भारत-पाकिस्तान द्वन्द्वपछि उग्रवादको लहरो नेपालसम्म फैलने आशङ्का

नेपाल भारत सीमा क्षेत्रमा भारतीय एसएसबी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती गरिरहेका छन्

तस्बिर स्रोत, APF

तस्बिरको क्याप्शन, नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबीले सीमा क्षेत्रमा मङ्गलवार बिहानयता ४८ घण्टामा ८४ वटा संयुक्त गस्ती गरेका छन्
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भारत-पाकिस्तान द्वन्द्व चर्किएको खण्डमा त्यसले नेपालको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै विज्ञहरूले आवश्यक कदमका लागि पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

दुई परमाणु अस्त्रसम्पन्न देशबीचको तनाव पूर्णयुद्धको स्तरमा विस्तार भएको खण्डमा भारतसँग खुला सिमाना भएको नेपाल त्यसबाट जोगिएर रहन नसक्ने उनीहरूको मत छ।

नेपाली भूमिको दुरुपयोग हुनसक्ने जोखिमका कारण भूराजनीतिक असरहरू समेत देखा पर्न सक्ने उनीहरूले औँल्याएका छन्।

सरकारी अधिकारीहरूले चाहिँ आफूहरूले सुरक्षा सतर्कता बढाएको र परिस्थितिको सूक्ष्म विश्लेषण गरिरहेको प्रतिक्रिया दिएका छन्।

विज्ञहरूको चिन्ता खासमा के हो?

पहलगाममा उग्रवादीहरूले गत एप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि बुधवार बिहान भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँलाई लक्ष्यित गर्दै हवाई आक्रमणहरू गरेको थियो।

पाकिस्तानले आफ्नोतर्फ ३१ जनाको ज्यान गएको र ५७ जना घाइते भएको उल्लेख गरेको छ। भारत पाकिस्तानबीचको सीमा क्षेत्र लाइन अफ कन्ट्रोलमा भएको पाकिस्तानी गोलाबारीमा कम्तीमा १५ जना मारिएका भारतले बताएको छ।

पछिल्लो द्वन्द्व कुन स्तरमा विस्तार हुन्छ त्यो स्पष्ट छैन।

नेपाल भारत सीमा क्षेत्रमा परिचयपत्र देखाएर मात्र ओहरदोहर गर्न दिइएको छ

तस्बिर स्रोत, APF

तस्बिरको क्याप्शन, नेपाल भारत सीमा क्षेत्रमा परिचयपत्र देखाएर मात्र ओहरदोहर गर्न दिइएको छ

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले बीबीसीसँग भने, "भारत र पाकिस्तान लडाइँमा व्यस्त हुने परिस्थिति आउँदा आर्थिक, सुरक्षा र पर्यटनजस्ता क्षेत्रमा असर पर्छ। त्यसले हाम्रो दैनिक जीवनलाई नै अप्ठेरो पार्नसक्छ।"

उनले थपे, "खुला सिमाना भए पनि युद्धकै परिस्थिति आयो भने सामानहरू जगेडा राख्नुपर्ने हुन्छ, त्यहाँको आपूर्ति प्रणाली अवरुद्ध हुँदा यहाँ महँगी बढेर जान्छ।"

भारत सरकारले आफ्नो देशमा रहेका पाकिस्तानीहरूलाई मुलुक छाड्न भनेको सन्दर्भ उल्लेख गर्दै उनले थपे, "उनीहरू पनि खुला सीमाको हिसाबले सहजै आइपुग्ने नेपाल हो। शरण खोज्दै आउनेको सङ्ख्या बढ्न सक्छ।"

नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात भारत र पकिस्तानबीचको जारी द्वन्द्व युद्धकै चरणमा नपुग्ने ठान्छन्। तर नेपाल सरकारले पर्याप्त तयारी नगरेको उनको ठम्याइ छ।

उनले भने, "हाम्रो जस्तो भूराजनीतिक अवस्थामा भएको देशलाई कस्तो परिस्थिति आयो भने के गर्ने भनेर 'रिहर्सल' गर्ने समय पनि हो यो। इन्धन, खाना पकाउने ग्यास, औषधिजस्ता आधारभूत कुरामा के गर्ने भनेर हामीले ध्यान दिनु जरुरी छ। युद्ध हुने सम्भावना कम पो छ, तर भइहाल्यो भने राष्ट्रिय रूपमा के गर्ने भन्ने तयारी गर्नुपर्छ।"

भारत-पाकिस्तानबीचको द्वन्द्वले दुई देशका हवाई क्षेत्र बन्द हुने परिस्थिति निम्त्याए नेपालबाट हुने कैयौँ अन्तर्राष्ट्रिय उडानहरू समेत बन्द हुन सक्ने सम्भावनालाई नकार्न नसिकने नागरिक उड्ययनका जानकारहरूले बताएका विवरणहरू आएका छन्।

