रमजानका अवसरमा उपहार वितरण गरिरहँदा मच्चिएको भागदौडमा दर्जनौँको मृत्यु

यमन

तस्बिर स्रोत, AFP

यमनको राजधानी सानामा रमजानको अवसरमा नगद उपहार वितरण गरिरहँदा मच्चिएको भागदौडमा दर्जनौँले ज्यान गुमाएका छन्।

यमनको राजधानी सानाको एउटा विद्यालयमा रमजानको समयमा सहयाता सामग्री वितरण भइरहँदा मच्चिएको भागदौडमा कम्तीमा ७८ जनाले ज्यान गुमाएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओ फुटेजमा शहरको बाब अल येमन क्षेत्रमा अस्तव्यस्त दृश्य देख्न सकिन्छ।

रोयटर्स समाचार संस्थाले प्रत्येक व्यक्तिलाई दिन खोजिएको ९ डलर अर्थात् लगभग १२ सय रुपियाँ सहयोग लिन सयौँ मानिसहरू भेला भएका थिए।

प्रत्यक्षदर्शी के भन्छन्

यमन

तस्बिर स्रोत, Reuters

सन् २०१५ मा सरकारलाई लखेटेपछि हुथी विद्रोहीहरूले उक्त शहरमा शासन गर्दै आएका छन्।

उक्त सहयोग वितरणका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरिएको छ र एउटा छानबिन अघि बढाइएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

धेरैजना घाइते भएका छन् र १३ जनाको अवस्था गम्भीर रहेको सानास्थित एक जना स्वास्थ्य अधिकारीले जनाएका छन्।

एक जना हुथी सुरक्षा अधिकारीले एएफपी समाचार संस्थासँग नाम नखुलाउने सर्तमा दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा महिला र बालबालिका छन्।

रेखा
रेखा

एसोसिएटेड प्रेस समाचार संस्थाले दुई जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हुथी लडाकुहरूले भीड नियन्त्रणको प्रयासमा हवाई फायर गरेको र गोली बिजुलीको तारमा लाग्दा विस्फोटन भएको जनाएका छन्।

उनीहरूका भनाइमा त्यसले मानिसहरू आत्तिएका थिए र भागदौड अनि किच्चिने अवस्था निम्तिएको थियो।

इस्लाम धर्मावलम्बीहरूले निराहर बसेर मनाउने पवित्र पर्व रमजानको अन्तिम दिनहरूमा यो घटना भएको हो।

यमन

तस्बिर स्रोत, Getty Images

सन् २०१५ देखि चर्किएको द्वन्द्वले यमनमा ठूलो विध्वंश निम्त्याएको छ। त्यसबेला हुथीहरूले देशको पश्चिमतर्फको ठूलो भाग आफ्नो नियन्त्रणमा लिएका थिए।

राष्ट्रपति अबेदरुबो मन्सुर हादी देश छाडेर भागेका थिए भने साउदी नेतृत्वको अरब राज्यहरूको गठबन्धनले उनको शासन स्थापित गर्न हस्तक्षेप गरेको थियो। तर वर्षौँदेखि त्यहाँको लडाइँमा गतिरोध कायम छ।

युद्धले डेढ लाख भन्दा बढी मानिसको ज्यान लिएको छ भने देशको जनसङ्ख्याको तीन चौथाइ अर्थात् करिब २ करोड ३० लाख मानिसहरूले कुनै न कुनै किसिमको सहायता लिनुपर्ने अवस्था छ।

अघिल्लो हप्ता यमनका युद्धरत पक्षहरूबीच बन्दी साटासाट भएको थियो जसलाई दशवर्षे विनाशकारी द्वन्द्व अन्त्य गर्ने एउटा प्रयासका रूपमा हेरिएको थियो।

हुथीको सर्वोच्च रिभोलुसनरी कमिटीका प्रमुख मोहमद अली अल हुथीले देशको मानवीय सङ्कट बुधवारको घटनाका लागि जिम्मेवार रहेको बताए।

उनी भन्छन्, “हामी अतिक्रमण गर्ने देशहरूलाई जे भयो त्यसका लागि जिम्मेवार ठहर्‍याउन चाहन्छौँ।“ यमनी नागरिकहरू आक्रमण र नाकाबन्दीका कारण अहिलेको अवस्थमा पुगेको उनले बताए।