नेपाल र भारतको सीमामा तेस्रो देशका नागरिकको 'अभिलेख' किन आवश्यक

नेपाल र भारतका सीमा सुरक्षा निकायहरूबीचको वार्षिक बैठक नोभेम्बर १४ मा दिल्लीमा सम्पन्न भएको थियो। भारतको एसएसबीका डाइरेक्टर जेनरल सञ्जय सिङ्घल र नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहितका अधिकारी उक्त बैठकमा सहभागी थिए।

तस्बिर स्रोत, SSB

तस्बिरको क्याप्शन, नेपाल र भारतका सीमा सुरक्षा निकायहरूबीचको वार्षिक बैठक नोभेम्बर १४ मा दिल्लीमा सम्पन्न भएको थियो

नेपाल र भारतबीचको खुला सीमानामार्फत् हुन सक्ने तेस्रो देशका नागरिकहरूको घुसपैठ रोक्न गुप्तचर सूचना आदानप्रदान अभिवृद्धि गर्ने र सीमा नाकामार्फत् आवतजावत गर्ने विदेशीहरूको अभिलेख राख्न निर्देशन दिइएको अधिकारीहरूले बताएका छन्।

नोभेम्बर १५मा नेपालको मार्गहुँदै भारत प्रवेश गर्न खोजेका दुई जना ब्रिटेनका निवासीलाई पक्राउ गरिएको भारतीय (एसएसबी) ले जनाएको थियो।

उनीहरूमध्ये एक जना पाकिस्तानी मूलका पुरुष रहेको विवरणहरू आएका छन्।

ती ब्रिटिश स्वास्थ्यकर्मीहरूलाई रुपइडीहा चेक पोस्ट थानाका प्रहरीहरूले पक्राउ गरेको र भिसा बिना भारतीय भूमिमा प्रवेश गरेको आरोपमा उनीहरूलाई बहराइचस्थित अदालतमा उपस्थित गराइएको भनिएको छ।

तेस्रो देशका नागरिकहरूको घुसपैठप्रति चिन्ता

यसै वर्ष नेपाल भारत सीमा पार गरेर गैरकानुनी रूपमा भारत प्रवेश गरेको आरोपमा केही चिनियाँ नागरिकहरू पनि पक्राउ परेका थिए।

केही समय अघि भारतको बहराइच प्रहरीले नेपालबाट अवैध ढङ्गले भारत प्रवेश गरेकी एक चिनियाँ महिलालाई ८ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना भएको बताएको छ।

मे महिनामा काठमाण्डूस्थित चिनियाँ राजदूतावासले एउटा सूचना जारी गर्दै नेपाल र भारतबीच खुला सीमाना रहेको भन्दै आफ्ना नागरिकहरूलाई झुक्किएर भारतीय भूमिमा प्रवेश गरेको खण्डमा भारतीय सेना वा प्रहरीले पक्राउ गर्न सक्ने उल्लेख गरेको थियो।

भारत पाकिस्तान तनावका माझ गएको अगष्टमा सशस्त्र प्रहरी बल र भारतको एसएसबीले संयुक्त गस्ती गरेका थिए

तस्बिर स्रोत, APF

तस्बिरको क्याप्शन, दुवै देशका सुरक्षा निकायहरूले बेलाबेलामा संयुक्त गस्ती गर्ने गरेका छन्

त्यसबेला चिनियाँ दूतावासले अवैध रूपमा भारत प्रवेश गर्दा दुईदेखि आठ वर्षसम्म जेल सजाय तथा भारी जरिवाना हुने र धरौटीमा रिहा हुन समेत कठीन रहेको भन्दै आफ्ना नागरिकहरूलाई सतर्क गराएको थियो।

हालै बहराइचकै प्रहरीले नेपालबाट अवैध रुपमा भारत प्रवेश गरेका एक जना चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको विवरण आएका छन्।

नेपालले पनि विभिन्न देशका नागरिक अवैध ढङ्गले भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने विषय भारतीय अधिकारीहरूसँगको छलफलमा राख्ने गरेको पाइन्छ।

नेपाली अधिकारीहरूले रोहिँज्यासहित कतिपय देशका शरणार्थी भारतीय मार्ग हुँदै आफ्नो भूमिमा प्रवेश गरेको भन्दै चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ।

नेपालको गृह मन्त्रालयका सहप्रवक्ता रविन्द्र आचार्य यस्ता घटना नियन्त्रणका लागि निगरानी बढाउने दुवै देशबीच सहमति रहेको बताए।

