गाई-गोरु तस्करी: भारतमा उच्च तहको संलग्नता खुल्दै, नेपालमा संरक्षण कसको?

- Author, शरद केसी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
भारतबाट बाङ्ग्लादेशमा हुने गाई-गोरु तस्करीमा नेपाल कसरी जोडियो अनि देशको मुख्य मुद्दामा प्रवेश नपाउने उक्त तस्करी कति गम्भीर छ? गाई-गोरु तस्करीबारेको शृङ्खलाको भाग-३
छाडा चौपायाको बिगबिगीपछि तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा विक्रम संवत् २०७६ सालमा गौ संरक्षण तथा सरसफाइ केन्द्र स्थापना गरियो।
तत्कालीन वडा अध्यक्ष तुलसीराम सापकोटाले त्यसको नेतृत्व गरे। लगत्तै गौ संरक्षण केन्द्र भरिभराउ भयो। धेरै केन्द्रमा गो जातीय चौपायाको सङ्ख्या २६५ पुग्यो।
केही मानिस मकवानपुरबाट गाई-गोरु लिन भनेर त्यहाँ पुग्छन्।
"पाल्नै हम्मे हम्मे," उनलाई त्यो राहतको उपाय लिएर आए जस्तो भयो, "राष्ट्रिय निकुञ्जको जङ्गल नजिक राख्ने हो, मरेपछि जङ्गली जनावरलाई आहारा पनि हुन्छ भनेपछि वृद्ध भएका गाई-गोरु ३-४ ट्रक पठायौँ।"
उनका अनुसार भेटेरिनरी, नगरपालिका र प्रहरी लगायतका निकायले प्रक्रिया पुगेको सप्लायर्स भएको उल्लेख गरिदिएको कागजात प्रस्तुत गरिएको थियो।
"पछि आउँदा त अलि मोटोघाटा गाई-गोरु छैनन् भन्दै पो सोधखोज गर्न थाले," सापकोटा सम्झिन्छन्, "अनि शङ्का लाग्यो- कतै मासुको निम्ति भारतको दार्जिलिङतिर पठाउने पो हुन कि, अनि दिन बन्द गर्यौँ।"
२०७६ सालमै पोखरा महानगरपालिकाले सञ्चालन गरेको काञ्जी हाउसबाट पनि मकवानपुरस्थित एउटा चौपाया सप्लायर्सले गाई र बाच्छा-बाच्छि लगेको देखिन्छ।
सङ्कलित छाडा चौपायाको 'उचित संरक्षण गर्ने गरी पालन पोषण गर्ने सर्तमा' भन्दै साउन १० र १२ गते ३५-३५ वटा गाई र बाच्छा-बाच्छि लैजाने अनुमति पत्र महानगरले दिएको थियो।
दुवै अनुमति पत्रमा लक्ष्मी चौपाया (सप्लायर्स) लेखिएको छ।
तनहुँ जिल्ला प्रहरी कार्यालयले बीबीसीलाई उपलब्ध गराएको गत वर्षको गोरु ढुवानीबारेको घटना विवरणमा पनि त्यही सप्लायर्स जोडिएको देखिन्छ।
गाई-गोरुको अवैध धन्दामा को-को?

