कुखुराको 'खसी' अर्थात् बधिया भाले: '२००० वर्ष पुरानो इतिहास', युरोपदेखि नेपालसम्म कस्तो चलन?

तस्बिर स्रोत, Kamal Singh Thakuri
- Author, शरद केसी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
बधिया भालेबारे कैयौँलाई जानकारी नहुन सक्छ। किनकि नेपालमा बधिया भाले सर्वत्र पाइँदैन। हिजो आज त्यसको बजार बिस्तारलाई निकै प्राथमिकता दिन थालिएकाले मासुका पारखीले चाहेमा त्यो पहुँचभन्दा बाहिर भने छैन। पश्चिमा देशहरूमा क्रिसमस जस्ता निश्चित चाडपर्व वा अवसरमा धेरै माग हुने बधिया भालेको मासु नेपालमा वर्षैभर पाइन्छ। विश्वका विभिन्न देशमा क्रूर भन्दै आलोचना गर्ने गरिएको भए पनि नेपाल लगायतका कैयौँ मुलुकमा जिउँदो कुखुराको शरीर चिरेर बधिया बनाउने चलन कायम रहेको पाइन्छ।
बोकालाई खसी बनाए जस्तै लोकल कुखुराको खसी रूप हो- बधिया भाले। काठमाण्डूमा कतिपय रेस्टुरेन्टहरूले 'बधिया भाले पाइन्छ' भनेर प्रचार गरेको देखिन्छ।
कतिपय वितरक र रेन्टुरेन्टहरूले सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएपछि खास गरी पछिल्ला वर्षहरूमा काठमाण्डूमा बधिया भालेको माग बढ्दै गएको बताइन्छ।
यसको विशेषता र बजार बुझ्न हामी पुग्यौँ, काठमाण्डूको न्यू रेसुङ्गा फेमेली रेस्टुरेन्ट। संयोग कस्तो भने, सञ्चालक तिलक थापा फोनमा व्यस्त थिए।
उनले बधिया भालेको मासु र परिकार भक्तपुरको राधे राधे पुर्याउनु पर्ने अर्डर टिपिरहेका थिए।
उनी र उनका कर्मचारीहरू टिकटक, फेसबुक र रिलमा बधिया भालेको परिकार देखाएर ग्राहक लोभ्याउने गर्छन्।
"हाम्रोमा पहिल्यैदेखि नै बधिया भालेको माग थियो, हिजो आज सामाजिक सञ्जालले बजार झनै बढाइदिएको छ," रेस्टुरेन्टमा भरिभराउ ग्राहकबीच छोटो समय निकालेर कुराकानी गरेका उनले सुनाए, "काठमाण्डूका चारैकुनाबाट बधिया भालेको अर्डर आउँछ। धेरै त घरमै पुर्याइदिन्छौँ। लोकल कुखुरा जहाँ पनि पाइन्छ, बधिया भाले विशेष भएकाले आकर्षण बढी छ।"
काठमाण्डूको सिनामङ्गल नजिकै लेकाली किचेन एन्ड कटिया हाउसले पनि बधिया भालेको मासुलाई आफ्नो एउटा आकर्षक परिकारको रूपमा प्रस्तुत गर्ने गरेको छ। छ वर्षअघि रेस्टुरेन्ट खोलेदेखि नै बधिया भालेको परिकार बेच्न थालेको कटिया हाउसका एक सञ्चालक मधुसूदन ढकाल बताउँछन्।
"देशका विभिन्न भाग डुलेका र बुझेका कैयौँ ग्राहक बधिया भालेको मासु खोज्दै आउँछन्," ढकालले भने, "हाम्रो रेस्टुरेन्टको मेन्यूमा बधियाको परिकार लेखिएको पढेपछि यसप्रति उत्सुक हुँदै खाने पनि हुन्छन्।"
दाङको ब्रान्ड र बधिया उपहार
नेपालमा बधिया भालेको पहिचान दाङ जिल्लासँग अलि बढी नै जोडिन्छ। काठमाण्डूका अधिकांश रेस्टुरेन्टहरूले झन्डै ४०० किलोमिटर टाढाको दाङबाट बधिया भाले ल्याउने गर्छन्।
रेस्टुरेन्ट खोल्नुअघि ढकाल पहाड, तराई र हिमालका विभिन्न जिल्ला घुम्ने क्रममा दाङ पुगेछन्। उनलाई बधिया भालेको मासु खाने अवसर जुरेछ। रेस्टुरेन्ट खोल्दा उनले निर्णय गरे- देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँका रैथाने वा चर्चित परिकार, उत्पादन र स्वाद चखाउने। त्यही बेलादेखि हो उनले दाङको बधिया भाले पनि पाइन्छ भनेर बजार प्रवर्द्धन गर्न थालेको।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक तुलसीप्रसाद पौडेलले पनि एक दशकअघि दाङ पुगेका बेला नै पहिलो पटक बधिया भालेको स्वाद चाखेका हुन्। त्यसपछि उनले त्यसबारे अध्ययन पनि गरे।