उनले भने, "गुप्तचर निकायलाई सक्रिय बनाउने र समाजका सबै तप्काहरूबाट सूचना लिने गर्दै आएका छौँ। हाम्रो सुरक्षाका लागि पनि कुन नाका बढी प्रयोग भएको छ, कस्ता नाका बढी प्रयोग भएको छ, कुन देशका नागरिक हुन्? उनीहरूले सोधपुछमा के भनेका छन्, त्यस्तो विवरण तलसम्म रहन्छ।"

नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीचको छलफलमा पनि तेस्रो देशका नागरिकहरूले एक अर्का देशको सीमा आरपार गर्दा त्यसको अभिलेख राख्ने विषय छलफलमा रहेको जानकार अधिकारीहरू बताउँछन्।

सीमा सुरक्षामा खटिएका अधिकारीहरू के भन्छन्?

दुई देशका सीमा सुरक्षा बलहरूको बैठकले यस्ता अवैध प्रवेशका घटनाको नियन्त्रणमा सहकार्य गर्ने विषयमा समीक्षा गरेको अधिकारीहरू बताउँछन्।

नोभेम्बर महिनामा भारतको नयाँ दिल्लीमा सम्पन्न सशस्त्र प्रहरी बल र भारतीय शसस्त्र सीमा बलबीचको छलफलमा अवैध आवतजावत नियन्त्रण गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

शसस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले नेपाल र भारतबीच खुला सीमाना भएकाले कहिलेकाहीँ तेस्रो देशका नागरिकहरूले त्यसबाट फाइदा उठाउन खोज्ने गरेको भन्दै आफूहरू त्यसप्रति सतर्क रहेको बताए।

उनले भने, "हामीले हाम्रो निगरानी र हाम्रो समकक्षी एसएसबीसँगको समन्वय र सहकार्यमा त्यसलाई हामीले रोक्दै आएका छौँ। खुला सीमाना भएकाले कहिलेकाहीँ थाहा नभएर पनि मानिसहरू त्यहाँसम्म पुगेको देखिएको छ। यो दुई देशको सीमा रेखा हो भनेर हामीले जानकारी गराइरहेका हुन्छौँ। उस्तै उस्तै जमिन देखिने भएकाले यो सीमा होइन कि भनेर पनि कहिलेकाहीँ भ्रम भएको हुनसक्छ।"

पूर्वी सीमाना मेचीपूलमा तैनाथ शसस्त्र प्रहरीहरू। तीन जनामध्ये एक जना प्रहरी अधिकृतले बन्दुक समाइरहेका छन् भने मेचीपुल लेखेको बोर्डको मुन्तिर एउटा स्कुटरमा सवार दुई जना महिलाहरू देखिन्छन्

तस्बिर स्रोत, APF

तस्बिरको क्याप्शन, नेपाल र भारतबीच सीमा क्षेत्रमा २५० वटा बोर्डर आउट पोस्ट रहेका छन् जहाँ झन्डै ९ हजार सुरक्षाकर्मी तैनाथ रहेको ठानिन्छ

नेपाल र भारतबीचको सीमा क्षेत्रमा शसस्त्र प्रहरी बलका करिब २५० बोर्डर आउटपोस्ट रहेका छन्। प्रत्येक त्यस्ता आउटपोस्टमा करिब ३५ सुरक्षाकर्मी तैनाथ हुने गर्छन्।

"नजानीकन वा थाहा नभएर सीमा पार गर्न लागेको अवस्थामा हामीले त्यहीँ अनुसार उसलाई सम्झाई बुझाइ गर्छौँ। उताको सुरक्षाकर्मीहरूले पनि हामीलाई त्यहीँ अनुसार खबर गर्नुहुन्छ। त्यो भन्दा बाहेकको अवस्थामा आ-आफ्नो नियम कानुन छ, त्यही अनुसार नै अघि बढ्ने हो।"

यसै वर्षको एप्रिलमा भारतले जारी गरेको अध्यागमन तथा विदेशी नागरिक सम्बन्धी ऐनले राहदानी वा भीसा बिना भारत प्रवेश गर्ने व्यक्तिलाई पाँच वर्षसम्म जेल र पाँच लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ।

नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारी एसएसबीले पाएको छ। सन् २०२३-२०२४ को भारतीय गृहमन्त्रालयको वार्षिक प्रतिवेदनका अनुसार दुई देशबाट एसएसबीले ५८ जना तेस्रो देशका नागरिकहरूलाई पक्राउ गरेको थियो।

नेपालमा के प्रावधान छ?

