कश्मीर तनाव: काठमाण्डूका कश्मीरीहरू परिवारसँग सम्पर्क हुन नपाउँदा चिन्तित र त्रसित

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
काठमाण्डूको पर्यटकीय केन्द्र ठमेलमा मङ्गलवार साँझ पनि सधैँ जस्तो चहलपहल थियो।
पसलेहरू पर्यटकलाई किनमेलका लागि बोलाइरहेका थिए।
त्रिदेवी सडक कटेर थंबही हुँदै बायाँ मोडिएर ठमेल मार्गतर्फ लाग्दा भने त्यहाँका केही पसलहरूमा त्यस्तो चहलपहल देखिएन।
पस्मिना, गलैँचा, फेल्ट र पेपरमेसीका उपहार दिन मिल्ने रङ्गीचङ्गी सामानहरू सजाएर राखिएकाले पसलहरू चम्किला थिए तर पसलमा बस्नेहरूको मुहारमा कुनै चमक थिएन।
नेपालमा व्यापार गरेर बसेका कश्मीरी पसले र कामदारहरू 'काउन्टर'मा राखिएको सानो टेलिभिजनमा झुम्मिएका देखिन्थे। उनीहरूको अनुहारमा चिन्ताको भाव स्पष्ट थियो।
कतिपय एक-आपसमा 'अब के हुने हो?' भन्दै कुराकानी गरिरहेका थिए।
चिन्तित र त्रसित
टेलिभिजन अगाडि बस्नेमध्ये धेरैले अनौपचारिक कुराकानीमा आफूहरू निक्कै 'चिन्तित र त्रसित' बनेको बताए। तर केही मात्र औपचारिक कुराकानी गर्न तयार भए।
काठमाण्डूको पर्यटकीय क्षेत्र ठमेलमा वर्षौँदेखि विभिन्न व्यवसाय गरिरहेका कश्मीरीहरूको चिन्ताको कारण भारत सरकारको निर्णय हो।

सोमवार भारतले कश्मीरलाई विशेषाधिकार दिने संविधानको एउटा धारालाई खारेज गर्दा उत्पन्न परिस्थितिले उनीहरूलाई त्रसित बनाएको छ।
भारतीय संविधानको धारा ३७० लाई खारेज गर्नका लागि भारत सरकारले गत सातादेखि नै कश्मीरमा विभिन्न बन्देजहरू लगाएको छ।
त्यहाँ कर्फ्यु जारी छ र फोन तथा इन्टरनेट सेवा पनि बन्द गरिएको छ।
त्यसले गर्दा नेपालमा बसेर व्यवसाय गरिरहेका कश्मीरीहरूले आफ्ना परिवारसँग सम्पर्क समेत गर्न पाएका छैनन्।
बेचैनी
आफन्त र परिवारसँग प्रत्यक्ष सम्पर्क हुन नसक्दा र विभिन्न खाले हल्ला सहितका समाचार आउँदा आफूहरू आत्तिएको उनीहरू बताउँछन्।
त्यस्तै मध्येका एक हुन् - जम्मू-कश्मीरको राजधानी श्रीनगरको शहरी क्षेत्रका जहाँगीर अहमद धर।
करिब पाँच वर्षदेखि ठमेलस्थित एकजना कश्मीरीकै पसलमा कार्यरत उनलाई कश्मीरको पछिल्लो अवस्थाका कारण आफ्ना परिवारको निकै चिन्ता लागेको छ।
श्रीनगरमा उनको घर रहेको क्षेत्रमा अन्य बेला पनि सुरक्षा फौज र स्थानीय युवाहरूबीच झडप तथा ढुङ्गामुढा हुने गर्छ।

