भारतमा विभिन्न सामानको मूल्य घट्दा नेपाली व्यापारीहरू 'चिन्तित'

तस्बिर स्रोत, RSS
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
भारतले वस्तु तथा सेवा कर (जीएसटी) को दरमा परिवर्तन गरेपछि दैनिक उपभोगका सामानहरू थप सस्तो हुने भएपछि त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ।
त्यसै पनि सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय बजारमा किनमेलका निम्ति जाने गर्छन्। भारतको पछिल्लो कदमपछि उनीहरूलाई भारतीय बजारले थप आकर्षित गर्ने देखिन्छ।
बढी किनमेल हुने प्रमुख चाडपर्वको मुखमा जीएसटीको दरमा हेरफेरले भएको नेपाली उपभोक्ताको घुइँचो भारतीय बजारमा बढ्ने चिन्ता व्यापारी र व्यवसायीहरूले व्यक्त गरेका छन्।
सीमा क्षेत्रका बजारमा व्यवसायीहरूले लामो समयदेखि चलिरहेको त्यस्तो किनमेललाई नेपाली बजारमै केन्द्रित गराउने विषयमा विभिन्न आवाज उठाउने गरेका छन्।
उपभोग्यतालाई राहत दिने उपाय के?

तस्बिर स्रोत, RSS
पछिल्लो कदमसँगै मोरङ उद्योग व्यापार सङ्घले वक्तव्यमार्फत् भारतीयसँग नेपाली बजारलाई प्रतिस्पर्धी बनाउन भन्दै सरकारसँग विभिन्न माग सार्वजनिक गरेको छ।
उसले दैनिक उपभोग्य वस्तुहरूको अन्त: शुल्क र भन्सार महसुल घटाउनुपर्ने, कर छुट तथा अनुदान दिनुपर्ने र बहुदर कर प्रणालीमा जानुपर्नेलगायतका माग गरेको छ।
उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बीबीसीसँग भने, "खुला सिमाना भएकाले भारतमा सस्तो भएका सामान चोरीपैठारी गरेर ल्याउने क्रम बढ्न सक्छ। त्यसो हुँदा नेपालमा हुने उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने चिन्ता हो।"
त्यस्तै त्यहाँ करमा भएको हेरफेरले नेपालभित्रको वैध बजारमा पार्ने असरबारे पनि अध्ययन हुनुपर्ने उनको भनाइ छ।
तर खुला सिमाना भएकाले चोरीपैठारी पूर्ण रूपमा रोक्न असम्भव रहेको बताउँदै उनले घटाउन प्रयास गर्नुपर्ने बताए।
"चाडपर्वको मुखमा भारतीय बजारमा सामानको मूल्य घट्यो भने उपभोक्ता उतै जाने सम्भावना त बढ्ने नै भयो," राउतले भन्छन्, "उपभोक्ताको हित पनि हेर्नुपर्छ तर उनीहरूलाई राहत दिने गरी नेपाली बजारलाई नै प्रतिस्पर्धा गर्न सक्ने अवस्थाबारे सरकारले काम गर्नुपर्ने अवस्था देखियो।"
नेपाली बजारमा पर्ने प्रभावको अध्ययन आवश्यक

तस्बिर स्रोत, RSS
परिमार्जन गरिएको जीएसटी भारतीय नागरिकले पाउने सुविधा हो। भारत सरकारले १२% कर लाग्दै आएका अधिकांश सामग्रीमा अब केवल ५% अनि २८% कर लाग्दै आएका अधिकांश सामग्रीमा अब १८% जीएसटी लगाउने बताइएको छ।
अति विलासिताका सामानमा भने ४०% कर निर्धारण गरिएको बीबीसी हिन्दीले जनाएको छ। पछिल्लो हेरफेरले जीएसटी कर ९३ हजार करोड भारु घट्ने आकलन छ।
तर अति विलासिताका सामानमा बढाइएको करले त्यसको करिब आधा शोधभर्ना गर्ने र मूल्य सस्तो हुँदा अनि सामानको खपत बढ्दा अतिरिक्त कर आर्जन हुने विश्लेषकहरूको ठम्याइ छ।
नेपालमा पनि उपभोक्तालाई राहत दिन करको दर परिवर्तन र छुट दिनुपर्ने व्यवसायीहरूको माग छ।

उनीहरूले नेपाली उत्पादन र सानाठूला उद्योगहरू प्रभावित हुने बताएका छन्।
अर्थमन्त्रालयका पूर्वसचिव भानुप्रसाद आचार्य जीएसटीको प्रभावबारे अध्ययन हुनुपर्ने खाँचो देख्छन्।
"प्रत्येक सामान र उत्पादनमा कस्तो असर र प्रभाव पर्छ भनेर पनि मूल्याङ्कन आवश्यक हुन्छ," पूर्वअर्थसचिव आचार्य भन्छन्, "सिङ्गो अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुरा अध्ययन हुनुपर्छ, अनौपचारिक व्यापार लगायतका विषय पनि जोडिने भएकाले खुला सिमानाको नियमनलाई प्राथमिकता दिनुपर्ने हुन्छ।"
करको दर हेरफेर कति सम्भव?

तस्बिर स्रोत, RSS
कर प्रणाली सुधार गर्न गठित उच्चस्तरीय सुझाव समितिले गत वर्ष दिएको प्रतिवेदनमा बर्सेनि कर छुट हुने वस्तु तथा सेवाको सङ्ख्या बढिरहेकोले भन्दै त्यसमा पुनरवलोकन हुनुपर्ने सुझाव दिइएको छ।
पूर्वसचिव आचार्य १३% को मूल्य अभिवृद्धि कर (भ्याट) दरलाई बहुदरमा लग्दाका जटिलताहरू पनि रहेको बताउँछन् किनकि त्यो अन्तिम उपभोक्ताले बेहोर्छन् र व्यवसायी वा उद्यमीले छुट पाउँछन्।
उच्चस्तरीय सुझाव समितिका अध्यक्ष रहेका पूर्वअर्थसचिव विद्याधर मल्लिकले भ्याट दर घटाउन सकिने बताउँछन्।
तर त्यसका निम्ति कर छुट पाउने वस्तु वा सेवाको सूची हटाउनुपर्ने उनको भनाइ छ। गत साता बीबीसीसँगको कुराकानीमा उनले कर छुट हुने वस्तु तथा सेवाको सङ्ख्या बढिरहेको बताएका थिए।
जीएसटीमा भएको परिवर्तनले अहिले सीमावर्ती क्षेत्रका नेपाली बजार प्रभावित हुने चिन्ता व्यक्त गरिए पनि नेपालको सिङ्गो बजार र राजस्व सङ्कलनमा पनि असर पार्न सक्ने चिन्ता व्यवसायीहरूको छ।
तर पूर्वसचिव आचार्य अनौपचारिक अर्थतन्त्रको आकार बढ्दै गएको विभिन्न अध्ययनहरूबाट देखिएको औँल्याउँदै भन्छन्, "त्यो घटाउने भनेको सिमानाको नियमन कडा पार्ने हो, जसले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ। त्यसैले नियमनमा कडाइ गर्ने अहिले अवसर पनि हो। अन्य समग्र प्रभावबारे अध्ययन आवश्यक हुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








