध छ र कुनै अवरोधबिना नेपालीहरू यहाँ आउन पाउँछन्।"
"त्यसले यहाँका मानिसले कुनै अवरोधबिन नेपालीहरूलाई काममा राख्न पाउँछन्। अन्य देशका नागरिकलाई त्यसरी राख्न नमिल्ने भएकाले पनि यहाँ नेपालीको उपस्थिति धेरै भएको हुन सक्छ।"
उनका अनुसार कश्मीरमा नेपालीहरू होटल व्यवसायमा जस्तै घर तथा व्यवसायको सुरक्षा गार्ड, घरेलु कामदार र फलफूल खेतीमा काम गर्न पनि जाने गरेका छन्।

तस्बिर स्रोत, EPA
कतिपय नेपालीहरू कश्मीरमा स्याउ, बदाम तथा ओखर पाक्ने समयमा टिप्नका लागि मौसमी कामदार बनेर पुग्ने गरेका छन्।
त्यस्तै त्यहाँ पर्यटक एवं तीर्थयात्रीहरूलाई ओसारपसार गर्नेलगायतका कामहरू गर्न पनि त्यहाँ पुग्ने गरेका छन्।
गत वर्ष घुमघामका लागि कश्मीर पुगेका नेपाली अर्थशास्त्री केशव आचार्यले कश्मीरको होटल व्यवसायमा नेपालीहरूको प्रशस्त उपस्थिति देखिएको बताए।
उनले बुधवार बीबीसीसँग भने, "पोहोर ट्याक्कै एक वर्षअघि हामी कश्मीर पुगेका थियौँ। त्यहाँ चाहिँ दुइटा होटलमा १०/१२ जना नेपालीहरू यता गुल्मी, पाल्पा, अर्घाखाँची घर भएकाहरूलाई भेट्यौँ। उनीहरू होटलको व्यवस्थापन र खाना पकाउने काम गरेर राम्ररी बसेको पायौँ।"
"ती होटलका सञ्चालकसँग पनि कुराकानी गर्दा नेपालीकै कारण होटल चलेको र उनीहरू नै खाना पकाउनेदेखि सबै काममा महत्त्वपूर्ण रहेको बताए।"
जम्मूनिवासी नेपालीभाषी समुदायकी एक नेतृ तथा भारतीय जनता पार्टीमा पनि आबद्ध करुणा क्षेत्रीले जम्मू तथा कश्मीर धेरै नेपालीहरू कामका लागि जाने गरेको बताइन्।
उनले बीबीसीसँग टेलिफोनमा भनिन्, "होटलमा काम गर्नेहरू नेपाली धेरै हुन्छन्। स्याउ र ओखरहरू टिप्नेमा त कश्मीरीहरू नै दक्ष हुन्छन्।"
पर्यटन र तीर्थयात्रा

तस्बिर स्रोत, Amarnath Shrine Board
पछिल्ला वर्षहरूमा नेपालबाट पर्यटन र तीर्थयात्रामा जम्मू तथा कश्मीर जानेहरूको सङ्ख्या पनि बढिरहेको त्यस क्षेत्रमा यात्रा गराउने कतिपय पर्यटन व्यवसायीहरूले बताएका छन्।
सामाजिक सञ्जालमा नेपालबाट जम्मू तथा कश्मीरको पर्यटन र तीर्थयात्राका लागि प्रशस्तै विज्ञापनहरू देखिने गर्छन्।
आचार्यले पनि गत वर्ष आफूहरू एउटा 'ट्राभल एजेन्सी'मार्फत् नै उक्त क्षेत्र घुम्न गएको बताए।
मङ्गलवार कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका रूपन्देही जिल्लाका नेपाली नागरिक पनि आफन्तसँगै घुमघामका लागि त्यहाँ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उनीसँगै गएका अन्य चार जनामध्ये उनकी आमा पनि आक्रमणमा घाइते भएकी छन्।
मृतक नेपालीको शवसँगै सबै आफन्तहरू पनि बिहीवार बिहान नेपाल फर्किएको मन्त्रालयले जनाएको छ।
त्यस्तै जम्मू तथा कश्मीरमा रहेका मुख्यत: दुई वटा प्रमुख धार्मिकस्थलमा ठूलो मात्रामा नेपालीहरू तीर्थयात्राका लागि जाने गरेका छन्।
ती धार्मिकस्थलहरू हुन्- त्रिकुट पहाडस्थित रहेको वैष्णोदेवी र कश्मीरको हिमाली क्षेत्रस्थित अमरनाथ।
हिमाली र कश्मीरको द्वन्द्वग्रस्त क्षेत्रमा भएकाले अमरनाथ तीर्थयात्राका लागि भने विशेष अनुमति आवश्यक पर्छ र वर्षमा एकाध महिनामात्र त्यहाँ तीर्थयात्रा हुने गर्छ।

