नेपालको राष्ट्रिय क्रिकेट टोलीभित्रको रोचक प्रतिस्पर्धा

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

कुनै समय नेपालको राष्ट्रिय क्रिकेट टोलीमा चम्किएका कुशल मल्ल र गुलशन झा अहिले टोली बाहिरै छन्।

यता टोलीभित्र शीर्ष ११ मा पर्नका लागि प्रतिस्पर्धा अझै तीव्र बन्दै गइरहेको छ।

एक सय अन्तर्राष्ट्रिय टी-२० खेलिसकेको अनि आठ वर्ष अगाडी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको राष्ट्रिय क्रिकेट टोली अहिले बलियो स्वरूपमा आइसक्यो।

नेपाली राष्ट्रिय टोलीमा योग्य खेलाडीहरू यसअघिबाटै उत्तिकै थिए जसमा थपिएका छन् स्कटल्यान्ड भ्रमणमा उदाएका खेलाडीहरू।

त्यसका कारण शीर्ष ११ मा पर्ने प्रतिस्पर्धा रोचक बनाएको नेपाली क्रिकेट नियालिरहेकाहरू बताउँछन्।

क्रिकेट विज्ञहरू प्रतिस्पर्धा विगतमा समेत भए तापनि अहिले 'ब्याक अप'मा झन् योग्यहरू देखिँदा अब राष्ट्रिय टोली थप बलियो बनेको ठान्छन्।

अर्को वर्ष अर्थात् सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी-२० विश्वकपका लागि यो वर्ष भरी जसो नेपाली खेलाडीहरू व्यस्त हुनेछन्।

शीर्ष ११ को टक्कर त्यहाँ थप देखिनेछ।

स्कटल्यान्डमा उदाएकाहरू

स्कटल्यान्ड भ्रमणमा चार खेलाडीहरूले राष्ट्रिय टोलीमा पहिलोपटक सहभागी भएर 'डेब्यू' गरे।

त्यसमा बलिङ अलराउन्डर नन्दन यादव तथा मध्य क्रमका रुपेश सिंह र किरण ठगुन्ना हुन्।

त्यस्तै एक दिवसीयमा स्थापित भइसकेका मध्य क्रमकै भीम सार्कीले पनि टी-२० मा बल्ल डेब्यू गर्ने अवसर पाए।

यसमध्ये नन्दन यादवले आफूलाई तीव्र गतिको बलरमा राम्रो विकल्प रहेको पुष्टि गरे। विश्वकप लीग-२ को डेब्यू खेलमा नै तीन विकेट लिएर 'म्याच विनर' बनेका उनले अन्य खेलमा पनि प्रभाव जमाएको देखियो।

टी-२० मा द नेदरल्यान्डस् विरुद्धको तेस्रो सुपर ओभरसम्म पुगेको खेलमा नन्दनले नै नियमित खेल बराबरी गर्न भूमिका खेलेका थिए।

अन्तिम ओभरमा नन्दनले दुई चौका हानेपछि नेपालले द नेदरल्यान्ड्सले बनाएको १५२ रनको बराबरी स्कोर पुर्‍याएको थियो।

डेब्यू प्रतियोगितामा नै चोट बोकेर टी-२० का दुई खेल खेल्न नपाउनु चाहिँ उनको लागि दुर्भाग्य बन्यो।

रुपेश सिंह र किरण ठगुन्नाको डेब्यू भने औसत मान्न सकिन्छ।

किरणले दुई खेलमा मौका पाउँदा २५ रन मात्र जोड्न सके। किरण भन्दा बढी मौका पाएका रुपेशले भने अलिक प्रभाव जमाउने प्रयास गरेका थिए।

तर मौकाको सदुपयोग गर्ने काम भने आरिफ शेख र भीम सार्कीले गरेको देखियो।

"यिनीहरू पचास ओभरका मात्र खेलाडी हुन् टी २० का होइनन्" भन्ने नराम्रो छवि बनेपछि यी दुईले टी-२० मा मौका पाइरहेका थिएनन्।

सन् २०१८ देखि टी-२० खेल्दै आएर ४१ खेल खेलिसकेका आरिफ त पछिल्लो समयमा मौका नपाउँदा झनै दुखी थिए।

त्यसैले दुबै जना यो छवि तोड्न चाहन्थे। स्कटल्यान्डमा मौका पाएपछि दुवैले अवसरको सदुपयोग गरे।

नेदरल्यान्ड्सलाई छ विकेटले हराएको खेलमा आरिफले २३ बलमा ३९ रन जोडे भने भीम सार्कीले १६ बलमा २७ रन बनाएका थिए।

प्रतिस्पर्धामा को-को

प्रदर्शनहरू मूल्याङ्कन गरेका क्रिकेटका जानकारहरू आगामी दिनमा मध्य क्रमका खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा हुने ठान्छन्।

पक्कै पनि बायाँ हाते ब्याटर कुशल मल्लसहित चोट बोकेका गुलशन झा अब टिममा फर्किने प्रयास गर्नेछन्।

भीम सार्की र आरिफ शेख लाइनमा आइसकेका छन् भने रुपेश सिंह र किरण ठगुन्ना पनि दाबेदारीको सूचीमा हुनेछन्।

अरू खेलाडीहरू पनि छन्। पवन सर्राफ चोटबाट फर्किसकेका छन्। विवेक यादव पनि तयार छन्। तल्लो क्रममा उनले राम्रो ब्याट चलाउन सक्छन्।

यता आदिल आलम पनि फर्किसकेका छन्। उनी पनि टोलीमा फर्कने पर्खाई मा हुनेछन्। अर्जुन घर्तिमगर पनि आलमजस्तै समय कुरेर बसिरहेका छन्।

यस्तोमा टोलीका खेलाडीमा कुनै कमजोरी हुनासाथ वैकल्पिक खेलाडीहरूमाथि प्रशिक्षकले तुरुन्त विश्वास गर्न सक्नेछन्।

स्कटल्यान्ड भ्रमणमा प्रारम्भिक जोडी चिन्ताको विषय बनेको थियो। आशिफ शेख र अनिल शाहलाई पालैपालो मौका दिए पनि उनीहरूको प्रदर्शन शानदार हुन सकेको थिएन।

प्रशिक्षक स्टुअर्ट लले कुशल भुर्तेलको प्रारम्भिक जोडीको रूपमा लोकेश बमलाई पनि प्रयोग गरे। उनी पनि चलेनन्।

बसिर अहमदको प्रदर्शन पनि सामान्य नै रह्यो।

प्रशिक्षक लले आगामी दिनमा खेलिने मैत्रीपूर्ण खेलमा यी खेलाडीहरूको पनि परीक्षा लिने ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।