व्यक्तिले घरमा कति रकम राख्न पाउँछ? नेताका घरमा आगजनी हुँदा 'जलेका नोट'बारे अनुसन्धानसँगै उत्पन्न चासो

हजार रुपैयाँका नोटहरूका गड्डी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रतीकात्मक तस्बिर
    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

जेन जी आन्दोलनका क्रममा आगजनीमा परेका विभिन्न नेताहरूको घरमा "जलेको अवस्थामा भेटिएको" भनिएको नगदबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको विवरण आएपछि नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले नोटमा भएको क्षति र त्यसले नगद प्रवाहमा पारेको असरबारे अनुमान गर्न कठिन हुने बताएका छन्।

"बाहिर आएका सबै भिडिओहरू वास्तविक हुन् वा होइनन् भन्ने जाँच सम्बन्धित निकायहरूले गर्लान् तर नगदको विशेषता नै यसको गोपनीयता हुने भएकाले कोसँग कति नगद छ भन्ने कुराको कतै अभिलेख हुँदैन," नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता किरण पण्डितले भने, "त्यसैले कति नगद जलेर नष्ट भयो भन्ने यकिन भन्न सकिने अवस्था पनि हुँदैन।"

राजस्व अनुसन्धान विभागले पनि उक्त विषयमा चासो राखेको देखिएको छ।

विभागका एक निर्देशक प्रकाश पोखरेलले भने, "पहिलो चरणमा सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाइरहेको विवरण पाएका छौँ।"

"प्रारम्भमा स्रोतको खोजी र प्रमाणित हुन नसकेको खण्डमा शुद्धीकरणको प्रक्रियाअनुसार नै अगाडि बढ्छ," उनले भने। उनका अनुसार त्यसरी आगजनीमा परेका केही घर राजनीतिमा सक्रिय तर व्यावसायिक पृष्ठभूमि भएका व्यक्तिहरूका भएकाले त्यो मामिला विभागले पनि हेर्छ।

सामाजिक सञ्जालमा प्रेषित केही भिडिओमा नेपाली मुद्राबाहेक अमेरिकी डलर पनि जलेको देखिन्छ। यद्यपि बीबीसीले ती भिडिओको आधिकारिकता पुष्टि गरेको छैन।

जलेको नोटको हिसाब निकाल्न किन अप्ठेरो?

नेपाल राष्ट्र ब्याङ्कको केन्द्रीय कार्यालयको भवन

तस्बिर स्रोत, NRB

केन्द्रीय ब्याङ्कका प्रवक्ता पण्डितका अनुसार कसैसँग वा कुनै व्यक्तिका घरमा कति नोट छ भन्ने थाहा नहुने र डिजिटल प्रकृतिको पनि नहुने भएकाले नष्ट भएको नोटबारे एकएक गरेर भन्न सकिँदैन।

"तर केही वर्षयता छापिएका नोटहरूमा छापिएका मितिबारे लेख्न थालिएको छ। त्यसले कति सालमा छापिएका कति नोटहरू बजारमा छन् भन्नेबारे हामीले अलिअलि जानकारी पाउन सक्छौँ।"

यद्यपि उनका अनुसार अहिले जलेका भनिएका रकमको वैधताबारे राष्ट्र ब्याङ्कले केही भन्न सक्दैन।

"हाम्रो ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक छ भनिन्छ। तर त्यो पनि एउटा अनुमान मात्रै हो," उनले भने, "त्यसले गर्दा केही पैसा त्यस्तो ठाउँमा छ जुन हामीलाई थाहा छैन भन्ने भन्ने एउटा अनुमानित आँकडा निकालिन्छ। त्यसमा पनि यति रकम वैध हो र यति अवैध हो भनेर निकाल्ने कुनै वैज्ञानिक प्रणाली छैन।"

अहिले चर्चामा रहेका रकमको स्रोत जाँच्ने विषय "सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग वा राजस्व अनुसन्धान विभागजस्ता निकायका भएको" तर रकम भेटिएको भनिएका घटनाले "यसरी पनि पैसा सञ्चय हुँदोरहेछ भन्नेबारे नीति तर्जुमा गर्नेहरूलाई सतर्क गराउन सक्ने" पण्डित बताउँछन्।

