नेपालको भारत र चीनसँगका सीमा स्तम्भहरू कति लोप, कति जीर्ण?

RSS

तस्बिर स्रोत, .

कार्तिक महिनाबाट सशस्त्र प्रहरी बलले मधेश प्रदेशबाट सुरु गरेको नेपाल-भारत सीमा स्तम्भहरूको मर्मतसम्भारलाई देशव्यापी बनाइने अधिकारीहरूले बताएका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ताले नेपाल इन्डिया बाउन्ड्री वर्किङ्ग ग्रुप नामक संयन्त्रको निर्णय अनुसार जोर सीमा स्तम्भ भारतले र बिजोर सीमा स्तम्भ नेपालले मर्मत गर्ने काम अघि बढाइने बताएका हुन्।

एक जना सीमाविद्ले सुस्त रहेको सीमा स्तम्भ मर्मतका कामहरू अघि बढ्नु सकारात्मक भएको र त्यसलाई भारत र नेपाल दुवैका सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा विवादरहित ढङ्गले टुङ्गोमा पुर्‍याइनुपर्ने बताए।

उनका विचारमा एक दशकभन्दा लामो समयदेखि नेपाल चीन संयुक्त सीमा संयन्त्रको बैठक बस्न सकेको छैन जसले गर्दा उत्तरतर्फका नाकाहरूमा पनि सीमा स्तम्भहरूको नियमित मर्मतसम्भारमा चुनौती देखिएको छ।

सीमा स्तम्भहरूको अवस्था कस्तो छ?

नेपाल र भारतबीच १८ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ भने नेपाल र चीनबीच १४ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ।

तर दुवै देशका सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको नियमित मर्मतसम्भारको काम अपेक्षा अनुसार हुन नसकेको विज्ञहरू ठान्छन्।

एक जना सीमाविद् बुद्धिनारायण श्रेष्ठले बीबीसीसँग भने, “नक्सा अनुसार नेपाल भारत सीमामा ८, ५५३ सीमा स्तम्भ हुनुपर्ने हो। तर त्यसमध्ये झन्डै ४९ प्रतिशत सीमा खम्बा स्थापित गर्न बाँकी नै छ।”

नेपाल भारत बोर्डर वर्किङ् ग्रुपले ३ वर्ष यता काम गर्न नसकेको उल्लेख गर्दै उनले भारतीय पक्षको सुस्तताका कारणले उक्त संयन्त्रको बैठक समेत हुन नसकेको बताए।

आफ्नो अध्ययनलाई उद्धृत गर्दै श्रेष्ठले नेपाल र भारतबीच १,५०६ वटा सीमा खम्बा जीर्ण अवस्थामा रहेको र २,८९१ वटा खम्बा सामान्य मर्मत गरेपनि हुने अवस्थामा रहेको उल्लेख गरे।

उनी भन्छन्, “स्थापना गरेको ४,३६० सीमा स्तम्भहरू मध्ये मेरो अध्ययन अनुसार २०२ वटा लोप भएको छ। ४९९ वटा खोलाले बगाएको छ। अहिले सशस्त्र प्रहरी बलले सीमा स्तम्भ मर्मत र रङ्गरोगनको काम अघि बढाएका छन्। कति ठाउँमा भारतीय सुरक्षा बलको पनि उपस्थिति छ र कति ठाउँमा उनीहरू उपस्थित नभएका विवरण आएका छन्। सीमामा त्यस्तो काम गर्दा दुवै देशका निकायहरूको उपस्थितिमा काम हुनुपर्छ।”

सीमा स्तम्भ

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार नेपाल र भारतका सीमा सुरक्षा बलको उपस्थितिमा नै सीमा स्तम्भहरूको मर्मतको काम भइरहेको छ।

