करोडौँ वर्षअघि डाइनसोर लोप हुनेगरी महाप्रलय हुँदा 'एउटाभन्दा बढी क्षुद्रग्रह पृथ्वीमा बज्रिएको हुनसक्छ'

    • Author, जोनाथन एमोस
    • Role, बीबीसी विज्ञान संवाददाता

छ करोड ६० लाख वर्षअघि एउटा क्षुद्रग्रह अहिले गल्फ अब मेक्सिको भनिने स्थानमा बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप हुन पुगेको थियो।

के त्यति बेला अर्को क्षुद्रग्रह पनि खसेको थियो?

के त्यो भयानक दिनमा आकाशबाट एकभन्दा बढी ठूला पत्थरहरू पृथ्वीमा खसेका थिए?

आन्ध्र महासागरको अर्को छेउमा त्यही समयमा खगोलीय पिण्ड बज्रिँदा बनेको जस्तो देखिने अर्को एउटा विशाल खाल्डो फेला परेपछि यी प्रश्नहरू उठेका हुन्।

यो खाल्डो मेक्सिकोको चिक्शूलूबस्थित खाल्डो जत्रो ठूलो त छैन, तर पनि यसले कुनै विनाशकारी घटना भएको सङ्केत दिन्छ।

प्रमाण

नेडिअर क्र्याटर नाम दिइएको उक्त खाल्डो समुद्रको पीँधभन्दा ३०० मिटर तल छ।

उक्त स्थान पश्चिम अफ्रिका गिनीको तटीय क्षेत्रबाट झन्डै ४०० किलोमिटर पर समुद्रमा छ।

यो खाडलको व्यास ८.५ किलोमिटर भएका आधारमा त्यहाँ बज्रिएको क्षुद्रग्रह ५०० मिटर जति चौडा भएको अनुमान गर्न सकिन्छ।

यो लुकेको खण्डको पहिचान एडिन्बरास्थित हेरिअट-वाट यूनिभर्सिटीका वैज्ञानिक अइस्डेन निकोल्सनलेगरेका हुन्।

उनले विगतमा पृथ्वीमा भएको जलवायु परिवर्तनलाई अझ राम्ररी बुझ्न उनले भूकम्पीय सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेका छन्।

अध्ययन

त्यस्ता सर्वेक्षणहरू प्रायः तेल र प्राकृतिक ग्यासको खोजी गर्न ड्रिल गर्नुअघि गरिन्छ।

त्यस प्रकृतिको सर्वेक्षणमा भूमिमुनि भएको चट्टान र थिगरका विभिन्न तहको अभिलेख राखिन्छ।

अनि ड्रिल कैयौँ किलोमिटर तलसम्म गरिन्छ।

"यी अध्ययनहरू पृथ्वीको अल्ट्रासाउन्ड गरे जस्तै हुन्। मैले झन्डै २० वर्ष त्यसको विश्लेषण गर्न व्यतीत गरेको छु, तर यसअघि यस्तो कहिल्यै देखेको थिइनँ," उनले बीबीसी न्यूजसँग भने।

"नेडिअर क्र्याटरको आकार क्षुद्रग्रह बज्रिँदा बनेको प्रमाण हो। यसको केही उठेको डिलले बीचमा रहेको उच्च भाग र त्यसपछि बाहिरपट्टि थुप्रिएका भग्नावशेषका तहहरूलाई घेर्छ।"

चिक्शूलूब क्र्याटर बनाउने क्षुद्रग्रह १२ किलोमिटर चौडा रहेको अनुमान गरिएको छ।

त्यसले २०० किलोमिटर चौडा खाडल बनायो। त्यस क्रममा ठूलो भूकम्प र सुनामी मात्र हैन विश्वभरि आगोको ज्वालायुक्त आँधी फैलियो।

पृथ्वीबाट धेरै धूलो उडेर आकाशमा पुग्दा पृथ्वीमा अन्धकार र कठ्याङ्ग्रिदो जाडो भएको थियो।

डाइनसोरहरूले यो परिवर्तन सहन सकेनन्।

मिल्दोजुल्दो प्रभाव

तुलना गर्दा नेडिअर क्र्याटर बन्नेगरी क्षुद्रग्रह बज्रिँदा निकै ठूलो प्रभाव परेको हुनसक्छ।

"हाम्रा सिम्यूलेशनहरूले ४०० मिटर फराकिलो क्षुद्रग्रह ५००-८०० मिटर पानीमा ठोकिँदा यो खाडल बनेको सङ्केत गर्छन्," अमेरिकाको यूनिभर्सिटी अफ एरिजोनाकी डा. भेरोनिका ब्रेले बताइन्।

