यस्तो देश जहाँ मासुभन्दा प्याज महँगो छ

    • Author, कमिला भेरास मोटा
    • Role, बीबीसी न्यूज ब्रजिल

विश्वका कैयौँ देशमा प्याज एउटा आधारभूत खाद्यपदार्थ हो भने मासु विलासी। तर फिलिपिन्सको कथा भने अलि फरक छ। त्यहाँ प्याज मासुभन्दा निकै महँगो छ।

केही एशियाली देशमा सन् १५२१ देखि १९९८ सम्म स्पेनको अधीनमा रहँदादेखि नै खानामा प्याज र लसुन प्रयोग गर्ने बानी परेको थियो र यसले एशियाली परिकारमा व्यापक प्रभाव पार्‍यो।

तर झन्डै एक महिनाको अवधिमा फिलिपिन्सका सर्वसाधारणका लागि प्याज एक विलासी खाद्यवस्तु बन्न पुगेको छ। मूल्य बढेर प्याज कुनै पनि प्रकारको मासुभन्दा महँगो हुन पुगेको छ।

चार डलर (हालको विनिमयदरअनुसार ५२१.३६ रुपैयाँ) मा कुखुराको मासु पाइने फिलिपिन्समा यो साता एक किलो रातो अनि सेतो प्याजको मूल्य ११ डलर (१,४३३.७५ रुपैयाँ) सम्म पुगेको छ।

त्यो मूल्य फिलिपिनोहरूको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो। फिलिपिन्समा अहिले दैनिक ज्याला झन्डै नौ डलर छ (१,१५० रुपैयाँ) भन्दा केही बढी छ।

मूल्य बढेसँगै सरकारी निकायहरूले गैरकानुनी रूपमा आयात गरिएको प्याज नियन्त्रणमा लिन थालेका छन्।

ज्यानुअरीमा लुगा भनेर चीनबाट ३,१०,००० डलर बराबरको प्याज आयात गर्ने प्रयास विफल पारिएको थियो।

सामाजिक सञ्जालमा फिलिपिनोहरूले सरकारको आलोचना गरिरहेका छन्। अहिलेको अवस्था उत्पन्न हुनुमा सरकारको पनि दोष रहेको धेरैको बुझाइ छ।

“गुडबाई चकलेट, हेलो प्याज! फिलिपिन्समा ल्याउने सबैभन्दा उत्तम उपहार बन्ने सम्भावना प्याजको छ।” अमेरिकामा बस्ने फिलिपिन्सका एक नागरिकले ट्विटरमा लेखेका छन्।

“साउदी अरबबाट फर्कँदा चकलेटको सट्टा हामी प्याज ल्याउँदै छौँ,” अर्का प्रयोगकर्ताले लेखेका छन्।

अमेरिका भ्रमणमा रहेका अर्का एक प्रयोगकर्ताले प्याजको धुलो भरिएको बट्टाको तस्बिर पोस्ट गरेका छन्।

फिलिपिन्समा प्याज महँगो हुनुको कारण के हो ?

निकोलस मापाका अनुसार यसका दुई प्रमुख कारण छन्।

गत अगस्टमा कृषि विभागले गरेको प्रक्षेपणले प्याजको उत्पादन माग भन्दा घट्ने सङ्केत गरेको थियो।तर उत्पादनको स्थिति भने अपेक्षा गरिए भन्दा पनि कम रह्यो।

अगस्ट र सेप्टेम्बरको बीचमा आएको समुद्री आँधीका कारण फिलिपिन्समा व्यापक प्रभाव पर्‍यो।

“दुर्भाग्यवश मूल्य बढिसकेपछि प्याजको आयात ढिलो गरी सुरु भयो, फेब्रुअरी महिनामा प्याज टिप्ने बेला हुन्छ,” ती अर्थशास्त्रीले भने।

अवस्था सामान्य बनाउँदै मूल्य नियन्त्रण गर्नका लागि सरकारले ज्यानुअरीको पहिलो साता दुई करोड २० लाख टन प्याज आयात गर्न स्वीकृति दिएको थियो।

कृषि विभागका सल्लाहकार समेत रहिसकेका फर्मिन एड्रियानोजस्ता केही विज्ञका अनुसार यो अहिलेको प्रशासनको गम्भीर असफलता हो।

उनको विचारमा सरकारले स्वदेशी उत्पादन कम हुने थाहा पाएकाले कम्तीमा पनि अपेक्षित मागको आपूर्ति मिलाउन पर्याप्त आयात गर्न आदेश दिनुपर्थ्यो।

“फिलिपिन्समा सुनजत्तिकै महँगो भएकाले म यो खरिद गरेर उपहारका रूपमा घर लान चाहन्थेँ। म पाँचवटा सुपरमार्केट पुगेको भए पनि कहीँ पनि पाउन सकिनँ। मैले सुपर मार्केटमा काम गर्ने एक महिलालाई किन यस्तो भएको हो भनेर सोधेँ र उनले भनिन् ‘फिलिपिनो पर्यटकहरूले सबै खरिद गरे’,” ती प्रयोगकर्ताले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्।

राजधानी मनिलामा बस्ने आईएनजी ब्याङ्कका एक वरिष्ठ अर्थशास्त्री निकोलस मापाका अनुसार केही रेस्टुराँहरूले प्याज हाल्नुपर्ने परिकार नै बेच्न छोडेका छन् भने केही स्थानमा बर्गरमा गोलो गरी काटेर राखिने प्याजको टुक्रा समेत हराएका छन्।

