भारत-बाङ्ग्लादेश गाईगोरु तस्करी र नेपाल

तस्बिर स्रोत, Bijay Gajmer/BBC
- Author, शरद केसी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
भारत-बाङ्ग्लादेश तस्करीमा कसरी जोडिन्छ नेपाल? भारतमा ठूलो समस्या र चुनौती मानिएको त्यहाँबाट बाङ्ग्लादेशमा हुने गाई-गोरुको तस्करीमा वर्षौँदेखि नेपाल पनि जोडिएको देखिन्छ। नेपालमा दशौँ लाखको सङ्ख्यामा घटेका गाईगोरु र तिनको तस्करीबारेको शृङ्खलाको भाग-१
- लुम्बिनी सांस्कृतिक नगरपालिकाको भगतपुरवा र भैसहियाबीचमा गत जेठ २५ गते राति 'गाई तस्करी भइरहेको देखेपछि' राम सुभग यादवले सोधपुछ गर्न खोज्दा उनी आक्रमणमा परेको विवरणहरू सार्वजनिक भयो। गाई संरक्षणमा लागेका र हिन्दूवादी संस्थाहरूले 'गाई तस्करीविरुद्ध काम गर्दै आएका यादवमाथि साङ्घातिक हमला भएको' बताएका छन्।
- पाल्पाको रामपुर इलाका प्रहरीले गत वैशाख ८ गते रामपुर-नवलपरासी काली गण्डकी कोरिडोर सडक खण्डमा ११ वटा गोरु नियन्त्रणमा लिन्छ। भोलिपल्ट उसले फेसबुक पेजमा दुईवटा गाडीमा लग्दै गरिएका ती गोरुलाई 'निर्ममतापूर्वक यातना दिई लैजाँदै गर्दा' पक्राउ गरिएको जनाएको छ। प्रहरीले ती गोरु अर्घाखाँचीबाट तनहुँको आँबुखैरेनी तर्फ लगिरहेका बेला नियन्त्रणमा लिइएको बताएको छ।
- 'वैदिक सनातन धर्मको संरक्षण तथा संवर्द्धनको पक्षमा' भनेर सक्रिय सङ्गठन महाकाल युवा शक्ति नेपालले गत वर्ष मङ्सिर ३० गते आफ्नो फेसबुकमा गोरु तस्करीसँग सम्बन्धित भनेर एउटा भिडिओ राखेको छ। जसमा कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ मा गोरु 'तस्करी' गर्न लागिएको ट्रक रोकेर प्रहरीलाई जिम्मा लगाइरहेको भन्दै गोरु, ट्रक र प्रहरीको दृश्य कैद छ।
- प्रहरीले पूर्वी नवलपरासीस्थित दाउन्नेमा गत वर्ष असोज ४ गते १५ वटा गाई र ४ वटा गोरु समात्यो। सञ्चार माध्यमहरूले 'मासु प्रयोजनको लागि बिक्री गर्न लगिरहेको सूचनाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको' उल्लेख गरेका छन्।

तस्बिर स्रोत, Area Police Office Rampur Palpa
यसरी गाई-गोरुहरू पश्चिम नेपालबाट मूलतः कोशी प्रदेश पुर्याउन भनेर लगिन्छ।
गाई राष्ट्रिय जनावर भएकाले कानुनतः व्यावसायिक प्रयोजनको निम्ति विदेश आयात निर्यात गर्न पाइँदैन।
एउटा जिल्लाबाट अर्को जिल्ला लग्न पाइन्छ। त्यसको निम्ति वडा/पालिकाको सिफारिस, स्वास्थ्य प्रमाणपत्र लगायतका कागजात आवश्यक हुन्छ।
भारत पुर्याउन पूर्वी नेपाल

तस्बिर स्रोत, Bijay Gajmer/BBC
ढुवानी अनुमति प्राप्त संस्थाले ती सबै प्रक्रिया मिलाएर गाईगोरु सामान्यतया झापा पुर्याउने गरेको पाइन्छ।
झापाको काकरभिट्टास्थित पशु क्वारेन्टाइन कार्यालयका निमित्त प्रमुख मुकेश कुमार सिंहका अनुसार कसैले कृषिको निम्ति कसैले घरको निम्ति किनेर ल्याएको बताउने गरेका छन्।