एसएसबी प्रमुख अमृत मोहन प्रसाद एक भारतीय सीमावर्ती बाहिनी भ्रमणका क्रममा नेपालको सशस्त्र प्रहरीका तर्फबाट मायाको चिनो लिँदै

तस्बिर स्रोत, SSB.gov.in

उग्रवादको लहरो फैलन सक्ने जोखिम

भारत पाकिस्तान द्वन्द्वका कारण भारत बसेर उग्रवादी गतिविधि गरिरहेका हुनसक्ने कतिपय समूह समेत नेपालतिर मोडिनसक्ने सम्भावना पनि टड्कारो रहेको कतिपय सुरक्षा विज्ञले औँल्याएका छन्।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख शर्मा भन्छन्, "भारतमा लुकेर बसेका हुनसक्ने मुजाहिद्दीन वा अन्य समूहहरू पनि यता आउन सक्छन्। तिनीहरूबाट शान्ति सुव्यवस्था बिथोल्ने गतिविधि भइदियो भने झन् अप्ठेरो पर्छ। विगतमा यहीँबाट आतङ्कवादीहरूले विमान अपहरण गरेको घटना हामीले बेहोरेकै हो। त्यही भएर शान्ति कायम भएन भने दीर्घकालसम्म असर पर्छ।"

पाकिस्तान विरुद्ध सैनिक कारबाही 'अप्रेशन सिन्दूर' सुरु गरेको लगत्तै भारतले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई 'उच्च सतर्कता'मा राखेको विवरणहरू आएका छन्। भारतीय गृहमन्त्री अमित शाहले नेपाल र भुटानसँगको सीमामा सुरक्षा सुनिश्चित गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई निर्देशन दिएको द इण्डियन एक्सप्रेसमा प्रकाशित एउटा खबरमा जनाइएको छ।

अप्रेसन सिन्दुरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

भूपरिवेष्ठित नेपाललाई तीन दिशाबाट भारतले घेरेको छ। दुई देशबीच करिब १,८८० किलोमिटर खुला सिमाना छ जसको सुरक्षाको जिम्मा नेपालतर्फ सशसस्त्र प्रहरी बल र भारततर्फ एसएसबीले पाएको छ।

उक्त खुला सिमानाको प्रयोग गरेर हुने जाली भारतीय नोटको प्रवेशदेखि लिएर उग्रवादी समूहहरूको आवतजावतजस्ता विषयलाई आफ्नो सुरक्षा चुनौतीका रूपमा बेलाबखत भारतले नेपालसमक्ष जोडदार रूपमा प्रस्तुत समेत गर्ने गरेको छ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा भन्छन्, "पाकिस्तानमा रहेका आतङ्कवादी समूहहरूको लुक्ने ठाउँ र आश्रयस्थल भयो भन्ने धारणा भारतले बारम्बार सुरक्षा बैठकहरूमा समेत राख्ने गरेको छ। भोलि उता केही घटना भयो भने तिमीहरूले कडाइ गर्न सकेनौँ भनेर नेपाललाई दोष दिनसक्ने अवस्था आउनसक्छ। त्यही भएर हामीले चनाखो हुनसकेनौँ भने यसले समस्या निम्त्याउन सक्छ।"

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक राजेन्द्र सिंह भण्डारी पनि त्यस्तो जोखिमको सम्भावना देख्छन्।

उनले भने, "प्रायः ठूल्ठूला मुलुकहरू युद्धमा जाने स्थिति भयो भने गोरुको जुधाइमा बाच्छाको मिचाई हुने जस्तो अवस्था आउन सक्छ। आतङ्ककारी गतिविधिहरूका निहुँमा अरू अप्रेशन र अन्य किसिमका निगरानी बढाउने र नेपालमा अनुचित किसिमले हस्तक्षेपमा आउनसक्ने सम्भावना समेत रहन्छ।"

विगतमा भारतले पाकिस्तानलाई जोडेर नेपाललाई आरोपहरू लगाएका उल्लेख गर्दै तनाव चुलिएको अवस्थामा त्यस्ता घटना अझ बढ्नसक्ने चिन्ता उनले जनाए।

भण्डारी भन्छन्, "कश्मीरसँग जोडिएका कतिपय घटनामा संलग्न भएकाहरू नक्कली परिचयपत्र बनाएर नेपालमा आश्रय लिए, कतिले नेपाली नागरिकसँग बिहे गरेर नेपालमा नै बसे। विगतमा दाउद समूहले समेत यहाँबाट गतिविधि गर्‍यो र नक्कली नोटहरूको कारोबार भयो भन्ने जस्ता कुरा उठ्दै आएको छ। फेरि पनि यस्तो हुने खतरा देखिन्छ। जहिले पनि आरोपका रूपमा आउने यो मुद्दा हामीले हल गर्नैपर्ने विषय हो।"

नेपाल भारत सीमा नजिकै अवस्थित विरगञ्जको शंकराचार्य गेट

तस्बिर स्रोत, Madhuri Mahato

अमेरिकी विदेश मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी रिपोर्टमा इन्डियन मुजाहिद्दीन (आईएम) नामक समूह भारत, नेपाल र पाकिस्तानमा सक्रिय रहेको उल्लेख गरेको थियो।

