चिहानमै भोजभतेर : झन्डै १,५०० वर्ष पुराना कङ्कालको अध्ययन गर्दा पुरातत्त्वविद्हरू आश्चर्यमा

    • Author, रेबेका मोरेल र एलिसन फ्रान्सिस
    • Role, बीबीसी न्यूज विज्ञान

यूकेको वेल्समा मध्ययुगको सुरुतिरको एउटा दुर्लभ चिहान फेला परेको छ र त्यसले पुरातत्त्वविद्हरूलाई आश्चर्यमा पारेको छ।

त्यसलाई छैटौँ वा सातौँ शताब्दीको मानिएको छ र अनुमानित ७० मध्ये १८ वटा चिहानको उत्खनन भइसकेको छ।

त्यहाँ केही संरक्षित अवस्थामा रहेका कङ्कालहरू असामान्य स्थितिमा फेला परेका छन्। त्यस क्षेत्रमा अप्रत्याशित खालका देखिने कलाकृतिहरू पनि भेटिएका छन्।

उत्खनन गरिएको क्षेत्रले त्यहाँका प्राचीन समुदायबारे थप खुलासा गरिरहेको छ तर त्यसले केही प्रश्न पनि खडा गरेको छ।

यो चिहान कार्डिफ विमानस्थलको धावनमार्ग छेउमा रहेको एउटा मैदान क्षेत्रमा अवस्थित छ।

त्यहाँ एउटा टोली ध्यानपूर्वक माथिल्लो भागको माटोको पातलो तह हटाउन व्यस्त छ। त्यो तह चिहानमा धेरै पहिलेदेखि थुप्रिएको थियो।

कति पुराना कङ्काल?

यूनिभर्सिटी अफ रेडिङकी पुरातत्त्वविद् समर कोर्ट्सका अनुसार करिब १,५०० वर्ष पुरानो भए पनि कङ्कालहरू राम्रै अवस्थामा छन्।

उनी भर्खरै उत्खनन गरिएको खोपडीलाई देखाउँछिन् र त्यसले ती मानिसहरू कसरी बसेका थिए अनि काम गर्थे भन्नेबारे केही जानकारी दिने बताउँछिन्।

"हामीसँग केही दाँतहरू छन्। तिनीहरू थोत्रा र हाँसोउठ्दा देखिन्छन् र तिनले औजारको रूपमा दाँतको प्रयोगलाई सङ्केत गरेका छन्," उनी भन्छिन्।

"सायद कपडा बुन्ने काम, छालाको काम वा टोकरीहरू बनाउने कामका लागि उनीहरूले आफ्नो अगाडिको दाँतले केही तानिरहेका थिए।"

तर केही कङ्कालहरूले उल्झन खडा गरिरहेका छन्। ती कङ्कालहरू विभिन्न अवस्थामा तेर्सो परेका देखिन्छन्।

केहीलाई उत्तानो पारेर सुताइएको छ भने अरूलाई ती कङ्कालको छेउमा राखिएको छ।

केहीलाई चाहिँ उनीहरूको छातीमा घुँडा टाँसिएको अवस्थामा कुक्रुक्क पारेर गाडिएको छ।

त्यसको त्यसको अर्थ के हो भन्ने कुरामा पुरातत्त्वविद्हरू निश्चित छैनन्।

अचम्मलाग्दा वस्तु

के यो चिहानलाई लामो समयसम्म प्रयोग गरिएको थियो र मानिसहरूलाई गाड्ने चलनमा परिवर्तन आइरहेको थियो? वा केही व्यक्तिहरूलाई चिनाउन भिन्न रूपमा गाडिएको हो कि?

चिहानका वरिपरि फेला परेका वस्तुहरू पनि अचम्मलाग्दा छन् र तिनीहरूले पहिलो सहस्राब्दीको मध्यतिर जीवन अहिलेभन्दा कति धेरै फरक थियो भन्ने देखाउँछन्।

त्यहाँ कपलगायत भाँडाका टुक्रा अनि काटेर जलाइएका जनावरका हड्डीका टुक्रा पनि फेला परेका छन्। त्यहाँ पाइएको एउटा वस्तुले उक्त समुदायलाई वास्तवमै जीवन्त बनाएको देखाउँछ।

