फिलिपिन्सको टाल ज्वालामुखीबाट लाभा निस्किन थालेपछि विस्फोट हुने त्रास

फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि अधिकारीहरूले "केही घण्टा वा दिनभित्र" "डरलाग्दो विस्फोटन" हुन सक्ने चेतावनी दिएका छन्।

राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमवार बिहान लाभा निस्किन थालेको थियो।

ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो।

एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ। विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको अभिलेख छ।

ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सका अनुसार स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २:४९ देखि ४:२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुग्यो।

लाभाको फोहरा निस्किँदा चट्याङ परेको र बिजुली चम्किएको उसले जनाएको छ।

तर फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पुर्‍याएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ।

अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन्।

खरानीको मुस्लो

आइतवार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो। त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो।

टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्छन्।

खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन सुझाव दिइएको छ।

मनिलामा मास्कको अभाव हुन थालेको एक स्थानीयवासीले बताए।

"म कार भएको ठाउँ पुग्दा खरानीले ढाकिएको थियो। म हतारहतार मास्क किन्न औषधिपसलमा गएँ, तर सकिएको थियो," एन्ज बाउटिस्टाले समाचारसंस्था रोएटर्सलाई बताए।

ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमान पनि प्रभावित भयो। आइतवार सबै उडानहरू स्थगित भए।

फिभोल्क्सले ज्वालामुखीबाट उडेका टुक्राटाक्री र खरानीले विमानलाई क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको थियो।

सोमवार त्यहाँको नागरिक उड्डयन निकायले केही उडान सञ्चालन गरिएको बताएको छ।

राष्ट्रपतिले मनिलामा सबै सरकारी कामकारबाही बन्द गर्न निर्देशन दिएका छन्।

त्यहाँ सबै विद्यालयहरू पनि बन्द भएका छन्।

फिलिपिन्समा भूकम्प र ज्वालामुखी असामान्य घटना हैनन्।

फिलिपिन्स रिङ अफ फायर भनिने भूकम्पीय जोखिम उच्च भएको क्षेत्रमा पर्छ।

टाल ज्वालामुखी २३० वर्ग किलोमिटर क्षेत्र भएको विशाल तालको बीचमा अवस्थित छ।

यसअघि उक्त ज्वालामुखी १९७७ मा विस्फोटन भएको थियो। सन् १९७४ मा विस्फोटन हुँदा धेरै महिना रोकिएको थिएन।

सन् १९११ मा विस्फोटन हुँदा १,५०० मानिसको मृत्यु भएको अभिलेख छ।