"तर यत्रो गाईगोरु झापामा त छैनन्," सिंह भन्छन्, "झापासम्म ल्याउँदा खरिद गरेको बिल, सिफारिस र स्वास्थ्य प्रमाणपत्र सबै हुन्छ, भारत लग्ने भनेर कसैले ल्याउँदैन, तर जाने सबै पारि (भारत) नै हो।"
झापासम्म ल्याउन खरिद गरेको बिल, स्वास्थ्य प्रमाणपत्र सबै हुन्छ, भारत लग्ने भनेर कसैले ल्याउँदैन, तर जाने सबै पारि (भारत) नै हो
झापा लगिने भनेर कागजात बनाएको भेटिने गरे पनि देशभरिबाट त्यसरी खरिद गरिएका गाईगोरु कति त्यहाँ पुगे भन्ने अभिलेख कसैसँग छैन।
सिंहका अनुसार 'कारोबारीहरूले खुला सिमानाको फाइदा उठाएर भारत लग्ने' गर्छन्। विभिन्न ठाउँबाट पुर्याइएका गाई गोरुहरू खोला किनार वा कसैको गोठमा राख्छन्।
"मेची नगरपालिकाको ज्यामिरगढी, भद्रपुरको किचकबध र झापा गाउँपालिकाका नाका हुँदै गइरहेको सुनिन्छ। तर त्यहाँ गएर सोध्दा भारत लग्ने कसैले भन्दैन," सिंह भन्छन्, "केहीले चराउँदा चराउँदै सिमाना कटाउँछन्। उता गए गाईगोरु उताको भइहाल्छ। प्राय: राति लग्छन्।"

तस्बिर स्रोत, Bijay Gajmer/BBC
भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपालबाट बिहार राज्यको किशनगञ्ज जिल्ला प्रवेश गराइएका बेला छ वटा गाईगोरु गत फागुन १३ गते बिहान करिब साढे चार बजे समातेको 'लाइभ हिन्दुस्तान' अनलाइनले जनाएको छ।
एसएसबीका अनुसार उसले पश्चिम बङ्गालको नक्सलबारीमा आठ वटा गाईबस्तुलाई जेठ १२ गते मध्यरातमा नियन्त्रणमा लिएको थियो। मेची नदी कटाएर गाई लगिरहेका व्यक्तिहरू नेपालतर्फ भागेको सिलिगुडी टाईम्सले त्यहाँको प्रहरीलाई उद्धृत गर्दै जनाएको छ।
मुकेश कुमार सिंहका अनुसार गाईबस्तुहरू पश्चिम नेपालबाट झापा पुर्याउने 'नेपाली सप्लायर्स हुन्छन्, सिमाना पारि लग्ने प्राय: भारतीय व्यापारी'। "तस्करहरूले बिहार र पश्चिम बङ्गाल दुवैको सिमाना प्रयोग गर्छन्। जहाँ सजिलो हुन्छ, त्यही प्रयोग गरेको सुनिन्छ," उनले सुनाए।
नेपालबाट भारत प्रवेश गराउने भनिएका झापा, मोरङ र सुनसरी जिल्लास्थित कतिपय नाकामा बीबीसीको टोली पुगेको थियो। झापाको भद्रपुर नजिकैको दशगजा र आसपासका भूभागमा दर्जनौँको सङ्ख्यामा गाईगोरु चरिरहेका थिए।
मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर १ स्थित नोचामा दुबैतर्फ घरहरू छन्। एक किसान दुईवटा गाई/गोरु डोर्याउँदै नेपालबाट भारतीय भूभाग प्रवेश गरेको देखियो।

तस्बिर स्रोत, SHARADKC/BBC
पूर्वपश्चिम राजमार्गको नजिकै रहेको सुनसरीको भन्टावारि आसपासको दशगजामा पनि गाई गोरुहरू चरिरहेका थिए।
खुला सिमाना र सुरक्षा उपस्थितिले अवैध निकासी पैठारी रोक्नु सहज नभएको दर्साउँछ। मोरङ रतुवामाई नगरपालिकाको भारतसँग सिमाना जोडिएको एउटा गाउँका व्यापारीले वास्तविकता खुलाए।
भारतबाट गाईगोरु नेपाल ल्याउनु गैरकानुनी हो, ल्याइएको भेटिँदा पक्राउ गरिएका छन्, तस्करी बिलकुल बन्द छ
झापा दमकको हाटबजारमा भेटिएका उनले नाम नखुलाउने सर्तमा आफूहरूले गाईगोरु सङ्कलन गरेर भारत पठाउने गरेको स्वीकार गरे।
