आङ सान सू ची कहाँ छिन्, उनको अवस्थाबारे उत्पन्न अन्योलले म्यान्मारको चुनावलाई कस्तो असर

तस्बिर स्रोत, Sirachai Arunrugstichai / Getty Images
- Author, बीबीसी न्यूज बर्मिज
म्यान्मारकी नेत्री आङ सान सू चीलाई बाहिरी विश्वले पछिल्लो पटक चार वर्षभन्दा अगाडि देखेको थियो। कुनै बेला म्यान्मारकी नोबल शान्ति पुरस्कार विजेता प्रजातन्त्र समर्थक विपक्षी नेत्रीका रूपमा अन्तर्राष्ट्रिय नेता तथा अभियानकर्मीहरूले उनलाई मान्थे।
यद्यपि, सरकारमा पुगेपछि रोहिन्ज्या नागरिकहरूमाथि सेनाले गरेको हमलाको बचाउ गरेका कारण उनको देशबाहिर आलोचना भएको थियो। सन् २०१९ मा द हेगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा म्यान्मारको मुद्दाको प्रतिरक्षा पनि उनले गरेकी थिइन्।
त्यसपछि सन् २०२१ को फेब्रुअरीमा सैन्य कूका बेला उनी सरकारबाट बाहिरिन बाध्य भइन्। अदालतले ३३ वर्षको जेल सजाय दिनुअघि उनी म्यान्मारस्थित अदालतमा उपस्थित भएकी थिइन्। उनको जेल सजाय पछि घटाएर २७ वर्ष पारिएको थियो।
परिणामस्वरूप उनी डिसेम्बर २८ तारिखमा हुने चुनावमा सहभागी हुन पाउने छैनन्।
सू चीले न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) को नेतृत्व गर्थिन् जसले सन् २०१५ को चुनाव जितेको थियो। उक्त पार्टीले निर्वाचनका लागि पुनः दर्ता गर्न अस्वीकार गरेपछि पार्टी विघटन गरिएको छ।
उनीविरुद्ध देशको अफिशल सिक्रेट्स एक्ट उल्लङ्घन गरेको, विरोधलाई उक्साएको, कोभिडसम्बन्धी नियम तोडेको र वकीटकी अवैध रूपमा आयात गरेको आरोप लगाइएको थियो।
यो महिना उनका छोरा किम अरिसले आफ्नी ८० वर्षीया आमा जीवित भए नभएको आफूलाई थाहा नभएको बताएका थिए।
अर्को दिन म्यान्मारको सेनाले बीबीसीलाई एउटा विज्ञप्ति पठाउँदै सू ची जीवित र स्वस्थ रहेको जनाएको थियो।

तस्बिर स्रोत, Koen Van Weel / AFP via Getty Images
देशमा उनलाई समर्थन छ?

तस्बिर स्रोत, Nyein Chan Naing / EPA / Shutterstock
सू चीलाई विश्वभरिबाट अन्तर्राष्ट्रिय समर्थनमा क्षति पुगे पनि राजधानी याङ्गुनमा भने मानिसहरू उनको समर्थनमा रहेको बीबीसीले पाएको छ।
"आमा सू बिना म यो चुनावमा जान इच्छुक छैन," सन् २०२० मा एनएलडीलाई मत दिएकी एक ५६ बर्सिया महिलाले भनिन्। "उनी चुनावमा नहुँदा सेनाले जित्छ।"
कूविरुद्ध प्रदर्शन गरेर जेल परेपछि सन् २०२३ मा रिहा भएका एक २३ वर्षीय रगुले बीबीसीसँग भने, "हामी हाम्री आमा आङ सान सू ची र सत्तारूढ सरकारले सहभागिता नजनाएसम्म सन् २०२० को चुनाव कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ।"

तस्बिर स्रोत, Romeo Gacad / AFP vis Getty Images
सू चीको मृत्यु भइसकेको भन्दै त्रास किन छ?

