कालापानी क्षेत्रमा अर्को चौकीको उद्घाटन, जनप्रतिनिधिलाई भारतको ‘रोक’

तस्बिर स्रोत, daodarchula
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
भारतको नियन्त्रणमा रहेको दार्चुलास्थित कालापानी क्षेत्रमा पर्ने इलाकामा सशस्त्र प्रहरी बलको थप चौकी स्थापना भएको छ।
व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने तिङ्करमा स्थापना गरिएको बोर्डर आउट पोस्ट (अस्थायी सीमा चौकी) ले शुक्रवार औपचारिकता पाएको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार नयाँ चौकीमा इन्स्पेक्टर प्रमुख छन्।
सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीका अनुसार अपरान्ह चौकीको उद्घाटन भएको छ।
अधिकारीहरूले त्यसअघि चीनसँगको सिमानामा रहेको सीमा स्तम्भ, पिलर निरीक्षण गरेका थिए।
भारतीय फौज रहेको कालापानी क्षेत्र व्याँस गाउँपालिकामा पर्छ। त्यसको वडा नम्बर १ मा छाङरु र तिङ्कर दुई वटा बस्ती छन्।
दार्चुलाको सदरमुकामबाट त्यहाँ पुग्न जोखिमपूर्ण र निकै अप्ठेरो भएकाले भारतीय अनुमति पत्र लिएर उसैको बाटो भएर उक्त क्षेत्र जाने गरिन्छ।
सहायक प्रमुख जिल्ला अधिकारी धामीका अनुसार चौकी उद्घाटनको निम्ति नेपाली सुरक्षा अधिकारीहरू त्यही बाटो हुँदै बुधवार छाङरु र बिहीवार तिङ्कर पुगेका हुन्।
भारतले ‘फर्काएका’ जनप्रतिनिधि
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल र प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण जोशी लगायतको टोली त्यहाँ पुगेको छ।
तर उनीहरूसँगै जान लागेका तीन जना राजनीतिक व्यक्तिलाई भारतीय अधिकारीहरूले बाटो बाटै फर्काइदिएको बताइएको छ।
जसले गर्दा व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामी समेत उक्त कार्यक्रममा सहभागी हुन पाएनन्।
त्यस्तै सदरमुकाम खलङ्गा समेत पर्ने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैंसिर र एक विद्यार्थी नेता दीपक खाती पनि फर्काइएकाहरूमा छन्।

तस्बिर स्रोत, mahakalimundarchula.gov.np
दुई जना जनप्रतिनिधि नेकपा एमालेका हुन भने खाती कांग्रेस सम्बद्ध विद्यार्थी नेता हुन्।
त्यसबारे जानकारी लिन खोज्दा सीडीओ किरण जोशी लगायतका प्रत्यक्षदर्शी तिङ्करमा रहेकाले उनीहरूसँग फोन सम्पर्क हुन सकेन।
भारतीय दूतावाससँग जानकारी माग
नगर प्रमुख चैंसिरले सबैजना सँगै जान लागेका बेला सदरमुकाम खलङ्गाबाट करिब १४-१५ किलोमिटर टाढा भारतीय भूमिबाट आफूहरू तीन जनालाई फर्काइएको जानकारी दिए।
त्यसबारे गृह मन्त्रालयले भारतीय दूतावाससँग जानकारी लिएको अधिकारीहरूले जनाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुनै पनि नेपालीलाई रोकटोक नभएको भारतले जनाएको छ।
“यता (भारतसँग) बुझ्दा नेपालीहरू यसै पनि आउने जाने गरिरहेका छन्, नेपालीलाई रोक्ने हाम्रो नीति छैन, भन्ने कुरा आएको छ,” प्रवक्ता भट्टराईले भने, “उद्घाटन कार्यक्रम सकेर सीडीओ फर्किएपछि थप जानकारी होला।”
भारतको धार्चुला जिल्लाका अधिकारीले नेपाली प्रशासनको सिफारिसमा यात्रा अनुमति पत्र दिने गर्छन्।
सीडीओ सहितको टोलीमा २३ जनाको नाम रहेको र ती सबै तिङ्कर गएको जानकारी दिँदै गृह प्रवक्ता भट्टराईले भने, “तर उहाँहरू तीन जना बीचमा मिसिएको र भारतले फर्काएको भन्ने आएको छ, विस्तृतमा बुझ्दै छौँ।”
व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीका अनुसार नेपाली टोली अपराह्न २ बजेतिर महाकाली पारी रहेको धार्चुला हुँदै कालापानी क्षेत्रतर्फ अघि बढेको हो।
घटनाबारे जनप्रतिनिधिको अनुभव
करिब १४ किलोमिटर बाटो पार गरेपछि भारतको सशस्त्र सीमा बल (एसएसबी) का डिआइजीले स्वागत गरे। दुवै देशका अधिकारीहरूबीच केही समय बैठक भयो।
त्यहाँ अनुमति पत्र जाँच हुँदैन। तर भारतीय अधिकारीले त्यहाँ सबैको पत्र हेरे। एक प्रत्यक्षदर्शीले भने, “तीन जनालाई उनीहरूको अनुमति पत्रमा केही त्रुटि भएको र त्यसबारे माथिबाट जानकारी लिनुपर्ने भनेर पर्खाए।”
भारतीय अधिकारीले ‘जानकारी लिएर उहाँहरूलाई पठाइदिन्छौँ तपाईँहरू जानुस्’ भनेर सीडीओ र एआईजी सहितको टोलीलाई पठाएको ती प्रत्यक्षदर्शीको भनाइ छ।
“तर लामो समयसम्म जानकारी आएको छैन भने पछि हामी फर्कियौँ,” महाकाली नगरपालिकाका प्रमुख चैंसिरले सुनाए।