तस्बिर स्रोत, Narayan Khadka
तत्कालीन कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाल छ वर्षअघि दाङ पुग्दा उनलाई एउटा सार्वजनिक समारोहमा बधिया भाले हस्तान्तरण गरियो। पोल्ट्री महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्न गएका बेला २०७५ साल माघमा उनलाई त्यो उपहार दिइएको हो।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन ९ महिनाअघि दाङ पुगेका बेला पनि बधिया भाले उपहार दिइएको थियो।
देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल जङ्ग सिंह ठकुरी भन्छन्, "पछिल्लो समयमा उच्च ओहदाका व्यक्तिलाई बधिया उपहार दिने चलन बढ्दो छ। सामाजिक सञ्जालको चलन आएपछि यसको बजार बिस्तारमा सहयोग पुगेको छ। धेरैजसो उच्च ओहदाका अधिकारीहरूले किन्ने गरेको पाइन्छ।"
न्यू रेसुङ्गा रेस्टुरेन्टका थापाका अनुसार उनीहरूले त दाङमै तीन जना कर्मचारी खटाएका छन्। "उनीहरूले बधिया भाले सङ्कलन गरेर पठाउँछन्," उनले सुनाए।
देशका विभिन्न भाग डुलेका अधिकांश ग्राहक बधिया भालेको मासु खोज्दै आउँछन्, मेन्यूमा देखेपछि उत्सुक भएर खाने पनि हुन्छन्
पछिल्ला वर्षहरूमा दाङको बधिया भालेको चर्चा चुलिए पनि पारखीहरूमाझ त्यसको छाप पुरानै हो। दाङ घोराही-१३ का हर्कबहादुर चौधरीले एक दशकअघि काठमाण्डू पुगेका बेला त्यसको भेउ पाएका रहेछन्। एक जना काठमाण्डूवासीसँग भेट हुँदा भएको कुराकानीको घटना सुनाए।
"घर कहाँ हो भनेर सोध्नु भयो, मैले-- दाङ भने। त्यहाँ त बधिया भाले पाइन्छ नि भन्नुभयो," उनले विगत सम्झिए, "दाङको बधिया भाले त ब्रान्ड नै बनेको रहेछ भन्ने लागेपछि व्यावसायिक रूपमा पाल्न सुरु गरेको हुँ।"
फर्म दर्ता गरेरै ४-५ सय जति कुखुरा पाले। चार वटा खोर भरिभराउ हुन्थे। ब्लक इँटाको व्यापारमा लागेपछि आफूले बधिया भाले कम पाल्न थालेको उनको सुनाए। "अहिले त गाउँघरमा ४-५ वटा लोकल भाले पालेका छन् भने पनि लोकल बेच्दैनन्, बधिया बनाएरै बेच्छन्," बधियाको बजार बिस्तारबारे उनको आकलन छ।

दाङका अर्का किसान भागिराम चौधरीका अनुभवमा पहिले सम्पर्कको आधारमा बधिया भाले किन्नेहरू पुग्थे, अहिले दाङका ठूला होटेलहरूमा पनि माग बढेको छ। "काठमाण्डूबाट त अत्यधिक माग आउँछ। त्यसैले दाङमा बधिया भाले बनाउने चलन निकै बढेको छ," उनले भने, "अहिले गाउँघरमा प्रत्येक जसो घरमा १०-१५ वटा बधिया भाले पाइन्छन्।"
कतिपय स्थानीय सरकारले त बधिया भाले पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान पनि दिन थालेका छन्। दाङस्थित राप्ती गाउँपालिकाले कम्तीमा १० वटा पाल्नेलाई प्रति बधिया भाले एक सय रुपैयाँ अनुदान दिन्छ। पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार गत वर्षदेखि अनुदान दिन सुरु गरिएको हो र पहिलो वर्ष कम्तीमा पाँच वटा बधिया भाले पाल्नेलाई अनुदान दिने व्यवस्था थियो।