अध्यागमन ऐन २०४९ ले कुनै पनि विदेशीले राहदानी र भिसा नलिई नेपालमा प्रवेश नपाउने व्यवस्था गरेको छ। जाली राहदानी वा भीसा प्रयोग गरी नेपालभित्र प्रवेश गर्नेको हकमा पाँच वर्षसम्म जेल सजाय र ५० हजार रुपियाँ जरिवानाको व्यवस्था कानुनमा छ।

भिसा बिना नेपाल प्रवेश गर्नेका हकमा अनुसन्धान गरी उनीहरूलाई निष्कासन गर्ने देखि निश्चित जरिवाना लिएर उनीहरूको आगमनलाई नियमित बनाउने अधिकार अध्यागमन कानुनले अध्यागमन विभागका महानिर्देशकलाई दिएको छ।

यसै वर्षको जुनमा अमेरिकी सरकारको निष्कासनमा परेपछि भुटान फर्काइएका भुटानी शरणार्थीहरू भारतहुँदै नेपाल प्रवेश गरेपछि अध्यागमन विभागले उनीहरूलाई ५० हजार रुपियाँ जरिवाना तोक्दै नेपालबाट निष्कासन गर्ने निर्णय लिएको थियो।

तर त्यसको तत्कालै कार्यान्वयन हुने अवस्था नदेखिएको परिस्थितिमा उनीहरूको यात्रा अनुमति पत्र तयार नहुँदासम्म तीनलाई शरणार्थी शिविरमा नै स्थान हद तोकेर बस्न दिने निर्णय अधिकारीहरूले गरेका थिए।

अध्यागमन अधिकारीहरू के भन्छन्?

हतियारसहितका भारतीय सुरक्षाकर्मी।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको सुरक्षा निकायले नेपालसँगको सीमा क्षेत्रमा हुने घटनाक्रमप्रति सतर्कता व्यक्त गर्ने गरेको पाइन्छ

अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले बीबीसीसँग कुरा गर्दै भीषा बिना नेपाल प्रवेश गर्न खोज्नेहरूलाई आफूहरूले नाका छलीको आरोपमा कारबाही गर्ने गरेको बताए।

उनले भने, "हामीले उहाँहरूलाई नाका छलीको अभियोगमा जरिवाना लगाउँछौँ र नियमानुसार भिसा नियमित गर्ने पनि काम गर्छौँ। भारतबाट आएका तेस्रो मुलुकका विदेशीको हकमा उताको अध्यागमनले प्रस्थानको अनुमति दिइसकेपछि मात्रै हामी प्रवेशको अनुमति दिन्छौँ। तर कति जना त्यसो नगरी पनि आएको हामीले पाएका छौँ। उहाँहरूले थाहा थिएन भन्नुहुन्छ, कतिले म गाडीमा आए भारतको अध्यागमनले रोकेन भन्नुहुन्छ। कतिपय अवस्थाले त्यस्ता घटना स्थानीय अध्यागमनले हाम्रोमा पठाउने गरेको छ र यहाँबाट हामीले नियममन गरेका छौँ।"

उनका अनुसार नाका छलीको आरोप लागेका व्यक्तिहरूलाई न्यूनतम ३० डलर (४,२५४ रुपियाँ) देखी १२५ डलर (१७,७२५ रुपियाँ) सम्म जरिवाना हुने गरेको छ। "उहाँहरूलाई हामीले ३० दिनको प्रवेश अनुमतिपत्र दिन्छौँ।"

नेपाल र भारतबीचको सीमा क्षेत्रमा पूर्वमा काकडभिट्टादेखी पश्चिममा गड्डाचौकीसम्म गरेर विभिन्न ९ ठाउँमा अध्यागमन कार्यालयहरू रहेको अधिकारीहरू बताउँछन्।

नेपाल र भारतबीच करिब १,८८० किलोमिटर खुला सिमाना छ। उक्त खुला सीमानाको दुरुपयोग गर्दै विभिन्न तत्त्वहरूले आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती पार्ने खालका गतिविधि गर्ने गरेको भन्दै भारतीय पक्षले नेपाली पक्षको बेला बेलामा ध्यानाकर्षण गराउने गरेको पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।