भारतको सशस्त्र सीमा बलका प्रमुखसँग 'शरणार्थीहरूको नेपाल प्रवेशका बारे पनि कुरा हुने'

आफ्नो एक सीमावर्ती बाहिनी भ्रमणका क्रममा नेपालको सशस्त्र प्रहरीका तर्फबाट मायाको चिनो लिँदै एसएसबी प्रमुख अमृत मोहन प्रसाद

तस्बिर स्रोत, SSB.gov.in

तस्बिरको क्याप्शन, एसएसबी प्रमुख अमृत मोहन प्रसाद एक भारतीय सीमावर्ती बाहिनी भ्रमणका क्रममा नेपालको सशस्त्र प्रहरीका तर्फबाट मायाको चिनो लिँदै
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारीमा रहेको भारतको सशस्त्र सीमा बल (एसएसबी) प्रमुख अमृत मोहन प्रसाद शुक्रवार काठमाण्डू आएर आइतवारसम्म सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग वार्ता गर्दैछन्।

“यो सशस्त्र प्रहरी र एसएसबीबीच सीमातर्फका तल्लो तहदेखि नियमित भेटघाट र बैठक हुने परम्पराको केन्द्रीय तहमा निरन्तरता हो,” सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापा भन्छन्।

शनिवार र आइतवार दुई सुरक्षा सङ्गठनबीच हुने द्विपक्षीय बैठकमा सीमा सुरक्षाका धेरैजसो पुरानै र केही नयाँ परिवेशका विकसित घटनाक्रमले प्राथमिकता पाउने सहप्रवक्ता थापा बताउँछन्।

सीमा सुरक्षाका अतिरिक्त नेपाल-भारत सीमामा लागुऔषध औसारपसार, साना हतियार तस्करी, मानव बेचबिखन, अनौपचारिक व्यापारलगायतका विषयमा दुई सङ्गठनहरूले सहकार्य गर्दै आएका छन्।

प्रत्येक वर्ष पालैपालो एकअर्काको देशमा हुने द्विपक्षीय संवादको निरन्तरताका रूपमा भारतीय एसएसबी महानिर्देशक प्रसादको काठमाण्डू भ्रमण रहेको सशस्त्र प्रहरीले जनाएको छ।

'विशेष सम्बन्ध'

झन्डै ३७ हजारको सङ्ख्यामा फौज रहेको सशस्त्र प्रहरीको करिब १५ हजार जनशक्ति सीमामै खटिएका छन्। भारतसँग सीमा जोडिएका कतिपय तराईका जिल्लामा एक दर्जनसम्म 'पोस्ट'हरू रहेका छन्।

सुरक्षा मामिलाविज्ञ इन्द्र अधिकारी नेपालले अग्रणी भूमिकामा रहेर सीमा सुरक्षा गर्ने पूर्ण अधिकार सशस्त्र प्रहरीलाई दिएको हकमा खुला सीमानाका कारण भारतको एसएसबीसँग 'विशेष सम्बन्ध' बनाएर काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउँछिन्।

“खुला सीमानासँगै अपराधी वारपार गर्ने क्रमले दुवै देशलाई सुरक्षा चुनौती सिर्जना भइरहेको हुन्छ। त्यसमा साझा चुनौती पहिचान गर्नेदेखि सूचना आदानप्रदान गर्नुपर्ने काम नियमित रूपमा गर्नुपर्ने हुन्छ,” अधिकारी भन्छिन्।

“यी दुई सङ्गठनबीचको आपसी आत्मविश्वास विगतदेखि नै निकै राम्रो देखिन्छ, त्यसमा ठूलो समस्या छैन। कतिपय विषय त कानुनले सहजै सघाउने अवस्थाका नहुँदा नहुँदै पनि दुई सङ्गठनले एकअर्कालाई बुझेर गरेको तहको पाइन्छ।”

शरणार्थीको ओहोरदोहोर

नेपालमा भारतीय बाटो हुँदै सयौँको सङ्ख्यामा रोहिन्ज्या शरणार्थी आएका छन्
तस्बिरको क्याप्शन, नेपालमा भारतीय बाटो हुँदै सयौँको सङ्ख्यामा रोहिन्ज्या शरणार्थी आएका छन्

केही महिनाअघि बाङ्ग्लादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किरहेको बेला नेपाली सीमामा अतिरिक्त सशस्त्र प्रहरीहरू परिचालन गरेको स्मरण गर्दै सहप्रवक्ता थापा यसपटकको वार्तामा शरणार्थीको विषय समेत समेटिने बताउँछन्।

