मानव उत्पत्तिः '६० लाख वर्ष पुरानो' ट्रेकिलोस पदचिह्न जसले विद्यमान मान्यतालाई चुनौती दिन्छ

    • Author, फर्नान्डो डोर्टी
    • Role, बीबीसी विश्व सेवा

ग्रीसको एउटा टापुमा संयोगवश फेला परेका पदचिह्नहरू अहिलेसम्म भेटिएकामध्ये मानव पैतालाका डोबमध्ये सबैभन्दा प्राचीन भएको दाबी गरिएको छ।

क्रीटद्वीपमा भेटिएका ती चिह्नहरूले मानव उत्पत्तिबारे रोचक प्रश्न तथा नयाँ विवाद उत्पन्न गराइदिएका छन्।

ट्रेकिलोस पदचिह्न भनेर चिनिने ती डोबहरू सन् २००२ मा एक पोलिश जीवाश्मवैज्ञानिकले फेला पारेका थिए।

एउटा नयाँ अध्ययनले ती चिह्न नै आधुनिक मानवजातिका पुर्खाका त्यस किसिमका प्राचीनतम प्रमाण भएको दाबी गरेको छ।

एउटा अन्तर्राष्ट्रिय समूहले अक्टोबर १० मा साइन्टिफिक रिपोर्टर जर्नलमा प्रकाशित गरेको शोधले अहिलेका मानवजातिका पुर्खा सबैभन्दा पहिले अफ्रिकामा देखिएको भन्ने धेरैले स्वीकार गरेको सिद्धान्तलाई पनि चुनौती दिएको छ।

अफ्रिकाबाहिर मानवजाति

अधिकांश जीवाश्मविज्ञहरू मानवजातिको उद्गमस्थल अफ्रिका नै भएको सिद्धान्तमा विश्वास गर्छन्।

यो सिद्धान्तअनुसार २० लाख वर्षअघि विश्वका अरू ठाउँतिर बसाइँ सर्नुअघि अफ्रिकामा मानवजातिको उत्पत्ति भएको थियो।

तर स्वीडनका अध्येता पर अल्वर्गले नेतृत्व गरेको अनुसन्धाताहरूको समूहले मानव उत्पत्तिको उक्त कालगणनालाई चुनौती दिएका छन्। ट्रेकिलोस पदचिह्न ६० लाख वर्ष पुरानो भएको उनको दाबी छ।

उठेर हिँड्ने मानवजातिका जस्ता पदचिह्नहरू सन् १९७६ मा तान्जानियामा फेला परेका थिए। तिनलाई नै यसअघिसम्म मानवजातिको सबैभन्दा पुरानो पदचिह्न मानिएको थियो।

तर अहिलेको अध्ययनले ग्रीसमा भेटिएका पदचिह्नहरू अझ पुराना भएको सङ्केत गर्छ।

अफ्रिकामा भएका अन्वेषणहरूलाई मानवजातिको पारिवारिक वंशवृक्ष निर्क्योल गर्न महत्त्वपूर्ण मानिन्छ।

मानव पदचिह्नबाहेक विगत १०० वर्षमा अफ्रिकामा मानवपूर्वका जीवाश्महरू पनि भेटिएका छन्। अफ्रिकामा ७० लाख वर्षपहिले अस्तित्वमा रहेको होमिनिन प्राक्मानवको सबैभन्दा पुरानो प्रजाति साहिलएन्थ्रोपसको खप्पर पनि भेटिएको छ।

तर अफ्रिकाको तुलनामा युरोपमा त्यस्ता अस्थियुक्त जीवाश्महरू धेरै कम भेटिएका छन्।

क्रीटद्वीपमा कसले छोड्यो पदचिह्न?

पर अल्वर्गको समूहले सन् २०१७ मा ट्रेकिलोस पदचिह्नबारे पहिलो शोध प्रकाशित गरेको थियो। तर यसै महिना भएको भूवैज्ञानिक विश्लेषणहरूले यसको मिति अझै पुरानो भएको स्थापित गरिदियो। यसअघि ५७ लाख वर्ष पुरानो भनिएका यी डोबहरू अब ६० लाख पाँच हजार वर्ष पुरानो भएका दाबी गरिएको छ।

मूल अनुसन्धानमा अल्वर्गको समूहले प्राक्मानवको उक्त पदचिह्नमा खुट्टाको बूढीऔँला र अन्य औँलाबीचको दूरी नरवानर प्रजातिका चिम्पान्जी र गोरिल्लामा हुनेभन्दा कम रहेको उल्लेख गरेको थियो।

"मानिसबाहेकका अन्य जातिका नरवानरका पदचिह्नमा निकै फरक देखिन्छ। उनीहरूका खुट्टा मानिसको हातसँग धेरै मिल्दाजुल्दा हुन्छन्। बूढीऔँला अलि पछाडि हुन्छ र छेउमा टाँसिएको हुन्छ," उनले बीबीसीसँग भने।