तस्बिर स्रोत, Yogisomraj/facebook
तर फागुन ४ गते २५ वटा गोरु नियन्त्रणमा लिएको घटनाले मकवानपुर प्रहरी नै विवादमा तानिएको थियो।
त्यहाँका पशु सेवा कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रज किशोर ठाकुरले पत्रकार सम्मेलन गरेर 'प्रहरी कर्मचारी कै सुरक्षामा ती गोरुहरू मकवानपुरको सिमाना कटाइएको आरोप लगाउँदै आफूले सशस्त्र प्रहरीको सहयोगमा बाराको पथलैयाबाट तिनलाई नियन्त्रणमा लिएको' बताएका थिए।
बहुचर्चित उक्त घटनामा केही कनिष्ठ प्रहरी अधिकारी छानबिनमा तानिएका थिए।
डा. ठाकुर भन्छन्, "यो एकदम गहिरो विषय हो, यसमा ठूलो सञ्जाल छ। मबाट यी कुराहरू भन्न गाह्रो छ। गृह मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएमा रोकिन सक्छ, हामी जस्ता निहत्था कर्मचारीले चाहेर मात्र त सम्भव छैन।"
प्रदेश वा जिल्लामा प्रहरी तथा प्रशासनिक नेतृत्व परिवर्तन भएसँगै बेलाबखत गाई-गोरुको अवैध ओसार पसार र तस्करी रोक्ने प्रयास हुने गरेको बताइन्छ।
जानकारहरूका अनुसार त्यही बेला अवैध कारोबारीहरूले प्रमुख राजमार्गहरू छाडेर वैकल्पिक बाटो प्रयोग गर्छन्।
यो निकै गहिरो विषय हो, यसमा ठूलो सञ्जाल छ, सबै कुरा भन्न गाह्रो छ। गृह मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएमा रोकिन सक्छ, हामी जस्ता निहत्था कर्मचारीले चाहेर मात्र त सम्भव छैन
तर त्यस्तो अवस्था निश्चित भूभागमा सीमित समयको निम्ति मात्र हुने बताइन्छ।
"किन कि आयात-निर्यात गर्दा मासु प्रयोजनको निम्ति भनिँदैन, एकताका रक्त चन्दन भारतबाट चीन र सुन चीनबाट ल्याएर भारत पठाए जस्तै हो यो पनि," एक अधिकारीले प्रशासनिक नेतृत्वमा रहेको बुझाइ तर्फ सङ्केत गरे।
उनका भनाइमा भारतीय गाई-गोरु पश्चिम नेपालबाट ल्याएर पूर्वी नेपाल हुँदै फेरि भारत र त्यहाँबाट बाङ्ग्लादेशनै पठाउने हो भने त झन् 'भारतीय वस्तु ढुवानीको बाटो मात्रै परिवर्तन' भए जस्तो ठानिन्छ।
भारतीय गाई गोरुका कारण बेलाबखत छाडा चौपायाको समस्या बेहोर्ने एउटा मुख्य शहर बुटवल पनि हो।
उक्त उपमहानगरपालिकाले गत फागुनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा गरेको सामुदायिक गाईबस्तु व्यवस्थापनसम्बन्धी अन्तर्क्रियामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि सहभागी थिए।

कामधेनु गौशाला रुपन्देहीका अध्यक्ष तथा गाई संरक्षणमा सक्रिय योगी सोमराजले उनकै सामुन्ने गाई-गोरु भारतबाट तस्करी भएर आउने गरेको मात्र बताएनन्, 'नेतादेखि पुलिस सबै तस्करीमा संलग्न भएको भन्दै' आरोप सार्वजनिक रूपमै लगाए।
बीबीसीले विभिन्न जिल्लास्थित व्यवसायी, किसान, जिल्ला तहका सुरक्षा तथा प्रशासनिक अधिकारीका साथै काठमाण्डूमा सरोकारवाला मन्त्रालय र विभागका उच्च अधिकारीहरूसँग कुराकानी गर्दा अधिकांश जसो अधिकारीहरू गाई-गोरु तस्करीबारे जानकार पाइए।
तर औपचारिक कुराकानीमा उक्त कुरा पुष्टि गर्न अधिकांश अधिकारीहरू खुल्न चाहेनन्।
बङ्गालका 'बाहुबली' अनुब्रतको अनुहार नेपालमा खै?

तस्बिर स्रोत, Bijay Gajmer/BBC
भारतमा चौपाया तस्करीका घटनाहरूमा कतिपय राजनीतिक नेता र उच्च सीमा सुरक्षा अधिकारीहरू जोडिने गरेको समाचारहरू बेलाबखत सार्वजनिक हुने गर्छन्।
केन्द्र र उत्तर प्रदेशमा भारतीय जनता पार्टीको सरकार आएपछि खास गरी गाई-गोरु तस्करी रोक्नुलाई प्राथमिकता दिने गरेको पाइन्छ।
त्यसको निशानामा तस्करीका गाई-गोरु बाङ्ग्लादेश पठाइने मुख्य बाटो भनिने पश्चिम बङ्गालका नेता अनुब्रत मण्डल परे, जो मुख्यमन्त्री ममता बेनर्जी निकट मानिन्छन्। उनी विरुद्ध अनुसन्धान र मुद्दा चलिरहेको छ।
केन्द्रीय जाँच ब्युरो (सीबीआई) र आर्थिक मामिला हेर्ने प्रवर्तन निर्देशनालय (ईडी) ले नेता मण्डललाई पशु तस्करी र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको जनाएका थिए।
ईडीले उनको ३६ वटा बैङ्क खातामा रहेको करिब भारु २६ करोडलाई सम्पत्ति शुद्धीकरणको दायरामा ल्याएको करिब पाँच महिना अघिको एक वक्तव्य मार्फत जनाएको थियो।
उनी त्रिणमूल कंग्रेसको बीरभूम जिल्ला अध्यक्ष थिए। करिब दुई महिना अघि मे १७ मा द टेलिग्राफ अनलाइनले उनलाई जिल्ला अध्यक्षबाट मुक्त गरिएको समाचार प्रकाशित गरेको छ।
उनले एक प्रहरी अधिकारीसँग फोन वार्तामा गालीगलौज गरेको अडिओ बाहिर आएको थियो।