अमेरिकाले आतङ्कवादी सङ्गठनको सूचीमा राखेको उक्त समूहको पाकिस्तानका उग्रवादी समूहहरूसँग नजिकको सम्बन्ध रहेको भन्दै त्यसको सबैभन्दा ठूलो सञ्जाल नेपालमा रहेको समेत उक्त प्रतिवेदनमा दाबी गरिएको थियो।

तर यस्ता कुरा प्रकाशमा आइरहँदा नेपाल सरकारले उपयुक्त प्रतिक्रियाहरू जनाएको नदेखिएको विज्ञहरू ठान्छन्।

"राजनीतिक अस्थिरता र सुशासनमा देखिएका गम्भीर समस्या त्यसका लागि जिम्मेवार रहेको" नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यातले बताउँछन्।

उनले बीबीसीसँग भने, "हामीले गोप्य ढङ्गले सूचनाहरू सङ्कलन गर्नुपर्छ। बसाइँ सरेर आएर बसिरहेका हुन सक्छन्। त्यो हेर्नुपर्‍यो। हाम्रो देशभित्रको भ्रष्टाचारले गर्दा केही छ भने पनि आँखा चिम्लेर बसिदिने प्रवृत्ति देखिन्छ। सरकारका संयन्त्रहरू प्रयोग गरेर केही छ कि भनेर राम्रोसँग हेर्नुपर्ने अवस्था छ।"

उनले थपे, "आतङ्कवाद साझा चुनौती हो। ठूला देशहरूले के भन्छन् भनेर चुप लागेर बस्नुभन्दा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको पनि अध्यक्ष रहेको नेपालले राष्ट्रिय हितका लागि कूटनीतिक हिसाबले कस्तो कदम चाल्ने र आइपर्ने समस्याहरूसँग कसरी जुझ्ने भनेर सोच्ने बेला हो। तर त्यो परिपक्व रूपमा भएको म कमै देख्छु।"

नेपाल सरकार के भन्छ?

सशस्त्र प्रहरी बलले ८ सय ४४ स्थानमा चेक पोइन्ट राखेको जनाएको छ

तस्बिर स्रोत, APF

तस्बिरको क्याप्शन, सशस्त्र प्रहरी बलले ८ सय ४४ स्थानमा चेक पोइन्ट राखेको जनाएको छ

पाकिस्तानमाथि भारतले आक्रमण गरेको ३६ घण्टाभन्दा बढी समयपछि नेपालले यस घटनाबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।

बिहीवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, "नेपाल सरकार भारत र पाकिस्तानबीच बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्छ। नेपाल तनाव कम हुने अपेक्षा गर्छ र यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताप्रतिको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छ।"

"आफ्नो सैद्धान्तिक अडानअनुरूप नै आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा उभिन्छ। नेपालले कुनै पनि हानि पुर्‍याउने शक्तिहरूलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग हुन दिने छैन," विज्ञप्तिमा भनिएको छ।

उक्त विज्ञप्तिमा मन्त्रालयले एप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको तत्काल निन्दा गरेको उल्लेख गर्दै त्यस बेला नेपाल र भारत शोक र पीडाको घडीमा एकसाथ उभिएको जनाएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो भने गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि जारी गरिएको विज्ञप्तिमा 'भारत-पाकिस्तानबीच भएको घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको" जनाइएको थियो।

बुधवारबाट नै नेपाल-भारत सीमा क्षेत्र र काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको अधिकारीहरूले बताएका थिए।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी भन्छन्, "हाम्रा सबै सुरक्षा संयन्त्रले यसको सूक्ष्म ढङ्गले निगरानी गर्ने र विश्लेषण गर्ने काम भइरहेको छ। (भारतसँग हाम्रो) लामो खुला सीमा छ त्यसको दुरुपयोग नहोस र अवाञ्छित आवागमन नहोस् भन्ने कुरामा सरकार सचेत छ र त्यहीअनुसार निगरानी र जाँच भइरहेको छ।"

बीबीसीसँग कुरा गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कालीदास धौबजीले सीमा क्षेत्रमा तैनाथ भएका सशस्त्र प्रहरी बललाई उच्च सुरक्षा सतर्कतामा राखिएको बताए।

उनले भने, "सीमा नाकामा कडाइ गरिएको छ। मानिसहरूको परिचयपत्र हेर्ने र अभिलेख राखेर सीमामा ओहोरदोहोर गराउने काम भइरहेको छ। हामीले उतातिरको हाम्रो सहकर्मीसँगको समन्वय र गस्ती बढाएका छौँ।"

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा सीमा नाकामा परिचयपत्र जाँच्ने र आवतजावतको अभिलेख राख्ने कामलाई नियमित अभ्यास बनाउन सके त्यसबाट सीमा सुरक्षामा थप बल मिल्ने बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।