म्यान्मारमा सेनाले बौद्ध मन्दिरमा २८ जनाभन्दा बढीको हत्या गरेको विद्रोहीको आरोप

तस्बिर स्रोत, KNDF
- Author, जोनाथन हेड र केली अङ
- Role, बीबीसी न्यूज
म्यान्मारको सेनाले दक्षिणी श्यान राज्यको एउटा बौद्ध मन्दिरमा रहेका कम्तीमा २८ जनाको हत्या गरिदिएको एउटा विद्रोही समूहले जनाएको छ।
सेनाले शनिवार नान नेङ गाउँमा गोलाबारी गरेको करेन्नी न्याशनालिटिज् डिफेन्स फोर्स (केएनडीएफ) ले बताएको छ।
म्यान्मारमा दुई वर्षअघि सेनाले कूद्वारा सत्ता कब्जा गरेपछि सेना र सशस्त्र विरोधी समूहहरूबीच घातक लडाइँ बढ्दै गएको छ।
राजधानी नेपिडो र थाइल्यान्डको सिमाना बीचमा रहेको उक्त क्षेत्रमा सबैभन्दा भीषण लडाइँ भएको छ।
विद्रोहीको दाबी
शनिवार त्यहाँको समयअनुसार अपराह्ण ४ बजे गोलाबारी गर्दै उक्त गाउँमा प्रवेश गरेका वायुसेना र सैनिकहरूले एउटा बौद्ध मन्दिरभित्र लुकेका गाउँलेको हत्या गरेको केएनडीएफले बताएको छ।
केएनडीएफका तर्फबाट जारी गरिएको एउटा भिडिओमा कम्तीमा २१ वटा शवहरू देखाइएको छ।
त्यसमध्ये तीनवटा शवहरू बौद्ध भिक्षुले लगाउने सुन्तला रङका चिबर पोसाकमा रहेका र बौद्ध मन्दिर अगाडि थुप्रिएको अवस्थामा देखिएका छन्।
सैन्य सरकारविरुद्ध लडाइँमा सामेल भएका धेरैवटा जातीय विद्रोही सेनामध्ये केएनडीएफ पनि एउटा हो।
उक्त भिडिओमा देखिएका शवमा गोली लागेका चोटहरू देखिन्छन्। त्यसमा उक्त बौद्ध मन्दिरको भित्तामा पनि गोली लागेका प्वालहरू देखाइएको छ।


स्थानीय अखबारले के लेखे?
स्थानीय पत्रिका द कानायावाडी टाइम्सले केएनडीएफका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, "यहाँ [सेना]ले उनीहरूलाई मन्दिर अगाडि लाइन लगाएर भिक्षुलगायत सबैलाई निर्ममतापूर्वक गोली हान्यो।"
उक्त समूहले त्यो सानो गाउँ नजिकै अन्य सातवटा शव पनि फेला पारेको बीबीसीलाई बताएको छ।
केएनडीएफले गाउँमा सैन्य आक्रमण भएको बताएको छ भने वरपरका केही भवन र घरहरू पनि जलाइएको छ।
उक्त समूहका अनुसार गाउँलेहरूले त्यस क्षेत्रका उच्च सम्मानित भिक्षुसँग शरण लिँदा उनीहरूलाई सुरक्षाको ग्यारेन्टी हुन सक्ने ठानेर उक्त मन्दिरमा लुकेका थिए।
त्यो गाउँमा सैनिकहरू आइपुग्नुअघि नै गाउँका अरू व्यक्तिहरूले भने गाउँ छाडिसकेका थिए।
झडपमा वृद्धि

तस्बिर स्रोत, Reuters
उक्त घटनाका विवरणलाई प्रमाणित गर्न गाह्रो छ तर म्यान्मारको त्यस क्षेत्रमा निहत्था नागरिकविरुद्ध हुने बर्बर आक्रमण नयाँ होइन।
त्यस क्षेत्रमा सैन्य कू पछि केही तीव्र प्रतिरोध भएको थियो।
केएनडीएफले फेब्रुअरी २५ देखि नान नेङ र त्यस क्षेत्रका बौद्ध मन्दिरमा सैनिकहरू अघि बढेकाले त्यहाँ झडप र लडाइँका घटनामा वृद्धि भएको बीबीसीलाई बताएको छ।
नान नेङ श्यान राज्यबाट कया राज्य जाने मुख्य मार्गमा पर्छ।
जुन्ता सरकारले उक्त सडक उनीहरूविरुद्ध लडिरहेका विद्रोही समूहलाई हतियार आपूर्तिका लागि महत्वपूर्ण छ भन्ने विश्वास गर्छन्।
यो प्रतिद्वन्द्वी जातीय समूहहरू प-ओ, श्यान र करेन्नीको मिश्रित जनसङ्ख्या भएको क्षेत्र पनि हो।
प-ओ न्याशनल अर्गनाइजेसन र त्यसका सशस्त्र शाखाहरू उक्त क्षेत्रका बलियो जुन्ता समर्थक हुन्।
सेनाको सहयोग

तस्बिर स्रोत, Reuters
स्थानीयवासीले जनाएअनुसार सेनाले त्यस क्षेत्रको नियन्त्रणमा रहेका विपक्षीलाई चुनौती दिन जुन्ता समर्थक जातीय सशस्त्र समूहलाई सुदृढ पार्ने प्रयास तीव्र पारेको छ।
हालैका महिनामा आक्रमण र प्रत्याक्रमण भइरहेका र त्यसैका कारण शनिवारको आक्रमण पनि भएको पर्यवेक्षकहरूले बताएका छन्।
" करेन्नी समूहले केही गाउँ कब्जा गरिसकेका छन् र त्यसैले म्यानमारको सेनाले अब उनीहरूमाथि गोलाबारी गरिरहेको छ," साउङ प्याउङ सैन्य चौकी नजिकैको एउटा गाउँका एकजना अधिकारीले स्थानीय द इरावादी पत्रिकालाई भने।
स्थानीय सहायता समूहका अनुसार त्यस्ता लडाइँले हजारौँ मानिसलाई विस्थापित पनि गरेको छ।


सङ्कटको अवस्था
म्यान्मारका सैन्य नेताले आफ्नो सरकारले वैधता पाउने विश्वासमा यस वर्ष चुनाव गराउने ठानेका थिए।
तर हालैका महिनाहरूमा व्यापक हवाई आक्रमण हुँदा पनि सैन्य शासनका विरोधीलाई निस्तेज पार्न असफल भएकाले सेनाले निकट भविष्यमा चुनाव गराउने कुरा लगभग असम्भव जस्तो देखिएको छ।
म्यान्मार दशकौँदेखि गृहयुद्धमा फसेको छ र सन् २०२१ मा सैन्य कू भएपछि त्यो झन् बढेको छ।
करिब १५ लाख मानिस विस्थापित भएका छन् भने ४० हजार घरहरू ध्वस्त भएका छन्।
उक्त देशमा ८० लाख बालबालिका अहिले विद्यालय गइरहेका छैनन् र एक करोड ५० लाख मानिसहरू खतरनाक रूपमा खाद्य सङ्कटमा पर्ने संयुक्त राष्ट्रसङ्घको अनुमान छ।
एउटा अनुगमनकारी समूह एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार सरकारप्रति असहमति राख्नेविरुद्ध गरिएको सुरक्षा कारबाहीमा दुई हजार ९ सयभन्दा बढी मानिसहरू मारिएका छन्।