डिसेम्बर १५ मा सू चीका छोराले रोएटर्ससँग भने "मलाई जानकारी भए अनुसार उनको पहिले नै मृत्यु भइसकेको पनि हुन सक्छ।"
सेनाले त्यसपछि विज्ञप्ति प्रकाशित गरेको छ र बीबीसीसँग उनको स्वास्थ्य राम्रो रहेको जनाएको छ। तर कुनै प्रमाण भने दिएको छैन।
विज्ञप्तिमा सू चीका छोराको भनाइलाई "झुटो समाचार" भन्दै त्यसलाई "आगामी चुनाव भड्काउन सही समयमा फैलाइएको" भनिएको छ।
उनको कानुनी टोलीले अधिकारीहरूले उनीसँग भेट् गर्न गरिएको आग्रह अस्वीकार गरिएको बताएका छन्।
सेनाका प्रवक्ता मेजर जेनरल ज मिन टुनलाई सेनाले किन मानिसहरूलाई सू चीलाई ठिक छ भनेर प्रमाणित गर्न उनलाई हेर्न दिँदैन भनेर सोध्दा डिसेम्बर २२ तारिखमा उनले भने, "त्यसो गर्न आवश्यक छैन। उनको स्वास्थ्य राम्रो छ।"
यसअघि उनले सैन्य चिकित्सकले उनलाई निरन्तर जाँच गर्दै आएको बताएका थिए। तर कुनै प्रमाण दिएका थिएनन्।

तस्बिर स्रोत, AFP via Getty Images
गृहयुद्धले तहसनहस भएको म्यान्मारमा ३६ लाख मानिसहरू विस्थापित भएका छन्।
कू गरेको करिब पाँच वर्षपछि सेनाले गर्न लागेको चुनावले देशमा प्रजातन्त्र नफर्काउने बरु सेनालाई सत्तामै रहन वैधानिक बनाउने रूपमा केही अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले टिप्पणी गरेका छन्। संयुक्त राष्ट्र सङ्घको म्यान्मारका लागि मानवअधिकार र्यापोर्टर टम एड्वार्डले चुनावलाई "देखावटी" भनेका छन्।
उनले अक्टोबरमा भएको पत्रकार सम्मेलनमा भनेका थिए, "जब तपाईँले विगत दुई वटा चुनावी चक्रमा अत्यधिक मतसहित विजयी हुने न्याश्नल लीग अफ डेमोक्रेसीसहित ४० वटा राजनीतिक दललाई विघटित गर्नुहुन्छ र विपक्षी राजनीतिक दलका नेताहरूलाई गिरफ्तार गर्ने, थुन्ने, कारागारमा राख्ने र यातना दिएर स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन।"

सू चीका पछिल्ला तस्बिरहरू कहिलेका थिए?
सेनाले आङ सान सू चीसहित एनएलडीका शीर्ष नेताहरूलाई बन्दी बनाएको छ तर उनीहरूलाई कहाँ राखेको छ निश्चित छैन।
उनका तर्फबाट कुनै पत्रहरू सार्वजनिक गरिएका छैनन्।
अन्तिम तस्बिरहरू मे २०२१ मा खिचिएका थिए, जब सरकारी समाचारपत्रहरूले उनलाई राष्ट्रपति विन मिन्ट र ने पी ड काउन्सिलका अध्यक्ष म्यो आङसँग देखाएका थिए, यो काउन्सिलले विशेष रूपमा बनाइएको राजधानी सहरको प्रशासन चलाउँछ।
उनको पछिल्लो तस्बिर सन् २०२१ को मे महिनामा सरकारी पत्रिकामा देखिएको थियो। उक्त तस्बिरमा राष्ट्रपति विन मिन र ने पी ड काउन्सिलका अध्यक्ष म्यो आङ पनि देखिएका थिए।

तस्बिर स्रोत, Myanmar's Military Information Committee
किम अरिसले बीबीसीसँग आफ्नी आमालाई अज्ञात स्थानमा सारिएको र सेनाको कुरा मानिसहरूले सुन्न नहुने बताएका छन्। सेनाले यस्तो चलाखी दशकौँदेखि गर्दै आएको र मानिसहरूले प्रत्येक पटक पत्याउने गरेको उनले बताए।
बीबीसीले सू ची कहाँ छिन् भन्नेबारे सोधेको प्रश्नमा सेनाले प्रतिक्रिया जनाएको छैन।
सू ची जीवित छिन् भन्ने सङ्केत के छन्?