आन्दोलनका क्रममा भएको आगजनीमा जलेका भनिएका नोटबारे अनुसन्धान निकायले राष्ट्र ब्याङ्कसँग समन्वय गरे नगरेकोबारे सोधिएको प्रश्नमा उनले भने, "त्यसबारे मलाई कुनै जानकारी छैन। छिट्टै हुन्छ होला।"

बीबीसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग यसबारे बुझ्न खोजेको थियो। तर सम्बन्धित पदाधिकारीसँग सम्पर्क हुन सकेन।

नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार नेपाली नागरिकले भन्सारमा घोषणा नगरी अधिकतम ५,००० अमेरिकी डलर वा सो बराबरका अन्य विदेशी मुद्रा नेपाल भित्र्याउन पाउँछन्।

राष्ट्र ब्याङ्कले नेपाली नागरिकहरूलाई विदेश जान लाग्दा विभिन्न विदेशी मुद्रा सटही गर्ने सुविधा पनि दिएको छ। यद्यपि नेपाल फर्किएको निश्चित अवधिभित्र आफूसँग फिर्ता ल्याएको विदेशी मुद्रा सटही गरिसक्नुपर्छ।

व्यक्तिगत रूपमा कति नगद राख्न पाइन्छ?

केन्द्रीय ब्याङ्कका प्रवक्ता पण्डितका अनुसार ब्याङ्किङ कारोबारका हकमा नगद कारोबारका विभिन्न सीमाहरू तोकिएका भए पनि व्यक्तिले घरमा कतिसम्म रकम सञ्चय गर्न सक्छ भन्नेबारे कुनै नियम छैन।

त्यस्तै सम्पति राख्न पाउने कानुनी व्यवस्था भएकाले "कुन कुन माध्यममा सम्पत्ति राख्न पाइने भन्ने नियम पनि छैन।"

"घरमा राख्न पाइन्छ। तर त्यसो गर्नु जोखिमरहित छैन। ब्याङ्कबाहेक अन्यत्र राख्दा आगजनी वा चौरीडकैतीमा गुम्ने डर हुन्छ," उनले भने।

पण्डितका अनुसार समयक्रमसँगै नेपाली नागरिकहरू ठूलो स्तरमा डिजिटल कारोबारतर्फ उन्मुख भएका छन्।

"सामान्यतया सर्वसाधारण मानिसले 'अहिले बाहिर आएका भिडिओहरूमा देखिए झैँ घरमा नगद राख्दैनन्," उनले भने, "चोरीडकैती हुने वा हराउने डरले पनि मेहनतले आर्जन गरिएको रकम ब्याङ्कमा राख्ने चलन बढ्दै गएको छ र डिजिटल माध्यमबाट दिनकै अर्बौँ रुपैयाँ कारोबार हुन थालेको छ।"

"नोटको प्रयोग र सञ्चय हिजोको जस्तो छैन तर एउटा राम्रै आकारको अर्थतन्त्र अनौपचारिक भएकाले त्यो पैसा वैध च्यानलमा आइहाल्न सजिलो हुँदो रहेनछ। अपारदर्शी भएकाले त्यो कति छ भन्ने चाहिँ प्रश्न नै रहिरहने भयो।"

पारदर्शी बनाउन कस्तो प्रयास?

कारोबारलाई पारदर्शी बनाउन सरकारले डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै आएको छ।

त्यसका साथै पारदर्शीता सुनिश्चित गर्न कारोबारका सीमाहरू तोकिएको पण्डित बताउँछन्।

"अहिले एटीएमबाट दिनको एक लाख रुपैयाँभन्दा बढी रकम निस्किँदैन र महिनाको चार लाख रुपैयाँभन्दा बढी झिक्न मिल्दैन। चेक नै काट्नुभयो भने पनि १० लाखभन्दा बढी पैसा पाइँदैन," उनले भने।

"त्यसका साथै नगदको प्रयोगलाई निरुत्साहित गर्न वस्तु तथा सेवाको भुक्तानी गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेका छौँ।"

डिजिटल कारोबारमा सबै लेनदेन अभिलिखित हुने भएकाले त्यसले पारदर्शिता सुनिश्चित गर्ने उनले बताए।

"त्योभन्दा बाहिर जानलाई नगद नै चाहिने भयो," उनले भने, "त्यसले गर्दा अनौपचारिक अर्थतन्त्रलाई कुनै न कुनै तरिका अपनाएर औपचारिक दायरामा ल्याउनुपर्ने देखिन्छ। "

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।