विभिन्न सडक अवरुद्ध हुँदा दशैँका यात्रुलाई सास्ती, कहाँकहाँ कहिलेसम्म समस्या हुन सक्छ

धादिङको जवाङ खोलामा पहिरो जाँदा रोकिएका गाडीहरू

तस्बिर स्रोत, Dan Bahadur Gurung

तस्बिरको क्याप्शन, धादिङको जवाङ खोलामा सोमवार राति पहिरो जाँदा रोकिएका गाडीहरू
    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

मुग्लिङ-नारायणगढ सडकखण्डको तुइन खोलामा पहिरोले ४५ घण्टासम्म सडक अवरुद्ध भएको दुई दिन नबित्दै नागढुङ्गा-मुग्लिन खण्डको जवाङ खोलामा पहिरोले बाटो बन्द भएपछि दशैँका निम्ति घर हिँडेकासहितका यात्रुहरू अलपत्र परेका छन्।

सडक विभागका अनुसार धादिङको बेनीघाटनजिकैको जवाङ खोलामा सोमवार राति ११ बजेतिर चट्टानसहितको सुक्खा पहिरो खसेको हो।

मङ्गलवार दिउँसो झन्डै ३ बजेपछि उक्त सडक खुले पनि देशका अन्य मुख्य सडकमा पनि समस्या देखिएको छ।

सास्ती

लक्ष्मी पन्थी

तस्बिर स्रोत, Shiva Silwal

तस्बिरको क्याप्शन, सोमवार रातिदेखि जाममा फसेका यात्रुमध्येकी बुटवलकी लक्ष्मी पन्थी

सोमवार रातिदेखि धादिङमा जाममा फसेका यात्रुमध्येकी बुटवलकी लक्ष्मी पन्थीले "चर्को गर्मीमा खानपिनबिनै बसिरहनुपरेको" बताइन्। "सोमवार बेलुका आठ बजे काठमाण्डूबाट हिँडेकी हुँ, कहिले बुटवल पुगिने हो थाहा छैन," उनले भनिन्।

काठमाण्डूबाट बुटवल हिँडेका अर्का यात्रु वैकुण्ठ रानामगर पनि पहिरो झर्ने क्रम नरोकिएका कारण कहिले घर पुगिन्छ भन्ने ठेगान नभएको बताउँछन्। "हिजोदेखि अहिलेसम्म यहीँ छौँ," मङ्गलवार मध्याह्न उनले भने।

इलाका प्रहरी कार्यालय बेनीघाटका एक अधिकारीका अनुसार सडकको दुवैतर्फ गाडीहरूको १०/११ किमि लामो लस्कर छ।

पहिरो गएको स्थानमा खटिएका बेनीघाट प्रहरीका सहायक हवल्दार सन्तोष अर्यालले बीचबाटोमा रोकिँदा यात्रुहरूलाई विभिन्न किसिमका असुविधा हुनु स्वाभाविक भए पनि "हिँडेर जान सक्ने स्थानमा पसलहरू भेटिने भएकाले खानेकुरा आदि किन्न भने समस्या नभएको" बताए।

"एम्बुलेन्ससम्मलाई पहिरो पन्छाउँदै कटाइरहेका छौँ, अरू सबै गत रातिदेखि रोकिएका छन्," उनले भने।

कहाँकहाँ अवरोध?

धादिङको जवाङ खोला क्षेत्रको पहिरो

तस्बिर स्रोत, Dan Bahadur Gurung

तस्बिरको क्याप्शन, धादिङको जवाङ खोला क्षेत्रको पहिरो

नेपाल प्रहरीले मङ्गलवार मध्याह्न जारी गरेको विवरणअनुसार नागढुङ्गा-मुग्लिन तथा मुग्लिन-नारायणगढसँगै अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध थियो। सिन्धुपाल्चोकको कोदारीमा पहिरोले बाटो अवरुद्ध भएको हो। त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका हुँदै नेपाल-चीन नाका जोड्ने सडक पनि पूर्ण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको विनयी त्रिवेणीमा पहिरो र वर्षाले अवरुद्ध पारेको सडक भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

पहिरो पन्छाउन कति समय लाग्छ?

मुग्लिन-नारायणगढ खण्डको तुइनखोलामा गएको पहिरोको शुक्रवार लिइएको तस्बिर

तस्बिर स्रोत, Ishwor Joshi

तस्बिरको क्याप्शन, मुग्लिन-नारायणगढ खण्डको तुइनखोलामा गएको पहिरो पन्छाइए पनि बेलाबेला ढुङ्गा झर्न रोकिएको छैन (शुक्रवार लिइएको तस्बिर)

मङ्गलवार मध्याह्न बीबीसीसँगको कुराकानीमा सडक विभागका प्रवक्ता प्रभात झाले "सोमवार राति अवरुद्ध भएको धादिङको सडक खोल्नका निम्ति काम भइरहेको र थप ५/६ घण्टा लाग्न सक्ने" बताएका थिए।

"हामीले आवश्यक उपकरणहरू परिचालन गरेका छौँ। अहिले पहिरो सफा गर्ने काम भइरहेको छ," उनले भने।

त्यस्तै ४५ घण्टाको अवरोधपछि सोमवारबाट दुईतर्फी खुलेको मुग्लिङ-नारायणगढ सडकखण्डको तुइनखोलामा पनि बेलाबेला ढुङ्गा खसिरहँदा आवागमन प्रभावित भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

"पहिरो खस्दा डेढदुई सय मिटरमाथिसम्म 'स्लाइड'हरू तानिएकाले पहिलो झरिरहेको अवस्था छ," डिभिजन प्रमुख नारायण लामिछानेले भने, "सडक सफा गर्दे गए पनि ढुङ्गा झर्ने क्रम रोकिएको छैन।"