तस्बिर स्रोत, STR / AFP via Getty Images
खानेकुरा, औषधि र किताबहरू प्रत्येक सोमवार जेलमा पठाइन्छ तर कसैले पनि उनलाई भेट्न पाउँदैनन्।
उनको कानुनी टोलीसँग निकट रहेको स्रोतले बीबीसीसँग, "उनलाई के आवश्यक परेको छ भन्ने कुरा हामी हस्तलिखित पत्रमा पाउने गर्थ्यौँ। अहिले भने हामीले प्रिन्ट गरिएको सूची मात्रै पाउँछौँ...
"आजकाल सूचीमा अमेरिकन वाइल्डफ्लावर्स र द पेङ्गुइन बुक अफ फ्रेन्च पोएट्रीजस्ता पुस्तकहरूको नाम हुन्छ।
"उनको स्वास्थ्यबारे मलाई उपलब्ध एउटा जानकारी भनेको जेलका अधिकारीहरूले उनको स्वास्थ्य राम्रो रहेको बताउँछन्।"
एनएलडीका प्रवक्ता म्यू न्यूँले बीबीसीसँग बोल्दै उनी जीवित छन् वा राम्रो स्वास्थ्यमा छिन् भन्ने कुरा थाहा पाउन मुस्किल छ भनेका छन्। उनलाई पक्राउ गरेयता १,७०० दिन भन्दा बढी समयदेखि उनी बाहिरी विश्वसँग सम्पर्कविहीन छिन्।
सू चीका एक पूर्व सहयोगीले बीबीसीसँग भने, "सेनाले के भनेको छ भन्ने कुरामा हामी विश्वास गर्दैनौँ। तर हाम्रो आध्यात्मिक मस्तिष्क छ र त्यसले उनी अझै जीवित छिन् भन्छ।"

तस्बिर स्रोत, Sai Aung Min / AFP via Getty Images
सू चीको एनएलडीले म्यान्मारमा काम गर्न सक्छ?
म्यान्मारको सेनाले आङ सान सू चीको एनएलडी पार्टीले सन् २०२३ मा राजनीतिक पार्टीका रूपमा पुनः दर्ता नगरेपछि त्यसलाई विघटित गरिदिएको छ। अन्य राजनीतिक दल पनि विघटित भएका थिए।
सेनाले राजनीतिक दल दर्तासम्बन्धी कानुनमा संशोधन गरेर केही पार्टीलाई भावी चुनावमा भाग लिन नपाउने बनाएको छ।
सेनाले डिसेम्बर १६ तारिखमा १२० भन्दा बढी अभियानकर्मीहरूलाई इलेक्सन प्रोटेक्सन ल अन्तर्गत पक्राउ गरिएको जनाएको थियो।
नरसंहारकाआरोपहरूको बचाउ गर्न सूचीको भूमिका?

तस्बिर स्रोत, Reuters
सन् २०१९ मा आङ सान सू ची द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा निर्वाचित सरकारको प्रमुखका रूपमा उपस्थित भएकी थिइन्।
उनले आम नरसंहार, रोहिन्ज्या मुस्लिम समूहविरुद्ध हिंसा भड्काएको जस्ता आरोपको बचाउ गरेकी थिइन्।
उनले रोहिन्ज्यविरुद्ध आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार गरेकी थिइन् र त्यसलाई आन्तरिक सशस्त्र हिंसा भनेकी थिइन्। उनले कुनै पनि अपराधको म्यान्मारकै न्याय प्रणालीले हेर्ने बताएकी थिइन्।
उनले आफूले दीर्घकालीन समाधानबारे काम गरिरहेको पनि बताएकी थिइन्।
विश्वभरि शान्तिको प्रतीकका रूपमा हेरिएकी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी)का लागि एउटा नाटकीय परिवर्तन थियो।
सरकार प्रवेश गर्नुअघि उनले स्वतन्त्र चुनावहरूका लागि आह्वान गरेकी थिइन्। यद्यपि कतिपय समयमा उनी घरमै नजरबन्दमा वा कडा प्रतिबन्धहरू अन्तर्गत बस्न बाध्य थिइन्।

तस्बिर स्रोत, Danish Siddiqui / Reuters
सू चीबारे रोहिन्ज्या के भन्छन्?
बर्मिज रोहिन्ज्या सङ्गठनका अध्यक्ष टुन चिन हुन्। उक्त समूहले रोहिन्ज्याको दु:खहरूबारे कुरा उठाउँछ।
चिनले बीबीसीसँग भने "सू चीले मुद्दाअगाडि बर्मिज सेनाको बचाउ गरेको... बर्मिज सेनाले जे गरिरहेको थियो त्यसलाई सक्रिय रूपमा अस्वीकार गरिरहेकी थिइन्।"

