तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सयौँ वर्षअघि मानिसले फ्याउरा पाल्ने गरेको 'दुर्लभ प्रमाण'
प्राचीनकालमा हाम्रा पूर्वजहरूले घरमा कुकुर पाल्न थाल्नुभन्दा निकै अगाडि फ्याउरा पाल्ने गरेको प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका छन्।
दक्षिण अमेरिकामा फेला परेका पुरातात्त्विक प्रमाणहरूले त्यहाँ प्राचीन समाजमा फ्याउरालाई निकै पवित्र मान्ने गरिएको अनि मृत्यु भएपछि मानिस र फ्याउरालाई नजिकै गाड्ने गरिएको देखाउँछन्।
आर्जेन्टिनाको पाटागोनिआमा एउटा १,५०० वर्ष पुरानो चिहानमा एउटा फ्याउरो पनि गाडिएको फेला पर्दा वैज्ञानिकहरू आश्चर्यचकित भएका थिए।
उक्त फ्याउरो मानिसको "प्यारो साथी" वा आफूले पालेको जनावर भएकाले त्यसो गरिएको हुन सक्ने उनीहरूको अनुमान छ।
दुर्लभ प्रमाण
डीएनए विश्लेषण गर्दा उक्त फ्याउरोले प्रागैतिहासिक सिकारीहरूसँगै आहारा खाने गरेको र उनीहरूको समूहमै बस्ने गरेको पत्ता लाग्यो।
एक दशकअघि आर्जेन्टिनाको अर्को भागमा फेला परेको अझ पुरानो चिहानमा सोही प्रजातिको फ्याउरोको कङ्काल फेला परेको थियो। त्यसलाई पनि मानिसले पालेको हुन सक्छ।
यद्यपि त्यसको आहाराको विश्लेषण गरिएको थिएन।
"खानेकुराको लागि सिकार र सङ्ग्रह गर्ने मानिसहरूको समाजसँग यो फ्याउरोको निकट सम्बन्ध भएको देखिने यो निकै दुर्लभ प्रमाण हो," यूनिभर्सटी अफ अक्सफर्डकी डा ओफेली लेब्रासरले भनिन्।
"मलाई यो साङ्केतिक कुरा मात्र हो जस्तो लाग्दैन। मलाई यो मित्रता नै हो जस्तो लाग्छ।"
५०० वर्षअघि लोप
उक्त फ्याउरोको अवशेष आर्जेन्टिनाको कन्याडा सेकास्थित एउटा चिहानमा भेटिएको हो। उक्त स्थानमा सिकार र सङ्ग्रह गरेर आहारा जुटाउने मानिसहरूको बसोबास थियो। उनीहरू खेतीपाती गर्दैनथे।
आर्जेन्टिना र पेरुका विभिन्न ठाउँमा मानिसका प्राचीन समाधिस्थलहरूमा जङ्गली फ्याउराका दाँत भेटिने गरेको छ। त्यसले ती मानिसका लागि उक्त जीवको साङ्केतिक महत्त्व रहेको देखाउँछ।
यद्यपि फ्याउराको लगभग सग्लो कङ्काल मानिसको चिहानमा भेटिनु पुरातत्त्वको क्षेत्रमा निकै दुर्लभ घटना हो।
'डुसिक्योन एभस' प्रजातिको उक्त फ्याउरो मध्यम आकारको र १०-१५ केजी तौलको थियो। तर पाटागोनिआमा घरपालुवा कुकुर आइपुगेको केही सय वर्षपछि अर्थात् आजभन्दा झन्डै ५०० वर्षअघि उक्त प्रजाति मासियो।
यससम्बन्धी अनुसन्धान आर्जेन्टिनाको 'इन्स्टिट्यूट अफ एभलूशन'मा कार्यरत डा सिन्थिया अबोनासँगको सहकार्यमा भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।