यसपटक द्विपक्षीय बैठकमा नियमित सीमा समस्याबाहेक उक्त मुद्दा उठाइए पनि कुन देशका शरणार्थीका कारण यस विषयमा छलफल हुने हो भन्नेबारे उनले खुलाएनन्।

नेपालमा म्यान्मारका रोहिन्ज्या, पाकिस्तानी अहमदिया, बाङ्ग्लादेश, श्रीलङ्कासहित विभिन्न अफ्रिकी देशका शरणार्थीहरू रहेका अधिकारीहरू बताउँछन्।

नेपाल सरकारले भुटानी र तिब्बतीलाई शरणार्थीको दर्जा दिए तापनि अन्यलाई गैरकानुनी आप्रवासी बताउने गर्छ। तीमध्ये केही भारतीय बाटो हुँदै नेपाल आएका बताइन्छ। उनीहरू नेपालबाट भारत जान सक्ने कुरालाई समेत चिन्ताका रूपमा हेर्ने गरिन्छ।

सहप्रवक्ता थापा थप्छन्, “दुई देशबीचमा तेस्रो मुलुक जोडिनेबित्तिकै विभिन्न जोखिम हुन सक्ने रूपमा हेरिने गर्छ। त्यसबाहेक हाम्रो खुला सीमाको दुरुपयोग गरेर तेस्रो मुलुकका नागरिकका गैरकानुनी आउजाउ नहोस् भन्ने पुरानै चिन्ता छ।”

सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारीले इतिहासदेखि नै शरणार्थीको विषय भारतका लागि भन्दा नेपालका लागि निकै पेचिलो विषय रहेको बताउँछिन्।

“धेरैजसो शरणार्थीहरू नेपालमा स्थल मार्गबाट आएका देखिन्छ। जसक्रममा दुवै देशले उनीहरू एक अर्कामा प्रवेश गर्न दिन नमिल्नेगरी आत्मविश्वास विकास गर्ने र सूचना आदानप्रदान गर्ने माहोल हुनुपर्छ। सूचना नभईकन त्यससँग जुझ्ने योजना बनाउन कठिन छ,” अधिकारी भन्छिन्।

“शरणार्थीलाई आतिथ्यता गर्ने नेपालको अवस्था छैन। त्यसैले नेपाल यस मामिलामा बढ्तै संवेदनशील छ। भारत संवेदनशील नभईदिने हो भने नेपाललाई यस मामिलासँग जुझ्न सहज छैन।”

सीमास्तम्भ

सीमास्तम्भ

नेपाल-भारत सीमानामा सयौँका सङ्ख्यामा रहेका ठूला, मझौला र साना गरेर तीन प्रकारका सीमा स्तम्भहरूको निगरानी र रेखदेख सशस्त्र प्रहरी र एसएसबीले गर्ने गर्छन्।

“पछिल्लो समय नापी विभाग समेत संलग्न भएर बिजोर सङ्ख्याका सीमास्तम्भ नेपालले र जोर सङ्ख्याका सीमास्तम्भ भारतले गर्ने गरी मर्मतसम्भार तथा रङ्गरोगनको काम भइरहेको छ,” थापा भन्छन्।

सशस्त्र प्रहरीले यस भ्रमणलाई वर्षभरका कामको उच्चस्तरमा समीक्षा गर्ने अवसरका रूपमा लिने गरेको जनाएको छ।

सन् २०१५ मा दुई देशका अधिकारीहरूको संयुक्त टोलीले सीमास्तम्भको खोजी कार्य सुरु गरेर भत्केका सीमास्तम्भ मर्मत गर्ने र नयाँ बनाउनुपर्ने स्थानमा दुई देशका अधिकारीहरू सम्मिलित टोलीले नक्सा हेरेर निर्माण गर्ने काम थालेको थियो।

तर बीचमा केही वर्ष सुस्ताएको उक्त काम लगभग सकिन लागेकाले त्यसको समीक्षा यस बैठकका क्रममा हुने बताइएको छ।

नापी विभागका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा ८,८५३ वटा स्तम्भ रहेकामा धेरै पुराना स्तम्भहरू हराउन थालेपछि त्यससँग सम्बन्धित नयाँ समस्या सिर्जना हुन सक्ने चिन्ता बढेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।