फिलिपिन्स: विद्यार्थीले लगाएका ‘चिट प्रतिरोधी’ टोपी किन भाइरल भइरहेको छ

फिलिपिन्समा कलेज परीक्षाको समयमा विद्यार्थीहरूले 'चिट प्रतिरोधी टोपी' लगाएको भनिएका तस्बिरहरू भाइरल भएका छन्।

लेगाज्पी सहरको एउटा कलेजका विद्यार्थीहरूलाई अरूको उत्तर पुस्तिकामा चियाउन नमिल्ने गरी टाउको ढाक्ने खालको कुनै सामग्री लगाउन भनिएको थियो।

धेरै जनाले घरेलु सामानहरूको प्रयोग गर्दै कार्डबोर्ड, अण्डाको बाकस र अरू नवीकरणीय सामग्री प्रयोग गरेर टोपी बनाएका थिए।

उनीहरूकी शिक्षिकाले आफ्नो कक्षामा 'सदाचार र इमानदारी' सुनिश्चित गर्न 'मनोरञ्जनात्मक उपाय' आफूले खोजी रहेको बताएकी छन्।

बिकोल कलेज अफ इन्जिनिअरिङकी मेकानिकल इन्जिनियर विषयकी प्राध्यापक मेरी जोय मानडेन ओर्टिजले उक्त अवधारणा 'ज्यादै प्रभावकारी' भएको बताइन्।

कस्ता प्रतिक्रिया र परिणाम आयो

उक्त व्यवस्था हालैको मध्यकालीन परीक्षामा लागू गरिएको थियो जसमा सयौँ विद्यार्थीहरू सहभागी थिए।

प्राध्यापक मानडेनले आफूले विद्यार्थीहरूलाई कागजबाट एउटा 'साधारण' डिजाइन बनाउन भनेको बताइन्।

उनी केही वर्ष पहिले थाइल्यान्डमा अपनाइएको एउटा उपायबाट प्रेरित भएकी थिइन्।

सन् २०१३ मा ब्याङ्ककमा विद्यार्थीहरूले आफ्नो टाउकोको दुवै दिशामा कागजहरू जोडेर परीक्षा दिइरहेको जस्तो देखाउने तस्बिर भाइरल भएको थियो।

प्राध्यापक मानडेन ओर्टिजले तालिम गरिरहेका आफ्ना इन्जिनियरहरूले उक्त अवधारणा स्वीकार गर्दै कतिपय अवस्थामा जम्मा पाँच मिनेटभित्रै टाउको छोक्ने नवीन खालको सामग्री काम नलाग्ने वस्तुहरूबाट तयार पारेको बताइन्।

परीक्षामा कतिपयले टोपी, हेलमेट र हेलोइन मास्क समेत लगाएका थिए।

प्राध्यापकहरूले युवा विद्यार्थीहरूले त्यसरी परीक्षा दिइरहेको तस्बिर राखेपछि त्यो केही दिनमै भाइरल भएको थियो र त्यसबारे फिलिपिनो सञ्चारमाध्यमहरूले पनि खबरहरू प्रकाशित गरेका थिए।

उनीहरूले देशभित्रका अन्य विद्यालय र विश्वविद्यालयका विद्यार्थीलाई पनि परीक्षामा चिट रोक्ने त्यस्ता सामाग्री प्रयोग गर्न प्रोत्साहन गरेको ठानिएको छ।

प्राध्यापक मानडेन ओर्टिजले आफ्ना विद्यार्थीहरूले कडा परीक्षा भएपनि यस वर्ष राम्रो नतिजा निकालेको बताइन्।

उनका अनुसार धेरैले समय सकिनु अघि नै उत्तर पुस्तिका बुझाएका थिए भने कसैलाई पनि चिट चोरेको आरोप लागेको थिएन।