भारत र पाकिस्तानबीच संसारकै खतरनाकमध्येका सिमानाको नालीबेली

तस्बिर स्रोत, AFP
- Author, सौतिक बिस्वास
- Role, भारत संवाददाता
भारत र पाकिस्तानलाई छुट्टयाउने नियन्त्रण रेखा (एलओसी) नजिक बस्नु भनेको धरमराउने शान्ति र खुला सङ्घर्षबीच तरबारको धारमा बस्नु जस्तै हो।
पहलगाम हमलापछि हालै भारत र पाकिस्तानबीच भएको तनावले दुई देशलाई फेरि युद्धको सँघारमा पुर्याइदियो।
एलओसीको दुवैतर्फ गोलाबारी भयो जसबाट घरहरू भग्नावशेषमा परिणत भए र मानिसहरूको ज्यान आँकडामा सीमित हुन पुगेको छ।
पछिल्लो द्वन्द्वका कारण भारततर्फ १६ जनाको ज्यान गएको बताइएको छ भने पाकिस्तानले आफ्ना ४० जना नागरिका मारिएका दाबी गरेको छ।
यद्यपि प्रत्यक्ष गोलाबारीमा परेर कति मानिसले ज्यान गुमाए भन्ने प्रस्ट भएको छैन।
सनकको सिकार
"एलओसीनजिक बस्ने परिवारहरू भारतीय र पाकिस्तानी सनकको सिकार हुनुपर्छ जसले चर्को तनावको सामना गर्नुपर्छ," क्यानडामा बस्दै आएकी एक पाकिस्तानी लेखिका अनम जकारियाले बीबीसीसँग भनिन्।
"गोली हानाहान सुरु हुँदा हरेक पटक मानिसहरू बङ्करभित्र पस्न बाध्य हुन्छन्, चौपाया र जनजीविका नष्ट हुन्छन्। घर, अस्पताल, विद्यालयसहितका पूर्वाधार क्षतिग्रस्त हुन्छन्। दैनिक जीवनमा असुरक्षा र अस्थिरताको प्रभाव गम्भीर हुन्छ," पाकिस्तान प्रशासित कश्मीरबारे किताब लेखेकी जकारियाले अगाडि थपिन्।
भारत र पाकिस्तानबीच ३,३२३ किलोमिटर सीमा जोडिएको छ जसमा ७४० किलोमिटर एलओसी र करिब २,४०० किलोमिटर अन्तर्राष्ट्रिय सीमा पर्छ।
एलओसीको सुरुवात सन् १९४९ मा प्रथम भारत-पाकिस्तान युद्धपछि युद्धविराम रेखाको रूपमा भएको थियो र सन् १९७२ को शिमला सम्झौताअन्तर्गत त्यसको नाम फेरियो।
भारत र पाकिस्तान दुवैले पूर्ण दाबी गर्दै आएका र निश्चित हिस्सामाथि दुवैको प्रशासन रहेको कश्मीरमा पर्ने एलओसी विश्वकै अत्यधिक सैन्यकरण भएको सीमामध्ये एक हो।
त्यहाँ द्वन्द्व कहिल्यै सकिँदैन र अर्को उक्साहटपूर्ण कार्य नभएसम्मका लागि मात्र युद्धविराम टिकाउ हुन्छ।
दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयस्थित विदेश नीतिविज्ञ ह्यापीमोन ज्याकबका अनुसार "निम्न स्तरको फायरिङदेखि ठूलो स्तरमा भूमि कब्जा र सर्जिकल स्ट्राइकसम्मका घटनाले युद्धविराम उल्लङ्घन हुन सक्छ।"

तस्बिर स्रोत, Getty Images
उल्लेखनीय तनाव
तर युद्ध निम्तिरहने यस्ता सीमाहरू दक्षिण एशियामा मात्र सीमित चाहिँ छैनन्।
रिआ विश्वविद्यालयस्थित इन्टरन्याशनल एन्ड कम्प्यारेटिभ पोलिटिक्स विषयका प्राध्यापक तथा 'कश्मीर याट द क्रशरोड्सः इन्साइड ए ट्वान्टी फर्स्ट सेन्चुरी कन्फ्लिक्ट' नामक किताबका लेखक सुमन्त्र बोसका अनुसार सबैभन्दा चिरपरिचित भनेको सन् १९४९ को युद्धविराम रेखा अर्थात् ग्रीन लाइन हो जुन इजरेल र वेस्ट ब्याङ्कबीच आमरूपमा मान्यताप्राप्त सीमा हो।
