भारत र पाकिस्तानले लडाइँ रोके, तर ज्यूँका त्यूँ छन् यी पाँच विषय

भारत-प्रशासित कश्मीरमा बन्दुक बोकेर उभिएका सैनिकहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मे १० मा भारत र पाकिस्तानबीच सङ्घर्षविरामको सहमति भयो
    • Author, निकिता यादव
    • Role, बीबीसी न्यूज, दिल्ली

भारत र पाकिस्तानबीच सङ्घर्षविरामको सहमति भएको कैयौँ दिनपछि पनि अब यी दुई छिमेकीसमक्ष कैयौँ प्रश्न बाँकी छन्।

भारत-प्रशासित कश्मीरको पहलगाममा एप्रिल २२ मा सन्दिग्ध चरमपन्थी लडाकुहरूले २६ जना पर्यटकलाई गोली हानी मारिदिएको घटनाको जबाफ दिने भारतले मे ७ मा पाकिस्तान तथा पाकिस्तान-प्रशासित कश्मीरमा हवाई आक्रमण गर्‍यो।

त्यसपछिका चार दिन दुवै देशले एकअर्काविरुद्ध सैन्य कारबाहीहरू गरे। मे १० मा अचानक घोषणा गरिएको सङ्घर्षविरामले सैन्य झडप त मत्थर भयो तर अवस्था अझै सामान्य हुन सकेको छैन।

सैन्य कारबाही सुरु हुनुभन्दा अगाडि भारतले पाकिस्तानविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गर्न एकपछि अर्को कूटनीतिक कदम चालेको थियो जसको जबाफ पाकिस्तानले पनि फर्काएको थियो।

तर सङ्घर्षविराम भए पनि ती कुनै पनि कदम फिर्ता लिइएका छैनन्। दुई देशबीचको असामान्य अवस्था झल्काउने यस्ता छन् ती यथावत् राखिएका कदम -

सिन्धु जलसन्धि निलम्बन

सोमवार सङ्घर्षविरामपछि पहिलो सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले "आतङ्कवाद र संवाद सँगसँगै जान नसक्ने" बताएका थिए।

"पानी र रगत सँगसँगै बग्न सक्दैन," उनले भनेका थिए।

त्यसको अर्थ सञ्चारमाध्यमहरूमा आएजस्तै भारत र पाकिस्तानबीचको जल बाँडफाँटसम्बन्धी 'इन्डस वाटर ट्रिटी' (आइडब्ल्यूटी) वा सिन्धु जलसन्धि अझै निलम्बित अवस्थामै रहने भन्ने लाग्छ।

भारत हुँदै पाकिस्तानतिर बग्न सिन्धु नदीमा बनेको एउटा बाँध

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पहलगाम हमलापश्चात् भारतले सिन्धु जलसन्धि निलम्बन भएको घोषणा गर्‍यो

विश्व ब्याङ्कको मध्यस्थतामा सन् १९६० मा गरिएको उक्त सन्धिले सिन्धु जलाधारमा पर्ने छवटा नदीका पानी बाँडफाँटलाई व्यवस्थित गरेको छ।

विगतमा भएका दुईवटा युद्धमा पनि उक्त सन्धि खलबलिएको थिएन। सीमा वारपार जल व्यवस्थापनमा उदाहरणीय मानिएको उक्त सन्धि गत महिना भारतले स्थगित भएको घोषणा गर्‍यो।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले पानीको मुद्दा शान्तिपूर्ण वार्ताबाट समाधान हुने आफ्नो विश्वास रहेको बताएका छन्।

भारतले उक्त सन्धि स्थगन गरेर उल्लेखनीय कूटनीतिक कदम चालेको छ। कृषि तथा पानी आपूर्तिका लागि यी नदीहरूमा पाकिस्तान निकै आश्रित छ।

"पानीलाई अस्त्र बनाइनु हुन्न," पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले सोमवार रोएटर्स समाचारसंस्थालाई बताए। सन्धिबाट एकतर्फी फिर्तीको "कानुनी आधार नहुने" उनले तर्क थियो।

विज्ञहरूका अनुसार पानीको धेरै प्रवाह हुने समयमा दशौँ अर्ब घनमिटर पानी रोक्न भारतलाई असम्भवजस्तै हुने छ। त्यसका लागि आवश्यक विशाल भण्डारण क्षमता तथा सघन नहर सञ्जालको भारतमा अभाव भएको उनीहरू औँल्याउँछन्। तर यदि भारतले विद्यमान संरचनाबाटै पनि पानीको प्रवाह नियन्त्रण गरिदियो भने पाकिस्तानलाई खास गरी सुक्खा महिनाहरूमा अप्ठेरो पर्छ।