"राप्तीका किसानको एउटा उत्पादनलाई प्रवर्द्धन गरौँ भनेर अनुदान दिन सुरु गरेका हौँ। पहिलेदेखि नै काठमाण्डू र बुटवलतिर साथीहरूले 'दाङको बधिया पाउँछ रे' भन्थे त्यसैले अब यसलाई राप्तीको बधिया भालेको पहिचान बनाउने हाम्रो लक्ष्य हो," अध्यक्ष विष्टले बताए।
लमही नगरपालिकाले केही वर्ष बधिया बनाउने प्राविधिकलाई प्रति कुखुरा एक सय रुपैयाँ शुल्क आफ्नो कोषबाट तिरिदिने गर्दथ्यो। "अहिले हाम्रा दुई वटा पशु सेवा केन्द्रमा किसानले कुखुरा लिएर आएमा हाम्रा प्राविधिक कर्मचारीले निःशुल्क रूपमा बधिया बनाइदिने व्यवस्था गरेका छौँ," नगरपालिकाको पशु सेवा शाखाका प्रमुख शिवराज न्यौपानेले बीबीसीलाई बताए।
थारु समुदायको अगुवाइ तर अस्पष्ट इतिहास
पछिल्ला वर्षहरूमा दाङ बाहेक पाल्पा, मकवानपुर, बाँके, बर्दिया र सुर्खेत लगायतका अन्य जिल्लाहरूमा पनि सीमित मात्रामा भए पनि बधिया बनाउने चलन सुरु भएको बताइन्छ।
तर अझैँ पनि धेरैलाई अनौठो लाग्ने कुखुरालाई बधिया बनाउने चलन नेपालमा कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक अभिलेख वा जानकारी पाइँदैन।
नार्कका वरिष्ठ वैज्ञानिक पौडेलले अन्य सहकर्मी वैज्ञानिकहरू विश्वास पौडेल र दामोदर न्यौपानेसँग मिलेर सन् २०१८ मा बधिया कुखुराबारे अध्ययन गरेका थिए। तर त्यो प्राविधिक पक्षमा केन्द्रित थियो।
कृषि मन्त्रालयका एक अधिकारीका अनुसार दाङ र कैलालीसम्म यो चलन धेरै पहिलेदेखि रहेको 'ट्रेस' हुन्छ। "तत्कालीन राजा टीकापुरमा बास बसेका बेला थारु समुदायको तर्फबाट बधिया भाले राजालाई उपहार दिएपछि त्यसको चर्चा चल्न थालेको सुनिन्छ," यो सबै अनौपचारिक विवरण भएकाले उनले नाम खुलाउन चाहेनन्।

देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीले भने, "परम्परागत रूपमा थारु समुदायमा बधिया भाले बनाउने चलन हो। तर कहिलेदेखि भन्ने तथ्य भने छैन। परापूर्व कालदेखि बनाउने गरेको बुझिन्छ।"
दक्षिण एसियाली अन्य देशहरूमा बधिया बनाउने चलन आम रूपमा पाइँदैन। दक्षिण र उत्तरी भारतमा अध्ययन गरेका नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. स्वयमप्रकाश श्रेष्ठले त्यहाँ पनि यो चलनमा नरहेको बताए। "यो निश्चित समुदायमा कायम रहेको पाइन्छ," उनले बताए।
भारतको गुवाहाटीस्थित आसाम एग्रिकल्चर युनिभर्सिटीको कलेज अफ भेटेरिनरी साइन्सले सन् २०२० मा एउटा अध्ययनमा पनि आसामका आदिवासी समुदायमा यो सीमित रहेको उल्लेख छ।
कृषिसम्बन्धी विभिन्न तालिम दिने गरेका हाल मुस्ताङमा कार्यरत वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमका अनुसार कुखुरालाई बधिया बनाउन नेपालमा थारु समुदायबाट बिस्तारै अरूले सिकेको पाइन्छ। उनले भने, "आदिवासी समुदायमा रहेको यो चलन पक्कै केही शताब्दी पुरानो त हो।"
तर कुखुरालाई बधिया बनाउने चलन आजकाल थारु समुदायमा मात्र सीमित रहेको पाइँदैन। देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठकुरी स्वयम्ले पनि चार वर्षदेखि बधिया भाले पालिरहेका छन्। "यो वर्ष मैले ५०० वटा बधिया भाले बनाइसकेँ," उनले भने, "यसलाई व्यावसायिक बनाउने प्रयासमा छु।"
बधिया कुखुराको मासु किन स्वादिलो?