सन् २०२१ को युद्धविराम सम्झौतापछि एलओसीमा अस्थायी रूपमा कायम शान्ति दुई परमाणु अस्त्र सम्पन्न देशबीचको हालैको शत्रुतापछि तहसनहस हुन पुग्यो।
"एलओसी र सीमामा भएको तनाव उल्लेखनीय छ किनकि तुलनात्मक रूपमा सीमामा चार वर्षसम्मको शान्तिपछि यो देखिएको हो," कार्नेगी इन्डियाका सूर्या वालिआप्पन कृष्णाले बीबीसीसँग भने।
भारत-पाकिस्तान सीमामा हिंसा कुनै नौलो होइन। सन् २००३ को युद्धविरामअघि भारतले सन् २००१ मा उल्लङ्घनका ४,१३१ र २००२ मा ५,७६७ वटा घटना भएको जनाएको थियो।
सन् २००३ को युद्धविराम सुरुमा कायम रह्यो र सन् २००४ देखि २००७ को अवधिमा उल्लङ्घनका नगन्य घटना भए। तर सन् २००८ मा फेरि तनाव देखियो भने सन् २०१३ सम्म तीव्र रूपमा बढ्यो।
सन् २०१३ देखि २०२१ को सुरुवातको अवधिमा नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमामा उच्च तहका द्वन्द्वहरू देखियो। सन् २०२१ को फेब्रुअरीमा भएको नयाँ युद्धविरामपछि हिंसामा तत्काल र सन् २०२५ को मार्चसम्म निरन्तर कमी आयो।
"सीमा वारपार गोलाबारीको समय नजिक बस्ने हजारौँ मानिसहरू महिनौँसम्म विस्थापित हुने गरेका हामीले देखेका छौँ," कृष्णाले भने।

तस्बिर स्रोत, Getty Images
चिन्ताजनक र अनिश्चित
युद्धविराम उल्लङ्घन र सीमा वारपार गोली हानाहानका घटनाका कारण सन् २०१६ को सेप्टेम्बर र डिसेम्बरको सुरुतिरको अवधिमा २७ हजार मानिसहरू विस्थापित भए।
अहिले त्यो चिन्ताजनक र अनिश्चित लाग्ने क्रम बढेको छ। पहलगाम हमलापछि तनाव बढ्यो।
भारतले दुई देशबीच पानी बाँडफाँटसम्बन्धी सिन्धु जल सन्धि निलम्बन गर्यो। पाकिस्तानले सन् १९७२ को शिमला सम्झौताबाट बाहिरिने चेतावनी दियो जुन सम्झौताले एलओसीलाई मान्यता दिएको हो।
"यो चाहिँ पेचिलो छ किनभने शिमला सम्झौता अहिलेको एलओसीको आधार हो। त्यसअन्तर्गत दुवै देशले राजनीतिक मतभिन्नताबीच पनि एकपक्षीय रूपमा नियन्त्रण रेखामा हेरफेर नगर्ने सहमति गरेका छन्," कृष्णाले भने।
ज्याकबका अनुसार दुई देशबीच चुलिएको तनावसम्बन्धी कुराकानी र बहसका क्रममा एलओसीमा युद्धविराम सम्झौताको उल्लङ्घनका कुरा चर्चामा आएको देखिँदैन।
"परमाणु अस्त्र सम्पन्न दुई देशबीच १०५ एमएम मोर्टार, १५५ एमएम आर्टिलरी बन्दुक र एन्टीट्याङ्क गाइडेड क्षेप्यास्त्रहरू नियमित रूपमा प्रयोग हुँदा समेत प्राज्ञिक छलफल र नीतिगत ध्यानमा नपर्नु आफैँमा आश्चर्यको विषय हो," 'लाइन अफ फायरः सीजफायर भायोलेशन्स एन्ड इन्डिया-पाकिस्तान एस्केलेशन डाइनमिक्स' नामकका पुस्तकमा ज्याकबले लेखेका छन्।
युद्धविराम उल्लङ्घनमा ज्याकब दुईवटा कारण देख्छन्: पाकिस्तानले भारत प्रशासित कश्मीरमा आतङ्कवादीहरूको घुसपैठमा सघाउन 'कभर फायर'को प्रयोग गर्छ जुन कुरा भारतविरुद्ध तीन दशकदेखिको सशस्त्र द्वन्द्वको साक्षी रहेको छ।

तस्बिर स्रोत, Getty Images
