तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मृत्यु नदी'मा डाइनसोरको सामूहिक चिहानको अनुसन्धान
- Author, रेबेका मोरेल
- Role, विज्ञान सम्पादक
- Reporting from, अलबर्टा, क्यानडा
- Author, एलिसन फ्रान्सिस
- Role, वरिष्ठ विज्ञान संवाददाता
क्यानडाको अलबर्टास्थित एक घना जङ्गलको भिरमुन्तिर एउटा विशाल सामूहिक चिहानस्थल रहेको छ।
यहाँ कुनै दिन भएको एक विनाशकारी घटनामा मारिएका हजारौँ डाइनसोर गाडिएका थिए।
'उनीहरू कसरी मारिए' भन्ने सात करोड २० लाख वर्ष पुरानो रहस्य सुल्झाउन भन्दै जीवाश्म वैज्ञानिकहरूको एउटा समुह "मृत्यु नदी" नाम दिइएको यस ठाउँमा आइपुगेका छन्।
यहाँ वास्तवमा के भएको थियो भनेर जान्नेतर्फको प्रयास एउटा बडेमानको हथौडाको प्रहारबाट सुरु हुन्छ।
यो अन्वेषणको नेतृत्व गरिरहेकी एमिली ब्यामफर्थले "प्राचीन स्वर्ण"का रूपमा व्याख्या गरेको वस्तुलाई ढाकेर बसेको चट्टानको बाक्लो पत्र हटाउन प्रबल शक्तिको खाँचो पर्छ।
उनको समूहले फोहोर र धुलोको उक्त पत्र हटाउन संवेदनशील हुँदै काम थालेसँगै बिस्तारै बिस्तारै अस्तव्यस्त जीवाश्म हाडखोरहरू देखा पर्न थाल्छन्।
"त्यो हाडको टुक्रा हाम्रो विचारमा कट्टिको हिस्सा हो," प्राध्यापक ब्यामफर्थ भन्छिन्।
उनको एस्टर नामको कुकुरले पनि उनको रखबारी गरिरहेको छ। उसको आजको काम भनेको नजिकै कतै भालु देखियो भनेर भुकेर सतर्क गराउनु हो।
"त्यसपछि यहाँ यी लामा र पातला हड्डीहरू छन्। यी सबै करङ हुन्। अनि यो प्रस्टवाला चाहिँ खुट्टाको औँलाको हड्डी हो। अनि के हो भनेर हामीलाई थाहै नभएको यो एउटाचाहिँ यहाँको रहस्यको गजबको उदाहरण हो।"
अनुसन्धानकर्ताहरूले कसरी यहाँका रहस्यहरूलाई एकएक गरी जोडिरहेका छन् भन्ने हेर्न र प्रागऐतिहासिक विशाल मृत्युस्थलको अवलोकनका निम्ति बीबीसी न्यूज यहाँ आएको छ।
यस स्थलबाट हजारौँ जीवाश्म अवशेषहरू सङ्कलन गरिँदै आएको छ र निरन्तर नयाँ कुरा पत्ता लागिरहेको छ।
यी सबै हाडहरू पाकिराइनसरस नामका डाइनसोरसँग सम्बन्धित छन्। उक्त प्रजाति र प्राध्यापक ब्यामफर्थको उत्खननलाई बीबीसीको नयाँ श्रृङ्खला 'वाकिङ विथ डाइनसोरस' अर्थात् 'डाइनसोरहरूलाई पछ्याउँदै'मा देखाइएको छ र प्रागऐतिहासिक दुनियाँलाई जीवन्त रूपमा देखाउन त्यसमा 'भिजुअल इफेक्ट्स' तथा विज्ञानको उपयोग गरिएको छ।
'क्रिटेसिअस'कालको अन्त्यतिर अस्तित्वमा रहेका यी जनावर 'ट्राइसेरटप्स'को परिवारका थिए। पाँच मिटर लम्बाइ र दुई टन वजन भएका यी चारखुट्टे जनावरको विशाल शिर र तिनमा रहेका हड्डीयुक्तसिउर र तीनवटा सिङ हुन्थे। यिनको उल्लेखनीय विशेषता भनेको 'बस' भनिने नाकमा भएको बडेमानको गाँठो हो।
उत्खनन कार्य भर्खरै सुरु भएको छ र यो हरेक वर्ष शरद् ऋतुसम्म चल्छ। उनीहरूले काम गरिराखेको जमिनको टुक्रा सघन रूपमा जीवाश्महरूले भरिएको छ। ब्यामफर्थको अनुमानमा प्रति वर्ग मिटरमा तीन सय वटासम्म हड्डीहरू छन्।