कुखुराको भालेलाई यौनिक रूपमा परिपक्व हुनुअघि शल्यक्रिया गरेर बधिया बनाएपछि भालेको तौल बढ्छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका पशु स्वास्थ्य प्राविधिक ध्रुवकुमार बस्नेतका अनुसार त्यसका अन्य स्वभावमा आउने परिवर्तनले पनि तौल बढाउन सहयोग पुग्छ।
उनले भने, "बधिया बनाएपछि कुखुराको चञ्चले स्वभाव परिवर्तन हुँदा जता पायो त्यतै दौडिरहने र लडाकु स्वभाव पनि फेरिएर शान्त हुन्छ। त्यसले तौल बढाउन सहयोग पुर्याउँछ।"
तर नेपालको मासु बजारमा ब्रोइलर कुखुराको वर्चस्व छ। ब्रोइलर कुखुराको उत्पादनले पछाडि पारिदिए पनि भालेलाई बधिया बनाउने अभ्यास अझै जीवित रहेको उल्लेख गर्दै एग्रिकल्चर युनिभर्सिटी अफ एथेन्सका पाँच जना वैज्ञानिकले सन् २०१० मा गरेको अध्ययनमा त्यसलाई विशिष्ट परिकार मान्ने गरिएको उल्लेख छ।

मासुको मात्रा कम हुने लोकल कुखुरालाई बधिया बनाएपछि मासुको मात्रा बढ्छ। तर चासो हुन सक्छ: कुखुराको तौल बढ्दा किसानलाई त लाभ होला तर मासु कसरी स्वादिलो हुन्छ?
विभिन्न देशका कृषि वैज्ञानिकहरूले गरेको अध्ययनहरूमा कुखुराको तौलसँगै त्यसमा लाग्ने बोसोले पनि स्वादिलो र रसिलो बनाउने गरेको उल्लेख भएको पाइन्छ।
कुखुराको तौल बढ्दा प्रोटिन प्रदायक मासु कति बढ्यो अनि बोसो कति र कुन अङ्गमा बढ्यो भन्ने अध्ययन भने नेपालमा भएको छैन।
हाम्रोमा पहिल्यैदेखि नै बधिया भालेको माग थियो, हिजो आज सामाजिक सञ्जालले बजार झनै बढाइदिएको छ
विभिन्न देशका वैज्ञानिकहरूले गरेका अध्ययन अनुसार बधिया बनाएपछि कुखुराको छाला र मासुको बीचमा, मासुको रेसाहरूको बीचमा (इन्ट्रा मस्क्युलर फ्याट) र एडिपोज टिस्यु अर्थात् आन्द्राको बाहिरपट्टि पेटको पत्रमा बोसो लाग्छ।
न्यूजील्यान्डमा कृषिसम्बन्धी शोधमा संलग्न नार्कका वरिष्ठ कृषि वैज्ञानिक पौडेलका अनुसार मासुको रेसाहरूभित्र लाग्ने बोसो सबैभन्दा उत्तम मानिन्छ, छाला र मासुको बीचको पत्रमा लाग्ने बोसोलाई पनि राम्रो नै मान्नुपर्छ। "तर पेटको पत्रमा लाग्ने बोसोमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ, जुन मुटु रोग भएका वा बढ्दो उमेरका मानिसको स्वास्थ्यको निम्ति उपयुक्त मानिँदैन," उनले बताए।
बधिया भालेको तौल वृद्धि र मासुको गुणस्तरबारे गरिएको अनुसन्धानको नेतृत्व गरेका पौडेलका अनुसार त्यसपछि नेपालमा बधिया भालेबारे कुनै अध्ययन भएको छैन। उनी भन्छन्, "ताइवानमा भने कुखुराको मासु र आन्द्राको वरिपरि बोसो कुन जिनले बढाउँछ र त्यसको वृद्धि कसरी रोक्न सकिन्छ भन्ने स्तरमा अध्ययन केन्द्रित छ।"
मासु महँगो: स्वाद सोखिनको
विभिन्न देशहरूमा गरिएका अनुसन्धानका अनुसार भाले कुखुरालाई दुई महिना अर्थात् आठ हप्ताको हाराहारी पुग्दा बधिया बनाइन्छ र १० महिना पुग्दा बिक्रीको निम्ति योग्य मानिन्छ।
