बुबाकी प्यारी: हवाई आक्रमणमा मारिएका बालबालिका

तस्बिर स्रोत, Courtesy of Win Zaw
''धर्तीमा कम्पन भएको थियो,'' गत साताको घमाइलो बिहान सम्झँदै पशुपालक विन जले भने। त्यस दिन उनले सेनाको विमान र पछि विस्फोटनको आवाज सुनेका थिए।
उत्तर पूर्वी म्यानमारमा रहेको आफ्नो गाउँ पा जी ज्यी आक्रमणमा परेको उनले ठानेका थिएनन्। श्रीमतीले फोन गरेपछि मात्रै गाउँलेहरूले बिरलै आयोजना गर्ने खानपिनसहित जमघट भइरहेको स्थानमा बम आक्रमण गरिएको उनले थाहा पाए।
आक्रमणमा पर्नेमा उनीहरूका सात वर्षकी छोरी सो नान्दर न्वे पनि थिइन्।
आक्रमण भएको स्थानमा छोरीको खोजी गर्न हतारिएर गएको उनी बताउँछन्। ‘‘धुवाँ र जलेका अवशेषहरूमा मैले मेरी छोरीको खोजी गरे। मैले उनलाई खोज्ने कुरा मात्र सोच्न सकिरहेको थिएँ।’’
त्यस दिन उनकी छोरीले उनलाई सबैभन्दा धेरै मन पर्ने -- फुलहरूको बुट्टा रहेको सेतो लुगा लगाएकी थिइन्। विन ज त्यसैको खोजी गरिरहेका थिए। तर उनले आफ्नो छोरी र साथै रहेकी सासूबारे केही पनि फेला पार्न सकेनन्।
पछि गाउँलेहरूले मानिसहरू भेला भएको स्थानमा सेनाको विमानले बम खसालेको अनि हेलिकप्टरबाट २० मिनेटसम्म गोली प्रहार गरिएको बीबीसीलाई बताए।
‘‘मैले अझै पत्याउन सकिरहेको छैन,’’ विन जले भने। ‘‘उनीहरूले कसरी निहत्था, कमजोर साना बालबालिकामाथि यस्तो गर्न सके।’’
म्यानमारमा सेनाले कु गरेसँगै त्यस्तो कदमको विपक्षमा उभिएकाहरूलाई निमिट्यान्न पार्न सेनाले हवाई आक्रमणको सहारा लिएको छ। महिला, बालबालिका र पुरुषसहित कुल १६८ जनाको ज्यान लिने गरी गत मङ्गलवार गरिएको आक्रमण हालसम्मकै घातक हो।
गत वर्ष सेनाले एउटा विद्यालयमा आक्रमण गर्दा कैयौँ बालबालिका मारिएका थिए। त्यसको केही समयमै एउटा कार्यक्रममा बम आक्रमण हुँदा झन्डै ५० जनाको ज्यान गएको थियो।


६०० हवाई आक्रमण
द्वन्द्व अनुगमन गर्ने समूह आर्मड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा प्रोजेक्टबाट प्राप्त तथ्याङ्कमा आधारित रहेर बीबीसीले गरेको विश्लेषणका अनुसार सन् २०२१को फेब्रुअरीदेखि सन् २०२३को ज्यानुअरीसम्ममा म्यानमारमा सेनाले कम्तीमा ६०० वटा हवाई आक्रमण गरेको छ।
गृह युद्धका कारण हजारैले ज्यान गुमाएका छन्, झन्डै १४ लाख मानिस विस्थापित भएका छन् र देशको झन्डै एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता छ। संयुक्त राष्ट्रसङ्घले म्यानमारका शासक मानवीयता विरुद्ध अपराध अनि युद्ध अपराधका लागि जिम्मेवार हुनसक्ने जनाएको छ।
आक्रमण म्यानमारमा सेनाको शासन विरुद्ध उभिएकाहरू प्रति सहानुभूति राख्ने ठानिएका गाउँहरूमा लक्षित गर्ने गरिएको छ जहाँ जातीय शस्त्र समूह खडा भएका छन्। पिपल्स डिफेन्स फोर्स (पीडीएफ)भनिने उक्त समूह स्थानीय स्वयंसेवक मिलिसियाहरूको सञ्जाल हो। सेनाले कु गरेपछि बन्देजमा परेको राष्ट्रिय सहमतिको सरकार पनि उक्त सञ्जालसँग जोडिएको छ।
सरकारका अनुसार पा जी ज्यीमा पीडीएफको प्रशासनिक कार्यालय खोलिएकाले उक्त गाउँ निशानामा परेको हो।

