आगजनीमा परेका भवनहरूको अवस्था कस्तो? प्रारम्भिक क्षति आकलनले देखाएको डरलाग्दो तस्बिर

तस्बिर स्रोत, Reuters
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
"४००-५०० डिग्री सेल्सियससम्मका उच्च तापक्रममा भवन जलेका पाइएका छन्। कङ्क्रिट भवनहरूमा त्यति धेरै तापक्रममा १२ देखि २४ घण्टासम्म निरन्तर आगो बलिरहँदा कस्ता क्षति हुन्छन् भन्ने हाम्रा निम्ति मात्रै नभई अरू देशलाई पनि थाहा नभएको स्थिति उत्पन्न भएको छ," आगजनीले क्षतिग्रस्त भवनहरूको प्रारम्भिक आकलनमा संलग्न इन्जिनियर अनिल मानन्धरले सुनाए।
२०७२ सालमा भूकम्पले सानाठूला सबै खाले भवनमा क्षति पुगेको थियो भने अहिले 'जेन जी' आन्दोलनका बेला भएको व्यापक आगजनीले कैयन् सार्वजनिक तथा निजी संरचनाहरू क्षतविक्षत भएका छन्।
नेपाल इन्जिनियर असोसिएसन अनि सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा तिनको प्रारम्भिक क्षति आकलन गरिरहेका छन्।
जताततै 'रातो स्टिकर'
"सुरुवातमा हामीले सिंहदरबार, सर्वोच्च अदालत, बार असोसिएसन, स्वास्थ्य मन्त्रालयलगायतका भवनहरूको क्षति आकलन गर्यौँ। अहिले हामीले गरेको भनेको चाहिँ र्यापिड भिजुअल ड्यामेज असेसमेन्ट मात्र हो। सर्सर्ती हेरेर बुझेर क्षतिको प्रारम्भिक आकलन गरेका छौँ," नेपाल इन्जिनियर असोसिएसनका उपमहासचिव अनिल मानन्धरले भने।
क्षतिको अवस्था अनि तत्काल प्रयोग गर्न हुने/नहुने बारे हेरिएको उनले बताए।
"यस आधारमा धेरैजसो भवनमा ६० प्रतिशतभन्दा धेरै क्षति पुगेको पाइएको छ।"
क्षति आकलनमा संलग्न सरकारी निकाय सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले पनि कतिपय भवनमा संरचनामै क्षति पुगेको पाइएको उल्लेख गरे।
"आरसीसी भवनहरूमा खासगरी स्ल्याबहरूमा स्ट्रक्चरल क्षति पुगेको पनि पायौँ। कङ्क्रिट फुटेर प्वालै परेको अवस्था पनि भेट्टाइयो। बीम र कोलममा कम क्षति पायौँ भने शेरवालहरूमा पनि कङ्क्रिट फुटेको पायौँ," महर्जनले भने।
"सिंहदरबार, सर्वोच्च अदालतका भवनहरू लोड बेरिङ् शैलीका हुन्। तिनमा विगतमा रेट्रोफिट पनि गरिएका थिए। रेट्रोफिट गर्दा फलाम मेटलले ज्याकेटिङ गरेका थियौँ त्यहाँ अहिले बाहिरी भाग जम्मै फुटेर डन्डी देखिएको अवस्था छ। तातोले बीमहरू लच्किएका अवस्था छन्, छानो झरेका छन्," महर्जनले भने।

