तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
२४ करोड वर्ष पुरानो जीवाश्म पानीमा बस्ने अनौठो 'ड्र्यागन'को
पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो नयाँ जीवाश्म फेला परेको वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार पाँच मिटर लामो सरीसृपको यो जीवाश्म लगभग सग्लो अवस्थामा फेला परेको छ।
यो जीव ट्राइएसिक युगमा विचरण गर्थ्यो। गर्धन निकै लामो भएकाले यसलाई "ड्र्यागन" उपनाम दिइएको छ।
वैज्ञानिकहरूले यो जीव 'डाइनसेफालसोरस ओरिएन्टलिस' प्रजातिको भएको बताएका छन्। उक्त प्रजाति सन् २००३ मा पत्ता लागेको थियो।
अहिले फेला परेको जीवाश्मले वैज्ञानिकहरूलाई अनौठो देखिने उक्त प्रागैतिहासिक जीवको पूर्ण शारीरिक संरचना कस्तो थियो भन्ने जान्न अवसर दिएको छ।
अनौठो जीव
उक्त जीवाश्मको अध्ययन गर्ने अन्तर्राष्ट्रिय टोलीमा सहभागी न्याश्नल म्यूजीअम्स स्कटल्यान्डका डा निक फ्रेजरका अनुसार वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो सग्लो अवशेष देख्न पाएका हुन्।
उनले त्यो "धेरै अनौठो जीव" भएको बताए।
"त्यसका 'फ्लिपर' जस्ता हातखुट्टा थिए र त्यसको गर्धन चाहिँ पुच्छरसहित शरीरको लम्बाइभन्दा लामो थियो," उनले भने।
"लामो र लचिलो गर्धन" ले उक्त जीवलाई पानीमुनि चट्टानका दरारमा सिकार गर्न सजिलो बनाएको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।
चीनको चुनढुङ्गामा अवशेष
उक्त जीवाश्म दक्षिणी चीनमा प्राचीन चुनढुङ्गा भएको ठाउँमा फेला परेको हो।
"यो खोजले ट्राइएसिक युगको विचित्रतामा नयाँ कुरा थपिदिएको छ," डा फ्रेजरले बीबीसी न्यूजसँग भने, "अनि ती चुनढुङ्गा खानीमा जतिबेला खोज्यो त्यतिबेला हामी नयाँ कुरा भेट्छौँ।"
यो जीवबारे वर्णन गरिएको एउट शोधपत्र 'अर्थ एन्ड इन्भाइरन्मेन्टल साइअन्सः ट्रयान्ज्याक्शन्स अफ दि रोयल सोसाइटी अफ एडिन्बरा' जर्नलमा भर्खरै प्रकाशित भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।