"यसले एक किलोमिटर अग्लो सुनामी र ६.५ म्याग्निट्यूडको भूकम्प उत्पन्न गरेको हुनसक्छ।"

"त्यस बेला निष्काशित ऊर्जा सन् २०२२ को ज्यानुअरीमा टोङ्गामा सुनामी आउनेगरी ज्वालामुखी विस्फोटन हुँदाको भन्दा झन्डै १,००० गुना बढी हुन्छ।"

चिक्शूलूब क्र्याटरः डाइनसोरको अन्त्य

  • एउटा १२ किलोमिटर फराकिलो पिण्डले पृथ्वीमा १०० किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाल्डो पारिदियो
  • कचौरा आकृतिको उक्त खाल्डो भत्कियो अनि २०० किलोमिटर फराकिलो र केही किलोमिटर गहिरो खाडल बाँकी रह्यो
  • खाडलको केन्द्र पुन: पुरानै स्थानमा फर्किएर फेरि नष्ट हुँदा एउटा भित्री घेरा बन्यो
  • अहिले पनि उक्त खाडलको अधिकांश भाग तटीय क्षेत्रबाहिर झन्डै ६०० मिटरमुनि पुरिएको छ
  • जमिनमा भएको भाग चुनढुङ्गाले छोपिएको छ र पानीले खिइएर चट्टानमा बनेका प्वालहरूले बाह्य भाग चिनाउँछन्

ती दुई पिण्ड खसेको घटनालाई सँगै राख्दा डा. निकोल्सनको टोली निकै सावधान हुनुपर्छ।

ड्रिल गरेर बनाइएको प्वालबाट निकालिएको जीवाश्मको समीक्षाका आधारमा नेडिअर र चिक्शूलूब खाडलहरू उही समयका भएको अनुमान गरिएको हो।

ती जीवाश्मको कालगणना पहिला नै गरिसकिएको थियो।

तर ठोकुवा गरेर भन्नका लागिउक्त खाडलमा भएका पत्थर झिकेर अध्ययन हुनुपर्छ।

त्यसले नेडिअर प्राचीन ज्वालामुखीका कारण नभई क्षुद्रग्रह बज्रिएर बनेको खाडल हो भन्ने पुष्टि गर्न सक्छ।

पृथ्वीमा आकाशबाट विशाल चट्टानहरू बज्रिएका थिए भन्ने धारणानयाँ भने हैन।

युक्रेनमा फेला परेको बोल्टिश क्र्याटरर चिक्शूलूब क्र्याटर बन्न पुगेको घटनाको कुनै न कुनै सम्बन्ध भएको अनुमान गरिएको छ। तिनको समय पनि खासै फरक देखिँदैन।

चिक्शूलूब क्र्याटरमा भर्खरै ड्रिल गरेर गरिएको अध्ययनकोसहनेतृत्व गरेका वैज्ञानिक प्राध्यापकशन गुलिकका अनुसार नेडिअरमा पनि क्षुद्रग्रह एकैदिन बज्रिएको हुनसक्छ। अथवा मेक्सिकोमा भएको प्रलयको १० वा २० लाख वर्षअघि वा पछिनेडिअर क्षुद्रग्रह पृथ्वीमा खसेकोहुनसक्छ।

गुलिक अस्टिनस्थित यूनिभर्सटी अफ टेक्सससँग आबद्ध छन्।

वैज्ञानिकहरूले पश्चिम अफ्रिकास्थित उक्त खाडलबाट सङ्कलित चट्टानहरूको प्रयोगशालामा अध्ययन गरेपछि मात्र यसबारे स्पष्ट कुरा भन्न सक्छन्।

उनका अनुसार निकै सानो क्षुद्रग्रहको प्रभावका कारण उत्पन्न परिस्थितिबाट हामीलाई डाइनसोर लोप भएकोबारे थाहा भएको कुरामा खासै केही थपिँदैन। "तर यसले चिक्शूलूबमा भएको खगोलीय घटनाबारे हाम्रो ज्ञान बढाइदिन्छ।"

"के यो निकै टुक्रा भएको एउटाठूलो पिण्डको अंश थियो? के चिक्शूलूब दुइटा क्षुद्रग्रह थियो जसमा सानो पिण्डले ठूलोको परिक्रमा गर्थ्यो?"

"उत्तर खोज्नका लागि यस्ता रोचक प्रश्नहरू छन्," उनले भने।

नेडिअर क्र्याटरसम्बन्धी एउटा शोध साइअन्स अड्भान्सिस नामक वैज्ञानिक जर्नलमा यही महिना प्रकाशित भएको छ।