दाङस्थित किसान र प्राविधिकहरूका अनुसार नेपालमा सामान्यतया भाले बास्न थालेको दुई हप्तामा बधिया बनाउने गरिन्छ।
वरिष्ठ कृषि वैज्ञानिक तुलसी पौडेलका अनुसार बधिया कुखुरामा बोसो लाग्ने भएकाले यसको मासु स्वादिलो, नरम र रसिलो हुन्छ। उनका अनुसार एक दशकअघि दाङमा उनले लोकल भालेको मूल्य ७-८ सय रुपैयाँ हुँदा बधिया भालेलाई दुई हजार रुपैयाँ जति तिरेका थिए।
सिङ्गै कुखुरा किन्दा होस् वा रेस्टुरेन्टमा प्लेट अनुसार खाँदा अन्य कुखुराको तुलनामा बधिया भालेको मासु महँगो छ।

धेरै पहिले दाङकै बधिया भालेको मासु खाएका बुटवलका राज अर्यालले भने, "सामान्य कुखुराको मासुभन्दा एक प्लेटमै ३-४ सय रुपैयाँ महँगो पर्छ। त्यसैले यसप्रति खास गरी मासुका पारखीहरूको आकर्षण देखिन्छ।"
वरिष्ठ कृषि वैज्ञानिक पौडेलले दाङका थारु समुदायमा ज्वाइँ पहिलो पटक ससुराली आएका बेला सकेसम्म बधिया भालेको मासु खुवाउने चलन रहेको थाहा पाए। उनी भन्छन्, "यो एक किसिमले सम्मानमा खुवाउने र सोखिनको परिकार थियो।"
युरोपेली देशहरूमा पनि त्यस्तै चलन रहेको अध्ययनहरूमा उल्लेख भएको पाइन्छ। पोल्यान्डको सरकारी सेवासम्बद्ध कृषि वैज्ञानिक योलान्टा चालिकले सन् २०१४ मा गरेको एउटा अध्ययनमा भनिएको छ, "पोल्यान्डमा बधिया भालेको मासु शाही र कुलीनहरूको टेबुलमा विशिष्ट परिकारको हैसियतमा पस्किने गरिन्थ्यो।"
चीन, जापान, कोरिया, हङकङ र ताइवान लगायतमा भने यसको प्रचलन परम्परागतरूपमा अलि बढी रहेको बताइन्छ।
मासुको रेसाहरूभित्र लाग्ने बोसो सबैभन्दा उत्तम मानिन्छ तर पेटको पत्रमा लाग्ने बोसोमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ
क्रिसमसमा बधियाको माग र विश्व इतिहास
बधियाको अहिले प्रचलित अङ्ग्रेजी शब्द प्राचीन रोमबाट आएको विज्ञहरूको शोधपत्रहरूमा उल्लेखित पाइन्छ। विभिन्न देशका कृषि वैज्ञानिकहरूले आफ्नो अनुसन्धानमा रोमन लेखक प्लीनी द एल्डरद्वारा लिखित 'न्याचरल हिस्ट्री' पुस्तकमा २००० वर्षअघि बधिया बनाउन थालिएको कुरा उल्लेख भएको उद्धृत गरेका छन्।
युरोपमा पहिले बधिया भाले ईश्वरलाई भोगका रूपमा चढाउने गरिन्थ्यो। रोमको सिनेटले ईसा पूर्व १६२ मा खाद्य सुरक्षाको निम्ति चालेको कदम बधिया बनाउने प्रचलनसँग जोडिन्छ। त्यसकै परिणामस्वरूप मासु बढाउन कुखुरालाई बधिया बनाउन थालिएको अनुसन्धानहरूमा उल्लेख छ। पोल्यान्डको सरकारी सेवा सम्बद्ध कृषि वैज्ञानिक योलान्टा चालिकको अध्ययनमा लेखिएको छ, "पहिले धार्मिक प्रचलनसँग जोडिएको थियो। पछि तौल बढाउने उद्देश्य लिएको पाइन्छ।"
फ्रान्समा क्रिसमसको बेला बधिया भालेको परिकार खाने चलन निकै छ
अध्ययनहरूका अनुसार फ्रान्स र इटलीमा पाँचौँदेखि १५ औँ शताब्दीको मध्य युगमा बधिया निकै लोकप्रिय थियो। त्यहाँ अहिले पनि यसलाई क्रिसमसमा लोकप्रिय परिकार मानिन्छ।