"सिमानामा घर छ, यसो एउटा दुईवटा गाईगोरु १-२ दिन बाँध्यो अनि पारि पट्टी लग्यो," उनले हाँस्दै भने, "के गर्ने जीवन गुजारा त हो।"
जानकारहरूका अनुसार कोशी प्रदेशका सुनसरी, मोरङ र झापा जिल्ला पुर्याइने गाईगोरु विभिन्न खुला सिमानाबाट बिहार राज्यका सुपौल, अररिया र किशनगञ्ज अनि पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाका सीमावर्ती भूभागमा प्रवेश गराउने गरिएको बताइन्छ।
भारतीय गाई-गोरु भारत लग्न नेपालमा

तस्बिर स्रोत, setokhari.com
त्यसरी भारत पठाइने अधिकांश गाई गोरुहरू भारतबाटै ल्याइने गरेको जानकार र अधिकारीहरूले जनाएका छन्।
नेपालसँग सिमाना जोडिएको भारत उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) को सरकार बनेदेखि गाईगोरु तस्करीविरुद्ध कडाइ गरिएको देखिन्छ।
एउटा राज्यबाट अर्कोमा लग्न रोक, ढुवानीमा कतै रोक त कतै निकै कडाइ रहेको बताइन्छ। कैयौँ ठाउँमा गाई गोरुको अवैध ओसार पसार गरेको आरोपमा हिंसा भएका छन्, मानिसहरू मारिएका छन्।
त्यसैले खास गरी उत्तराखण्ड, उत्तर प्रदेश र बिहारको पश्चिमी भागबाट गाई गोरुहरू नेपालका सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा भित्रिने गरेको प्रदेश प्रहरी प्रमुख रहिसकेका एक प्रहरी अधिकारीले बताए।

रुपन्देहीको देवदहस्थित भलुहीमा रहेको कामधेनु गौशालाका अध्यक्ष तथा प्रमुख संरक्षक योगी सोमराजले केही समय अघि उच्च प्रहरी अधिकृत उपस्थित एउटा कार्यक्रममा 'भारतीय गाईगोरु अवैध रूपमा नेपाल आउने गरेको' बताएका थिए।
गाई तस्करी रोक्न समेत खटिने गरेका उनले बीबीसीसँग भने, "खुला नाका भएकाले गाईगोरु भारतबाट ल्याएर पूर्वी नाका हुँदै भारतको पश्चिम बङ्गाल लगिन्छ।"
पश्चिम नेपालबाट गाई-गोरुहरू गाडीमै मुख्य रूपमा पूर्वपश्चिम राजमार्ग हुँदै पूर्वी नेपाल पुर्याउने गरिएको अधिकारीहरू बताउँछन्।
यहाँबाट किनेर (भारतीय सिमाना नजिकका नेपालीले) लान्छन्, आखिर सिमाना खुला छ, तार जाली छैन, सिमाना कटाउँछन्, तर कडाइ छ, तपाईँ हामीले त सक्दैनौँ
परिस्थित हेरेर लुम्बिनी प्रदेशबाट वाग्मती र मधेश प्रदेशसम्म पुर्याउन हुलाकी राजमार्गका साथै गुल्मी, स्याङ्जा र पाल्पा हुँदै काली गण्डकी कोरिडोर पनि प्रयोग गर्ने गरिएको जानकारहरू बताउँछन्।
पशु सेवा कार्यालय मकवानपुरका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रज किशोर ठाकुरले बेला बखत आफै अग्रसर भएर पूर्व पश्चिम राजमार्गमा गाईगोरु बोकेका गाडीहरू नियन्त्रणमा लिने गरेका छन्।
"नेपालगन्ज, कपिलवस्तु, चन्द्रौटा, नवलपरासी, आँबुखैरेनी, मुग्लिङ, चितवन, हेटौडा हुँदै गाईगोरु पूर्वी नेपाल लगिन्छ, त्यहाँबाट भारत हुँदै बाङ्ग्लादेश," डा. ठाकुर भन्छन्, "कृषि प्रयोजनको निम्ति हो भने राति किन लग्नु पर्यो, दिउँसो निर्धक्क लग्न सकिन्छ।"