"अरूसँग तुलना गर्दा हाम्रा खुट्टाका बूढीऔँला लामो पैतालाकै लहरमा हुन्छन्, एकतिरबाट बाहिर निस्किएका हुँदैनन्।"

तर यो अध्ययनको निष्कर्षप्रति अरू जीवाश्मविज्ञहरूले संशय व्यक्त गरेका छन्।

आलोचकहरूले चिह्नहरूको विश्लेषणमा प्रयोग गरिएको विधिबारे प्रश्न गरेका छन् भने केहीले ती वास्तविक पदचिह्न भएकोमै भिन्न मत राखेका छन्।

यूकेको बर्नमथ यूनिभर्सिटीमा प्राध्यापन गर्ने वरिष्ठ पदचिह्नविज्ञ म्याथ्यू बेनेट पनि ग्रीसमा पाइएका चिन्हहरूको अध्ययनमा सहभागी थिए। उनले आफ्नो मूल्याङ्कनबारे सजग भएको बताएका छन्।

"यी निकै रोचक जीवाश्म पदचिह्न हुन्। कुनै दुईखुट्टे जीवका पनि हुन सक्छन् र कतिपय बाँदरका पनि हुन सक्छन्," बेनेटले बीबीसीसँग भने।

"यदि यी मानववंशकै रहेछन् भने त्यसमा अर्को कथा हुन्छ।"

बेनेटको दोधार बुझ्न हामीले युरोपमा प्राक्मानवका जीवाश्म नभेटिएको कुरा स्मरण गर्नुपर्ने हुन्छ।

मानव विकासको समयक्रम सामान्य विषय पनि हैन।

जीवाश्मविज्ञहरूका अनुसार ओराङ्उटन, गोरिल्ला, चिम्पान्जी र मानवजस्ता नरवानर समूहका जीवहरूको माईअसीन भनिने २.३ करोडदेखि ५० लाख वर्षअघिसम्मको मध्य-नवयुगमा उत्पत्ति र विविधता आएको हो।

तर उनीहरूबाट मानवजाति कहिले भिन्न भयो भन्नेमा अझैसम्म एकमत छैन।

वैज्ञानिकहरूले मनुष्यबाहेक अन्य ठूला नरवानरहरू युरोपमा पनि अस्तित्व रहेको प्रमाण फेला पारेका छन्। त्यसैले क्रीटद्वीपमा भेटिएको पदचिह्न तिनै जीवको हुनसक्ने यूकेको यूनिभर्सिटी अफ लिभरपुलका मानवशास्त्र तथा जीवशास्त्रविज्ञ रोबिन क्रोम्टन बताउँछन्।

"ती डोबहरू निस्सन्देह प्राक्मानवका हुन सक्छन् अनि यो पक्कै पनि उत्साहप्रद कुरा हो। तथापि एउटा ठूलो प्रश्नचिह्न छ जसलाई थप अनुसन्धान र खोजले मात्र सम्बोधन गर्न सक्छ।"

अर्को शब्दमा भन्नुपर्दा युरोपका अन्य ठाउँमा थप अस्थि र पदचिह्न भेटिनुपर्छ।

ट्रेकिलोस पदचिह्न कति महत्त्वपूर्ण

अल्वर्ग "होमो सेपीअन्स" भनिने अहिले अस्तित्वमा रहेको आधुनिक मानव प्रजाति सबैभन्दा पहिले तीन लाख वर्षअघि अफ्रिकामा देखा परेकोमा कुनै प्रश्न नरहेको स्वीकार्छन्।

तर उनको रुचि हाम्रो इतिहासको अझै अघिल्लो समयमा छ।

"होमो सेपीअन्सबारे व्यवस्थित अभिलेखहरू पाइन्छन्। तर यहाँ प्रश्न त्योभन्दा अगाडिका मानव प्रजातिहरू अफ्रिकाबाटै उत्पत्ति भएका हुन् वा होइनन् भन्ने हो," उनले भने।

"पक्कै पनि त्यो नहुन सक्छ। किनभने हाम्रो अनुसन्धानले मानवका पुर्खाहरू दक्षिणी युरोप र पूर्वी अफ्रिकामा पनि भौँतारिएका थिए भन्ने देखाउँछ।"

मानव प्रजातिको उत्पत्ति अफ्रिकाबाहिर भएको अवधारणमा अल्बर्गको पनि विश्वास छैन।

तर उनी हाम्रा पुर्खाहरू हामीले ठानिरहेकोभन्दा धेरै अघि अफ्रिकाबाहिर युरोपमा पुगेको हुनसक्ने बताउँछन्।

