म्यान्मारमा सेनाको हवाई आक्रमणमा परी ‘दर्जनौँ मानिसको मृत्यु’

तस्बिर स्रोत, Getty Images
- Author, जोनाथन हेड र निकोलस यङ
- Role, ब्याङ्कक र सिङ्गापुर
म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सेनाले गरेको सबैभन्दा घातक हवाई आक्रमणमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको दाबी उक्त घटनाका प्रत्यक्षदर्शीहरूले गरेका छन्।
मृत्यु हुनेमा कम्तीमा १५ महिला र धेरै बालबालिका रहेको उनीहरूको भनाइ छ। यद्यपि मृतकको सङ्ख्याबारे बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
सागेइङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर सेनाले हवाई आक्रमण गरेको हो। उक्त गाउँका मानिसहरूले सैन्य सरकारको विरोध गर्छन्।
सेनाले फेब्रुअरी २०२१ मा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ।
सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन्। उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन्।
गाउँका एक बासिन्दाले बीबीसीलाई बताएअनुसार त्यहाँ बिहान ७ बजे सैन्य विमान त्यहाँ उडेको थियो र माथिबाट बम खसालेको थियो। त्यसलगत्तै हेलिकप्टरबाट २० मिनेटजति गाउँमा बम खसालिएको भएको थियो।
गाउँका बासिन्दाहरूले त्रासदी पूर्ण नरसंहारको दृश्य समाविष्ट भिडिओ साझा गरेका थिए। उक्त भिडिओमा क्षतविक्षत भएका शवहरू र जलिरहेका भवनहरू देखिन्छन्।
"यदि तपाईँ जीवित हुनुहुन्छ भने हामीलाई बोलाउनुहोस्। हामी तपाईँलाई सहयोग गर्न आउँदै छौँ," भिडिओ छायाङ्कन गर्नेहरू पा जी गी गाउँमा घाइतेहरूको खोजीमा चिच्याउँदै हिँडेको देखिन्छ।


उनीहरूले शव गन्ने प्रयास गरेको तर शवहरू यत्रतत्र छरिएका कपडा तथा जलेको मोटरसाइकलमा अल्झिएका कारण गणना कठिन भएको बताए।
पा जी गीमामा पीपल्स डिफेन्स फोर्स (पीडीएफ) को नयाँ कार्यालयको उद्घाटन समारोहमा उपस्थित हुनका लागि नजिकै भएका गाउँका मानिसहरूको उल्लेख्य उपस्थिति थियो।
पीडीएफका सदस्यहरू म्यान्मारको विभिन्न भागमा सेनाविरुद्ध सशस्त्र अभियान चलाउने स्वयंसेवकहरू हुन्।
म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन्।
राष्ट्रसङ्घका अनुसार हाल देशको करिब एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता छ।

विपक्षीहरूको नियन्त्रणमा रहेका गाउँहरूमा बमबारी गर्न सैन्य सरकारले आफूसँग भएका रुसी र चिनियाँ विमानहरूको प्रयोग बढाएको छ।
एम्बुश, बारुदी धराप तथा विभिन्न प्रकारका विस्फोटक सामग्रीका कारण स्थलसैनिकहरूको आवतजावत कठिन भएको बताइन्छ।
हवाई आक्रमणमा परी धेरै सर्वसाधारण नागरिकहरूको पनि मृत्यु हुन सक्छ।
बीबीसीले द्वन्द्वको निगरानी गर्ने समूह एक्लेड (आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटा प्रोजेक्ट)को तथ्याङ्क विश्लेषण गरेको छ। त्यसमा सन् २०२१ को फेब्रुअरी र सन् २०२३ को ज्यानुअरी बीचमा सेनाले कम्तीमा ६०० वटा हवाई आक्रमण गरेको देखिन्छ।
सैन्य कूपछि बनेको निर्वासित न्याश्नल यूनिटी गभर्नमेन्टका अनुसार सन् २०२१ अक्टोबर देखि सन् २०२२ सेप्टेम्बरसम्म भएका आक्रमणहरूमा १५५ सर्वसाधारण मारिएका थिए।
गत अक्टोबरमा काचिन राज्यमा जातीय विद्रोही समूहले आयोजना गरेको एउटा साङ्गीतिक कार्यक्रममा वायुसेनाका विमानहरूले तीनवटा बम खसालेपछि कम्तीमा ५० जनाको मृत्यु भएको थियो।
गत महिना मध्यम्यान्मारको लेट यट कोन गाउँको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा पाँच बालबालिका मारिनुका साथै अन्य मानिस घाइते भएका थिए।
यदि अहिले भएको आक्रमणमा प्रत्यक्षदर्शीहरूले दाबी गरे जस्तै मानिसहरू हताहत भएका हुन् भने त्यो म्यान्मारमा जारी गृहयुद्धको अहिलेसम्मकै सबैभन्दा घातक एकल हमलामध्ये एक हुने छ।
गत महिना सैन्य सरकारका प्रमुख जेनरल मिन अङ ह्लाइङले सशस्त्र प्रतिरोधी समूहहरूद्वारा गरिएको "आतङ्कको कार्य"लाई शासनले निर्णायक तवरले सामना गर्ने बताएका थिए।
गत साता लडाइँ चर्किँदा हजारौँ मानिसहरू म्यान्मारबाट भागेर थाईल्यान्ड पुगेको जानकारी थाई अधिकारीहरूले केही दिनअघि दिएका थिए।








