जेन जी आन्दोलनपछि यसपालि चाडबाडका लागि प्रहरीको फरक 'सुरक्षा रणनीति'

नेपाल प्रहरीको टोली काठमाण्डूको सिंहदरबार परिसर छेउमा प्रहरी भ्यानमा ड्यूटीमा। पछाडिको सीटमा बसेका एक बर्दीधारी प्रहरीले मुखमा नीलो मास्क लगाएका छन् र हातमा बन्दुक बोकेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यस पटक सुरक्षा जोखिम थपिएकाले प्रहरीले आफ्नो रणनीतिमा केही परिवर्तन गरेको अधिकारीहरूले बताएका छन्
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भाद्र २३ र २४ मा भएको जेन जी आन्दोलनका कारण उत्पन्न परिस्थितिपछि देखा परेका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न यस पटक आसन्न चाडपर्वमा विगतको भन्दा फरक सुरक्षा रणनीति अवलम्बन गरिएको अधिकारीहरूले बताएका छन्।

उक्त आन्दोलनका क्रममा ४५० वटाभन्दा बढी प्रहरी चौकीहरूमा क्षति पुगेको छ भने प्रहरीका ५०० वटाभन्दा बढी सवारीसाधन कामै नलाग्ने गरी जलेका छन्। प्रहरीका कैयौँ हातहतियार पनि लुटिएका छन्।

भाद्र २४ मा आन्दोलन चुलिएपछि सडकमा मात्र नभई कारागारमा पनि शान्ति र सुरक्षा बिथोलिएको थियो। त्यसको फाइदा लिँदै जेलबाट भागेका १३,५०० भन्दा बढी कैदीबन्दी भागे। तीमध्ये अझै आधाभन्दा धेरै फरार छन्।

जेलबाट भागेका अपराधीहरू र थुनाबाट भागेका सन्दिग्ध व्यक्तिहरूका कारण यस पटक चाडपर्वको बेलामा खतरा बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरेर विगतको भन्दा फरक रणनीति तय गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ताले बताएका छन्।

सुरक्षा निकायबाट सेवानिवृत्त भइसकेका एक जनाले आन्दोलनका क्रममा ठूलो परिमाणमा प्रहरीका हतियार लुटपाट भएको खबर आएको भन्दै तत्काल प्रहरी सङ्गठनको मनोबल वृद्धि गर्न सरकारले पहल गर्नुपर्ने औँल्याएका छन्।

चाडपर्वमा कस्तो सुरक्षा रणनीति

आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको एउटा प्रहरी कार्यालयको ढोकामा रङ्गरोगन गर्दै एक प्रहरी जवान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतिपय ठाउँमा तोडफोड र आगजनी भएका कार्यालयहरूलाई फेरि बनाउन थालिएको छ

विगतका वर्षहरूमा नेपाल प्रहरीले सधैँ दशैँ र तिहारको समयलाई लक्षित गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याउने गर्थ्यो।

तर यस पटक जेन जी आन्दोलनपछि उत्पन्न 'विशेष परिस्थिति' मा आफूहरूले सुरक्षा चुनौतीहरू सम्बोधन गर्न फरक रणनीति बनाएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेले बताए।

"अहिले भाद्र २३-२४ गतेको आन्दोलनले धेरै कैदीहरू बाहिर गएको अवस्था र हातहतियारहरू पनि (लुटपाट) भएका कारणले थप चुनौतीहरू पनि थपिएका छन्। त्यसलाई सामना गर्ने हिसाबले प्रहरी प्रधान कार्यालय र काठमाण्डू जिल्ला कार्यालय लगायतमा निर्देशनहरू जारी भइसकेको छ," उनले भने।

"सुरक्षा योजनाभन्दा पनि अहिले फरक किसिमको रणनीति अपनाइरहेका छौँ। कतिपयले घटना गराएर फेरि कारागारमा पनि फर्किएका हुनाले पीडितहरूलाई केही खतरा हुन सक्छ भनेर गाउँहरूमा गएर हामीले जागरुक गर्ने काम गरिरहेका छौँ। रातको समयमा पनि प्रहरी र स्थानीयहरू मिलेर गस्ती गरिरहेका छौँ। हामीले हाम्रो सम्पर्क नम्बरहरू उपलब्ध गराएका छौँ र स्ट्यान्डबाइ बसिरहेका छौँ।"

