अमेरिका पठाउने लुगा बनाउने मजदुरहरू ट्रम्पका कारण जागिर गुम्ने पिरलोमा

तयारी पोसाक कारखाना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तयारी पोसाक निर्यात बजारको रूपमा क्याम्बोडिया र श्रीलङ्काजस्ता देश अमेरिकामा निकै निर्भर छन्
    • Author, केली एङ
    • Role, बीबीसी न्यूज
    • Author, अमन्दिका कूरे
    • Role, बीबीसी सिन्हाला, कोलम्बो
    • Author, मे तिथरा
    • Role, बीबीसी न्यूज, नोम पेन

हातमुख जोड्न सङ्घर्षरत एशियाभरका लाखौँ गार्मेन्ट कामदारहरू आफ्नो जागिर गुम्ने त्रासमा छन्। त्यहाँ अमेरिकासँग व्यापार सम्झौता गर्ने वा दण्डनीय करको सामना गर्ने समयसीमा नजिकिँदै छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ती देशहरूलाई सम्झौताका वार्ता गर्न भनेर आयात शुल्क ९० दिनका लागि रोकिदिएका थिए।

त्यसपछि जुलाई ९ मा ट्रम्पले अगस्ट १ बाट नयाँ कर लागु हुने भनेर एशियाका कैयौँ देशहरूलाई जानकारी गराएका छन्।

नयाँ दरहरू एप्रिलमा प्रस्ताव गरिएभन्दा कम भए तापनि त्यसबाट उत्पन्न भएका चिन्तालाई खासै कम गर्ने खालका छैनन्।

ट्रम्पबाट पत्र प्राप्त गर्ने राष्ट्रहरूमा क्याम्बोडिया र श्रीलङ्काजस्ता तयारी पोसाक केन्द्रहरू छन्। दुवै देश तयारी पोसाकको निर्यात बजारका रूपमा अमेरिकामा निकै निर्भर छन्।

ती पत्रमा भनिएअनुसार यी दुई देशहरूले क्रमशः ३६ प्रतिशत र ३० प्रतिशत करको सामना गर्ने छन्। नाइकी, लीभाइज र लुलुलेमन ती देशमा पोसाक तयार पार्ने ठूला अमेरिकी ब्रान्डहरू हुन्।

चिन्ता

"हामीले हाम्रो जागिर गुमायौँ भने के होला भने के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? म खास गरी मेरा बच्चाहरूका लागि निकै चिन्तित छु। उनीहरूलाई खाना चाहिन्छ," दक्षिणपूर्वी क्याम्बोडियाको कपडा कारखानामा काम गर्ने नाओ सोक्लिन भन्छिन्।

सोक्लिन र उनका श्रीमान् कोक ताओक दैनिक १० घण्टा झोला सिलाउने काम गरेर जीविकोपार्जन गर्छन्। दुवै जनाले गरेर उनीहरूले महिनामा झन्डै ५७० अमेरिकी डलरजति कमाउँछन्। यो रकमले उनीहरूलाई मुस्किलले भाडा तिर्न र आफ्ना दुई साना छोरा एवं वृद्ध आमाबाबुको स्याहार गर्न पुग्छ।

"[म] राष्ट्रपति ट्रम्पलाई सन्देश पठाउन चाहन्छु, उनलाई कृपया क्याम्बोडियामाथि लगाइएको कर हटाउनुहोस् भन्न चाहन्छु,... परिवार पाल्न हामीलाई हाम्रो जागिर चाहिन्छ," उनले बीबीसीलाई भनिन्।

कम ज्यालामा काम गर्ने श्रमिकका भरमा हुने आपूर्तिको कारणले क्याम्बोडिया चिनियाँ खुद्रा विक्रेताहरूको लोकप्रिय विकल्प बनेको छ। आशियानको तथ्याङ्क निकायका अनुसार क्याम्बोडियाले गत वर्ष अमेरिकामा ३ अर्ब अमेरिकी डलरभन्दा बढीको कपडा निर्यात गरेको थियो

नौ लाखभन्दा धेरै मानिसहरूलाई रोजगारी दिने यस क्षेत्रले देशको समग्र निर्यातको दश भागको एक भागभन्दा बढी ओगटेको छ।

अमेरिकामा हुने निर्यातले श्रीलङ्कामा झन्डै ३ लाख ५० हजार मानिसहरूलाई प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ।