गत शनिवारदेखि परिवारसँग कुनै खाले सम्पर्क नभएपछि उनलाई डर लागेको छ।
बीबीसीसँगको कुराकानीमा उनले भने, "म छ महिना पहिले घर गएको थिएँ। त्यसबेला सबै कुरा सामान्य नै थियो।"
"अहिले अवस्था बिग्रिएको छ भन्ने खबरहरू आएका छन्। थप फौज लगिएको समाचार टेलिभिजनमा देखाइएको छ। त्यहाँ के भइरहेको छ थाहा नपाउँदा परिवारलाई के भयो होला भन्ने लागिरहन्छ।"
उनका अनुसार उनको परिवारमा १२ जना रहेका छन्। त्यसमध्ये उनका सात र चार वर्षका छोराहरू पनि छन्।
उनले भने: "यहाँबाट म के गर्न सक्छु र? तर मेरो परिवारलाई केही नहोस् भन्ने प्रार्थना गरेर बसेको छु।"
"कम्तीमा सम्पर्क गर्ने केही न केही सहज बनाइयोस् भन्ने चाहन्छु।"
भावुक प्रतिक्रिया
बीस वर्षदेखि ठमेलमै काम गर्दै आएका श्रीनगरको मुख्य केन्द्र लालचोकबाट करिब चार किलोमिटर बेमिनाका आसिक हुसेन खाण्डेको पीडा पनि उस्तै छ।
मोबाइल र इन्टरनेट सेवा बन्द भएपछि पनि केही समयका लागि कश्मीर उपत्यकामा तारसहितको फोन सुचारु थियो।
त्यसैले उनले आइतवार आफ्नो घरको फोनमा परिवारसँग कुराकानी गरेका थिए।

तस्बिर स्रोत, Getty Images
तर त्यसपछि भने कुनै सम्पर्क नहुँदा आफूलाई निकै बेचैनी भएको उनले बीबीसीलाई बताए।
"म १६ वर्षको हुँदा नेपाल आएको हुँ। मेरो परिवारमा वृद्ध आमा र बा, १५ वर्षको छोरा, नौ वर्षकी छोरी र श्रीमती छन् तर मेरो कसैसँग कुरा हुन पाएको छैन," उनले भने।
"यो मारिए, उ मारिए भन्ने समाचार आउँछ। त्यसले गर्दा मलाई ज्यादै नै बेचैनी भएको छ।"
कुराकानीका क्रममा भावुक बनेका उनको पटक-पटक गला अवरुद्ध हुनपुग्यो।
उनले केही दिन अघि मात्र छोराको कलेज शुल्क पठाइदिएका थिए।
"उसको परीक्षा अहिले नै हुनुपर्ने थियो तर त्यो पनि दिन पाएन," हुसेनले भने।
यसरी परिवारसँग कुराकानी गर्नबाट समेत वञ्चित हुनुपर्दा उनलाई 'आफूहरूमाथि ठूलो अन्याय भएको' महसुस भएको छ।
"म घरको एउटै मात्र सन्तान हुँ र अहिले कुरा गर्न नपाउँदा निक्कै दु:ख लाग्छ," उनले भने।
"सबै मान्छे खराब त छैनन् नि; सबैलाई यसरी दु:ख दिनु कति उचित हो?"
टिकट रद्द
सोर्ह वर्षदेखि ठमेलमा व्यापार गर्दै आएका श्रीनगरकै उस्मानिया कोलोनीका अहमद इम्तियाजलाई चाहिँ बकर ईद आउनै लाग्दा कश्मीरमा यस्तो परिस्थिति बनेकोमा चिन्ता लागेको छ।
उनले बीबीसीसँग भने, "विश्वभर नै कश्मीरीहरू हस्तकला सामग्रीको व्यापारमा छन्। उनीहरू घर आउने समय भनेकै चाडपर्वमा हो।"
"त्यसमा बकर ईद पनि पर्छ तर अहिले बकर ईदकै बेला कश्मीरीहरू घर जान नसक्ने स्थिति बनाइयो।"
यसपालिको बकर ईद आगामी सोमवार पर्ने र त्यसका लागि घर जान नेपालमा रहेका धेरै कश्मीरीले हवाई टिकट समेत लिइसकेको उनले बताए।
"अहिलेको परिस्थितिले टिकट लिएकाहरूले पनि रद्द गर्नुपर्ने अवस्था आएको छ।"
"श्रीनगर त पुगिएला तर त्यहाँबाट घरसम्म जान पाइएला कि नपाइला भन्ने डरले पनि टिकट रद्द गर्नेहरू छन्," इम्तियाजले भने।