करिब दुई वर्ष थुनामा परेर निस्किँदा उनलाई नायक जसरी स्वागत गरिएको समाचारहरूमा जनाइएको थियो।
सन् २०२२ सेप्टेम्बर ३० मा इन्डिया टुडेले लेखेको समाचारले उनको राजनीतिक पकड दर्साउँछ। पार्टीका एक भित्रियालाई उद्धृत गर्दै समाचारमा चौपाया तस्करीबाट उनले महिनामा १० देखि २० करोड भारु सङ्कलन गर्ने गरेको उल्लेख छ।
तर मण्डलले उनी विरुद्धका त्यस्ता आरोपहरूको खण्डन गर्ने गरेका छन्।
तस्करी हुन नदिन उद्गमस्थलमै कडाइ गर्ने गरेका छौँ, कहीँ कतै प्रहरीको मिलेमतो भएको सूचना प्राप्त पाउँदा प्रधान कार्यालयबाट टोली पठाएर पनि बुझ्ने गरेका छौँ, अहिले त्यस्तो पाइएको छैन
उक्त तस्करी प्रकरणमा ईडीले सीमा सुरक्षा बल (बीएसएफ) का पूर्व कमाण्डेन्ट सतीश कुमारविरुद्ध पनि मुद्दा चलाएको छ। उनी विरुद्ध करिब १३ करोड भारु अवैध आर्जन गरेको अभियोग छ।
नेपालबाट हुने तस्करीबारे जानकार नेपाल प्रहरीका एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) ले बीबीसीसँगको अनौपचारिक कुराकानीमा नेपालमा पनि यसमा प्रहरी, प्रशासन, स्थानीय तह र अन्य निकायका विभिन्न तहको मिलेमतो हुने गरेको आफूले देखेको अनुभव सुनाए।
कतिपय जिल्ला र स्थानमा कारोबारीहरूसँग राजनीतिक पार्टीका नेता-कार्यकर्ता पनि जोडिएको पाइएको दाबी गर्दै उनले केही घटना पनि प्रस्तुत गरे। तर 'आफू बोल्ने जिम्मेवारीमा नरहेको बताउँदै' औपचारिक टिप्पणी गर्न मानेनन्।

अपराध र हिन्दूत्वको मुद्दा

छिमेकी भारतमा हिन्दूवादी सङ्गठन र गौ संरक्षण अभियानमा लागेकाहरू तस्करी र ओसारपसारविरुद्ध सक्रिय रहेको पाइन्छ।
त्यस क्रममा भारतका विभिन्न राज्यहरूमा हिंसात्मक घटना पनि हुने गरेका छन्।
तस्करीमा संलग्नहरू हातहतियारले सुसज्जित रहने गरेको र उनीहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने गरेका विवरण सुरक्षा निकायले दिने गरेका छन्।
त्यस्ता धेरै घटना बङ्गलादेशसँग सिमाना जोडिएको पश्चिम बङ्गालमा हुने गरेको देखिएका बेला गत जेठ २ गते राती उत्तर प्रदेशको लखनउस्थित गोसाईँगन्ज क्षेत्रमा पनि प्रहरीमाथि आक्रमण भएको समाचार आएको थियो।
कतिपय प्रहरी अधिकारीले तस्करीमा सङ्गठित गिरोह नेपालमा पनि सक्रिय रहेको जानकारी सार्वजनिक रूपमा बोलेरै पनि दिएका छन्।
गत माघ २९ नागरिक दैनिकको अनलाइनमा प्रकाशित समाचारमा बाँके जिल्लाका तत्कालीन प्रहरी प्रमुख तुलबहादुर कार्कीले 'भारतसँगको खुला सीमाबाट गाई-गोरु बाँकेमा चरिचरण गरेर ल्याइने, त्यसपछि ट्रकबाट झापा पुर्याएर बङ्गलादेश तस्करी गरिने जानकारी पाएपछि आफूहरूले नियन्त्रणको निम्ति कडाइ गरेको' बताएका छन्।
उनले नागरिक अनलाइनसँगको कुराकानीमा भनेका छन्, "एक–दुई जना मिलेर यस्तो तस्करी सम्भव छैन, यो सङ्गठित गिरोह हो, जसमा नेपाल, भारत र बङ्गलादेशका तस्करहरू संलग्न छन्।" स्थानीय तस्करहरूसँग पनि उनीहरूले सहकार्य गरिरहेको हुनसक्ने कार्कीको भनाइ छ।