यस कपडा उद्योगले मात्र गत वर्ष १.९ अर्ब डलर कमाउन सघाएको थियो, जुन उक्त देशको तेस्रो ठूलो विदेशी मुद्राको स्रोत बनेको थियो।

"यदि [३० प्रतिशत] अन्तिम अङ्क हो भने श्रीलङ्का समस्यामा छ किनकि भियतनामजस्ता हाम्रा प्रतिस्पर्धीहरूले कम आयात शुल्क प्राप्त गरेका छन्," श्रीलङ्काको जोइन्ट अप्यारल असोसिएशन फोरमका महासचिव योहन लरेन्सले रोयटर्स समाचार संस्थासँग भने।

गलाउने अन्तिम प्रयास

श्रीलङ्काली अधिकारीहरूले आयात शुल्कमा थप कटौतीका लागि वार्ता गर्ने आशा राखेका छन्। तर उनीहरूले आफ्नो स्वीकार्य दर के हो भन्ने कुरा खुलाएका छैनन्।

त्यहाँका केही नेताहरूले यसअघिका वार्ताका परिणामस्वरूप देशले अहिलेसम्मकै उच्चतम १४ प्रतिशत छुट प्राप्त गरेको उल्लेख गरेका छन्।

"हामी यो निकै राम्रो अवस्थाको सुरुवातको रूपमा हेर्छौँ," अर्थमन्त्रीका सचिव हर्षणा सुरियापेरुमाले गत साता भने।

तेह्र प्रतिशत छुट पाएको क्याम्बोडियाले समेत थप वार्ता गर्न खोजिरहेको छ।

"हामी लगानीकर्ता र कामदारहरूको हितको रक्षा गर्न सक्दो प्रयास गरिरहेका छौँ," वार्ता टोलीको नेतृत्व गर्ने उपप्रधानमन्त्री सुन चान्थोलले भने।

"हामी आयात शुल्क शून्य होस् भन्ने चाहन्छौँ... तर हामी उनीहरूको निर्णयको सम्मान गर्छौँ र कम दरका लागि वार्ता गर्ने प्रयास जारी राख्ने छौँ," उनले भने।

लीभाइज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नाइकी, लीभाइज र लुलुलेमन एशियाली देशमा पोसाक तयार गर्ने ठूला अमेरिकी ब्र्यान्डहरू हुन्।

ट्रम्पले अमेरिकाले अन्य देशहरूबाट किन्ने सामान र उनीहरूलाई बेच्ने सामानहरूको मूल्यबीचको खाडल कम गर्न यस्ता आयात शुल्कहरू आवश्यक रहेको बताउँदै आएका छन्।

"दुर्भाग्यवश हाम्रो सम्बन्ध पारस्परिक रूपमा निकै असमान छ," अमेरिकी राष्ट्रपतिले गत साता विभिन्न देशहरूलाई पठाएका पत्रमा लेखेका छन्।

उनले त्यही कुरा आफ्नो 'ट्रूथ सोशल' प्ल्याट्फर्ममा समेत पोस्ट गरेका छन्। तर विश्लेषकहरू असहमत छन्।

ट्रम्पका आयात शुल्कले अमेरिकाले विद्यमान व्यापार सम्झौताहरूबाट प्राप्त गर्ने फाइदाहरूलाई बेवास्ता गरेको रट्गर्स स्कूल अफ म्यानिज्मन्ट एन्ड लेबर रिलेशन्सका डीन मार्क एनर बताउँछन्।

श्रीलङ्का वा क्याम्बोडियाजस्ता देशहरूबाट कम मूल्यको कपडा ल्याएर अमेरिकी कम्पनीहरूले उच्च नाफा कमाइरहेका थिए।

दशकौँदेखि अमेरिका, युरोपेली सङ्घ र क्यानडाले उनीहरूका लागि कोटा प्रणाली लागु गरेका थिए। त्यसले श्रीलङ्काजस्ता विकासशील देशहरूका लागि आफ्नो बजारको निश्चित हिस्सा आरक्षित गरेको थियो।

सन् २००५ मा चरणबद्ध रूपमा बन्द गरिएको यस प्रणालीले कडा प्रतिस्पर्धाको बाबजुद श्रीलङ्काको कपडा क्षेत्रलाई फस्टाउन मद्दत गर्‍यो।