एउटा जिल्लाका पूर्व प्रहरी प्रमुखले नाम नखुलाउने सर्तमा पश्चिमबाट गाईगोरु झापा वा कोशी प्रदेशसम्म गाडीमै पुर्याइने गरिएको बताए।
"यो रिले दौड जस्तो हो, ठाउँ-ठाउँमा सङ्कलन केन्द्र र बिश्रामस्थल बनाइएको हुन्छ" उनले हाँस्दै भने, "पत्रकारहरूले सूत्र प्रयोग गरेजस्तै लाने, ल्याउने सबै व्यवस्थापन हुन्छ।"
- बिहारस्थित एसएसबीले सीमा स्तम्भ १५३ बाट भारततर्फ ५० मिटरभित्र पुर्याइएका बेला १६ वटा गाई र बाच्छाहरूका साथै एक भारतीय नागरिकलाई यही असार २१ गते पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
- त्यही दिन सीमा स्तम्भ १७२ नजिकैबाट नेपालबाट लगिएका चार वटा गाईगोरु सहित मोरङका एक बासिन्दा पनि पक्राउ परेका छन्। सन् २०२३ मा गाई, गोरु र बाच्छा सहित सुनसरीका दुई जनालाई पनि एसएसबीले पक्राउ गरेको थियो।
- एसएसबीले बिहारको किशनगञ्ज जिल्लामा नेपालबाट लगिँदै गरिएका २४ वटा गाईबस्तु सिमानाबाट नियन्त्रणमा लिएको समाचार भारतीय सञ्चार माध्यम प्रभात खबरले वैशाख १० गते प्रकाशित गरेको छ। उक्त कार्यमा संलग्न दुई जना पक्राउ भएको घटनाबारे प्रहरीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, "सोधपुछ गर्दा दुवैले ती गाई गोरुहरू नेपालबाट ल्याएर वधशालामा बिक्री गर्ने योजना रहेको स्वीकार गरेका छन्।"
- तस्करीको एउटा अन्तर्राज्यीय सञ्जालको पर्दाफास गरेको जनाउँदै दैनिक भास्करले बेतिया जिल्लास्थित भारतीय प्रहरीले २६ गाईगोरु समातेको गत असार १२ गते समाचार छापेको छ। ती आठ वटा गाई, १६ वटा बाच्छा र दुईवटा बाच्छी बाङ्ग्लादेश पठाउन नेपाल लग्ने तयारी रहेको उल्लेख छ।
तर नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले बीबीसीको जिज्ञासापछि आफूले सातै वटा प्रदेश प्रहरी कार्यालयमा सम्पर्क गरेर जानकारी लिएको र अवैध ओसारपसार 'बिलकुल बन्द रहेको पाएको' बताए।
उनले उपलब्ध गराएको दुई वर्षको विवरण अनुसार अधिकांश जसो गाईगोरु पूर्वपश्चिम राजमार्ग र आसपासका क्षेत्रमा समातिएका थिए।
'समातिन्छन् तर रोकिन्न'

गत वर्ष मधेश प्रदेशमा ५४८ र लुम्बिनीमा ४७७ अनि यो वर्ष मधेशमा १३० र लुम्बिनीमा ६९६ अवैध चौपाया नियन्त्रणमा लिइएको देखिन्छ। भारत निकासी हुने अन्तिम बिन्दु कोशी प्रदेशमा गत वर्ष २७७ वटा तर यो वर्ष एउटा मात्रै चौपाया नियन्त्रणमा लिइएको छ।
"भारतबाट नेपाल ल्याउनु गैरकानुनी हो। ल्याइएको भेटिँदा राजमार्गमा पक्राउ गरिएका छन्," प्रवक्ता घिमिरे भन्छन्, "कोशी प्रदेशमा पक्राउ परेको नदेखिनु अनि लुम्बिनी र मधेशमा पक्राउ परेको देखिनु भनेको कोशीसम्म पुग्नै नपाएर पनि हो।"
सशस्त्र प्रहरीले पनि पशु चौपाया नियन्त्रणमा लिने गरेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कालीदास धौवजीले उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई वर्षमा ५,५०० चौपाया नियन्त्रणमा लिइएको छ।
