अमेरिकामा भारतीय वस्तुमाथि ५०% भन्सार लाग्दा नेपाललाई कस्तो फाइदा

तस्बिर स्रोत, Garment Association of Nepal
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
अमेरिका निर्यात हुने प्रमुख नेपाली वस्तुहरूमा पर्ने गलैँचा तथा तयारी पोसाक उत्पादकहरू प्रतिस्पर्धी देशमा भन्दा यहाँ कम ट्यारिफ लागेकाले आगामी महिनाहरूमा निर्यात बढ्ने आशामा छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण एशियाका अधिकांश देशहरूमा तिनले अमेरिका निर्यात गर्ने वस्तुहरूमा चर्को ट्यारिफ अर्थात् आयात शुल्क लगाइदिएका छन्।
ट्रम्पको नीतिको पछिल्लो सिकार बनेको भारतमाथि बुधवारदेखि नै लागु हुने गरी थप ५० प्रतिशतसम्म ट्यारिफ लागेको छ। यद्यपि नेपालमाथि केवल १० प्रतिशत (विद्यमान दरमा थपिने) ट्यारिफ लागेको छ। छिमेकमा बाङ्ग्लादेशलाई २० प्रतिशत, श्रीलङ्कालाई २० प्रतिशत, पाकिस्तानलाई १९ प्रतिशत र अफगानिस्तानलाई १५ प्रतिशत ट्यारिफ लागेका छन्।
यसबाट अवसर सिर्जना भएको तर अमेरिकाको नीतिगत स्थिरताको प्रश्न बाँकी नै रहेको नेपालका व्यवसायीहरूले बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि यसलाई निर्यात बढाउने अवसरको रूपमा लिएको र नेपालमा लागेको थोरै ट्यारिफको दुरुपयोग हुन नदिन सचेत रहेको प्रतिक्रिया दिएको छ।
अन्तर्राष्ट्रिय व्यापारमा कहालीलाग्दो घाटा बेहोरिरहेको नेपाललाई यसले नयाँ अवसरको ढोका खुल्ने व्यवसायी तथा सरकार दुवैको आश देखिन्छ।
"अमेरिकाको पछिल्लो ट्यारिफ नीतिले हाम्रा निर्यात वृद्धिका लागि केही सम्भावना देखिएको छ। व्यापार घाटा निराकरणका लागि सहयोगी हुने अपेक्षा छ," उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बीबीसीलाई बताए।

तस्बिर स्रोत, Garment Association of Nepal
बुधवार नै यस विषयमा कुराकानी गर्न मन्त्रालयमा काठमाण्डूस्थित अमेरिकी राजदूतलाई डाकिएको र उनीसँग नेपालले अमेरिकामा पाउँदै आएका भन्सार सहुलियतहरू कायम गरिदिन अनि व्यापार तथा लगानीसम्बन्धी फ्रेमवर्क सम्झौता (टिफा)सम्बन्धी अर्को परिषद् बैठक गर्न अनुरोध गरेको मन्त्री भण्डारीले जानकारी दिए।
अमेरिकासँग नेपालको टिफा सन् २०११ देखि कायम छ। अमेरिकाले नेपाललाई विभिन्न वस्तुमा दिइरहेको भन्सार सुविधा पनि यसै वर्षको डिसेम्बरमा सकिँदै छ।
सन् २०१५ मा आएको विनाशकारी भूकम्पपश्चात् नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पुगोस् भनेर २४ फेब्रुअरी २०१६ मा अमेरिकाले नेपाल व्यापार सौविध्य कार्यक्रम (एनटीपीपी) लागु गरेको थियो।
त्यसअन्तर्गत नेपालबाट निर्यात हुने ७७ थरी वस्तुलाई 'शून्य भन्सार'को सुविधा प्राप्त थियो।
