म्यान्मार कू: आङ सान सू ची लाई चार वर्ष जेल सजाय

तस्बिर स्रोत, Reuters
म्यान्मारको सैनिक सरकारका एक प्रवक्ता जाव मिन टुनले आङ सान सू चीविरुद्ध लागेका अशान्ति भड्काएको एवं कोभिड नियन्त्रणका उपाय पालना नगरेको जस्ता आरोपमा उनी दोषी पाइएको बताएका छन्।
उनीविरुद्ध ११ भिन्नाभिन्नै अभियोगहरू लगाइएका छन्। ती सबैमा उनी दोषी पाइए, उनलाई एक सय वर्षभन्दा धेरै जेल सजाय हुनसक्छ।
सू चीजस्तै आरोप बेहोरिरहेका पूर्व राष्ट्रपति विन मिन्तलाई पनि चार वर्ष जेल सजाय सुनाइएको छ।
कहिलेदेखि जेल?
गत फेब्रुअरीमा सैन्य कूमार्फत् निर्वाचित गैरसैनिक सरकार सत्ताच्यूत गरिएयता सू चीलाई घरमै नजरबन्दमा राखिएको छ।
अब उनलाई कहिलेदेखि जेलमा राखिने भन्ने प्रस्ट भइसकेको छैन।
गत फेब्रुअरीयता अदालतमा छोटो उपस्थितिबाहेक सू चीबारे निकै कम जानकारी उपलब्ध छन्।
प्रजातन्त्र समर्थक एवं कूविरोधीहरूको हालै गठित गठबन्धन राष्ट्रिय एकता सरकारका एक प्रवक्ताले बीबीसीलाई सू चीको हालत ठीक नभएको बताएका थिए।
"उनी ठीक छैनन्….सैनिक जर्नेलहरू उनलाई १०४ वर्षसम्म जेल सजाय गर्न खोज्दैछन्। उनको जेलमै मृत्यु होस् भन्ने तिनीहरू चाहन्छन्," डा सासाले भनेका थिए।
सू ची नेतृत्वको नेशनल लिग फर डेमोक्र्यासी पार्टीले गत वर्षको आम चुनावमा बहुमत ल्याएको थियो तर उक्त चुनावमा धाँधली भएको भन्दै सेनाले कू गरेको थियो।
तर स्वतन्त्र चुनाव पर्यवेक्षकहरूले भने निर्वाचन समग्ररूपमा स्वतन्त्र र निष्पक्ष रहेको बताएका थिए।
उक्त कूपश्चात् म्यान्मारमा व्यापक विरोध प्रदर्शनहरू भएका थिए।
सेनाले त्यहाँ प्रजातन्त्र समर्थकहरू, अभियानकर्मीहरू तथा पत्रकारहरूविरुद्ध दमन गरेको छ।
फेब्रुअरी यता सैन्य शासकहरूले १०,६०० भन्दा धेरै मानिस गिरफ्तार गरेका छन् भने विरोध प्रदर्शनका क्रममा १३०३ जना मारिएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक अनुगमन गर्ने समूहले जनाएको छ।