तर एक उच्च प्रहरी अधिकृतले तस्करी हुँदै आएको कुरा स्वीकार गरेका छन्। उनले आफू प्रदेश प्रमुख हुँदा रोक्न कडा निर्देशन दिएको सुनाए।
उनी भन्छन्, "कागजात सबै मिलेमतोमा बनाइएको हुन्छ। केही सीप नलागेपछि ढुवानी मापदण्ड पालना नगरेको भनेर कारबाही गरेको थिएँ। किन कि भारतीय गोरु हेर्ने बित्तिकै चिनिन्छन्। मैले सुनेअनुसार फेरि चलिरहेको छ।"
मधेश प्रदेशका कतिपय जिल्लाबाट पनि भारतको बिहारतर्फ लग्ने गरिन्छ। कामधेनु गौशालाका अध्यक्ष तथा प्रमुख संरक्षक योगी सोमराजले नेपालका स्थानीय गाईगोरु 'मासुको निम्ति बिहार पनि लग्ने गरिएको' बताए।
रौतहट प्रहरीले गत माघ २९ गते छ वटा गाई र एउटा बाच्छो गत, माघ १४ गते छ वटा गाई र असोज ३ गते चार वटा गाई, तीन वटा बाच्छो र दुईवटा गोरु भारततर्फ लगिरहेका बेला नियन्त्रणमा लिएको जनाएको छ।
गाईबस्तुसँगै पक्राउ परेका व्यक्तिहरूलाई कारबाहीको निम्ति भन्सारमा बुझाएको प्रहरीको भनाइ छ। तर नियन्त्रणमा लिइएका गाई गोरुको व्यवस्थापन वा लिलामी गर्न पनि समस्या हुने गरेको अधिकारीहरूको अनुभव पाइन्छ।
अधिकारीहरूका अनुसार भारतबाट ल्याइएका चौपाया नियन्त्रणमा लिएर लिलाम गर्दा फेरि व्यापारीकै हातमा पुग्छन्। अर्थ मन्त्रालयका एक अधिकारीले केही वर्षअघि पश्चिम नेपालको एउटा भन्सारले करिब ५० वटा गोरु लिलाम गर्न एकै दिन तीन पटक सूचना निकाल्नु परेको घटना सुनाए।
न्यूनतम मूल्य प्रतिगोरु पाँच हजार रुपियाँका दरले लिलामीमा राख्दा कोही नआएपछि केही घण्टामा चार हजारमा झारियो। "तैपनि नआएपछि २५०० का दरले एक व्यक्तिले सकारे," उनी भन्छन्, "गाईगोरु किन्न चितवनबाट पश्चिम पुगेका ती व्यक्तिले व्यापारकै निम्ति लगेको अनुमान गर्न सकिन्छ।"
तराईका जिल्लामा कार्यरत एक प्रहरी प्रमुखले सुनाए शङ्कास्पद गाईगोरु गाडी सहित भन्सारमा बुझाएको प्रसङ्ग।
"लगत्तै भन्सार प्रमुखले फोन गरेर बाङ्ग्लादेश वा भारत लग्ने भनेर कतै नदेखिने र सबै प्रक्रिया पूरा गरिएको बताए," ती प्रहरी अधिकृतले सुनाए, "एउटा निकाय वा व्यक्तिले चाहेर यो रोकिन्न। किन कि कारोबारीहरूले पनि खेर जाने (अनुपयोगी भएका चौपाया) लाई मोहरमा परिणत गरे जस्तो ठान्छन्।"
नेपाली गाई-गोरु पनि बाङ्ग्लादेशको वधशालासम्म
त्यसरी भारतबाट भित्र्याइएका अनुत्पादक गाई गोरुसँगै पश्चिम नेपालमा सङ्कलन गरिएका स्थानीय गाई गोरुलाई पनि घुलमिल गराएर पूर्वी नेपाल लग्ने गरेको बताइन्छ।
पूर्वी नेपालमा मुख्यरुपमा हाट बजारमा किनमेल हुन्छ। त्यसको निम्ति कोशी प्रदेशमा त हप्ताको सातै दिन बारअनुसार लाग्ने करिब ५० वटा पशु हाट बजार सहयोगी हुने गरेको देखिन्छ।
कोशीको सबैभन्दा ठूलो भनिने दमक हाट बजारमा चौपाया किन्न भारतीय कारोबारीहरू पनि पुगेका थिए। तर उनीहरूले बीबीसीसँग बोल्न चाहेनन्।
धेरै लैनो गाई नेपालीले नै किन्नुहुन्छ, थोरै इन्डिया जान्छ, गोरु त इन्डिया नै जान्छन्, व्यापारीले आफै गाडीमा लग्नुहुन्छ