"हामी सबैले भन्दै आएको के हो भने यी मानव प्रजातिहरू परिभ्रमण गरेको क्षेत्र मानिसहरूले अहिले सोचिरहेको भन्दा बृहत् हुनसक्छ," उनको दाबी छ।

ट्रेकिलोस पदचिह्नबारे पहिलो अनुसन्धान छापिएकै वर्ष सन् २०१७ मा जर्मनीको ट्युबिङ्गन विश्वविद्यालयमा कार्यरत जीवाश्मविज्ञ माडेलाइन बोम चर्चामा आएकी थिइन्।

उनले मानव र चिम्पान्जीबीचको सबैभन्दा निकटतम साझा पुर्खा अफ्रिकामा नभई युरोपमा पाइएको घोषणा गरिन्।

उनीसहित शोधकर्ताहरूको समूहले सीधा हिँड्ने सबैभन्दा पहिलो मानवपुर्खा भनिएको साहेलएन्थ्रोपसभन्दा पनि पुरानो ग्रेकोपिथेकस दक्षिणपूर्वी युरोपको बाल्कन क्षेत्रमा ७१ देखि ७२ लाख वर्षपहिले रहेको दाबी गरेको थियो।

अहिलेसम्म पनि ग्रेकोपिथेकसका अवशेषहरू ग्रीसको क्रीटद्वीपनजिकै पाइने बताइन्छ।

"हाम्रो अनुसन्धानले ५० लाख वर्षयता भएको मानव विकासक्रमलाई चुनौती दिँदैन। तर त्यसभन्दा अघिको समयबारे बोल्छ," अध्येता बोम भन्छिन्।

आशङ्का र विज्ञान

ट्रेकिलोस पदचिह्नले सिर्जना गरेको विवादले वैज्ञानिकहरूले पुराना अवधारणाहरू कसरी सामना गर्छन् भन्नेबारे पनि प्रश्न उठेको छ।

ट्रेकिलोस पदचिह्नबारे आफ्नो फरक मत भए पनि अध्येता रोबिन क्रोम्टन आफ्ना सहकर्मीहरूले त्यसलाई सीधै प्राक्मानव प्रजातिको पदचाप भएको अस्वीकार गर्दा मानव उत्पत्तिबारेको अध्ययनमा सहयोग नपुग्ने बताउँछन्।

"केवल खण्डन गरेर मात्रा हुँदैन, तिनको अनुसन्धान हुनुपर्छ। वैज्ञानिकहरू पनि यसका लागि तयार हुनुपर्छ," उनी भन्छन्।

माडेलाइन बोम पनि यसमा सहमत छिन्। उनी मानव प्रजातिको उत्पत्तिबारेका सिद्धान्तमा ठूलो परिवर्तन आएको बताउँछिन्।

सन् १९२४ मा दक्षिण अफ्रिकामा भेटिएको २८ लाख वर्षअघि अस्तित्वमा रहेको भनिएको टाउङ चाइल्ड भनिने बच्चाको अवशेषका आधारमा निर्मित "अफ्रिका सिद्धान्त" पनि केही समयसम्म सर्वस्वीकार्य भएको थिएन।

"इतिहासमा यस्तो पनि समय थियो जतिबेला मानवजाति अफ्रिकामा मात्रै नभएर विश्वका विभिन्न भागमा उत्पत्ति भएका थिए," बोम भन्छिन्।

उनका अनुसार आशङ्का बिनाको विज्ञान राम्रो मानिँदैन। "मानिसहरू तर्कहरूका लागि सधैँ तयार हुनुपर्छ। हो हामीले अझै अन्वेषणहरू गर्न आवश्यक छ, तर सहकर्मीहरूले हाम्रो अन्वेषणलाई सजिलै खण्डन गर्नु चाहिँ पूरै फरक कुरा हो।"

पर अल्बर्ग पनि सहकर्मीहरूबाट आफ्नो निष्कर्षलाई "असामान्य" भनेर पन्छाउन खोजिएकोमा असन्तुष्ट छन्।

"अब मलाई जीवाश्मविज्ञहरूको समुदायले के भन्छ भन्ने कुराले अर्थ राख्दैन। हामीले प्रमाण पेस गरेका छौँ र हाम्रो कुरा उठाएका छौँ। मानिसहरूको अविश्वाससँग लड्न चाहिँ दिक्क लाग्ने कुरा रहेछ," उनी थप्छन्।

चोरी

ट्रेकिलोस पदचापले वैज्ञानिक समुदायबाहिरका मानिसमा पनि उत्सुकता पैदा गरेको छ।

सन् २०१७ मा ट्रेकिलोस पदचिह्न भेटिएको घोषणा भएको केही सातामै आठवटा त्यस्ता चिह्नहरू चट्टान खोपेर चोरिएका थिए।

ग्रीक प्रहरीले एक स्थानीय विद्यालयका शिक्षकलाई पक्राउ गरेर ती जीवाश्म बरामद गरेको थियो।