म्यान्मार द्वन्द्वः देश मै हतियार उत्पादन गर्न सेनालाई विश्वव्यापी कम्पनीको साथ

इन डिनमा मारिनुअघि १० जना रोहिंज्या

तस्बिर स्रोत, HANDOUT

तस्बिरको क्याप्शन, म्यान्मारमा भएको इन डिन काण्डमा हतियारहरूको प्रयोग भएको प्रतिवेदनले जनाएको छ
    • Author, सिलिया ह्याटन
    • Role, बीबीसी न्यूज

म्यान्मारमा सेनाले आफ्नै मानिसहरूविरूद्ध प्रयोग गर्न कम्तीमा १३ देशका कम्पनीहरूले आपूर्ती गरेका सामग्रीहरूबाट थुप्रै प्रकारका हतियारहरू निर्माण गरिरहेको संयुक्त राष्ट्रसंघका एक पूर्व उच्च अधिकारीले बताएका छन्।

म्यान्मारलाई एक्लाउन पश्चिमा नेतृत्वको प्रतिबन्ध लागेको भए पनि त्यसरी हतियार बनाउन सामग्री आपूर्ति गर्नेमा अमेरिका, फ्रान्स, भारत र जापानलगायतका देशहरू रहेको भनेर नाम सहित उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार सेनाको विरोध गर्नेविरुद्ध घरेलु उत्पादित हतियारहरू नै प्रयोग गरिएको थियो।

सन् २०२१ को फेब्रुअरीमा सैन्य कू भएयता म्यान्मार हिंसामा फसेको छ।

निर्वाचित सरकारलाई सत्ताबाट बाहिर निकालेको सैनिक कूको विरोध गर्नेहरू त्यसपछि लागु गरिएको सैनिक शासनको प्रतिरोध गर्न जातीय विद्रोही समूहहरूमा आवद्ध भएका छन्।

म्यान्मार मामिलामा विशेष परामर्श परिषदले तयार पारेको उक्त प्रतिवेदनमा संयुक्त राष्ट्रसंघका थुप्रै सदस्य राष्ट्रहरूले त्यहाँको सेनालाई हतियार बेच्न निरन्तरता दिएको उल्लेख छ।

"उत्तिकै महत्त्वपूर्ण पक्ष भनेको म्यान्मारको सशस्त्र फौजले देशभित्रै थुप्रै किसिमका हतियारहरू उत्पादन गर्न सक्छ भन्ने तथ्य हो र त्यसको प्रयोग आफ्नै नागरिकलाई निसाना बनाउन भैरहेको छ," प्रतिवेदनले भनेको छ।

नाम उल्लेख गरिएका कम्पनीहरूले म्यानमारको सेनालाई कच्चा पदार्थ आपूर्ति गर्ने देखि लिएर तालिम र मेसिनहरू उपलब्ध गराउने गरेका छन्। त्यसरी उत्पादित हतियारहरू सीमा सुरक्षाका लागि प्रयोग नभएको पनि प्रतिवेदनले जनाएको छ।

"म्यानमारमा कहिल्यै पनि अन्य देशबाट हमला भएको छैन," संयुक्त राष्ट्र सङ्घको भूतपूर्व विशेष मानवअधिकार प्रतिवेदक तथा नयाँ प्रतिवेदनको लेखक मध्येकी एकजना याङ्गी लीले भनिन्।

"र म्यानमारले कुनै हतियार निर्यात पनि गर्दैन। सन् १९५० यता आफ्ना मानिसहरूविरुद्ध प्रयोग गर्न म्यान्मार आफैँले हतियार बनाएको छ।"

सैन्य परेडमा म्यान्मारको सेनाका प्रमुख उच्च जेनेरल मिन आउङ लियाङ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विद्रोहीभन्दा सेनाको सङ्ख्या र उनीहरूसँग हतियारहरू पनि धेरै रहेको छ

सबैभन्दा पछिल्लो सैन्य कू यता म्यान्मारमा सेनाबाट मारिनेहरूको आधिकारिक सङ्ख्या २६ सय भन्दा बढी रहेको छ। यद्यपि, त्यसरी ज्यान गुमाउनेहरूको वास्तविक सङ्ख्या त्योभन्दा १० गुणा बढी भएको ठानिएको छ।