ती वस्तुहरूको सङ्ख्या विस्तार अनि एनटीपीपीको निरन्तरताका निम्ति पनि नेपालले पहल गरिरहेको मन्त्री भण्डारीले बताए।
अमेरिकी ट्यारिफबारे 'सोधपुछ बढ्न थाल्यो'
रु १८.३२ अर्ब अमेरिका निर्यात (आव २०८१/८२)
रु २५.९६ अर्बअमेरिकाबाट आयात
रु ७.६४ अर्ब अमेरिकासँग व्यापार घाटा
रु २.७७ खर्ब नेपालको कुल निर्यात
रु १८.०४ खर्ब नेपालको कुल आयात
रु १५.२७ खर्बनेपालको कुल व्यापार घाटा
बलराम गुरुङ नेपालका एक अग्रणी गलैँचा व्यवसायी हुन्।
अमेरिकामा सबभन्दा धेरै निर्यात हुने वस्तुहरूमा पर्ने गलैँचाको व्यवसायमा आगामी दिनमा निकै सकारात्मक प्रभाव पर्ने नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष गुरुङको आशा छ।
"अचेल (आयातकर्ताहरूबाट) सोधपुछ निकै आइरहेको छ। यो ट्यारिफ नीति केही समय यस्तै रह्यो भने उत्पादन लागतमा हाम्रो प्रतिस्पर्धी क्षमता निकै सुदृढ हुन्छ," गुरुङले भने।
यो वर्ष नेपालले अमेरिकामा कुल निर्यात १८ अर्ब रुपैयाँको गरेकोमा गलैँचा मात्रै त्यहाँ ७ अर्ब रुपैयाँको निर्यात भएको आँकडा छ।
गलैँचापछि अमेरिकामा धेरै निर्यात हुने तयारी पोसाक हो। तयारी पोसाक तथा कपडा समेत गरी ८ अर्ब रुपैयाँभन्दा धेरैको निर्यात भएकोमा करिब ४० प्रतिशत बजार हिस्सा अमेरिकाकै रहेको तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले बताए।
"यो एकदमै स्वागतयोग्य अवस्था हो। यदि हामीले सदुपयोग गर्न सक्यौँ भने आगामी ३-५ वर्षमा हाम्रो व्यापार घाटा नै अन्त्य हुन सक्छ," निकै आशावादी सुनिएका पाण्डेले बताए।
गत वर्ष नेपालको कुल व्यापार घाटा लगभग एक वर्षको कुल बजेट सरह १५ खर्ब रुपैयाँभन्दा धेरै पुगिसकेको छ।

तस्बिर स्रोत, Balram Gurung
पाण्डेले पनि केही सातायता आफूहरूलाई अमेरिकी आयातकर्ताहरूबाट (निर्यात वृद्धिका सम्भावनाबारे) निकै सोधपुछ गरेको बताए।
केही वर्षयता अमेरिकामा कुकुरको आहारा 'डग चू' का रूपमा लगातार निर्यात वृद्धि हुँदै आएको छुर्पीको व्यवसाय गर्ने लतिका गोल्यान यो ट्यारिफ नीतिबाट नेपाललाई फाइदा पुग्ने आशामा छिन्।
तथापि गुरुङ र पाण्डेजस्तै उनको चिन्ता पनि अमेरिकी कर नीतिको स्थायित्वप्रति छ।
कहिले घट्ने, कहिले बढ्ने भइराखेको कारण अनि कैयौँ देशसँग अमेरिकाको व्यापार वार्ता चलिरहेका कारण अहिले देखिएको ट्यारिफको फाइदा दिगो कायम नहुन सक्ने चिन्ता उनीहरूको छ।
व्यवसायीहरूले गरेको अर्को चिन्ता चाहिँ नेपालले पाएको ट्यारिफ सहुलियतको दुरुपयोगको चिन्ता पनि हो।
सहुलियत दुरुपयोग रोक्न नेपाल 'दृढ'
छेउछाउका देशमा धेरै अनि नेपालमा कम ट्यारिफ लाग्दा उताका सामानलाई गलत तरिकाले 'नेपालमा बनेको' भनेर 'ट्रान्सशिपमन्ट गरेर अमेरिका निर्यात गरिदिने जोखिमबारे व्यवसायीहरूले सचेत गराएका छन्।