इटलीको युनिभर्सिटी अफ बोलोन्यास्थति खाद्य विज्ञान विभागले सन् २००९ मा गरेको अध्ययन अनुसार इटली र उत्तरी स्पेनमा पनि अधिकांश उपभोक्ताबाट बधिया भालेको मासुको माग क्रिसमसकै अवसरमा बढी हुन्छ।
पाककलाको पनि अध्ययन गरेकी फ्रेन्च 'फुड ब्लगर' फ्लोहाँस रिसोमाले बधिया भालेको परिकारबारे उल्लेख गरेकी छन्।

तस्बिर स्रोत, Florence Richomme
फ्रेन्च भाषाको ब्लग माई प्यारिसियन किचेन र अङ्ग्रेजी भाषाको जेस्ट अफ फ्रान्स चलाउने रिसोमाले बीबीसी न्यूज नेपालीसँग भनिन्, "फ्रान्समा क्रिसमसको बेला बधिया भालेको परिकार खाने चलन निकै छ।"
उनका अनुसार त्यहाँ पनि बधिया भालेको औसत तौल नेपालमा जस्तै साढे दुई किलोदेखि साढे तीन किलोसम्म हुन्छ। "त्यसैले एक जनालाई चार सय ग्रामको दरअनुसार एउटा बधिया भाले ६ देखि १० जनालाई पुग्छ," उनले बताइन्।
तर बधिया बनाउने प्रचलन अहिले फ्रान्समा धार्मिक मान्यतासँग जोडिएको विषयबारे आफू बेखबर रहेको उनको भनाइ छ। नेपालमा पनि त्यस्तो कुनै धार्मिक विश्वाससँग सम्बन्धित रहेको कुरा जानकारी नरहेको अधिकारी र विज्ञहरूले बताएका छन्।
बधिया बनाउने पीडायुक्त विधि
नेपालमा किसान, व्यवसायी र कतिपय स्थानीय तहहरूले बजार बिस्तार तथा प्रवर्द्धन गर्न खोजिरहेको त्यस्तो कुखुरालाई बधिया बनाउने विधि निकै विवादित छ।
नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. स्वयम् प्रकाश श्रेष्ठले नेपालमा पीडा शून्य बनाउने औषधीको प्रयोग नगरी चिरेरै बधिया बनाउने विधि 'अमानवीय' रहेको बताउँछन्।
उनी भन्छन्, "नदुख्ने इन्जेक्सन दिनु पर्यो, चिरेपछि सिलाउने धागो आफै गल्ने हुनुपर्यो। सङ्क्रमण हुन नदिन एन्टिबायोटिक्स दिनु पर्यो। नमर्ने झन्डै-झन्डै ग्यारेन्टी हुनुपर्यो।"
यो बहस विश्वव्यापी छ। भारतले सन् २०२० मा जारी गरेको निर्देशिकामा मान्यता प्राप्त प्राविधिकबाट मापदण्ड पुर्याएर पशुपक्षी बन्ध्याकरण गर्न सकिने भनिएको छ।
विश्वका विभिन्न देशहरूले दशकौँ अघि पारित गरेको पशु कल्याण ऐन नेपालमा बनिसकेको छैन। तर सरकारले कानूनमा रहेको व्यवस्था अनुसार पशु सेवा विभागका महानिर्देशकको नेतृत्वमा पशुपक्षीप्रति हुने निर्दयी व्यवहार हुन रोक्न समिति बनाएको छ।
महानिर्देशक डा. उमेश दाहालले भने, "पशु कल्याण विधेयकको मस्यौदा अहिले कानून मन्त्रालयमा पुगेको छ, हामीले त्यसका व्यवस्थाहरूबारे सरोकारवाला पक्षहरूसँग छलफल पनि गरिरहेका छौँ।"
अमेरिकास्थित लिगालिटी स्टेट्स अनलाइनका अनुसार संयुक्त अधिराज्य यूकेमा घरपालुवा पक्षीलाई बधिया बनाउन रोक लगाइएको छ। तर आयात वा बिक्री गर्न गर्न छुट रहेकाले बिक्रेताहरूले खास गरेर क्रिसमसका अवसरमा बधिया भाले भित्र्याउने गर्छन्।