अचानक ठूलो पहिरो खस्दा उक्त सडकखण्ड शुक्रवार साँझदेखि आइतवार अपराह्नसम्म झन्डै ४५ घण्टा अवरुद्ध भएको थियो।

सडक विभागका प्रवक्ता झाका अनुसार नागढुङ्गा-मुग्लिन तथा मुग्लिन-नारायणगढसहित देशका सबै सडकमा गरेर २५० भन्दा धेरै पहिरो पन्छाउने साधन तथा उपकरणहरू खटाइएका छन्। "हामीसँग नभएका ठाउँमा स्थानीय ठेकेदारसँग भाडामा लिएर भए पनि काम चलाइरहेका छौँ," उनले भने।

समाधान

बाटो अवरुद्ध भएपछि सडकमै खाना बनाइरहेका मानिसहरू

तस्बिर स्रोत, Dan Bahadur gurung

तस्बिरको क्याप्शन, धादिङमा बाटो अवरुद्ध भएपछि सडकमै खाना बनाइरहेका मानिसहरू

प्रवक्ता झाका अनुसार सडक छेउको भिरालो भागलाई विभिन्न उपायमार्फत् "स्थिर" नपार्दासम्म पहिरो झरिरहने जोखिम कायमै रहन्छ। "हामी त्यसलाई 'स्लोप स्टबिलिटी मेजर्मेन्ट' भन्छौँ। त्यो भरपर्दो समाधान हो," उनले भने "तर अहिले हामीले गरिरहेका कामहरू प्रतिक्रियात्मक हुन्। अहिले पहिरो झरेपछि सफा गर्ने काम गरिरहेका हौँ।"

उनले बताएअनुसार विगत एक महिनादेखि अवरुद्ध भएर सोमवारदेखि सञ्चालनमा आएको अरनिको राजमार्गअन्तर्गतको कोदारी सडकखण्डमा पनि त्यस्तै समस्या छ। "वर्षा नरोकिएकाले त्यहाँ पनि बेलाबेला समस्या आइरहेको छ। स्थायी समाधानका निम्ति अध्ययन हुन आवश्यक छ।"

चितवनको तुइनखोलाको पहिरोका हकमा कतिपय जानकारहरूले भित्तालाई बलियो बनाउनेतर्फ उचित ध्यान नदिइएको टिप्पणी गर्दै आएका छन्।

भरतपुर सडक डिभिजनका प्रमुख लामिछाने भने उक्त कार्यमा लापरबाही भएको नभई लामो समयसम्म मनसुन कायम रहेकाले काम पूरा गर्न नसकिएको दाबी गर्छन्। "एक त नागढुङ्गा-मुग्लिनको तुलनामा मुग्लिन-नारायणगढ खण्डमा चट्टानहरू कमजोर किसिमका छन्," उनले भने, "अर्को कुरा तुइनखोलामा नयाँ पहिरो 'ट्रिगर' भएको हो।"

"अब त्यहाँ त्यो स्तरको पहिरो नआउला किनभने शुक्रवारको पहिरोसँगै त्यहाँ नयाँ किसिमको 'स्लोप' बनिसकेको छ।"

विकल्प

धादिङको पहिरोमा अड्किएका गाडीहरू

तस्बिर स्रोत, Dan Bahadur Gurung

तस्बिरको क्याप्शन, धादिङको पहिरोमा अड्किएका गाडीहरू

सडक विभागका प्रवक्ता झा भौगोलिक बनावटका कारण नागढुङगा-मुग्लिन र मुग्लिन-नारायणगढ सडकका समस्या देखिएका ठाउँहरूमा 'डाइभर्शन'को विकल्प नरहेको बताउँछन्।

"काठमाण्डूबाट त्यो बाटो भएर गन्तव्यतर्फ जानुपर्ने यात्रुहरूले आफ्नो अनुकूलता अनुसार बाटो नै परिवर्तन गरेर गन्तव्यतर्फ जान सक्छन् वा गइरहेका होलान्," उनले भने, "सडकको तलपट्टि त्रिशूली भएकाले डाइभर्सन गर्ने ठाउँ छैन।"

भौतिक मन्त्रालयले "चार घण्टामै पहिरो पन्छाउने व्यवस्था गरिएको" भनी गर्दै आएको दाबीबारे सोधिएको प्रश्नमा उनले अहिलेका ठूला पहिरोहरूलाई अपवादका रूपमा लिइनुपर्ने बताए। "सामान्य अवस्थामा चार घण्टा भनेका हौँ। अपवादका घटनामा त्यो लागु हुँदैन," उनले भने, "तर पहिरो पन्छाउनका निम्ति हाम्रा कामदारहरू कार्तिक मसान्तसम्मै सडकमै रहन्छन् र दशैँको समयमा पनि आलोपालो गरी काम गर्ने व्यवस्था मिलाएका छौँ।"

सकेसम्म रातिको समयमा यात्रा नगर्दा जोखिम कम हुने झा बताउँछन्।

त्यस्तै डिभिजन सडक भरतपुरका लामिछानेले बेलाबखत ढुङ्गा झर्दा हुने अवरोधलाई सफा गर्दै सवारी आवागमन गराउन समस्या नभए पनि "ट्राफिक प्रहरीकै उपस्थितिमा आवागमन व्यवस्थापन गर्नुपर्ने स्थिति भने कायमै रहेको" बताए।

"कमसेकम चाडबाडका बेलासम्म त्यसरी व्यवस्थापन गर्नुपर्ने देखिन्छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।