इलाम चुलाचुली वडा नम्बर ३ का गणेशप्रसाद न्यौपानेले दमक हाट बजारमा प्रत्येक हप्ता कम्तीमा २-३ लाखको चौपाया बेच्न लग्छन्।
"धेरै लैनो गाई नेपालीले नै लग्नुहुन्छ, थोरै इन्डिया जान्छ," उनको अनुभव छ, "गोरु त इन्डिया जान्छ। किनेर व्यापारीले नै आफै गाडीमा लग्नुहुन्छ। मैले यहाँ पैसो समातेपछि (जिम्मेवारी) सकियो। त्यसपछिको कुरा म जान्दिन।"
दमक हाट बजारका एक सञ्चालक प्रकाश बस्नेतले अनुहार हेरेर पारि (भारत) को मान्छे हो भन्ने शङ्का भए चौपाया पक्कै उता लग्छ भनेर बढी केरकार र जरिबाना गर्ने गरिएको सुनाए।
"तर यहाँ बसेर सिमानाबाट गोरु जाने कुरा कसरी गरौँ, त्यहाँ राज्यको उपस्थिति छ," उनको भनाइ व्यङ्ग्यात्मक सुनिन्थ्यो।

तस्बिर स्रोत, Bijay Gajmer/BBC
मोरङ रङ्गेलीका बेलवारी हाट बजारमा भेटिएका युवा ईमाम चुरौटे हजुरबुवाको पालादेखि पशुधनको व्यापारमा रहेको बताउँछन्। नेपाली व्यापारीले एउटा हाट बजारबाट अर्को हाट बजारमा नाफाको निम्ति किनबेच गर्ने गरेको उनको भनाइ छ।
"भारततिर गए पनि यहाँबाट किनेर तलका मान्छे (भारतीय सिमाना नजिकका नेपाली) ले लान्छन्, हप्ता-दश दिन पाल्छन्, जोत्छन्, अनि उता (भारत) को व्यापारीले लग्छन्। खुला सिमाना छ। आखिर तार जाली त छैन," चुरौटे सुनाउँछन्, "राति वा दिउँसै पनि उनीहरूले सिमाना कटाउँछन्, तर खुलेआम छैन, कडाइ छ। तपाईँ हामीले त त्यसो गर्न सक्दैनौँ।"
मोरङ बेलवारी हाट बजारका ठेकेदार कृष्ण सुवेदीले कतिपय व्यापारी त हाट बजार पुगे पनि किसानसँग कुरा मिलाएर उनीहरूको घरबाटै किनेर लग्ने गरेको बताए।
त्यसो गर्दा हाट बजारलाई शुल्क, विभिन्न सञ्जाल मिलाउनु पर्ने झन्झट वा निगरानीमा पर्ने जोखिम कम हुने जानकारहरू बताउँछन्।
सुवेदी भन्छन्, "व्यापारीहरूले यहाँबाट किनेर नाफाको निम्ति अर्को बजार लग्ने हो, उनीहरूलाई यहाँ हामीले किनबेचको सुविधा दिने हो। सोधखोज गर्दैनौँ। सुन्न त सुनेको हो बाङ्ग्लादेश लग्छन् भनेर, भारतको बाटो त लान्छन् होला।"
उनले गोरु पाल्ने चलन करिब ठप्प हुन थालेको अनुभव सुनाए। बुढो हुन थालेका वा जोत्ने याम सकिएपछि गोरु बेच्न आफ्नो हाटमा ल्याउने गरिएको उनको भनाइ छ।
मोरङ दोमहना हाट बजारका ठेकेदार सुरज यादव त्यस्ता गोरुहरू कहाँ जान्छन् भन्नेबारे बोल्न चाहेनन्। "यहाँ ल्याइएका जति गाईगोरु बिक्री हुन्छन्। यहाँ किन्नेले नेपालीकै नाम र ठेगाना लेखाउँछन्। जोत्न नसक्ने भएका गोरु किनेर कहाँ लग्छन् भन्ने कुरा थाहा हुँदैन," उनले बताए।
नेपालगन्ज, कपिलवस्तु, रूपन्देही, नवलपरासी, आँबुखैरेनी, मुग्लिङ, चितवन, हेटौँडा हुँदै गाईगोरु पूर्वी नेपाल लगिन्छ, त्यहाँबाट भारत हुँदै बाङ्ग्लादेश जान्छ
