एनपीएल सीजन २ को अक्सनमा के छ नयाँ ?

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल प्रिमिअर लीग (एनपीएल) सीजन २ को अक्सन शनिवार हुँदैछ।

कुल ४ सय ५८ खेलाडीले नाम दर्ता गराएकोमा आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले १ सय ५० खेलाडीलाई अक्सन (लिलाम बढाबढ)मा समावेश गरेको जनाएको छ। जसबाट ३७ जना खेलाडी बिक्री हुनेछन् भने बाँकी खेलाडीहरू सीजन २ को दौडबाट बाहिरिने छन्।

केही नयाँ खेलाडीहरू र नाम चलेका केही अनुभवी खेलाडीहरूको बिक्री खुल्ला रहेकोले सीजन २ को अक्सन रोचक हुने अनुमान गरिएको छ।

केही खेलाडीमाथि फ्रेञ्चाइजका आठवटै टोलीबीच हानथाप हुने पक्का देखिन्छ।

अक्सन २ का केही नियमहरूले पनि अक्सन रोमाञ्चक र टीमबीच सन्तुलन हुने अनुमान गरिएको छ।

क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, "फ्रेञ्चाइज टोलीले बलिया खेलाडी लिन राम्रै प्रतिस्पर्धामा उत्रिने पक्का छ।"

'मिनि' अक्सन

यसपालिको अक्सन भनेको 'मिनि' अर्थात् सानो मात्रै हो। गत वर्ष एनपीएलको सीजन १ मा सहभागी ८ फ्रेञ्चाइज टोलीले आफ्ना केही खेलाडीलाई यो सीजनको लागि टोलीमा यथावत् राखेका छन्। आवश्यक नठानेका खेलाडीहरूलाई भने रिलिज गरिसकेका छन्।

टीमका लागि चाहिने बाँकी खेलाडीहरूको मात्र अहिले अक्सन हुन लागेको हो।

एनपीएलको नियम अनुसार एउटा फ्रेञ्चाइज टोलीले ९० लाख रुपैयाँको सीमाभित्र रहेर नेपाली खेलाडी खरिद गर्न पाउँछ। विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन।

अहिले मिनी अक्सनमा प्रत्येक टीमले खेलाडी 'रिटेन' (यथावत आफ्नो टोलीमा राख्दा) गर्दा लागेको खर्च बाहेक बचेको रकममा सीमित भएर अक्सनमा भाग लिनेछन्।

जस्तोकी यदि एउटा फ्रेञ्चाइज टोलीले खेलाडी 'रिटेन' गर्दा ५० लाख रुपैयाँ खर्च गरिसकेको छ भने अब उसले ४० लाख भित्र रहेर बाँकी खेलाडी किन्न पाउने क्यानका प्रवक्ता लामाले बताए।

नेपाली खेलाडी खरिदमा टोलीहरूले झन्डै साढे ७ करोड खर्च गर्ने देखिएको छ।

कुन टोलीमले कति खेलाडी लिन पाउँछन् ?

अक्सनबाट कुल ३७ खेलाडी बिक्री हुनेछन्। उनीहरूका लागि फ्रेञ्चाइज टोलीहरूले साढे ३ करोड रुपैयाँको आसपासमा खर्च गर्दैछन्।

त्यसमा सबैभन्दा बढी रकम चितवन राइनोजसँग ५८ लाख छ भने सबैभन्दा कम जनकपुर बोल्ट्ससँग ३३ लाख रुपैयाँ मात्र छ।

८ टोलीमध्ये सुदुरपश्चिम रोयल्स, चितवन राइनोज, काठमान्डू गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले ५/५ खेलाडी लिन पाउनेछन्।

त्यस्तै पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले ४/४ खेलाडी किन्ने ठाउँ खाली छ।

आकर्षक खेलाडीमा को को ?

थुप्रै खेलाडीबारे यसपालि पनि टीम मालिकबीच हानथाप हुने देखिन्छ।

त्यसमा धेरैको आँखा अलराउन्डर आदिल आलम माथि हुने कतिपयले ठानेका छन्। दुई वर्षअगाडि भएको नेपाल टी-२० लीग मा 'स्पट फिक्सिङ' प्रकरणमा फस्दा आदिलले एनपीएल सीजन १ गुमाउन पुगेका थिए।

त्यसैगरी चोटका कारण गत वर्ष नखेलेका पवन सर्राफ यसपालि क्याटगोरी ए को आकर्षक खेलाडी हुन सक्छन् भने कर्णाली याक्सले रिलिज गरेका यू १९ राष्ट्रिय टोलीका पूर्व कप्तान देव खनालमा पनि फ्रेञ्चाइज टोलीको आँखा पर्न सक्ने ठानिएको छ।