तस्बिर स्रोत, Reuters
"आङ सान सू ची मानवअधिकारका लागि नायकजस्तो बचाउ गरेको देखिएका कारण उनलाई अन्तर्राष्ट्रिय समर्थन थियो," उनले भने।
"जब उनी अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीजे गइन् र बर्मिज सेनाको बचाउ गरिन् उनी केही मानिसको मानवअधिकारका लागि समर्थन गर्ने तर रोहिन्ज्याविरुद्धको आम नरसंहारको बचाउ गर्ने रूपमा चिनिइन्।"
चुनावको वैधानिकताबारे के भनिँदै छ?

तस्बिर स्रोत, Reuters
एनएलडीले यदि अन्तर्राष्ट्रिय समुदायले निर्वाचनलाई मान्यता दियो भने यसले सशस्त्र फौजले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारहरू ढाल्न, राजनीतिक नेताहरूलाई पक्राउ र जेल हाल्न, र विजयी दलहरू विघटन गर्न सक्ने सन्देश दिने जनाएको छ।
म्यान्मारका टिप्पणीकार एलन क्लिमेन्टस्ले बीबीसीसँग बोल्दै सू ची र अन्य राजनीतिक नेताहरू रिहा हुनुपर्ने आफूलाई लागेको बताएका छन्।
"म्यानमारका जनताले सेनाले कारागारमा राखेका तिनै नेताहरूका पक्षमा अत्यधिक मत दिएका थिए - राष्ट्रपति विन मिन पनि त्यसमा पर्छन्। उनीहरूलाई रिहा गरियोस् र जनताले दिएको जनादेशका आधारमा जनताको हितमा के उत्तम हुन्छ भन्ने निर्णय गर्न दिइयोस्," उनले भने।
चुनावबारे अन्तर्राष्ट्रिय निकायहरूले के भनिरहेका छन्?

तस्बिर स्रोत, Chalinee Thirasupa / ADFP via Getty Images
गत अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले भने, "ती चुनावहरू निष्पक्ष र स्वतन्त्र हुन्छन् भनेर कसैले विश्वास गर्छ भन्ने मलाई लाग्दैन" अथवा "म्यान्मारको समस्याहरूको समाधानमा केही योगदान गर्छ।"
युरोपेली सङ्घकी मानव अधिकारकी विशेष प्रतिनिधि काइस ओलङग्रेनले चुनावलाई "सत्ताद्वारा प्रायोजित अभ्यास" भनेकी छन्।
उनले अन्तर्राष्ट्रिय अनुगमनले "केही फरक नपार्ने" बताइन्।

तस्बिर स्रोत, Reuters
फिलिपिन्सले बीबीसीसँग बोल्दै निरीक्षणका लागि दूतावासका प्रतिनिधिलाई पठाउने बताएको छ।
विदेशी कूटनीतिज्ञहरूले बीबीसीसँग लाओस, क्याम्बोडिया र भियतनामका कूटनीतिज्ञहरूले अनुगमनका लागि पठाउने बताएका छन्।
सत्ता च्युत राजनेताहरूले गठन गरेको निर्वासन सरकारका प्रवक्ता ने फोन लातले बीबीसीसँग भने, "जनताले सन् २०२० को निर्वाचनमा आफ्नो इच्छा पहिले नै देखाइसकेका छन्।"
"राष्ट्रपति विन मिन(जो कू का बेला पदबाट हटाइएका थिए) र स्टेट काउन्सेलर आङ सान सू चीको अहिलेको अवस्था एकदमै चिन्ताजनक छ," उनले थपे।

तस्बिर स्रोत, Nyein Chan Naing / EPA / Shutterstock
डिसेम्बरको मध्यमा जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले चुनाव निष्पक्ष र स्वतन्त्र होला? भनेर सेनाका प्रवक्तालाई प्रश्न गरेको थियो।
जबाफमा जेनेरल ज मिन डले भने, "म्यान्मारमा सरकार बनाउन एकदमै महत्त्वपूर्ण छ र म्यान्मारका जनताले मत दिन पाऊन् भनेर पनि एकदमै आवश्यक छ। अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट छ कि छैन भन्ने हाम्रो चासोको विषय होइन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