"सुरु हुँदा... सेनाले अनुभवहीन विपक्षी आन्दोलनमाथि सहजै जित हासिल गर्ने जस्तो देखिएको थियो तर हालैका महिना र साताहरूमा लहर थोरै बदलिएको छ," बीबीसी बर्मेली सेवाकी प्रमुख सो विन टानले भनिन्।

"म्यान्मारमा विपक्षीहरूसँग नभएको तर सत्ताधारी जुन्तासँग भएको भनेको हवाई शक्ति हो।"

कूपछि लगाइएका प्रतिबन्ध र अन्तर्राष्ट्रिय रूपमा एक्लाइएको कुराले म्यान्मारका शासकहरूलाई स्नाइपरहरूले प्रयोग गर्ने राइफल, विमान विरूद्ध प्रयोग गरिने तोप, क्षेप्यास्त्र प्रहार गर्ने लञ्चर , ग्रिनेड, बम र बारुदी धराप लगायतका विभिन्न प्रकारका अस्त्रहरू उत्पादन गर्नबाट रोकेको छैन।

याङ्गी लीसँगै उक्त प्रतिवेदन क्रिस सिडोटी र मार्जुकी डारुस्मानले मिलेर लेखेका हुन् र ती दुवैजना मान्मारका निम्ति संयुक्त राष्ट्रसंघीय स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य-अनुसन्धान मिसनसँग सम्बद्ध छन्।

सैन्य कू विरुद्ध सन् २०२१ को मार्चमा भएको प्रदर्शनका बेला प्रयोग भएको गोली हातमा समाउँदै एक प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सैन्य कू विरुद्ध सन् २०२१ को मार्चमा भएको प्रदर्शनका बेला प्रयोग भएको गोली हातमा समाउँदै एक प्रदर्शनकारी

चुहाइएका सेनाको कागजातसहित पूर्व सैनिकहरूसँगको अन्तर्वार्ता र उद्योगहरूको भूउपग्रहको तस्बिरहरूलाई उनीहरूको प्रतिवेदनमा स्रोतका रुपमा प्रयोग गरिएको छ। तस्बिरहरू पनि महत्त्वपूर्ण देखिएका छन्ः सन् २०१७ मा लिइएका तस्बिरहरूले सैनिक कू अगाडि पनि त्यहाँ आन्तरिक रूपमा उत्पादन गरिएको हतियारहरू प्रयोग हुने गरेको प्रमाणित गर्दछन्।

'इन डिन' आमनरसंहारको घटनाका क्रममा सैनिकहरूले म्यान्मारमा बनेका राइफलहरू बोकेको देखिएको थियो। उक्त घटनामा १० जना निरस्त्र रोहिंज्या पुरुषहरू म्यान्मारका सेनाद्वारा मारिएका थिए।

"हालसालै सगाइङ क्षेत्रमा नरसंहारका घटनाहरू भएका थिए," क्रिस सिडोटी भन्छन्, "खासगरी एउटा विद्यालयमा भएको बमबारीको घटनामा थुप्रै बालबालिका र अन्य मानिस मारिएका थिए।

"त्यतिबेला भेटिएका हतियारहरू अथवा तोपहरूमा प्रयोग भएका गोलाका खोलहरू स्पष्ट रूपमा नै ति कारखानाहरूमा उत्पादन भएको भनेर पहिचान गर्न सकिन्थ्यो।"

हतियार बनाउन प्रयोग भएका केही उपकरणहरू अस्ट्रियाबाट आएको ठानिएको छ। विशेष परामर्ष परिषदले त्यहाँ बन्दुकको नाल बनाउनका लागि अस्ट्रियाको आपूर्तिकर्ता जीएफएम श्टीरले बनाएको उच्च स्तरको मसिनहरूको प्रयोग भएको जनाएको छ।

जब मसिनहरूमा मर्मतसम्भार आवश्यक पर्छ तिनीहरूलाई ताइवान पठाइन्छ। त्यहाँ जीएफएम श्टीरका प्राविधिकहरूले म्यान्मार फिर्ता गर्नुअघि ती मेसिनहरू मर्मत गर्छन्। म्यान्मारभित्र प्रयोग हुने सामग्रीका लागि उनीहरूले काम गरिरहेको बारे अस्ट्रियन कम्पनीका प्राविधिकहरू जानकार छन् कि छैनन् भन्ने प्रतिवेदनमा स्पष्ट छैन।