विकेटकीपर ब्याटरद्वय अर्जुन साउद र दिलीप नाथका निम्ति पनि राम्रै 'बोली' लाग्न सक्छ।

त्यसो त क्याटगोरी ए मा भेट्रान शरद भेषावकर, अलराउन्डर सुनाम गौतम र तथा बलर सूर्य तामाङ पनि छन्। तर आफ्नो बजेटभित्र रहेर खेलाडी किन्नका लागि क्याटगोरी बी र सी मा पनि टोलीको नजर हुनेछ।

जस्तो कि युवा प्रतिभाहरू बलर सन्तोष यादव, बायाँ हाते बलर दयानन्द मण्डल, निरज यादव, साहिल पटेल जस्ता खेलाडीहरू अगाडि आउने सम्भावना रहेको बताइन्छ।

त्यसो त सुनिल धमला जस्ता चलेका खेलाडीको नाम अक्सनको सूचीमा समावेश छैन। त्यसैले क्यानले अक्सनका समय केही नयाँ नामहरू थप्न सक्छ।

विराटनगर किङग्सका सीइओ दीपेन्द्र चौधरी भन्छन्, "राम्रा खेलाडीमाथि आँखा छ। हेरौँ भाग्यमा को को पर्छन्। त्यसपछि विदेशी खेलाडी किन्ने रणनीति हुने छ।"

अक्सनमा नयाँ नियम के के

यसपटक क्यानले क्याटगोरी ए मा ८ खेलाडी, बी मा ३५ र सीमा १०७ खेलाडी राखेका छन्।

धेरै जसो टोलीले ५ देखि ६ जना पुरानै खेलाडी राखेकोले अब बाँकी खेलाडीका लागि मात्र अक्सन हुँदा टोलीले जुनसुकै क्याटगोरीको खेलाडी पनि किन्न सक्ने छ। यसमा सीमा हुने छैन।

क्यान प्रवक्ता लामा भन्छन्, "जस्तोकि कुनै टीमले क्याटेगोरी ए को मात्र खेलाडी किन्छु वा बी को मात्र खेलाडी किन्छु भन्न पाउँछ। फरक यति मात्र हो कि त्यो टोलीको ९० लाख रुपैयाँको बजेटभित्र हुनुपर्‍यो।"

त्यस्तै अक्सनमा नबिकेका खेलाडी पछि 'विस लिस्ट'मा त्यही क्याटेगोरोमा 'बेस प्राइस' मा किन्न सक्नेछन्। अघिल्लो वर्ष जस्तो क्याटेगोरी फेरेर दोहोर्‍याएर अक्सनमा राखिने छैन।

एउटा टोलीमा १७ खेलाडी हुनेछन्। जसमा एक मार्की, एक स्थानीय आइकोनिक खेलाडी, १० खेलाडी अक्सनबाट र ५ विदेशी रहने छन्।

विदेशी खेलाडी कति

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले गत वर्ष टेस्ट खेल्ने चारजना खेलाडी मात्र एनपीएललाई उपलब्ध गराएको थियो।

त्यसमा जुन टीमले पहिले खरिद गर्‍यो त्यही टीमले बाजी मार्थ्यो।

यसपालि ४ खेलाडीको सीमा हटाउनका लागि पहल थालिएको क्यानका प्रवक्ता लामाले बताए। उनले भने, "पत्राचार भएको छ।"

दुई वर्षभित्र टेस्ट, एक दिवसीय वा टी २० खेलेका चार विदेशी खेलाडीबाहेक पहिले त्यस्ता खेल खेलेका विदेशी खेलाडी किन्न भने टोली स्वतन्त्र हुने छन्।

एउटा टोलीले ६ जनासम्म विदेशी किन्न पाउँछ, तर मैदानमा एक पटकमा चार विदेशी मात्र राख्न पाउने प्रावधान छ।

एनपीएलमा क्याटगोरी ए का खेलाडीको मूल्य १० देखि १५ लाख रुपैयाँ, क्याटगोरी बी को मूल्य ५ देखि १० लाख रुपैयाँ र क्याटगोरी सी को मूल्य २ देखि ५ लाख रुपैयाँ छ।

नेपालको सर्वाधिक बजेटको खेलकुद कार्यक्रम मानिएको एनपीएलको तिथि र पुरस्कार घोषणा गर्न भने बाँकी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।