म्यान्मारको सैनिक सत्तामा 'अहिलेसम्मकै गम्भीर धक्का'

तस्बिर स्रोत, GETTY IMAGES
- Author, जोनथन हेड र लुलु लुओ
- Role, बीबीसी न्यूज ब्याङ्कक
म्यान्मारमा सेनाले बनाएका राष्ट्रपतिले सरकारले शान राज्यमा सुरु भएको लडाइँ नियन्त्रण गर्न नसकेमा देश टुक्रिने खतरामा रहेको चेतावनी दिएका छन्।
पूर्व जेनरल मिन्ट स्वेलाई सन् २०२१ को कूपछि राष्ट्रपति बनाइएको थियो।
सत्तारूढ सैनिक परिषद्ले गैरसैनिक लडाकुहरूले गरिरहेका आक्रमण र त्यसबाट सैनिकतर्फ भएको गम्भीर क्षतिबारे छलफल गर्न आयोजना गरेको आपत्कालीन बैठकमा बोल्दै उनले त्यस्तो चेतावनी दिएका हुन्।
सरकारको विपक्षमा रहेका अन्य सशस्त्र समूहको समर्थनप्राप्त गरेका शान राज्यका तीन आदिवासी विद्रोही सेनाले दर्जनौँ सैन्य पोस्टहरू ध्वस्त पारेका र सीमा नाकाहरू आफ्नो नियन्त्रणमा लिएका तथा चीनसँगको व्यापारमा प्रयोग हुने विभिन्न सडकहरू पनि नियन्त्रणमा लिएका छन्।
जुन्टाले सन् २०२१ फेब्रुअरीमा शासन सत्ता आफ्नो हातमा लिएयता यो अहिलेसम्मकै गम्भीर धक्का हो।
उसको कूका कारण भड्किएको सशस्त्र विद्रोहसँग सङ्घर्षरत सेना अहिले कमजोर र सम्भवतः परास्त गर्न सक्नेजस्तो देखिएको छ।
सरकारले हवाई तथा हतियार आक्रमण गरेको छ, जसले गर्दा हजारौँ मानिसहरू घर छोडेर भाग्न बाध्य भएका छन्।
तर सेनाले उसले गुमाएको क्षेत्र फिर्ता ल्याउन वा आफूलाई सुदृढ बनाउन सकिरहेको छैन।
शान राज्यका सरकारी फौजका कमान्डर मारिएको दाबी

तस्बिर स्रोत, Getty Images
मारिएका सयौँ फौजमध्ये शान राज्यका सरकारी फौजका कमान्डर ब्रिगेडिअर जेनरल अङ क्वा ल्वीन पनि मारिएको विश्वास गरिएको छ। उनी कूयता झडपमा मारिएका सबैभन्दा वरिष्ठ सैन्य अधिकारी हुन्।
यो आक्रमण किन पनि महत्त्वपूर्ण छ भने शान राज्यमा सक्रिय सशस्त्र विद्रोहीहरूले आफूलाई जुन्टा सरकारविरुद्धको बृहत् प्रजातन्त्र स्थापना आन्दोलनमा पहिलो पटक आफूलाई जोडेका छन्।
तर त्यहाँ धेरै अन्य विषय पनि अस्तित्वमा छन्। यी तीन विद्रोही समूहहरू लामो समयदेखि उनीहरूको नियन्त्रणमा रहेको भूभाग बढाउन चाहन्छन्।
महत्त्वपूर्ण रूपमा म्यान्मारसँग मिलेर आफ्नो सीमामा त्यस्ता गतिविधि हुन नदिने गरी प्रस्तुत हुँदै आएको चीनले यो कारबाही अगाडि बढ्न रोकेको छैन।
सैन्य सरकारले शान राज्यमा भएका गैरकानुनी स्क्याम केन्द्रहरूमाथि कारबाही गर्न नसकेकोमा चीन निराश बनेका कारणले यस्तो भएको हुन सक्छ।
हजारौँ चिनियाँ र अरू विदेशीहरू यी स्क्याम केन्द्रहरूमा काम गर्न बाध्य पारिएका छन्। विद्रोहीहरूले आफूहरूको एउटा लक्ष्य त्यस्ता स्क्याम केन्द्रहरू बन्द गर्ने रहेको बताउँदै आएका छन्।
शान राज्यका धेरै समूहको विद्रोहीलाई असहयोग

तस्बिर स्रोत, Getty Images
कूविरुद्ध सन् २०२१ मा शान्तिपूर्ण प्रदर्शनमा सेना र प्रहरीले दमन गरेपछि विपक्षी प्रदर्शनकारीहरूले जुन्टाविरुद्ध सशस्त्र विद्रोह गर्नुको विकल्प नरहेको निर्णय गरेका थिए।
त्यसपछि धेरै जना विपक्षीहरू आदिवासी विद्रोहीहरूको नियन्त्रणमा रहेका म्यान्मारको थाइल्यान्ड, चीन र भारतसँगको सीमा क्षेत्रमा पुगेका थिए। त्यहाँ उनीहरूले तालिम र आफूहरूसँग अभाव रहेको हतियारमा पहुँच पाएका थिए।
कतिपय स्थापित आदिवासी विद्रोहीहरूले सैन्य कूबाट सत्ताच्यूत गरिएको निर्वाचित सरकार ‘न्याश्नल यूनटी गभर्न्मन्ट’ लाई सहयोग गर्ने निर्णय गरेका थिए।
कतिपयले भने विद्रोही पक्षलाई सहयोग गरेको छैन। चीन र थाईल्यान्डसँगको सीमा क्षेत्रमा पर्ने कानुनविहीन क्षेत्रका रूपमा चिनिने निकै ठूलो शान राज्यका धेरै समूह विद्रोही पक्षलाई सहयोग नगर्नेमा पर्छन्।
अवैध लागु औषधका लागि विश्वकै सबैभन्दा ठूलो उत्पादककाको परिचय बनाएको शान राज्य पछिल्लो समय क्यासिनो र स्क्याम केन्द्रका रूपमा पनि बदलिएको छ।
सन् १९४८ म्यानमार स्वतन्त्र भएपछि यो क्षेत्र एक अर्कासँग लडिरहेका लडाकु समूह, लागु औषध तस्करहरू र जातीय विद्रोहीहरूको पकड क्षेत्रमा विभाजित छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