तस्बिर स्रोत, EPA
कार्यालय स्थापना अनि त्यसको खुसीयालीमा भोज गर्नु सरकारका लागि अस्वीकार्य सामुदायिक प्रतिरोधको सङ्केत थिए।
तर सो नान्दर न्वेका लागि भने आफूलाई मन परेको फुल बुट्टे लुगा देखाउने अवसर थियो।
नजिकै हुन लागेको कार्यक्रमबारे आफू निक्कै धेरै उत्साहित रहेको घटनाको अघिल्लो रात उनले आफ्ना पितालाई सुनाएकी थिइन्।
‘बाबुकी प्यारी’
‘‘मैले कहिल्यै छोरीलाई उनको नामले बोलाएको थिइन्। म सधैँ उनलाई ड्याडिज स्वीटहार्ट (बाबुकी प्यारी) भन्ने गर्थेँ र उनी मलाई निकै माया गर्थिन्।’’
बाबु छोरीले निकै रुचाउने कार्यमध्ये एक मोटरसाइकलमा घुम्नु थियो।
घटनाको अघिल्लो रात सो नान्दर न्वे बुवाको छेउमा सुत्ने चाहना गरिन्। भोलिपल्ट बिहान काममा निस्कनु अघि विन ज छोरीलाई चुमेका थिए। उनी निन्द्रामै थिइन्।
उनका अनुसार सो नान्दर न्वे तीक्ष्ण थिइन्। भविष्यमा उनी शिक्षिका बन्न चाहन्थिन्।
‘‘उनी साथीभाइलाई पढाउन सहयोग गर्न रुचाउँथिन्। हामी उनी हुर्किएपछि देशका लागि धेरै उपलब्धिहरू प्राप्त गरून् भन्ने चाहन्थ्यौँ किनभने हाम्रो देश निकै कठिन परिस्थितिबाट अघि बढिरहेको छ।’’
त्यस दिन घर फर्कँदा विन जले चर्को सङ्गीत सुन्ने अपेक्षा गरेका थिए। सन् २०२१मा सेनाले कु गरेर म्यानमारमा निर्वाचित नेतृ आङ सान सू चीलाई सत्ताच्यूत गरिएदेखि त्यो गाउँमा विवाहका बेला समेत उत्सव मनाइएको थिएन।
गाउँको भोजमा बाबु छोरीसँगै जाने कार्यक्रम तय भएको थियो। तर उनकी छोरी यति उत्साहित थिइन् कि उनकी आमाले हजुरआमासँग छोरीलाई निर्धारित समयभन्दा अगावै कार्यक्रम स्थलमा पुर्याउनुपर्यो।
आक्रमण सुरु हुँदा उनीहरू पालमुनि बसिरहेका थिए।

तस्बिर स्रोत, Courtesy of family
सैन्य सरकार विरुद्ध उभिएको सागेइङ क्षेत्रमा कैयौँ आक्रमण गरिएका भए पनि पा जी ज्यीमा आक्रमण भएको स्थलमा भने यो नै पहिलो हवाई आक्रमण थियो।
कृषक ये नाइङ्गले पनि आक्रमणमा आफ्ना दुवै अभिभावक र तीन वर्षकी छोरी नीन यु वाइलाई गुमाएका छन्।


भोजमा पुगेका बालबालिका
विद्यालय जानु अघि भोजमा सहभागी हुनका लागि पुगेका कैयौँ बालबालिकामध्ये उनी एक थिइन्। युद्धको चपेटामा परेका कारण त्यहाँ पाक्ने पकवान सर्वसाधारणका लागि विलासी बन्न पुगेको छ।
आक्रमणमा छर्रा लागेका ये नाइङ्गका अनुसार बम खस्दा बालबालिकाहरूले भर्खरै खाना खान सुरु गरेका थिए।
‘‘मेरी छोरीले एक कचौरा भात पनि खाइसकेकी थिइनन् होला,’’ उनले भने। ‘‘मेरो बच्चाले एक कप पानी पनि पिएकी थिइनन् होला।’’
‘‘त्यस दिन संसार सक्किएको जस्तो वा त्यो भन्दा पनि खराब महसुस भएको थियो। तर म डराएको छैन। यो निकै अमानवीय अनि बर्बर थियो। उनीहरूले मानिसहरूलाई दबाउने र निर्दोष मानिसहरूलाई मार्ने कार्य गर्दासम्म म देशका जनतासँगै लड्नेछु।’’
ये नाइङ्गका अनुसार मिलनसार अनि दयालु स्वभाव भएकाले उनकी छोरीलाई गाउँका सबैले माया गर्थे। दिनभरि काम गरेर थकित भएको देख्दा आफूलाई पानी र खाजा दिन उनले आमालाई भन्ने गरेको ये नाइङ्ग बताउँछन्।
पा जी ज्यीमा रहेका झन्डै २०० घरपरिवारमध्ये लगभग सबैले त्यस दिन कोही न कोही गुमाएका छन्।
गाउँलेहरूका अनुसार त्यसपछि थप आक्रमण हुन्छ कि भन्ने डरका कारण कतिपय घर छोडेर लुकेका छन्। गाउँका अन्य बासिन्दा मोटरसाइकल लगायतको ठूलो आवाज सुन्दा समेत त्रसित हुने गरेका छन्।
‘‘हामी मात्र गरिब किसान हौँ। हामी मारिएको हेरेर नबस्नूस्। तपाईँले कारबाही गर्नु अघि अझै कति निर्दोषले ज्यान दिनुपर्ने हो?’’ विन जले भने।
सैन्य सरकारका प्रमुख जेनेरल ओङ ह्लाइङबारे उनले भने, ‘‘म उनलाई कहिल्यै पनि माफ गर्ने छैन।’’
मो मिन्ट लन्डनस्थित बीबीसी बर्मीज सेवाका पत्रकार हुन् ।