त्यो भनेको त्यहाँ भेटिएको एउटा सानो कुँदिएको टुक्रा हो।

त्यो सायद कुनै खेलमा खेलाडीले प्राप्त गरेको अङ्क लेख्न प्रयोग गरिएको हुन सक्छ।

त्यो हामीले 'क्रिबेज बोर्ड'मा प्रयोग गर्ने मार्करजस्तो हुन सक्छ।

अहिलेका भन्दा फरक

कार्डिफ विश्वविद्यालयका प्रारम्भिक मध्ययुगीन पुरातत्त्व विशेषज्ञ तथा उक्त उत्खनन टोलीको नेतृत्व गरिरहेका डा. एन्डी सीम्यानका अनुसार यी चिहानहरू अहिलेका चिहानभन्दा फरक छन्। उनी यो स्थान मृतकलाई फाल्ने ठाउँ मात्र जस्तो नदेखिएको बताउँछन्।

"हामी चिहानलाई एक प्रकारको बन्द ठाउँ ठान्छौँ र हामी वास्तवमा त्यहाँ जाँदैनौँ तर विगतमा ती स्थानहरू जीवनका निम्ति भिन्नखाले केन्द्र हुन सक्थे," उनले भने।

"यो मानिसहरूलाई गाड्ने ठाउँ मात्र थिएन। यो समुदाय नै सँगै आउँदै गरेको एउटा ठाउँ पनि थियो : उनीहरूले मृतकहरूलाई गाडिरहेका थिए तर उनीहरूले अन्य प्रकारका गतिविधि र खाने, पिउने र भोजभतेरसहित सामाजिक अभ्यासहरू पनि गरिरहेका थिए।"

सबैभन्दा अन्योलमा पार्ने कुरा भनेको त्यहाँ पत्ता लगाइएका कलाकृतिहरूले ती मानिसहरू अन्य साधारण मानिसभन्दा धेरै फरक थिए भन्ने सङ्केत गर्नु हो।

त्यहाँ खन्ने क्रममा "मैले भर्खरै काँचको टुक्रा फेला पारेँ" भन्दै उत्साहित भएर कसैले कराएको सुनियो। त्यो वस्तु एउटा चिहानमा थियो।

"यो एउटा चक्काजस्तो खपटा हो- आइसक्रिमको कोनजस्तो भाँडाबाट निस्किएको - धेरै राम्रो सामान, धेरै राम्रो सिसा ... यो एउटा साँच्चै नै राम्रो कुरा भेटियो," एन्डी सीम्यानले त्यो टुक्राको प्रशंसा गर्दै भने।

उनलाई यो फ्रान्सको बोर्डो क्षेत्रबाट आएको जस्तो लाग्छ। उक्त टोलीले पाएको यो मात्र आयातित वस्तु होइन, उनीहरूले उत्तर अफ्रिकाबाट आएका हुन सक्ने माटोका भाँडाका टुक्राहरू पनि फेला पारेका छन्।

भेटिएका सामग्रीको गुणस्तरले त्यहाँका मानिसहरूको हैसियत उच्च थियो भन्ने दर्शाउँछ।

कस्ता सङ्केत पाइन्छन्?

कार्डिफ विश्वविद्यालयका टुडुर डेभीस भन्छन्, "हामीले यहाँ पाएका प्रमाणहरूले के देखाउँछन् भने यहाँका मानिसहरूसँग उच्च गुणस्तरका आयातित सामानहरूमा पहुँच रहेछ। त्यो व्यापार वा विनिमयका सञ्जालमार्फत् मात्र प्राप्त गर्न सकिन्थ्यो र धेरै धनी मानिसहरूले मात्र त्यस्तो गर्न सक्थे।"

"वास्तवमा के भइरहेको थियो? यहाँ गाडिएका यी मानिसहरू को हुन्?"

चिहान कहिले प्रयोगमा थियो भन्नेबारे मिति र विवरण प्राप्त गर्न थप अनुसन्धान आवश्यक छ र डीएनए विश्लेषणले त्यहाँ गाडिएका कङ्कालहरूको बारेमा थप खुलासा गर्नेछ।

यो चिहानले हरेक व्यक्ति र समुदाय दुवैको समयबारे दृष्टि दिनेछ। त्यसले हामीलाई अझै पनि थोरै मात्र थाहा भएको युगबारे थप प्रकाश पार्न मद्दत गर्नेछ।

तर यहाँ वास्तवमा को बसेका थिए र कसलाई गाडिएको थियो भन्ने प्रश्नको उत्तर पाउन धेरै समय लाग्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।