प्रतिवेदनले पत्ता लगाएका विषयमा प्रतिक्रियाका लागि बीबीसीले गरेको अनुरोधबारे जीएफएम श्टीरले केही प्रतिक्रिया दिएको छैन।

प्रतिवेदनका लेखकहरूले आफूहरूले हतियार उत्पादन सञ्जालको एउटा हिस्सा मात्रै उजागर गर्न सकेको स्वीकार गर्दै अन्य थुप्रै देशहरू त्यसमा संलग्न रहेको ठानिएको बताएका छन्:

  • म्यान्मारमा निर्माण भएका अस्त्रहरूमा चीनबाट गएको कच्चा पदार्थको अवशेष पाइएको छ त्यसमा चीन र सिंगापुरबाट गएको तामा र फलाम रहेको ठानिएको छ
  • फ्युज र विद्युतीय डिटोनेटर्सजस्ता महत्त्वपूर्ण सामग्रीहरू भारत र रुसस्थित कम्पनीहरूबाट म्यान्मार पठाइएको भन्ने कुरा परिवहन विवरण र पूर्व सैन्य स्रोतहरूसँगको अन्तर्वार्ताबाट थाहा हुन आएको छ
  • म्यान्मारको हतियार उद्योगहरूमा जर्मनी, जापान, युक्रेन र अमेरिकाबाट मेसिनरीहरू आएको बताइएको छ। त्यस्तै मेसिनहरूलाई प्रोग्राम गर्ने सफ्टवेअरहरू इजरेल र फ्रान्सबाट आएको ठानिएको छ
  • प्रतिवेदनका अनुसार सिंगापुरले ट्रान्जिट हबका रुपमा काम गरेको देखिन्छ। सिंगापुरका कम्पनीहरूले म्यान्मारको सेनाका हतियार खरिदकर्ता र बाह्य आपूर्तीकर्ताहरूका बीच मध्यस्थकर्ताको काम गरेको देखिन्छ

म्यान्मारको सेनामाथि दशकौँसम्म थुप्रै स्तरमा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लाग्यो तर उनीहरूले हतियार उत्पादन गर्न भने रोकेनन्। त्यहाँ सैन्य सामग्री उत्पादन गर्ने कारखानाको सङ्ख्या सन् १९८८ मा करिब छ वटा रहेकामा आजका दिनमा त्यो २५ वटा पुगेको छ।

"अन्तर्राष्ट्रिय प्रतिबन्ध धेरै जसो अप्रभावकारी देखिएको छ," क्रिस सिडोटीले भने। "प्रतिबन्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले कहिल्यै पनि लगाएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बर्मेली किशोरी नेपाली संस्कृती

कुनै एउटा देशले एकल रूपमा वा देशहरूको समूहले त्यस्तो प्रतिबन्ध लगाएका छन्।

"त्यसैले, थुप्रै कम्पनीहरूलाई प्रतिबन्धको बेवास्ता गर्न र प्रतिबन्ध नलगाएका अन्य देशका कम्पनीमार्फत् वा म्यान्मारका स्थानीय मध्यस्थकर्तासँग कारोबार गर्न तुलनात्मक रुपमा सहज भयो।"

अहिलेसम्म हेर्दा म्यान्मारले अन्य देशहरूलाई हतियार निर्यात गर्ने गरेको देखिँदैन। यद्यपि, सन् २०१९ मा यसले थाई हतियार व्यापार मेलामा थुप्रै हतियारहरू प्रदर्शनमा राखेको थियो। मेलामा बन्दुक, बम र ग्रिनेड प्रक्षेपकहरू मिलाएर प्रदर्शनमा राखिएको थियो।

"म्यान्मारमा आममानिसका लागि जीवन निकै कष्टकर छ," लफबरो युनिभर्सिटी लण्डनस्थित डक्टोरल लेक्चरर रोनान लीले भने।

"म्यान्मार बस्नयोग्य देशका रूपमा देखिएको छैन र मलाई लाग्छ यो आन्तरिक रूपमा पतन हुने अवस्थामा पुग्न लागेको छ।"

"म्यान्मारका जनताबारे ख्याल गर्ने अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारको सेनालाई उनीहरूले अब नागरिकविरुद्ध प्रयोग गर्ने हतियार बनाउन पाउने छैनन् भनेर भन्ने बेला अहिले नै हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मारमा 'स्वतन्त्रताका लागि' आन्दोलन चर्किँदै