जटिल मिश्रणको नतिजा
गैरसैनिक क्षेत्रमा कुनै उक्साहटपूर्ण कार्यविनै भारतले फायरिङ गराउने गरेको पाकिस्तानले आरोप लगाउने गरेको छ।
भारत-पाकिस्तान सीमामा युद्धविराम उल्लङ्घका घटना हुनुमा उच्चस्तरीय राजनीतिक रणनीतिभन्दा स्थानीय स्तरमा सैन्य पक्ष बढी जिम्मेवार रहेको उनको तर्क छ।
प्रायः फिल्ड कमान्डरहरूका कारण तनाव निम्तिने गर्छ। कहिलेकाहीँ केन्द्रको अनुमोदनमा हुन्छ भने धेरैजसो अनुमोदनविनै हुन्छ।
पाकिस्तानी सेनाले मात्रै हिंसा निम्त्याउँछ भन्ने भाष्यलाई पनि ज्याकब चुनौती दिन्छन्। बरु स्थानीय सैनिकहरूको प्राथमिकता र दुवैतर्फका सीमा फौजहरूलाई दिइएको स्वायत्तताको जटिल मिश्रणतर्फ उनी इङ्गित गर्छन्।
कतिपय विज्ञहरू दुई वर्षअघि छोडिएको विचारबारे फेरि सोच्नुपर्ने आवश्यकता पनि औँल्याउँछन्: एलओसीलाई औपचारिक अन्तर्राष्ट्रिय सीमाको रूपमा मान्ने। तर अर्काथरीले त्यो कहिल्यै वास्तविकतामा परिणत हुन नसक्ने तर्क गर्छन्।
"यो पूर्णतः पूरा नहुने खालको छ। दशकौँदेखि भारतको नक्साले एकदमै महत्त्वपूर्ण रहेको जम्मू र कश्मीरका पूरै भूभागलाई आफ्नो हिस्साको रूपमा प्रस्तुत गर्दै आएको छ," सुमन्त्र बोसले बीबीसीसँग भने।
"पाकिस्तानको हकमा एलओसीलाई अन्तर्राष्ट्रिय सीमाको हिस्सा बनाउनुको अर्थ कश्मीर विवादलाई टुङ्ग्याउनुसरह हुनेछ। हरेक पाकिस्तानी सरकार, नागरिक अथवा सैनिकले विगत सात दशकदेखि त्यो कुरालाई अस्वीकार गर्दै आएका छन्।"
एउटा शान्त जनाउघण्टी
बोसले सन् २००३ मा लेखेको आफ्नो किताब 'कश्मीरः रूट्स अफ कन्फ्लिक्ट, पाथ्स टू पीस'मा लेखेका छन्: कश्मीर विवाद समाधानका निम्ति नियन्त्रण रेखा बदलियोस्। तारबार, बङ्कर, खाडल र आक्रामक सेनायुक्त फलामे पर्दा समेत फेरियोस् र त्यहाँ सूतीको पर्दा टाँगियोस्। व्यावहारिक राजनीतिले सिमाना स्थायी हुने तय गर्छ तर त्यसलाई नहटाइकनै वारपार गर्ने स्थिति बन्नुपर्छ।
यद्यपि नियन्त्रण रेखामा त्यस्ता परिवर्तनलाई बृहत् कश्मीर सम्झौतामा समावेश गरिनुपर्नेमा उनको जोड छ।
सन् २००४ देखि २००७ को बीचमा नियन्त्रण रेखालाई एउटा 'शफ्ट बोर्डर' मा परिणत गर्ने कुरा भारत-पाकिस्तान नयाँ शान्ति प्रक्रियाको केन्द्रमा थियो जुन पूरा हुन सकेन।
अहिले सीमामा फेरि तनाव भड्किएको छ र त्यसले ती मानिसहरूलाई हिंसा र अनिश्चितताको चक्रमा फेरि ल्याइदिएको छ जो त्यसको छायामा बस्छन्।
"अब के हुन्छ भन्ने कुरा कहिल्यै थाहा हुन्न। आज राति एलओसीतर्फ फर्केर कोही सुत्न चाहँदैन," पछिल्लो तनाव चुलिएका बेला पाकिस्तान प्रशासित कश्मीरको एउटा होटलका कर्मचारीले बीबीसी उर्दूसँग भनेका थिए।
जब तपाईँको झ्याल युद्धमैदानतर्फ खुल्छ तब शान्ति कति नाजुक हुन्छ भन्ने कुराको यो एउटा शान्त जनाउघण्टी थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