तस्बिर स्रोत, RSS
आगोका कारण कङ्क्रिटहरू अब कस्ता भए भनेर परीक्षण गर्न चाहिँ बाँकी रहेको उनले बताए।
प्रारम्भिक जाँचका दौरान तत्काल बस्न नमिल्ने भवनहरूमा रातो स्टिकर अनि कुनै भाग जीर्ण भएता पनि कुनै भाग सद्दे भएर बस्न मिल्ने ठाउँमा पहेँलो स्टिकर लगाइएको मानन्धरले बताए। सामान्य क्षतिमात्र भएका ठाउँमा हरियो स्टिकर दिइएको छ।
खासगरी सर्वोच्च अदालत, काठमान्डू जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, बार असोसिएसनको भवनमा रातो स्टिकर लगाइएको उनले बताए।
"तर यसलाई हामीले अन्तिम निचोड हो भनेर बुझ्न हुँदैन। यो केवल प्रारम्भिक रूपमा आँखाले हेरेर निकालिएका नतिजा हुन्।"
अर्को चरणमा विस्तृत इन्जिनियरिङ परीक्षण गरेपछि मात्र ती भवनलाई रेट्रोफिट वा प्रबलीकरण गरे पुग्ने हो वा भत्काएर नयाँ बनाउनु पर्ने हो भन्ने यकिन बताउन सकिने उनले बताए।
आगामी चरणको अध्ययनमा उपकरणहरू प्रयोग गरेर जाँचिने विभागका महानिर्देशक महर्जनले बताए।
"विस्तृत अध्ययनपछि कुन भवन सामान्य मर्मत गरे पुग्ने अनि कुन भवनलाई ठूलै प्रबलीकरण आवश्यक पर्छ भनेर छुट्ट्याउँछौँ र सोही बमोजिमका योजना बनाउँछौँ," उनले भने।
कहालीलाग्दो विवरण
आगोले धेरै क्षति पुग्नुमा निरन्तर जलिरहनु अनि उच्च तापक्रम पुग्नुजस्ता कारण रहेको जानकारहरूले बताएका छन्।
"कैयन् भवनहरू ५०० डिग्री सेल्सियसभन्दा धेरै तापक्रममा जलेका पाइए। त्यो हामीले कुन आधारमा भन्न सक्यौँ भने अल्युमिनिअम वा युपीभीसीहरूको निश्चित पग्लने विन्दु हुन्छ। ती पग्लिएका पाइए भने यो भवन यति तापक्रममा जल्यो है भनेर हामी भन्छौँ," मानन्धरले भने।
४००-५०० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पुगेपछि कङ्क्रिट ढलानहरूको बल समेत ६० प्रतिशतले घट्न थाल्ने उनले बताए।
"त्यसै कारण हामीले तत्काल ती भवनहरू प्रयोग गर्न हुन्न भनेका छौँ।"

उनले काठमान्डू जिल्ला अदालतको भवनको उदाहरण दिए।
"त्यहाँ भुइँतलाको स्ल्याब नै लच्किएको छ। डन्डी पनि तन्कियो अनि स्ल्याबहरूमा क्र्याक देखियो। उक्त तलाको मुनि बेसमेन्टमा धेरै गाडी जल्दा उच्च तापक्रम पुग्यो र त्यसले स्ल्याब, बीम, कोलममा असर गर्यो," उनले भने।
तल्लो तलामा धेरै क्षति भएका कारण माथिल्ला तला ठिकै भए पनि प्रयोगमा ल्याउन नसकिने स्थिति रहेको बताइन्छ।
"अहिले हेर्दा ठडिएकै देखिए पनि भूकम्पको सानो धक्काले पनि यस्ता भवन भत्कन सक्ने सम्भावना हुन्छ।"
भवनहरू १२ देखि २४ घण्टासम्म जलेको पाइएको उनले बताए।
"यो भनेको नेपालका निम्ति मात्र नभई विश्वकै निम्ति पनि पहिलो घटना हो। कुनै पनि ठाउँमा यति लामो समयसम्म यति धेरै भवन जलेको उदाहरण छैन। त्यसैले अनुभवी प्राविधिकलाई पनि यो अलि नौलो भएको छ।"
निजीतर्फ पनि भाटभटेनीका कतिपय स्टोर तथा हिल्टन होटल लामो समयसम्म जलेको अनि हेर्दाखेरि नै धेरै क्षति पुगेको देखिएको उनले बताए।
इन्जिनियर असोसिएसनले २०० जनालाई क्षति आकलनबारे भर्चुअल प्रशिक्षण दिएर परिचालन गरिरहेको बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