उनले भने, “भारतको एसएसबीले अगाडि नै धेरै पिलरहरू मर्मत गरिसकेको अवस्था हो। २०७७ साल साउनमा नेपाल सरकारले सशस्त्र प्रहरी बललाई सीमा स्तम्भको रेखदेख गर्ने र मर्मत एवं संरक्षण गर्ने सहितका जिम्मा दिइने छ भनेर निर्णय गरेपछि कार्यविधिहरू तयार गरियो। सरकारले बजेट दिएपछि अहिले पहिलो चरणमा हामीले जीर्ण हुन लागेको र रुग्ण देखिएकोलाई मर्मत गर्ने काम थालेका हौँ।”

उनका अनुसार कार्तिक महिनाबाट सुरु भएको अभियान अन्तर्गत तिहारअघि मधेश प्रदेशका जिल्लाहरूका सीमा स्तम्भहरूको मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

उनले भने, “अहिले मधेश प्रदेशका ६ वटा जिल्लामा काम गरिएको छ। तर अब तिहारपछि हामी अरू प्रदेशमा पनि काम अघि बढाउँछौँ।”

प्रवक्ता खड्काले स्थानीय प्रशासन र आफ्नो भारतीय समकक्षीसहितको उपस्थितिमा मात्रै कुनै पनि निर्माणका कार्य गरिने बताए।

उनले भने, “उता एसएसबीले पनि यता सशस्त्र प्रहरी बलको उपस्थिति बिना काम गर्दैन। हामीले पनि जिल्ला प्रशासनदेखि नापी विभाग र एसएसबीको पनि प्रतिनिधि राखेर मर्मतसम्भार र रङ्गरोगनको काम गरिरहेका छौँ।”

अन्तर्राष्ट्रिय सीमा सुरक्षा कसको जिम्मा हो

अन्तर्राष्ट्रिय सिमाना र सीमा स्तम्भको सुरक्षा गृह मन्त्रालयको काँधमा छ। विक्रम संवत् २०७८/२०७९ को एउटा प्रतिवेदनमा उक्त आर्थिक वर्षमा नेपाल भारत सीमामा २ वटा घर टहरा जस्ता संरचना हटाइएका र एसएसबीबाट भएका ३ वटा दशगजा अतिक्रमणका घटनामा सशस्त्र प्रहरी बलले रोक लगाइएको उल्लेख छ।

चीनतर्फको सीमा क्षेत्रमा एउटा त्यस्तो संरचना हटाइएको र चीनले एकतर्फी रूपमा निर्माण गरेको अर्को एउटा संरचना निर्माणमा सशस्त्र प्रहरी बलले रोक लगाएको जनाइएको छ।

चीनसँग पनि सीमा क्षेत्रमा समस्याहरू रहेका केही समयपहिले हुम्ला जिल्लामा गृहमन्त्रालयले पठाएको अध्ययन टोलीले निष्कर्ष निकालेको थियो।

कालापानी र सुस्ताका कारण नेपाल र भारतबीचको सीमा समस्या जटिल बन्ने गरेको छ। केहीवर्ष पहिले जारी गरिएको चुच्चे नक्साले उक्त मामिला थप चुनौतीपूर्ण बनेको छ।

चीनसँग पनि नेपालको हुम्ला जिल्लाको सीमा क्षेत्रमा केही समस्याहरू देखिएका गृहमन्त्रालयको एउटा अध्ययनले देखाएको थियो।

सीमा स्तम्भ

तस्बिर स्रोत, RSS

चीनसँगका सीमा स्तम्भमा के समस्या?