उनले कुनै पनि 'दुर्घटना नहोस्' भन्नका लागि आफूहरूले सावधानी अपनाएको बताए।

उनले भने, "कुनै पनि किसिमका घटनाहरू नहोऊन्, कोही अपराधीहरूले चोरी, लुटपाट, डकैती लगायतका घटनाहरू र जसका कारण जेल गएका हुन् उनीहरूमाथि निस्केकाहरूले बदला लिन सक्ने भएकाले प्रत्येक प्रहरी कार्यालयले आफू मातहतका यूनिटलाई सतर्कता अपनाउन निर्देशन दिएको छ।"

भदौको चौथो साता भएको आन्दोलनका क्रममा १९७ वटा प्रहरी एकाइ पूर्ण रूपमा ध्वस्त भएका थिए। साथै २५८ वटा प्रहरी कार्यालयहरूमा आंशिक क्षति पुगेको छ।

क्षति पुगेका ठाउँमध्ये कतिपयमा प्रहरी चौकीको पुनर्निर्माण स्थानीय बासिन्दाकै अग्रसरतामा हुन तालेको छ। कतिपय ठाउँमा अस्थायी निर्माणको काम भइरहेको देख्न सकिन्छ।

आन्दोलनकारीहरूले तोडफोड गरेको दरबारमार्गस्थित महानगरीय प्रहरी प्रभागको भवन। अगाडि जलेका सवारीसाधन, प्रभागको बोर्डमुनि प्रहरीहरूको एउटा समूह र दुइटै भवन आंशिक जलेका र सिसा फुटेको अवस्थामा देख्न सकिन्छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, आन्दोलनकारीहरूले देशभरि कैयौँ प्रहरी कार्यालयमा तोडफोड गरेका थिए र सुरक्षाविद्हरूले त्यसप्रति चिन्ता व्यक्त गरेका छन्

प्रहरी प्रवक्ता घिमिरेले सबै स्थानमा प्रहरीहरू कार्यस्थलमा फर्किएको बताउँदै कतिपय ठाउँमा स्थानीय टोल सुधार समितिहरूसँग मिलेर काम गरिरहेको बताए।

"हाम्रा जति पनि यूनिटहरू विस्थापितजस्तो भएका थिए, अहिले त्यहाँका जनता र स्वयंसेवकहरूको प्रयासमा हाम्रा सबै चौकीहरू स्थापना भइसकेका छन्। कुनै पनि ठाउँमा यूनिटहरू नगएको भन्ने अहिले छैन।"

उनले शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई नागरिकले पनि साथ दिनुपर्ने र सबै जना 'सामूहिक भावनाबाट' अघि बढ्नुपर्नेमा जोड दिए।

प्रहरीले खेप्नुपरेका चार चुनौती

नेपाल प्रहरीका पूर्वअधिकारीहरू जेन जी आन्दोलनमा कम्तीमा तीन सुरक्षाकर्मीको ज्यान गएको र देशभरिका प्रहरी चौकी र कार्यालयलाई तारो बनाएर आक्रमण गरिएका कारणले प्रहरीको मनोबल कमजोर भएको बताउँछन्।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल अहिले चारवटा विषयलाई प्राथमिकता दिनुपर्ने देख्छन्।

उनका अनुसार प्रथमतः प्रहरीको मनोबल उकास्नका लागि गृह मन्त्रालयले विशेष पहल गर्नुपर्छ। दोस्रो, क्षति भएका प्रहरीका भौतिक संरचनाहरूको पुनर्निर्माणमा ध्यान केन्द्रित गरिनुपर्छ।

काठमाण्डूस्थित गहनापोखरीको प्रहरी बीटमा क्षति पुगेको थियो। एक जना पहेलोँ रङ्गको पन्जा लगाएका श्रमिक उक्त बीटमा रङ्गरोगन गर्न खटिएका छन्
तस्बिरको क्याप्शन, काठमाण्डूको गहनापोखरीस्थित प्रहरी बीटको पुनर्निर्माणको काम चलिरहेको छ