तस्बिर स्रोत, mahakalimundarchula.gov.np
कारणबारे उनीहरू बेखबर छन्। तर व्याँस गाउँपालिकाका अध्यक्ष धामीका भनाइमा ‘राष्ट्रियताको पक्षमा कुरा उठाउनेहरूप्रति भारतीय पक्षबाट यस्ता व्यवहार’ भइरहन्छन्।
“रोटी बेटीको सम्बन्ध भन्ने कुरा देखाउने दाँत मात्र हो,” अध्यक्ष धामीले भने, “भारतको कर्मचारीतन्त्र अङ्ग्रेजकालीन छ।”

तस्बिर स्रोत, DOS NEPAL
व्याँस गाउँपालिकाको छाङरुमा २०७७ सालको वैशाख ३१ गते सशस्त्र प्रहरीको यस्तै चौकी स्थापना भएको थियो।
अहिले त्यसको डिएसपीको नेतृत्व रहने गुल्ममा स्तरोन्नति भइसकेको छ। तर चीनतर्फको सिमाना नजिक स्थापना भएको चौकीको उद्घाटनमा गाउँपालिकाका अध्यक्ष नै सहभागी हुन पाएनन्।
सिडिओप्रति चित्त दुखाई
कालापानी क्षेत्रका छाङरु र तिङ्करका बासिन्दा हिमपातका कारण छ महिना सदरमुकाममा बसोबास गर्छन्।
उद्घाटन कार्यक्रममा सहभागी हुने इच्छाअनुसार तीन जनाको नाम थप गरेर अनुमति पत्र बनाइएको बताइएको छ।
तर 'आफ्नै समूहका सदस्य छुट्दा समेत सीडीओ र एआईजीले चासो नदेखाएको' भन्दै एक जना जनप्रतिनिधिले आश्चर्य व्यक्त गरेका छन्।
ती जनप्रतिनिधिले भने, “भोलिपल्ट उहाँले फोन गरेर तपाईँहरू छुट्नु भएछ, थाहा भएन भन्नु भयो।”

तस्बिर स्रोत, daodarchula
कालापानी क्षेत्रका बासिन्दाहरूलाई आफ्नै जिल्लाको सदरमुकाम आउन जान निकै समस्या रहेको जानकारहरू बताउँछन्।
महाकाली नगर प्रमुख चैंसिरले भने, “खलङ्गाबाट व्याँस क्षेत्रमा पुग्ने मोटर बाटो नभए पनि पैदल हिँड्न मिल्ने सम्मकोमात्रै बनाउन सकेको भए पनि आज यस्तो हुने थिएन।”
उनले बाटोको निर्माण निकै सुस्त रहेको बताए।
नेपाली सेनाले उक्त बाटो निर्माणको जिम्मेवारी लिएको छ। सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनाले निर्माणको काम निरन्तर गरिरहेको बताए।
दार्चुला र कालापानीलाई लिएर बेला बखत नेपाल र भारतबीच तिक्तता उत्पन्न गराउने खालका विभिन्न घटना हुने गरेका छन्।








