ड्रोनदेखि क्षेप्यास्त्रसम्म: भारत र पाकिस्तानका सैन्य क्षमताको तुलना

सन् २०१६ को मार्च २३ मा पाकिस्तानको राष्ट्रिय दिवसका बेला प्रदर्शनमा राखिएको शाहीन-थ्री बलिस्टिक क्षेप्यास्त्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१६ को मार्च २३ मा पाकिस्तानको राष्ट्रिय दिवसका बेला प्रदर्शनमा राखिएको शाहीन-थ्री बलिस्टिक क्षेप्यास्त्र
    • Author, बीबीसी उर्दू

भारतले बुधवार पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा हवाई हमला गरेपछि पाकिस्तानले भारतका २५ वटा ड्रोनहरूलाई आफ्ना सहरहरूमा खसालेको जनाएको छ।

"यो भारतले गरेको अर्को चर्को सैन्य उक्साहटको कदम हो," सेनाका प्रवक्ता अहमद शरिफ चौधरीले भने।

भारतले समेत पाकिस्तानले प्रहार गरेका "ड्रोन र क्षेप्यास्त्रहरू" निष्क्रिय पारेको जनाएको छ।

यहाँ यी दुई देशका सैन्य क्षमताको तुलना गरिएको छ।

ड्रोन

आकाशमा देखिएको विमान

तस्बिर स्रोत, General Atomics Aeronautical Systems

दुवै देशले ड्रोनहरू आयात गर्दै र स्वदेशी प्रविधि विकास गरेर त्यसको क्षमता विस्तार गर्दै आएका छन्।

तर सङ्ख्याको हिसाबले यसमा भारत अगाडि छ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशले अर्को दुईदेखि चार वर्षमा झण्डै ५,००० ड्रोन प्रयोगमा ल्याउने रक्षा विश्लेषक राहुल बेदीले बीबीसीलाई बताएका छन्।

सन् २०२४ मा भारतले अमेरिकी विदेश मन्त्रालयसँग ३१ वटा एमक्यू-९बी स्काई गार्डियन र सीगार्डियन हाई एल्टिट्युड लङ इन्ड्यूरेन्स (एचएएलई) ड्रोनहरू खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।

भारतको तुलनामा पाकिस्तानसँग कम ड्रोन भए तापनि यसका सैन्य ड्रोनमा निगरानी, अनुसन्धान र सटिक हवाई हमलाको क्षमता छ।

पाकिस्तानी ड्रोनहरूको एउटा प्रमुख शक्ति भनेको युद्धमा लड्ने अनुभव हो।

उदाहरणका लागि सन् २०१५ यता आतङ्कवादी विरोधी कारबाहीहरूमा प्रयोग भइरहेको बुराक नामक एक युद्धक ड्रोन छ। इस्लामाबादले टर्की र चीनबाट उच्च क्षमताका ड्रोनहरू समेत आयात गर्छ।

रक्षा बजेट र सेनाको आकार

पोजिसनमा बसेका सुरक्षाकर्मी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्वतन्त्र वेबसाइट ग्लोबल फाएरपावर इन्डेक्स (जीएफआई) का अनुसार भारत चौथो सबैभन्दा शक्तिशाली सेनाको रूपमा दरिएको छ।

दुवै देशहरूबीच पूर्ण आकारको युद्धको खतरा अझै पनि छ। सन् १९९९ मा यी दुई देशहरूले अन्तिम पटक त्यस्तो युद्ध लडेका थिए।

भारतसँग १४ लाखभन्दा बढी सक्रिय सकिकहरू छन्। स्वतन्त्र वेबसाइट ग्लोबल फाएरपावर इन्डेक्स (जीएफआई) अनुसार भारत सबैभन्दा शक्तिशाली सेनाको रूपमा चौथोमा मानिन्छ।

यसैबीच पाकिस्तानसँग ६,५४,००० सक्रिय सैनिकहरू छन्।

स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (एसआईपीआरआई) को रिपोर्ट अनुसार भारतले सन् २०२४ मा पाकिस्तानको तुलनामा नौ गुणा बढी रक्षा खर्च गरेको छ।

जमिनमा रहेको शक्तिका हिसाबले भारतसँग ४,२०० भन्दा बढी ट्याङ्क र लगभग १ लाख ५० हजार बख्तरबन्द सवारीसाधनहरू छन्।

पाकिस्तानसँग भने २,६०० ट्याङ्क र १८,००० भन्दा केही कम बख्तरबन्द सवारीसाधनहरू छन्।

भारतीय लडाकु विमान

तस्बिर स्रोत, AFP via Getty Images

भारतको हवाई फौजले २,२२९ विमान सञ्चालन गर्छन्। जसमध्ये ५१३ लडाकु र १३० वटा बमवर्षक विमानहरू छन्। जीएफआईका अनुसार पाकिस्तानसँग ८३० भन्दा कम विमानहरू छन्।

भारतको नौसेनासँग २९३ वटा जहाजहरू छन् जुन पाकिस्तानको तुलनामा दोबर हो।

क्षेप्यास्त्र र परमाणु हतियारहरू

ब्राहमोस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको क्रुज क्षेप्यास्त्रले परमाणु हतियार समेत बोक्न सक्छ

पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रम अन्तर्गत क्रुज र युद्ध क्षेत्रमा रणनीतिक रूपमा प्रयोग गरिने बलिस्टिक क्षेप्यास्त्रहरूका साथै छोटो र मध्य दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू रहेका छन्।

भारतका क्षेप्यास्त्रहरू विविधतापूर्ण छन्।

पृथ्वी क्षेप्यास्त्रका दायरा १५० देखि ६०० किलोमिटर टाढासम्म पुग्ने खालका छन्। त्यस्तै अग्नि सिरिजका क्षेप्यास्त्रहरूको दायरा १,२०० देखि ८ऽ००० किलोमिटरसम्मको छ।

निर्भया र ब्रहमोस सिरिजका क्रुज क्षेप्यास्त्रहरू पनि छन्।

भारतका क्षेप्यास्त्रहरूको बृहत् दायराले त्यो चीनलाई पनि लक्षित गर्ने सक्ने खालको रहेको देखाउँछ। भारतको अर्को छिमेकी चीनसँग पनि उसको सीमा विवाद रहेको छ।

तर यसको अर्थ पाकिस्तानलाई सजिलै हराउन सकिन्छ भन्ने होइन। यी दुवै देश परमाणु अस्त्रसम्पन्न छन् र दुवैको क्षमता समान छ।

एसआईपीआरआईको अनुमान अनुसार भारतसँग १७२ परमाणु युद्धशीर्षहरू छन् जुन पाकिस्तानसँग १७० वटा छन्।

तर यी परमाणु युद्धशीर्षहरू कति सङ्ख्यामा तत्काल प्रयोगमा आउन सक्ने छन् भन्ने स्पष्ट छैन।

पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्न परमाणु हतियारहरू विकास गर्दै छ भने भारत लामो दूरीका हतियारहरूमा ध्यान केन्द्रित गर्दैछ जसले चीनलाई पनि लक्षित गर्न सक्छ।

चीनले आफ्नो परमाणु हतियारहरू ४१० बाट ५०० पुर्‍याएर २२% ले वृद्धि गरेकाले यो स्थिति भयावह हुन सक्छ।

यसले चुकाउनुपर्ने मूल्य निकै उच्च भएकाले अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयम अपनाउन आह्वान गरेको छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।