तेस्रो, लुटिएका हतियारहरू तत्कालै फिर्ता गराइनुपर्छ। अनि चौथो जेलबाट फरार रहेका कैदीबन्दीहरूलाई कारागारमा नै फर्काउनुपर्छ।

मल्लले भने, "फील्डमा भएका प्रहरी यूनिटहरूमाथि हमला भएको छ। प्रहरी बीटहरू जलाइएका छन् र प्रहरीहरू विस्थापित भएका छन्। त्यसबाट आन्तरिक सुरक्षा र अपराध नियन्त्रणमा चुनौती आउँछ। जेलबाट भागेका अपराधीहरूले त्यसमा थप चुनौती थपिदिएका छन्।"

उनले थपे, "मलाई सबैभन्दा गम्भीर लागेको हतियारहरूको लुटपाट हो। सङ्गठित तरिकाले निश्चित उद्देश्य राखेर लुटिएको हो भन्ने मलाई लाग्छ। झन्डै १,४००-१,५०० वटा हतियार जुन लुटिएका छन् तिनले कुनै बेलामा ठूलो सुरक्षा चुनौती लिएर आउँछन्।"

नेपाल प्रहरीले औपचारिक रूपमा लुटपाट गरिएका हतियारहरूको सङ्ख्या सार्वजनिक गरेको छैन तर ती हतियारहरू खोज्ने प्रयास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीका प्रवक्ता घिमिरेले थपे, "कतिपय हतियारहरू जलेको अवस्थामा पनि भेटिएका छन्। हामीले लगत सङ्कलन गरेका छौँ। के कति क्षति भयो भन्नेबारे एउटा समिति गठन भएर त्यसले आफ्नो कार्य गरिरहेको छ। त्यसले आफ्नो प्रतिवेदन दिएपछि यथार्थ विवरण आउँला। विभिन्न किसिमका हतियारहरू हामीले बरामद गरिरहेको पनि अवस्था छ।"

मनोबल उकास्ने उपाय के?

प्रहरी मुख्यालय नक्सालमा पुगेर उच्च प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल।

तस्बिर स्रोत, Nepal Police

भूतपूर्व डीआईजी हेमन्त मल्ल प्रहरी सङ्गठनको मनोबल उकास्नका लागि नेतृत्वले प्रहरी सङ्गठनका सबै सदस्यहरूलाई आश्वस्त पार्नुपर्ने बताउँछन्।

उनले भने, "मनोबल भनेको नाप्ने कुरा होइन। मेरो पछाडि कोही छ है भनेर नेतृत्वले सबैलाई आश्वस्त पार्ने कुरा हो। अहिले लत्ताकपडा छैनन्। साधनस्रोत सबै जलेका छन्, यी सबैले प्रहरीको काम कारबाहीलाई असर गर्छ। यसलाई कसरी सम्बोधन गर्ने, यो नै सरकारको पहिलो काम हुनुपर्छ। नेतृत्व आफैँ लागेर मनोबल बढाउनुपर्छ।"

नेपाल प्रहरीका प्रवक्ता घिमिरे आफूहरू तालिमप्राप्त सुरक्षा जनशक्ति रहेको भन्दै सधैँ उच्च मनोबलका साथ काम गर्ने बताए।

उनी भन्छन्, "तालिमदेखि नै हामीलाई उतारचढाव हुन्छ भन्ने थाहा हुन्छ। जब हामी नीलो बर्दी लगाउँछौँ, हाम्रो मनोबल हाम्रो ड्यूटी के हो त्यो हामीमा आइहाल्छ।"

अघिल्लो साता प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले सर्वसाधारण नागरिकको दैनिक जीवनमा नकारात्मक प्रभाव पर्ने र अराजकता मौलाउन सक्ने बताएका थिए।

उनले नेपाल सरकार एवम् गृह मन्त्रालयबाट नेपाल प्रहरी सङ्गठनको सुदृढीकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनका लागि ठोस प्रयास अघि बढाइने वाचा पनि गरेका थिए।

नेपाल प्रहरीमा झन्डै ८०,००० दरबन्दी रहेकोमा झन्डै पाँच प्रतिशत पद खाली रहेको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।