अमेरिकामा बधिया बनाउन प्रतिबन्ध लगाउने सङ्घीय कानुन छैन। तर उपभोक्ताको रुचि, नैतिक चिन्ता र छिटो बढ्ने नस्लका कुखुराको विकाससँगै बधिया बनाउने प्रचलन निकै दुर्लभ हुँदै गएको उक्त अनलाइनमा उल्लेख छ। कतिपय राज्यहरूले भने बधिया बनाउने नियमहरू लागू गरेका छन्।
बधिया भालेलाई प्रोत्साहन गर्दै आएको दाङस्थित राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश विष्ट भन्छन्, "पशु कल्याणको कुरा अलि धेरै कुकुर-बिरालो जस्ता जनावरको हकमा उठाउने गरेको पाइन्छ। तर कुखुरा, हाँस र कालिज मासुकै प्रयोजनको लागि पाल्ने जात भएकाले त्यसतर्फ धेरैको ध्यान नपुगेको जस्तो लाग्छ।"

तस्बिर स्रोत, Kamal Singh Thakuri
पशु कल्याण सङ्घ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले कुखुरालाई पनि बधिया बनाउने चलनबारे आफूलाई जानकारी नभएको बताइन्। "अनुमति वा तालिम प्राप्त व्यक्तिमार्फत् मात्र पशु वा पक्षीलाई बधिया बनाउनु पर्छ," उनले भनिन्, "एनेस्थेसिया नदिएर बधिया बनाउनु क्रूरता हो। गलत हो, त्यो तत्काल रोकिनु पर्छ।"
सरकारले पशु कल्याण निर्देशिका २०७३ जारी गरेको थियो। जसमा 'पशु सेवा विभागले सिफारिस गरेको कार्यविधि विपरीत बन्ध्याकरण गर्नुलाई निर्दयी व्यवहार गरेको' ठहरिने उल्लेख छ। त्यो लगायतका काम दर्तावाल पशु चिकित्सक वा अधिकार प्राप्त व्यक्तिले कानूनले तोके बमोजिम गर्नु पर्ने निर्देशिकामा उल्लेख छ।
बधिया भाले पाल्दै आएका दाङ घोराहीका भागिराम चौधरी भालेलाई बधिया बनाउने काम पनि गर्छन्। उनले पीडा शून्य बनाएर बधिया बनाउने चलन पूर्ण रूपमा पालना नभएको स्वीकार गरे। "तर किसानहरूले भनेमा कुखुराहरूलाई पनि पीडा दिएर गर्न हुँदैन भनेर एनेस्थेसिया दिन्छौँ," उनले भने।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका पशु स्वास्थ्य प्राविधिक ध्रुवकुमार बस्नेतले पनि पशु पक्षी कल्याणको कुरा उठ्दै जाँदा चलनमा परिवर्तन आउन थालेको बताए। आफूहरूले पनि कतिपयलाई तालिम दिएको बताउँदै उनले भने, "तर अहिले दाङमा पनि पीडा नहोस् भनेर एनेस्थेसिया दिएर पनि बनाउने चलन बढेको छ। यसले गर्दा मृत्यु हुने दर पनि कम भएको छ।"
यसरी पछिल्ला केही वर्षयता बजार बिस्तारमा निकै जोड दिने गरेको देखिन्छ। थारु समुदायले पाल्दै आएको बधिया भाले पालन व्यवसायीकरण गर्ने जमर्को पनि भइरहेको पाइन्छ।
तर सन् २०१२ बाट रैथाने कुखुरामा अध्ययन गरेका नार्कका वैज्ञानिक सरोज सापकोटा भन्छन्, "विश्वका अन्य देशमा पनि कतिपय आदिवासी समुदायमा बधिया भाले बनाउने चलन रहेको देखिन्छ। सानो ठाउँमा सानो समुदायमै सीमित गरेर बधिया भालेको बजार फस्टाउन सक्दैन। व्यवसायीकरणको लागि अनुसन्धान गरेर आएका नतिजालाई आधार मानेर अघि बढ्नु पर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