गाई-गोरु भारततर्फ पठाइने कोशी र नेपाल भित्रिने लुम्बिनी प्रदेशस्थित केही नाकामा स्थलगत पर्यवेक्षण र समाचार सङ्कलनको कार्य जोखिमपूर्ण रहेको भन्दै केही कारोबारी र स्थानीय बासिन्दाले बीबीसी संवाददातालाई सतर्क तुल्याएका थिए।
तस्करीमा संलग्नले जे पनि गर्न सक्ने उनीहरूको भनाइ थियो। कोशी प्रदेशमा भेटिएका एक व्यवसायीले भने, "पहिलो पटक जाँदा त नचिन्लान्। दोस्रो पटक नजानुहोला, चिन्छन् र ज्यान खतरामा पर्न सक्छ।"
लुम्बिनी सांस्कृतिक नगरपालिकामा गाई तस्करहरूलाई पछ्याउँदा राती करिब ११ बजे सगनवरियाका स्थानीय युवा आक्रमणमा परेको घटना सार्वजनिक भएको थियो।
जसलाई हिन्दूवादी संस्था र गौ संरक्षण अभियानकर्मीहरूले जोडदार रूपमा उठाएको पाइन्छ।
नेपालमा अन्यत्र पनि विभिन्न स्थानमा सक्रिय त्यस्ता समूहहरूले 'तस्करी गर्न लग्न खोजिएको' भन्दै गाई-गोरु ढुवानी गरिरहेका सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने गरेको पाइन्छ।
'वैदिक सनातन धर्मको संरक्षण तथा संवर्द्धनको पक्ष' मा भनेर सक्रिय महाकाल युवा शक्ति नेपालले कपिलवस्तु अबेर राती समेत गाई-गोरु गाडीमा राख्दै गरेको भिडिओ र फोटो सार्वजनिक गर्दै आएको छ।
जसमा उक्त सङ्गठनका सदस्यहरूले गाई-गोरुहरू मासु खानको निम्ति बाङ्ग्लादेश लग्ने गरिएको भन्दै हिन्दूहरूको आस्थामाथि प्रहार भइरहेको चेतावनी बारम्बार दोहर्याउने गरेको पाइन्छ।
'हिम्मत गरे हलचल'
रुपन्देहीका योगी सोमराज आफै पनि केही वर्षअघि गाई-गोरु बोकेका ट्रकहरू रोक्दा पूर्वपश्चिम राजमार्गस्थित दाङको पूर्वी भागमा आक्रमणको प्रयास भएको बताएका छन्।
उक्त घटना लगत्तै केही 'तत्कालीन सत्ताधारी दल सम्बद्ध कतिपय युवाहरूले तर्साउन खोजेको' पनि उनले बताएका छन्।
नदी उत्खनन जस्ता प्राकृतिक स्रोत साधनको दोहन, नक्कली भुटानी शरणार्थी र सुन तस्करीमा कतिपय नेताहरूको नाम जोडिएका घटनाहरूले चर्चा पाइरहेका बेला गौ तस्करीमा पनि राजनीतिक संरक्षणको शङ्का गर्नेहरू छन्।
गाई-गोरु तस्करीमा पनि विभिन्न तहका प्रहरीको मिलेमतोको आरोप र आशङ्का नयाँ विषय होइन।

तर नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले गाई-गोरु विदेश निर्यात गर्न प्रतिबन्धित रहेकोले अवैध काम हुन नदिन प्रहरीको केन्द्रबाट समेत निगरानी गर्ने गरिएको बताए।
"अवैध ओसारपसारमा कहीँ कतै प्रहरीको मिलेमतो भएको अन्य माध्यमबाट सूचना प्राप्त पाउँदा पनि हामीले प्रधान कार्यालयबाट टोली पठाएर पनि बुझ्ने गरेका छौँ," उनले भने, "त्यो हुन नदिन उद्गम स्थलमै कडाइ गर्ने गरेका छौँ। र, माथिबाट पनि निगरानी गरेका छौँ। अहिले त्यस्तो पाइएको छैन।"
अभियानकर्मी र विभिन्न जिल्लास्थित सञ्चार माध्यमले गौ तस्करीका घटनाको समाचारलाई प्राथमिकता दिँदै वर्षौँदेखि त्यसमा संलग्न व्यक्ति र संरक्षणकर्ताहरूबारे निरन्तर विषय उठाएको देखिन्छ।
तर त्यो राष्ट्रिय मुद्दा बन्न सकेको छैन।
कतिपय जानकारहरूका बुझाइमा सरकारले अनुसन्धानको आँट गरेमा भुटानी शरणार्थी प्रकरणले जस्तै यो विषयले पनि हलचल मच्चाउन सक्छ, त्यसको क्षेत्र झन् ठूलो र देशव्यापी हुनसक्छ। तर त्यो कहिले र कसको प्राथमिकतामा पर्ला?
(सर्वोच्च अदालतले पछिल्लो आदेशमा गाई-गोरुको विदेश निर्यात हुन नदिने व्यवस्था गर्न आदेश दिएको छ। धर्मनिरपेक्ष देशमा अदालतले गाई संरक्षणबारे गरेका व्याख्या सहितको विवरण आगामी रिपोर्टमा)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