तस्बिर स्रोत, Vaishno Devi Shrine Board
तुलनात्मक रूपमा सुरक्षित मानिएको वैष्णोदेवीमा धेरै नेपालीहरू तीर्थयात्राका लागि जाने गरेको बताइन्छ। यद्यपि अमरनाथ यात्राका लागि पनि केही नेपालीहरू गइरहेको पाइएको छ।
नेपाली तीर्थयात्रीहरूको यकिन विवरण पनि एकीकृत रूपमा प्राप्त गर्न कठिन हुने गरेको छ।
श्रम, भारतको सैन्य सेवा, पर्यटन र तीर्थयात्राबाहेक छिटपुट रूपमा नेपालीहरू अध्ययनका लागि पनि जम्मू तथा कश्मीर पुग्ने गरेका छन्।
विशेष गरी छात्रवृत्ति पाएर उक्त क्षेत्रमा अध्ययन गर्ने मानिसहरू रहेका छन्।
त्यस्तै नेपाली पूर्वराजपरिवार तथा राणा परिवारका सदस्यहरूबीच उक्त क्षेत्रका राजारजौटाका परिवासँग बिहेवारीको सम्बन्धसमेत रहँदै आएको छ।
ती परिवारका अहिलेको पुस्ताका केही व्यक्तिहरूले पनि त्यस्तो सम्बन्ध गाँसेका उदाहरणहरू छन्।
यसरी जम्मू-कश्मीर पुगेका थिए गोर्खाहरू

तस्बिर स्रोत, Getty Images
जम्मूमा रहेका गोर्खाहरूको इतिहासबारे जानकारहरू र त्यहाँका गोर्खा समाजका अगुवाहरूका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने सबैजसोका पुर्खा सैन्य सेवाका क्रममा नेपालबाट त्यहाँ पुगेका थिए।
करुणा क्षेत्री भन्छिन्, "हाम्रो इतिहास दुई सय वर्ष पुरानो छ। हाम्रा पुर्खाहरू त जम्मू तथा कश्मीरका राजा गुलाब सिंहकै पालादेखि यहाँ आएका हौँ।"
इतिहासकारहरूका अनुसार सुगौली सन्धिपश्चात् तत्कालीन नेपाली सेनामा रहेका बलभद्र कुँवरसहितका गोर्खा फौजका मानिसहरू पञ्जाबको तत्कालीन सिख शासकको सेनामा सहभागी भएका थिए।
त्यसबेला जम्मू तथा कश्मीरमा पनि पञ्जाबका शासकको आधिपत्य थियो।
ब्रिटिश इस्ट इन्डिया कम्पनी र सिख शासकबीचको सन् १८४५-४६ को युद्धपश्चात् डोग्रा वंशका गुलाब सिंहले अङ्ग्रेजसँग ७५ लाख भारतीय रुपैयाँमा किनेर जम्मू तथा कश्मीरमा आफ्नो शासन सुरु गरे।
त्यसक्रममा नेपालबाट सिख सेनामा भर्ना भएका गोर्खाहरू पनि गुलाब सिंहको सेनामा सामेल भएको के ब्रह्म सिंहको पुस्तक 'हिस्ट्री अफ जम्मू एन्ड कश्मीर राइफल्स्, १८२०-१९५६'मा उल्लेख छ।
पछि जम्मूका डोग्रा शासकले राज्य विस्तार गर्दै हाल पाकिस्तानमा पर्ने गिल्गिट बाल्टिस्तानलाई समेत आफ्नो राज्यमा सामेल गरेको र पहाडी क्षेत्रको सुरक्षाका लागि गोर्खा फौजलाई खटाएको सिंहले उल्लेख गरेका छन्।
"ब्रिटिशहरूले गोर्खाको भर्ती गराउन थालेपछि राम्रा र बलिया गोर्खाहरू ब्रिटिश सेनामा गए भन्ने ठानेर जम्मू तथा कश्मीर राज्यले पनि आफैँ भर्ती गराउन सुरु गरेको थियो," उनले आफ्नो पुस्तकमा लेखेका छन्।
"त्यसपछि ब्रिटिश-इन्डियाको अनुमति लिएर गोरखपुरमा जम्मू तथा कश्मीरको सेनामा गोर्खा भर्तीका लागि छुट्टै केन्द्र पनि खोलियो।"
ब्रिटिश शासनका बेला 'प्रिन्स्ली स्टेट' रहेको जम्मू तथा कश्मीरका राजाको व्यक्तिगत सुरक्षामा पनि गोर्खा फौज खटिएको उनले लेखेका छन्।
उनका अनुसार गोर्खाहरूलाई परिवार पनि लान दिइएको थियो र उनीहरूले जम्मू तथा कश्मीरको विभिन्न भागमा बसोबास गर्न पाएका थिए।
जम्मूस्थित गोर्खा समाजका नेताहरूका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने गोर्खाहरूबारे अनुसन्धान गर्दा अधिकांशका पुर्खा सैन्य सेवाबाटै आएको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