अहिलेसम्म उनको समूहले एउटा टेनिस कोर्टको आकारजतिको क्षेत्रको उत्खनन गरेका छन् तर उक्त पहाडमा हड्डीहरू एक किलोमिटरजति फैलिएका छन्।
"सघनताको हिसाबले यो चकित तुल्याउने किसिमको छ," उनी भन्छिन्।
"यो उत्तर अमेरिकाकै सबैभन्दाठूलो जिवाशेष सङ्ग्रहमध्ये एक हो भन्नेमा हामी विश्वस्त छौँ।"
"संसारका ज्ञात डाइनसोरका प्रजातिहरूमध्ये आधाभन्दा धेरैको चर्चा एउटै नमूनाबाट गरिएको छ। हामीसँग यहाँ हजारौँ पाकिराइनसोरस छन्।"
जीवाश्म अन्वेषकहरू डाइनसोरहरू दक्षिणमा शीतकाल बिताएर गर्मीका निम्ति सामूहिक रूपमा उत्तरतर्फ लाग्ने गर्थे भन्ने विश्वास गर्छन्।
वर्तमानको तुलनामा निकै न्यानो जलवायु रहेको उक्त क्षेत्र वनस्पतिका दृष्टिले समृद्ध र तिनमा आश्रित यिनको विशाल समूहका निम्ति त्यहाँ प्रचुर मात्रामा भोजन उपलब्ध भएको हुनुपर्छ।
"यो एकै समयको एकै प्रजातिको एउटा समुदाय हो। जीवाश्म अनुसन्धानको इतिहासमै यस्तो भएको थिएन," प्राध्यापक ब्यामफर्थले भनिन्।
विशाल रहस्य खोल्दै विशाल जनावर
उत्तर–पश्चिमी अलबर्टाको यो हिस्सा पाकिराइनसोरसको मात्रै निवासस्थान थिएन। यहाँ तीभन्दा पनि ठूला डाइनसोरहरू घुम्दथे र यो प्राचीन 'इकोसिस्टम'लाई बुझ्न यसबारे अध्ययन गरिनु महत्त्वपूर्ण हुन जान्छ।
दुई घण्टाको यात्रापछि हामी 'डेडफल हिल्स' पुग्छौँ। त्यहाँ पुग्न घना जङ्गल हुँदै पैदल हिँड्नुपर्छ। हामी तीव्र बहावको नदी तर्छौँ र भिरालो र चिप्लो चट्टान हुँदै माथि उक्लन्छौँ।
यहाँ उत्खनन आवश्यक छैन, चट्टानहरूबाट बग्दै आएका र पानीले पखालिएका विशाल आकारका हड्डीहरू तटीय क्षेत्रमै भेटिन्छन्। ती कसैद्वारा उठाइनका निम्ति तम्तयार छन्।
यहाँ तत्कालै एउटा विशाल मेरुदण्ड देखा पर्छ र हिलोमा दाँत र करङहरू यत्रतत्र छरिएका देखिन्छन्।
जीवाश्म वैज्ञानिक ज्याक्सन स्वेडरको विशेष चाख डाइनसोरको खोपडीजस्तै देखिने एउटा वस्तुमा देखिन्छ। "हामीले यहाँ जेजति कुरा भेटेका छौँ ती हाँसका जस्तो चुच्चो भएका एडमन्टसोरस भनिने डाइनसोरका हुन्। यदि यो खोपडीको हड्डी हो भने यो डाइनोसर सम्भवत: १० मिटर लम्बाइजति विशाल हुनुपर्छ," उनी भन्छन्।
यी एडमन्टोसोरसहरू पाकिराइनसोरसजस्तै जङ्गलहरूमा विचरण गर्ने अर्का शाकाहारी प्राणी हुन् र तिनले जीवाश्म वैज्ञानिकहरूलाई यो प्राचीन भूमिको तस्बिर बनाउन मद्दत गरिराखेका छन्।
स्वेडर ग्र्यान्डी प्रेरी नजिकैको 'फिलिप जे क्यूरी डाइनसोर सङग्राहलय'को सङ्कलन व्यवस्थापक हुन्। यी विशाल जनावरका हड्डीहरू सरसफाइ तथा विश्लेषणका निम्ति त्यहीँ पुर्याइन्छन। उनी अहिले "बिग शाम" नाम दिइएको पाकिराइनसोरको १.५ मिटरजति लम्बाइको एउटा विशाल खोपडीबारे अनुसन्धान गरिराखेका छन्।
उनले सिउरको माथिल्लो भागमा तीनवटा सिङ हुनु पर्नेमा बीचको एउटा गायब भएकोतर्फ औँल्याए। "हरेक सग्ला खोपडीमा यस स्थानमा एउटा चुच्चो छ," उनले भने, "तर यसचाहिँ सुन्दर र सानो गैँडाको जस्तो चुच्चो यहाँ देखिँदैन।"
