निर्वाचन केन्द्रित भएर सीमा नाकामा सुरक्षा कसरी हुँदै छ?

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दाङको घोराही उपमहानगरपालिका–१५ स्थित घोराही बजारको भानुचोकमा प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा निर्वाचन प्रहरी
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

फागुन २१ गते हुने चुनावका लागि केन्द्रित भएर सीमा नाका बन्द गर्ने विषयमा सीमावर्ती जिल्लाका सुरक्षा समितिले भारतीय समकक्षीसँग छलफल गर्ने काम भइरहेको सरकारले जनाएको छ।

सीमा चौकीमा खटिने सशस्त्र प्रहरी बलको सीमावर्ती एकाइहरूले भारतीय सुरक्षा निकायका समकक्षीहरूसँग बैठक गर्ने क्रम पनि निरन्तर गरिरहेको जनाएको छ।

निर्वाचन आयोगले उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठक गरेर यसअघि सीमा नाका र वरपर सुरक्षाको व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको थियो।

त्यस्तो सिफारिसपछि सीमा नाका बन्द गर्ने विषयमाथि र सीमामा हुन सक्ने आपराधिक गतिविधिको लागि निगरानी बढाउने कामहरू जारी रहेको गृहमन्त्रालयले जनाएको हो।

"सीमा नाका जोडिएका जिल्लाका जिल्ला सुरक्षा समितिले समकक्षीसँग बैठक गरिरहनुभएको छ। धेरै जिल्लामा बैठक सम्पन्न पनि भइसकेको छ। केन्द्रीय नीति अनुरूप ७२ घण्टालाई बन्द गर्ने विषय उहाँहरूसँग एउटा समझदारीको विषय छ," गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने।

"अर्कोतर्फ सीमा नाकामा हुनसक्ने सम्भावित आपराधिक गतिविधिको निगरानी बढाउने कुरा छ। सँगसँगै सीमा नाकामा छड्के जाँच बढाउने कुराहरू भइरहेको छ।"

यसपालि चुनावका लागि सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको सरकारले बताउँदै आएको छ।

चुनावी सुरक्षाका लागि नेपाल प्रहरीका करिब ७५ हजार, नेपाली सेनाका करिब ७९ हजार, सशस्त्र प्रहरीका साँढे ३४ हजारभन्दा केही बढी र निर्वाचन प्रहरीका रूपमा करिब एक लाख ३४ हजार सुरक्षाकर्मीहरू यसपटकको निर्वाचनमा सुरक्षाका लागि खटिएका गृहमन्त्रालयले जनाएको छ।

तर चुनावमा खासगरी सीमा नाका केन्द्रित भएर कति सुरक्षाकर्मी खटिन्छन् भन्ने यकिन तथ्याङक नहुने अधिकारीहरूले बताए।

विगतभन्दा केही फरक छ?

फागुन २१ को चुनावका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन्

तस्बिर स्रोत, RSS

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था उल्लेख छ।

त्यही व्यवस्था अनुसार निर्वाचन आयोगले सीमा नाका बन्द गर्ने व्यवस्था गर्न बुधवार सरकारलाई सिफारिस गरेको थियो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका लागि पनि यसपटक सुरक्षाकर्मीको सङ्ख्या बढाइएको बताएका छन्।

"राष्ट्रिय सुरक्षाको विषय पनि सँगसँगै हेर्नुपर्छ भनेर हामीले निर्वाचन सुरक्षा त गर्छौँ गर्छौँ। अनि यही बेला कुनै त्यस्तो तत्त्वले गलत ढङ्गले राष्ट्रिय सुरक्षा चुनौती दिन सक्छन् भनेर हामीले जगेडा फौजको पनि व्यवस्था गरेका छौँ।"

अन्तर्राष्ट्रिय नाका ७२ घण्टा अगाडि नै बन्द गर्ने कार्य विगतकै जस्तो अभ्यास भएको निर्वाचन आयोगले जनाएको छ।

"अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै गर्दा आपूर्ति प्रणालीमा पर्ने असर लगायतका विषयलाई पनि विश्लेषण गर्नु पर्ने हुन्छ। सीमा नाका सुरक्षा विगतकै अभ्यासको निरन्तरता हो," आयोगका प्रवक्ता भट्टराईले भने।

सीमा नाकामा हुनसक्ने गतिविधिलाई सुरक्षाको उच्च तहबाट नै निगरानी भइरहेको गृहमन्त्रालयले जनाएको छ।

"सुरक्षाकर्मीसँग प्राप्त सूचना र त्यसको विश्लेषण गरेर सीमा नाकामा सुरक्षा व्यवस्था कायम हुने गरेर सीमा नाकामा हुनुपर्ने सुरक्षाका गतिविधिलाई उच्च तहबाट निगरानी गरिरहेको अवस्था हो," गृहप्रवक्ता काफ्लेले भने।

"अहिले सुरक्षा परिचालनको सङ्ख्या पनि बढेको छ। सीमा नाका र वरपर तुलनात्मक रूपमा प्राप्त सूचनाको आधारमा सुरक्षाकर्मीले जाँच बढाएको अवस्था छ।"

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरी भोजपुरको बसपार्क क्षेत्रमा गस्ती गर्दै

तस्बिर स्रोत, RSS

नेपाल सशस्त्र प्रहरीले पनि सीमा नाका बन्द गर्ने विषयमा भारतीय समकक्षीसँग बैठक गर्ने क्रम जारी रहेको जनाएको छ।

"यहाँका धेरै प्रमुख जिल्ला अधिकारीहरूले भारतीय समकक्षीसँग बैठक गरेर अनि धेरै जिल्ला प्रशासन कार्यालयहरूले फागुन १७ गते रातिदेखि २१ गते रातिसम्म अत्यावश्यकीय सेवाबाहेक आवागमन बन्द हुन्छ भनेर सूचना नै जारी गरेको अवस्था छ," नेपाल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता विष्णु प्रसाद भट्टले भने।

"हामीलेचाहिँ हाम्रै समकक्षी भारतीय निकायहरूसँग यसको कार्यान्वयनका लागि समन्वय गरिरहेका छौँ।"

उनका अनुसार अधिकांशजसो भारतीय सीमावर्ती जिल्लामा समन्वय बैठक सकिएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बुधवार बालुवाटारमा सबै सुरक्षा प्रमुखहरूसँग निर्वाचनको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेकी थिइन्।

उनले सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, "सम्भावित चुनौती र जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता, कडा निगरानी तथा प्रभावकारी समन्वयका साथ सबै संयन्त्र परिचालित छन्।"

"निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी राख्दैन। सम्पूर्ण नागरिकमा ढुक्क र निर्भयसाथ आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु।"

फागुन २१ गतेको चुनावका लागि माघ २१ गतेबाट १६५ निर्वाचन क्षेत्रहरूमा निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मीहरू खटिन थालेका थिए।

सीमावर्ती सुरक्षा चुनौती आउन नदिनका लागि सुरक्षा निकायहरू सक्रिय रहेको र समन्वयमा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता भट्टले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।