"भारतसँग हाम्रो खुला सिमाना छ। त्यसैले गलत ढङ्गबाट यसको दुरुपयोग हुने सम्भावना छ। हामीले सरकारसँग यसबारे निरन्तर छलफल गरेका छौँ। नेपाली उत्पादनको शुद्धताबारे सिफारिस दिन सकिनेबारे कुराकानी भएका छन्," तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले भने।
"ट्रान्सशिपमन्टलाई अमेरिकाले गम्भीरतापूर्वक लिने र त्यसो भएको थाहा पाए ती वस्तुमा सोही देशलाई लागु भएको बराबरको शुल्क तथा जरिबाना लगाउने भनेको छ," उनले भने।
नेपालको कानुनले २०-३५ प्रतिशतको मूल्य अभिवृद्धि गरेमा यहाँकै निर्यातको मान्यता दिने भएकाले कानुनसम्मत ढङ्गले हुने निर्यातलाई बाधा नहुने गरी व्यवस्था मिलाउन सरकारसँग आफूहरूले पहल गरिरहेको उनले बताए।
अमेरिकाको पछिल्लो ट्यारिफ नीतिले हाम्रा निर्यात वृद्धिका लागि केही सम्भावना देखिएको छ। व्यापार घाटा निराकरणका लागि सहयोगी हुने अपेक्षा छ
गलैँचा तथा तयार पोसाकजस्ता नेपाली निर्यात वस्तुका कच्चा पदार्थको कतिपय अंश आयात गरिन्छ।
वाणिज्यमन्त्री भण्डारीले सरकार यस विषयमा सचेत रहेको बताए।
"खास गरी 'मेड इन नेपाल'को दुरुपयोग हुने जोखिमलाई पनि हामीले छलफल गरिरहेका छौँ। निकासी हुने बिन्दुहरूमा सजगता अपनाउन हामी दृढ छौँ," मन्त्रीले बताए।
अहिले नेपाललाई अन्यको तुलनामा जति ट्यारिफ तोकिएको छ त्यो यदि कम्तीमा एक वर्ष लागु भयो भने पनि ठूलै फरक पर्ने गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ बताउँछन्।
"यी व्यवसायमा ५-१० प्रतिशतको मार्जिन पनि उल्लेख्य मानिन्छ। हाम्रो तुलनामा बाङ्ग्लादेशलाई दोबर अनि भारतलाई त झन् निकै बढी शुल्क लाग्दा हाम्रो लागत प्रतिस्पर्धी हुने छ," गुरुङले भने।
के बाह्य लगानी भित्रिएला
ट्यारिफमा देखिएको भिन्नताका कारण दीर्घकालमा अन्यत्रका उद्योगधन्दाले नेपालमा लगानी विस्तार वा यहाँका व्यवसायीहरूसँग मिलेर काम गर्ने सम्भावना पनि रहेको व्यवसायीहरू बताउँछन्।
"त्यो सम्भावना छ तर त्यसका लागि लगानीकर्ताहरूले नीतिगत स्थिरताको परीक्षण गर्छन्। त्यस्ता सम्भावनालाई हामीले स्वागत गर्नुपर्छ," गुरुङले बताए।
गलैँचा होस् वा तयारी पोसाक दुवै सघन श्रम प्रयोग हुने क्षेत्र हुन् जसमा अधिकांश महिला गरी दशौँ हजारले रोजगारी पाइरहेका छन्।
यो क्षेत्र विस्तार हुँदा अर्थोपार्जनका साथै रोजगारीमा पनि सघाउ पुग्ने जानकारहरू बताउँछन्।
मौका आए पनि त्यसको उपयोग गर्ने क्षमताबारे चाहिँ थुप्रै चुनौती बाँकी रहेको उनीहरूले औँल्याए।
माग वृद्धि भएमा तत्काल उत्पादन वृद्धि गराउन सक्ने क्षमताको अभाव छँदै छ भने लगानी विस्तार र पूर्वाधार विकासको पनि चुनौती पनि रहेको जानकारहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