यस असाधारण स्थलमा वर्षौँ काम गरिरहँदा उक्त सङ्ग्राहलयको टोलीले डाइनसोरका ८ हजारवटा हाडहरू सङ्कलन गरेको छ। प्रयोगशाला तिनका अवशेषहरूले ढाकिएका छन्। त्यहाँ पाकिराइनसोरसका हरेक आकारका र युवादेखि वृद्धावस्थासम्मका हाडहरू छन्।
यति धेरै जनावरका सामग्रीहरूले अनुसन्धानकर्ताहरूलाई डाइनसोरसम्बन्धी जीव विज्ञानबारे जान्ने अवसर दिनुका साथै यो प्रजातिको विकास र समुदायको संरचनासम्बन्धी प्रश्नको उत्तर दिन्छन्। उनीहरूले एउटा सिङ गायब भएको 'बिग शाम'जस्तै कुनै एउटा पाकिराइनसोरस बथानका अन्यभन्दा कति भिन्न हुन सक्छ भनेर हरेकबीचको विविधताबारे पनि अनुसन्धान गर्न पाउँछन्।
अचानक भएको विनाशकारी घटना
सङ्ग्राहलय तथा दुवै स्थानमा गरिएका विस्तृत अनुसन्धानहरूले उक्त समूहलाई एउटा गहन प्रश्नको जबाफ खोज्न मद्दत गरिराखेको छ : आखिर यतिबिघ्न जनावरहरू यहाँ कसरी एकै समयमा मारिन पुगे?
"हाम्रो ठम्याइमा यो मौसमी बसाइँसराइमा निस्किएको र कुनै विनाशकारी घटनामा फस्न पुगेको बथान थियो। सिङ्गै बथान नभए पनि त्यसको ठूलो हिस्सा नासिन पुगेको हुनुपर्छ," प्राध्यापक ब्यामफर्थ भन्छिन्।
सबै प्रमाणहरूले आकस्मिक रूपमा बाढी आएका कारण उक्त विनाशकारी घटना भएकोतर्फ सङ्केत गर्छन् र संभवत: पहाडी क्षेत्रमा आएको आँधीपछि पानीको अनियन्त्रित धार उक्त बथानतर्फ आएको र त्यसले रुखहरूलाई जरैदेखि उखेल्दिनुका साथै चट्टानहरूलाई यत्रतत्र छिरलिदिएको हुन सक्छ।
प्राध्यापक ब्यामफर्थ पाकिराइनसोरसहरूले सम्हालिने मौका नै नपाएको बताउँछिन्। "ठूलो सङ्ख्यामा भएका कारणले गर्दा यी जनावरहरू चाँडो हिँड्न सक्दैनथे, भारी ज्यानका पनि थिए र गतिलोसँग पौडिनसमेत निपुण थिएनन्।"
उत्खननस्थलमा भेटिएका चट्टानहरूमा तीव्र गतिमा बग्ने पानीले बनाउने भूमरीयुक्त थिग्र्यानले सबैकुरा सतहमा ल्याइदिएको देखाउँछन्। यस्तो लाग्छ मानौँ उक्त विनाश ढुङ्गामा एउटा लहरका रूपमा खोपिएर बसेको छ।
डाइनसोरहरूको उक्त दु:स्वप्नयुक्त दिन अहिलेका जिवाश्म वैज्ञानिकहरूका लागि भने सपना साकार पार्ने सन्दर्भ झैँ भएको छ।
"हामी हरेक पटक यहाँ आउँदा हड्डीहरू भेटिन्छन् भन्ने शतप्रतिशत पक्का छ र हरेक वर्ष हामीले यस प्रजातिका बारेमा केही न केही नयाँ कुरा भेट्टाउँछौँ," प्राध्यापक ब्यामफर्थ भन्छिन्।
"नयाँ नयाँ कुराहरू भेटिइराखेकाले हामी यहाँ फर्किफर्कि आइरहन्छौँ।"
अर्को दिन फर्किने तयारीस्वरूप आफ्ना औजारहरू थन्क्याइरहँदा उनीहरूलाई धेरै काम गर्नै बाँकी छ भन्ने थाहा छ। उनीहरूले यहाँको सतहमात्रै कोट्याएका छन् र कैयौँ प्रागऐतिहासिक कुराहरूको रहस्योद्घाटन हुनै बाँकी छ।
'वाकिङ विथ डाइनसोर्स'को नवीन श्रृङ्खलाहरू २५ मे, आइतवार १८:२५ बीएसटीबाट बीबीसी वनमा सुरु हुन्छ र सबै भागहरू बीबीसी आईप्लेयरमा उपलब्ध हुनेछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।