तस्बिर स्रोत, Getty Images
उनले बकर ईदलगत्तै आफ्नो र आफ्नो बहिनीको विवाह तय भएको बताए।
"त्यसका लागि मैले अब केही दिनमा घर पुग्नै पर्ने जरुरी थियो तर न सम्पर्क हुन सकेको छ न त त्यहाँ अवस्था सुधार भएको नै समाचार आएको छ। त्यसले के गर्ने अन्यौल र चिन्तामा छु," उनले भने।
उनले राजनीतिक र कूटनीतिक कुराहरू एकातर्फ राखेर मानवीयताका हिसाबले पनि कश्मीरमा यस्तो सङ्कट पैदा गर्न नहुने बताए।
उनले थपे: "म भारत र पाकिस्तान दुवैलाई आग्रह गर्न चाहन्छु कश्मीरमा मानवीयताका हिसाबले पनि यस्तो अवस्था सिर्जना नगरियोस्।"
"हामीलाई हाम्रा परिवार मरे वा बाँचे के भए भन्ने समेत पत्तो नलाग्ने अवस्था आइसक्यो।"
नेपालमा कश्मीरीको सङ्ख्या
मङ्गलवार साँझ बीबीसीले कुराकानी गरेका एक दर्जभन्दा बढी कश्मीरीहरूमध्ये धेरैले अहिलेको परिस्थितिले आफूहरूलाई एकदमै चिन्तित बनाएको बताए।
तर अधिकांशले आफ्नो परिचय नखुलाइदिन आग्रह गरे।
काठमाण्डूमा व्यवसाय गर्दै आएका उनीहरूका अनुसार पहिले पनि कैयौँ पटक कश्मीरमा सबैखाले सम्पर्कका माध्यमहरू बन्द गरिएको थियो।

तस्बिर स्रोत, Reuters
तर त्यसबेला आफूहरूलाई अहिले जस्तो पीर नपरेको उनीहरूले बताए।
ठमेलमा नै ४० वर्षदेखि व्यवसाय गर्दै आएका र परिवारहरू भने कश्मीरमै रहेका एकजनाले परिचय नखुलाउने सर्तमा भने, "भारतले पहिले पहिले केही घटनामा यस्तो खाले कदम चाल्ने गरेको थियो।"
"अहिले कश्मीरको विशेषाधिकार खोसेर यस्तो गरेकाले हामीलाई धेरै पीर परेको छ। कश्मीरमा यसको पक्कै विरोध भइरहेको होला। त्यहाँ थप सेना पनि पठाइएकाले धेरै झडप पो भएको छ कि भन्ने लाग्छ।"
व्यापारीहरूका अनुसार हाल काठमाण्डू र पोखरामा गरि करिब तीन सय जना जति कश्मीरी व्यापारी र उनीहरूका कामदार कार्यरत छन्।
नेपालमा पाँचदेखि ४० वर्षदेखि बसेका कश्मीरीहरू रहेको उनीहरू बताउँछन्।
कश्मीरको अवस्था
श्रीनगरमा रहेका बीबीसी संवाददाता आमिर पिरजादाले त्यहाँ सञ्चालित केही ल्यान्डलाइन फोनमध्ये एउटाबाट सम्पर्क गरि बताए अनुसार कश्मीरी मानिसहरूमा 'आक्रोश देखिएको र उनीहरूले आफूहरूलाई धोका भएको' महसुस गरेका छन्।
विशेषाधिकार खोसिएपछि कश्मीरमा हुनसक्ने प्रदर्शनहरूलाई लक्षित गर्दै भारत सरकारले अहिले पनि त्यहाँ टेलिफोन र इन्टरनेट सेवा बन्द गरिदिएको छ भने कर्फ्यु पनि लगाएको छ।
काठमाण्डूमा रहेका कश्मीरीहरूले यो अवस्था चाँडै अन्त्य नहुनेजस्तो लागेको बताएका छन्।
त्यसले गर्दा आफूहरूको चिन्ता बढ्दो रहेको उनीहरूले बताए।
इम्तियाज भन्छन्, "हाम्रा लागि हरेक दिनहरू लामो र रातहरू झन् लामो भइरहेका छन्।"
"तर म मेरा परिवारलाई भन्न चाहन्छु टाढा भए पनि हामी उनीहरूकै साथमा छौँ।"