भारतले उक्त सन्धि स्थगित गर्ने भने लगत्तै पाकिस्तानले सन् १९७२ को शिमला सम्झौता निलम्बित गर्ने धम्की दिएको थियो। त्यो सम्झौताले दुई देशबीचको वास्तविक नियन्त्रण रेखा स्थापित गरेको छ।

भिसा निलम्बन तथा कूटनीतिज्ञलाई देशनिकाला

भारतले पहलगाम घटनालगत्तै पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध खुम्च्यायो।

उसले सबै पाकिस्तानी रक्षा सहचरीहरूलाई देशनिकाला गरिदियो र इस्लामाबादको उसको उच्चायुक्त कार्यालयबाट पनि आफ्ना रक्षा सल्लाहकार फिर्ता बोलायो।

पाकिस्तानले पनि त्यस्तै कदम चाल्यो र दुवै देशका उच्चायुक्त कार्यालयका कर्मचारी कटौती गरिए।

अर्को देशका नागरिकलाई दिइएको लगभग सबै भिसा पनि दुवै देशले निलम्बन गरिदिए।

सीमा बन्द

भारत र पाकिस्तान सीमामा अङ्कमाल गर्दै नातेदारहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कैयौँ दिनसम्म सीमामा छुट्टिन लागेका आफन्तजनको भावपूर्ण दृश्य देखिए

दुवै देशले अहिले आफ्नो एकमात्र स्थल वारपार गर्ने सीमा नाका अटारी-वागा नाका बन्द गरेका छन्।

निकै सुरक्षा बन्दोबस्त गरिएको तथा विशेष अनुमतिले मात्र आरपार गर्न सकिने उक्त सीमा नाकालाई आफन्तहरू भेट्न, विवाहमा सहभागी हुन वा सीमा पारीका चिनजानका मानिसहरूसँग भेट्न दुवै तर्फका जनताले प्रयोग गर्दै आएका थिए।

पहलगाम घटनालगत्तै दुवै देशले अर्को देशमा रहेका आफ्ना नागरिकलाई फर्कन करिब एक साता दिएका थिए जुन समय पछि बढाइयो। कैयौँ दिनसम्म सीमामा छुट्टिन लागेका आफन्तजनको भावपूर्ण दृश्य देखिए।

मे ७ को हमलापछि भारतले कर्तारपुर साहिब करिडरको आफ्नोपट्टिको प्रवेशद्वार बन्द गरिएको घोषणा गर्‍यो। उक्त करिडरबाट भारतीय तीर्थालुहरू सिख समुदायको पाकिस्तानमा पर्ने एउटा सबभन्दा पवित्र मानिएको स्थलमा बिनाभिसा जान पाउँथे।

सन् २०२१ र २०२३ का बीच झन्डै दुई लाख भारतीयहरू कर्तारपुर गएका थिए।

गत साता भारतीय विदेशसचिव विक्रम मिसरीले उक्त प्रवेशमा लगाइएको रोक अर्को सूचना नभएसम्म जारी रहने बताएका थिए।

आकाशमार्ग बन्द

भारतले चालेको कूटनीतिक कदमका विरुद्ध पाकिस्तानले सबै भारतीय उडानहरूका निम्ति आफ्नो आकाशमार्ग बन्द गरिदियो।

त्यसपछि भारतले पनि सबै किसिमका पाकिस्तानी उडानहरूका निम्ति आफ्नो आकाशमार्ग बन्द गरिदियो।

अन्तर्राष्ट्रिय उडानहरूलाई अब धेरै समय लाग्ने र घुमाउरो बाटो रोज्नुपर्ने भएको छ जसले यात्रुहरूलाई लाग्ने समय र इन्धन खर्च पनि बढेको छ।

व्यापार स्थगन

दुवै देशले सबै प्रत्यक्ष तथा अप्रत्यक्ष व्यापार स्थगन गरेका छन्।

विज्ञहरूका अनुसार यसको भारतमा नगन्य असर पर्नेछ किनभने उसले पाकिस्तानबाट खासै केही पनि आयात गर्दैन। तर पाकिस्तानलाई चाहिँ यसले ठूलै मर्का पर्न सक्छ।

यसैपनि उच्च महँगी र कमजोर अर्थतन्त्रसँग जुझिरहेको पाकिस्तानले अब कच्चा पदार्थ तथा औषधि जस्ता भारतबाट हुने महत्त्वपूर्ण आयातवस्तु सम्मको पहुँच गुम्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।