सीमाविद् बुद्धिनारायण श्रेष्ठ जस्ता कतिपय विज्ञहरूले नेपालको उत्तरी सीमामा पनि सीमा स्तम्भहरू मर्मत सम्भार गर्नु आवश्यक भइसकेको बताउँछन्।

श्रेष्ठले बीबीसीसँग भने, “चीनसँगको सिमानामा ७९ वटा मूल खम्बा र २० वटा सहायक खम्बाहरू रहेका छन्। नदीको बहावका कारणले लगभग केही खम्बाहरू जीर्ण भएका छन्। पूर्व पश्चिम गरेर १२ वटा खम्बाहरू जीर्ण छन् र यिनको मर्मत गरिएको छैन।”

नेपाल-चीन संयुक्त सीमा समितिले सन् २०१२ यता काम गर्न नसकेकाले मर्मत सम्भारको काम हुन नसकेको उनको भनाइ छ।

केही वर्षअघि हुम्ला जिल्लाको लिमी नाम्खा क्षेत्रमा चिनियाँ पक्षले सीमा स्तम्भ एकपक्षीय रूपमा मर्मत गरेको भन्ने विवरण कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सार्वजनिक गरेका थिए।

श्रेष्ठले नेपाल चीन सीमा सम्बन्धी संयुक्त संयन्त्रलाई क्रियाशील गराउनुपर्ने र पहिलेकै ठाउँमा पिलर स्थापना गरिएको हो कि ठाउँ सारिएको हो यकिन गरिनुपर्ने बताए।

उक्त क्षेत्रमा चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने विवरणहरू आएपनि सरकारले नेपाल र चीनबीच त्यस्तो समस्या नरहेको प्रतिक्रिया जनाएको थियो।

सशस्त्र प्रहरी बलका प्रवक्ता खड्काले चीनसँगको सीमा क्षेत्रमा पनि सीमा स्तम्भहरू मर्मत गर्नुपर्ने भएपनि त्यसबारे कुनै निर्णय नभएको बताए।

उनले भने, “त्यतातिर लगभग १०० को आसपासमा सीमा स्तम्भहरू छन्। दक्षिणमा काम भइरहेको छ। अब बिस्तारै त्यता पनि काम होला। किनभने अक्षरहरू मेटिएका हुन्छन्। सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुपर्‍यो।”

सीमा स्तम्भहरूमा किन समस्या आउँछन्

सीमाना

तस्बिर स्रोत, DOWRI

नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा ठूला, मझौला र साना गरी तीन खालका सीमा स्तम्भहरू छन्।

त्यसमध्ये साना सीमा स्तम्भहरूको मर्मत अधिकांश अवस्थामा हुने गरेको सीमाविद् श्रेष्ठ बताउँछन्।

उनले भने, “साना स्तम्भ जमिनबाट डेढ फुट अग्लो हुन्छ। अक्सर मान्छेहरूले बन्चरोले हानेर भत्काउँछन्। मध्यम र मूल पिलरहरू निर्माण गर्न केही समय लागेको हुन्छ।”

सशस्त्र प्रहरी बलका प्रवक्ता खड्काले साना स्तम्भहरू कतिपय तराईका जिल्लाहरूमा गाईवस्तु बाँध्ने किलाका रूपमा परिणत भएको बताए।

उनका अनुसार बाढी जस्ता विपद्ले पनि सीमा स्तम्भहरू बगाइरहेको छ।

उनले थपे, “अब अन्य कार्यहरू जस्तै हरेक वर्ष यो वर्ष हामी यति सीमा स्तम्भहरूको मर्मत र पुनर्निर्माण गर्छौँ भन्ने तय गरेर काम गर्छौँ। नियमित कामको रूपमा यो हुँदै जान्छ।”

गृहमन्त्रालयले सशस्त्र प्रहरीलाई भारत र चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको डिजिटल प्रोफाइल तयार पार्ने जिम्मा पनि दिएको थियो।

सशस्त्र प्रहरी बलका प्रवक्ताले लगभग सबै सीमा स्तम्भहरूको डिजिटल प्रोफाइल आफूहरूले तयार पारेको बीबीसीलाई बताए।

उनी भन्छन्, “केही समयमा नै हामी त्यो काम सबै भ्याउने अवस्थामा छौँ। हरेक पिलरको अवस्थिति र फोटो खिचेर हामीले एल्बम नै बनाएका छौँ।”