तर बाँकेमा यही असार २९ गते राप्रपाका कार्यकर्ता, सञ्चारकर्मी र अभियानकर्मीले नेपालगन्जको पूर्वी भागमा रहेको राप्ती नदी नजिक चराइरहेको अवस्थामा गाई गोरुहरू फेला पारेका थिए। ती भारतबाट भित्र्याइएको बताइएको छ।
एक जना स्थानीय बासिन्दासँगले भिडिओ कुराकानीमा त्यस्ता गाईगोरु महिनामा १० पटक जति लगिने गरेको बताउँदै भन्छन्, "हिँडाउँदै लग्छन्, यता पुर्याउँछन्, अनि बाङ्ग्लादेश पुर्याउँछन्।" तर आफूले किनेर ल्याएको बताउने एक व्यक्तिले किसानलाई बेच्न ल्याएको दाबी गर्छन्।
कामधेनु गौशालाका अध्यक्ष तथा संरक्षक योगी सोमराजले पूर्वी नेपाल हुँदै भारत पुर्याएर बाङ्ग्लादेश र अन्यत्र लगिने गरेको जानकारी विश्वसनीय रहेको सुनाए।

एक दशकदेखि झापामा कार्यरत काकरभिट्टास्थित पशु क्वारेन्टाइन कार्यालयका निमित्त प्रमुख मुकेश कुमार सिंह पनि उनको भनाइसँग सहमत छन्। "प्राय: बिहार र पश्चिम बङ्गालको सिमाना प्रयोग गरेर बाङ्ग्लादेश नै जाने हो। भुटान पनि जान्छ," उनको अनुभव छ।
कारोबारीहरूको आक्रमणमा भारतीय सुरक्षाकर्मी घाइते हुने गरेका घटनाहरू पनि सार्वजनिक हुने गरेका छन्। सन् २०२५ को ज्यानुअरी १० मा बीएसएफ जवानमाथि आक्रमण भएको र १० वटा गोरु नियन्त्रणमा लिएको बीएसएफले जनाएको छ।
तस्करहरूको आक्रमणमा असार ३२ गते बिहान सबेरै पूर्वी मेघालयस्थित बाङ्ग्लादेशसँगको सिमानामा बीएसएफका दुई जना सुरक्षाकर्मी घाइते भएको द हिन्दूको अनलाइनमा उल्लेख छ।
बीबीसीले कुराकानी गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ, गृह र कृषि मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र र नेपाल प्रहरी अनि भन्सार विभाग लगायतका अधिकारी सबै अवैध निकासी पैठारीको तौरतरिकाबारे जानकार पाइए।
भारतबाट बाङ्ग्लादेशमा मुख्यतया मासुको निम्ति गाईको आयात हुने गरेको विषय नयाँ होइन। लामो समयदेखि भारतको माथिल्लो र तल्लो सदनमा पनि गाई तस्करी मुद्दा बन्ने गरेको पाइन्छ। दुई देशबीच हुने चौपाया तस्करीमा केही वर्ष यता नेपाल पनि जोडिएको देखिन्छ।
तर यहाँ उक्त विषय ठूलो मुद्दा बनेको पाइँदैन। जबकि नेपालमा केही वर्षयता दशौँ लाख गाईगोरुको सङ्ख्या घटेको छ।
'तरिका बदलिन्छ, तस्करी रोकिन्न'
- योगी सोमराज, अध्यक्ष तथा प्रमुख संरक्षक, कामधेनु गौशाला, देवदह, रुपन्देही

"गाईगोरु खुला नाका भएकाले भारतबाट ल्याएर पूर्वी नाका हुँदै पश्चिम बङ्गालबाट बाङ्ग्लादेश र अन्यत्र लगिन्छ। तस्करहरूको ठूलो खेल छ। तस्करी कसरी हुन्छ भनेर म त दिउँसो र राति हेर्न गएको छु। भारतमा अहिले भाजपाको सरकार छ। तस्करीविरुद्ध कडाइ छ। नेपालमा ल्याएर लग्न सजिलो छ। त्यसैले बेलाबखत तरिका बदलिन्छ। तस्करी रोकिन्न। पहिले ट्रकमा लग्नेले सानो गाडी (छोटा हात्ती) मा लग्न थाल्छन्। बाहिर आलु वा अन्य सामान देखाएर भित्र गाई राखेर ओसार्छन्। यो रोकिने कुरै होइन। यहाँ त ठूल्ठूला मान्छेहरू जोडिएका हुन्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