"अमेरिकाले अब यी देशहरूलाई बजारबाट प्रभावकारी रूपमा बाहिर निकाल्ने निषेधात्मक करहरू लगाउनु पहिले तोकिएको विकासमार्गको विरुद्ध हो," प्राध्यापक एनरले भने।

यूनिभर्सिटी अफ डेलवेरको फ्याशन एण्ड अप्यारल स्टडिज विभागका प्राध्यापक शेङ लू साना, विकासशील अर्थतन्त्रहरूले अमेरिकासँग व्यापार घाटा नहुने अपेक्षा गर्नु अवास्तविक रहेको बताउँछन्।

"क्याम्बोडिया वा श्रीलङ्कालाई हरेक वर्ष कति बोइङ विमान चाहिन्छ र किन्न सक्छन्?," उनी भन्छन्।

सहप्राध्यापक लू अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा पनि व्यापार वार्तामा एक कारक रहेको ठान्छन्।

किनकि ती तयारी पोसाक निर्यात गर्ने देशहरू चिनियाँ संलग्नता धेरै निर्भर रहेका आपूर्ति शृङ्खलाहरूमा एकीकृत छन्।

ती देशहरूले अब चीनसँग आर्थिक सम्बन्ध कायम राख्ने र नयाँ अमेरिकी मागहरू पूरा गर्नेबीच "कमजोर सन्तुलन कायम" गर्नुपर्ने उनी बताउँछन्।

समा उत्पादनमा चिनियाँ संलग्नता कटौती गर्ने कुरा पनि समावेश हुन सक्ने प्राध्यापक लु ठान्छन्।

मारमा महिला

तयारी पोसाक उद्योगका कामदार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वाशिङ्टनको आयात शुल्कले यस उद्योगका पहिल्यै भइरहेकै चुनौतीमा थप दबाव थप्नेछ

वाशिङ्टनको आयात शुल्कले यस उद्योगका पहिल्यै भइरहेकै चुनौतीमा नयाँ दबाव थप्छ : क्याम्बोडियामा गरिबी र कमजोर श्रम अधिकार अनि श्रीलङ्कामा जारी आर्थिक सङ्कट।

यस क्षेत्रका दशमध्ये सात गार्मेन्ट कामदार महिलाहरूले आयात शुल्कको मार खेप्ने छन्। पहिले नै कम ज्यालामा काम गरिरहेका उनीहरूलाई थप तल झर्न दबाव पर्नुको अर्थ उनीहरूका सन्तान भोकै पर्न सक्छन्। जागिरको सम्भावित कटौती अझ भयानक हुने छ।

श्रीलङ्काको नवलापितिया सहरको एक कारखानामा काम गर्ने सुरङ्गी सान्ड्या आफूमाथि बन्चरो झुन्डिएको महसुस गरेको बताउँछिन्।

"कम्पनीहरू घाटामा काम गर्दैनन्... यदि माग घट्यो भने, यदि घाटा भयो भने त्यहाँ कम्पनी बन्द हुने सम्भावना हुन सक्छ," उनी भन्छिन्।

सन् २०११ मा सान्ड्याले एक सामान्य सिलाईकर्मीको रूपमा काम सुरु गरेकी थिइन्। पछि उनी ७० जना महिलाहरू रहेको टोलीको सुपरिवेक्षक भएर काम गरिन्।

क्याम्बोडियाका कतिपय कामदारहरू यदि धक्का महसुस हुन थालेमा काम खोज्न थाईल्यान्ड सर्नेबारे सोच्ने बताउँछन्। तर उनीहरूले उक्त काम अवैध रूपमा गर्नुपर्छ।

"हाम्रो जीविकोपार्जन गार्मेन्ट कारखानामा निर्भर छ। यदि हाम्रा हाकिमले यसलाई बन्द गरे भने हामी बाँच्न सक्दैनौँ," क्याम्बोडियाको राजधानी नोम पेनमा रहेको आफ्नो १६ वर्गमिटरको सानो कोठामा एन सोफियाकले बीबीसीलाई भनिन्।

"हामीसँग कम शिक्षित छौँ। हामीले अरू जागिर पाउन सक्दैनौँ। हामी हरेक दिन राष्ट्रपति ट्रम्पले आयात शुल्क हटाऊन् भन्ने प्रार्थना गर्छौँ। कृपया हामी र हाम्रो गरिब देशबारे सोच्नुहोस्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।