“उनीहरूले परिकारको उचित मूल्य तोक्न सक्दैनन् वा प्याज नै पाउन सक्दैनन्,” इमेलमार्फत् उनले बीबीसीलाई भने। केही व्यवसायीले त विकल्पको खोजी गरिरहेका छन्।

फिलिपिन्सको परिकार जोगाउने अभियानका संस्थापक पाक्शास्त्री ज्याम मेल्करले प्याज प्रतिस्थापन गर्न खोजिरहेका छन्।

उनले सानो आकार हुने प्याजको एउटा प्रकारको सहारा लिएका छन् जसको स्वाद प्याजभन्दा फरक हुन्छ।

“यो परिस्थितिबाट सर्वसाधारण मानिस र व्यवसायी दुवै पीडित छन्। प्याजको हालको मूल्य निकै बढी छ। जसकारण हामीले उपलब्ध विकल्पहरूको सकेसम्म धेरै प्रयोग गर्ने प्रयास गरिरहेका छौँ,” उनले बीबीसीलाई भने।

“स्थानीय परिकारका लागि प्याज अत्यन्तै महत्त्वपूर्ण छ। यो लगभग हामीले तयार पार्ने सबै परिकारमा प्रयोग हुन्छ। सबै फिलिपिनो खानाका लागि यो महत्त्वपूर्ण कुरा हो,” मेल्करले थपे।

बोङ्बोङ व्यवस्थापन

सामाजिक सञ्जालमा केही फिलिपिनोहरूले कृषिक्षेत्रको अव्यवस्थित व्यवस्थापन र गत वर्ष फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति निर्वाचित भएपछि उनले आफूसँग अनुभव नभए पनि कृषि मन्त्रालयको नेतृत्व आफैँले गर्नुबीच सम्बन्ध रहेको टिप्पणी गरेका छन्।

बोङ्बोङ उपनामबाट समेत चिनिने उनी पूर्वतानाशाह फर्डिनान्ड मार्कोसका छोरा हुन्। उनका पिताले सन् १९७० देखि ८०को दशकमा क्रूर शासनको नेतृत्व गरेका थिए। आन्दोलनपछि उनको सरकार ढलेपछि परिवारसहित सन् १९८६मा उनी देश छाडेर अन्यत्रै गएका थिए।

सन् १९९१ मा बोङ्बोङ स्वदेश फर्किए र राजनीतिमा सक्रिय भए।राष्ट्रपति निर्वाचित हुनुअघि उनी गभर्नर र सांसद पनि भइसकेका थिए।

मार्कोसको चुनावी अभियानमा तानाशाही शासन “स्वर्णयुग” रहेको भन्ने भनाइको प्रचार गरिएको थियो।

अहिले त्यो अभिव्यक्ति सामाजिक सञ्जालमा खिस्सीटिउरीको विषय बनेको छ।सामाजिक सञ्जालमा धेरैले ती नेताले “सुन” भन्नुको अर्थ खास प्याजको मूल्य रहेको भन्दै कटाक्ष गरिरहेका छन्। 

विश्वमा तेस्रो धेरै उत्पादन हुने तरकारी

राबोब्याङ्कमा फलफूल तथा तरकारीबारे विश्लेषण गर्ने सिन्डी भन रिज्विक परम्परागत रूपमै फिलिपिन्स प्याज आयात गर्ने मुलुक रहेको बताउँछिन। त्यहाँ उत्पादन हुने प्याज उपोभक्तालाई पुग्दैन, त्यसैले आयात हुन्छ।

तर त्यहाँको माग घटबढ भइरहन्छ।सन् २०११ मा जम्मा ५० लाख किलो प्याजको माग रहेकोमा सन् २०१६ मा १३ करोड २० लाख केजी पुगेको उनी बताउँछिन्।

“मूल्य र उपलब्धताको आधारमा देशमा भारत, चीन र द नेदरल्यान्ड्सबाट प्याज खरिद गरिन्छ,” उनले भनिन्।

त्यसको एउटा कारण फिलिपिन्समा उत्पादन हुने अधिकांश प्याज त्यहाँको मौसमी अवस्थाका कारण धेरै लामो समयसम्म भण्डारण गरेर प्रयोग गर्न नसकिनु हो।

भन रिज्विकका अनुसार यो युरोपको उत्तरी भेग र उत्तर अमेरिकाका केही क्षेत्रको अवस्थाभन्दा फरक हो जहाँ राम्रोसँग राख्न सके प्याज एक वर्षसम्म भण्डारण गर्न सकिन्छ।

"विश्वका धेरैजसो भागहरूमा प्याज सबैभन्दा बढी खपत हुने तीन तरकारीमध्ये एक हो। त्यसैले प्याज मात्राको हिसाबले विश्वको तेस्रो सबैभन्दा धेरै उत्पादन हुने तरकारी पनि हो। प्याजभन्दा बढी उत्पादन हुने तरकारीमा टमाटर र काँक्रो पर्छन्।"

अन्यत्र पनि बढेको छ प्याजको मूल्य

कम अनुपातमा भए पनि प्याजको मूल्य विभिन्न देशहरूमा बढेको छ।

त्यसको एउटा उदाहरण ब्रजिल पनि हो जहाँ सन् २०२२मा मूल्य १३०.१४ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाउँछ।

प्याजको मूल्य बढ्नुको कारणमा खेती हुने जमिन घट्दै जानु र युक्रेनमाथिको रुसी आक्रमण अनि अन्तर्राष्ट्रिय स्तरमै विनिमयदरमा देखिएको प्रभावले गर्दा मल र कीटनाशक औषधि महँगो हुँदा उत्पादन लागत बढ्नु पनि हो।